
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङमा ‘नो केबलकार’ पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका गरी १२ जना घाइते भएका छन्। अभियानका समर्थकहरूले पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट बृहत् सद्भाव र्याली निकाल्दै माथिल्लो फेदी पुगेका थिए। माथिल्लो फेदी पुगेका प्रदर्शनकारी नाराबाजी गर्दै केबलकारको बेस स्टेसनसम्म पुगेका थिए।
पाथीभरा केबलकार परियोजनाको विरोध चर्किँदै गएपछि उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने घटनामा ११ सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका हुन्।
बेसस्टेसनलाई सुरक्षा गरिरहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्यो। सोही क्रममा दुवै पक्षबिच ठेलमठेल हुँदा झडप भएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको बताए। प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको प्रजिअ शर्माको भनाइ छ।
फागुन ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन बिहीबार आन्दोलन थप चर्किएको र सोही सद्भाव र्यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगेका छन्।
आन्दोलनरत समूहले केबलकारको बेसस्टेसनतर्फ अघि बढेर प्रदर्शन जारी राखेका छन्। प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको छ। अवस्था सामान्य रहे पनि बेसस्टेसनअगाडि आन्दोलनकारीले नाराबाजी गरिरहेका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।
यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता-कार्यकर्ता, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
रमन पाण्डयले भने, “मुकुम्लुङको चोत्लुङ सभ्यता बचाउन हामी मधेश, पहाड र हिमालका नागरिक एकजुट भएका छौँ। हाम्रो संस्कृति कुनै कमिसन र दलालीको खेलमा बिक्री हुन सक्दैन।”
राजेन्द्र महतोले जोड दिए, “मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ।”
नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्।
स्थानीयबासीहरूले पनि उक्त परियोजनाको कडा विरोध जनाएका छन्। उनीहरूको भनाइमा केवलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा छ। एक स्थानीय बासिन्दा दावा लिम्बूले भने, “हाम्रो मौलिक धर्म, संस्कृति, सभ्यता तथा पहिचानको रक्षा गर्नु हाम्रो कर्तव्य हो। केवलकार परियोजनाले हाम्रो सांस्कृतिक अस्तित्वलाई धम्क्याइरहेको छ।”
केवलकार परियोजनाको कार्यान्वयन भएमा यसले पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको छ। तर स्थानीय संस्कृति र सभ्यतामा पर्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयबासीहरू चिन्तित छन्। उनीहरूका अनुसार, परियोजना सञ्चालनका क्रममा वातावरणीय प्रभाव, धार्मिक स्थलहरूको अवमूल्यन तथा सामाजिक संरचनामा असर पर्ने सम्भावना छ।
विश्लेषकहरूका अनुसार, सरकारले स्थानीयबासीहरूसँग छलफल गरी परियोजनाको दीर्घकालीन प्रभावहरूबारे स्पष्ट हुनुपर्ने देखिन्छ। उचित परामर्शविना परियोजना अघि बढाउने हो भने यसले सामाजिक असन्तुष्टि निम्त्याउन सक्छ।
यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केवलकार परियोजनाको विरोधमा स्थानीयबासी तथा राष्ट्रिय नेताहरूको एकजुटता देखाएको छ। नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
स्थानीय समुदाय, नागरिक समाज तथा राजनीतिक दलहरूबीच व्यापक छलफल गरी मात्र परियोजनाको भविष्यबारे निर्णय गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। अन्यथा, आन्दोलन थप चर्किन सक्ने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।
संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।
विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायतका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले बताएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा नजाने भएका छन्।
यसअघि देउवा बिहीबार भारत भ्रमणमा जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने भएपछि अन्तिममा आएर देउवाको भ्रमण स्थगित भएको हो। हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्वप्रधानमन्त्री कम्ब ग्लोबल समिट कार्यक्रममा आउने भन्दै प्रचार गरेको थियो।
इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’मा सहभागी हुने बताइएको थियो।
कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुनेछ। १४ फागुनमा कुम्भ मेला सकिँदैछ। कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन्।
काठमाडौं। काठमाडौंको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए। उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन।
हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताए। अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन्।
नगरप्रमुख बस्नेतले भने, “हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ।” उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए। वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए।
पोखरा भ्रमण वर्ष- २०८० को उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भई दुर्घटना भएपछि प्रहरीले भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको छ।
फागुन ३ गते पोखराको सभागृहमा आयोजित कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। अनुहार जलेका दुवैलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
प्रहरीले ४१ वर्षीय कुमारलाई फागुन ६ गते पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनले बिना कुनै आधिकारिक अनुमति हाइड्रोजन ग्यास उत्पादन गरी बेलुनमा भरेको खुलेको एक प्रहरी अधिकारीले जानकारी दिए।
उनलाई जिल्ला प्रशासन कार्यालय, कास्कीले प्रारम्भिक रूपमा अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाउने अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए।
उनले भने ‘अनुसन्धान गरिरहेका छौं, अहिलेलाई यति नै।’ बेलुनमा ग्यास भर्ने विषय कसरी अभद्र व्यवहार हुन्छ भन्ने प्रश्नमा उनले भने ‘यो भन्दा धेरै बोल्न मिल्दैन। अनुसन्धानका क्रममा खुल्दै जाला। कुन-कुन कानुनी धाराहरू लागू हुने अनुसन्धानपछि टुंगो लाग्छ।’
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति आफैंले ग्यास उत्पादन गर्ने गरेका थिए। बरामद कच्चा पदार्थको परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आएपछि अन्य कानुनी कारबाहीको टुंगो लाग्ने बताइएको छ।
काठमाडौँ । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।
केआइआइटीकि संस्थापक अच्युता सामन्ताले मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरूको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
बैतडी । बैतडीमा भिरबाट लडेर एक प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
उनी आफ्नो घर दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।
काभ्रेपलाञ्चोक । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका-३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।