काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यको ‘डिमाण्ड’ अहिले उनले लेखेको किताब पढेपछि मात्र थाहा पाएको बताएका छन् । शाक्यको आत्मकथा कृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रीमती शाक्यलाई रोचक तरिकाले जवाफ दिएका छन् । उनले भने, ‘मप्रति उनको पनि केही डिमाण्डहरु रहेछन्, अहिलेसम्म मैले थाहा पाएको थिएन, किताब पढ्दा थाहा पाएँ । केही इच्छाहरु रहेछन्, अब जन्मदिनमा फूल दिउँ भने भोलिपल्ट थाहा पाउँछु, सम्झिएर दिए हुन्थ्यो भन्ने उनलाई पर्दोरहेछ, भन्दिए हुन्थ्यो भन्ने मलाई पथ्र्यो ।’
उनले भने, ‘म सम्झिन नसक्ने उनले नसम्झाउने । अब ३७ वटा जन्मदिन विवाद उत्सव यसैगरी बिते, उनले मेरो जन्मदिन चाहिँ सधै भव्यताको साथ मनाउने ५० औं जन्मदिनबाट, म जहिलेबाट गम्भिर बिरामी हुन थाले त्यसबाट हरेक जन्मदिन, बुढाबुढीले भन्छन् नि अर्को वर्षे के होला होला । त्यसैले उनले पनि अर्को जन्मदिन के हो ? के हो ? यो जन्मदिन चाहिँ धुमधामै मनाउनु पर्छ भन्ने लागेको होला तैपनि मलाई भनेको छैन ।’
प्रधानमन्त्री ओलीले आफू विगतमा घरज्वाइँ बसेको समेत बताएका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन् । उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको बताए ।
‘त्यतिबेला एउटी श्रीमती पाल्ने अवस्था पनि थिएन । धाक लाउने ठाउँ थिएन । म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन । मैले सही कुरा खुलस्त भन्ने गर्छु । त्यतिबेला पनि त्यसैगरी भनेको हुँ।’ ओलीले भने । गृहमन्त्री भएपछि बसिराखेको कोठा छाडेको र मन्त्री पदबाट हटेपछि काठमाडौंमा डेरा पाउन नसकेको उनले सुनाए। त्यसपछि घरज्वाइँ बसेको उनले स्मरण गरे ।
‘गृहमन्त्री भइयो । बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो । हट्न पर्यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन । सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन भिनाजु दुई चार दिन हाम्रैमा बसौं अनि विस्तारै कोठा खोजौँला भनेपछि म गएँ ।’ ओलीले भने, ‘साथीभाइले सोध्न थाले कहाँ बस्नुभएको छ? भनेर, कतिलाई भन्ने? अनि मैले भने घरज्वाइँ बसेको छु । त्यसपछि मान्छेले सोध्नै छोडे। कतिपय मान्छेलाई घरज्वाइँ बसेको भन्दा हीनताबोध हुन्छ नि मलाई त भएन । मैले पहिल्यै पाल्न सक्छु भनेको भए पो हीनताबोध हुनु !’ उनले आफू गाईभैंसी चराएर, गोरु जोतेर खेत खन जोत गरेर आएको स्मरण पनि गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ ।
आज (शनिबार) एक विशेष समारोहकाबीच पुस्तक लोकार्पण गरिएको हो । सोही पुस्तक लोकार्पण गर्दै प्रथम महिला शाक्यले गरिब दुःखीहरुका विषयहरु पुस्तकमा समेटिएको जानकारी गराइन् । उनले सानैदेखि बालापन, बिहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन् ।
शाक्यले भनिन्, ‘म सानैदेखि गरिब दुःखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिएँ यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै बिहेसम्मका कुराहरु समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु ।’
उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन् । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै पसिना, मेहनतले घर बनाएको बताइन् ।
‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यहिँ संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौँ । हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नु हुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु । दुई पैसा कहीँकतैबाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’, शाक्यले भनिन् ।
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवादमा विद्युत् नियमन आयोगले फेरि पनि उद्योगहरूको लाइन काट्न नमिल्ने बताएको छ । आयोगले विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै सरकारद्वारा गठित प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय गरी तथ्य स्थापित नहुञ्जेल उद्योगको लाइन काट्न नमिल्ने बताएको हो ।
सरकाले अरविन्दकुमार मिश्रको संयोजकत्वमा बक्यौता रकम जाँच गर्न प्राविधिक समिति गठन गरेको थियो । आयोगले अर्को निर्देशन प्राप्त नभएसम्म डेडिकेटेड तथा ट्रंकलाइन उपभोक्ताउपरको कारबाही यथास्थितिमा राख्न र बक्यौता असुलीको कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ ।
बक्यौता असुल गर्ने क्रममा विद्युत लाइनविच्छेदको कारबाही भयो भने प्राधिकरणले त्यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर गरी क्षति हुने कुरामा ध्यान दिन पनि आयोगले आग्रह गरेको छ । यसअघि गत मंसिरमा पनि आयोगले उद्योगहरूको विद्युत् नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
यसअघि पनि आयोगले गत ११ मंसिरमा पनि आयोगले सोही निर्देशन दिएको थियो । तर, प्राधिकरणले २८ माघमा आयोगलाई पत्र लेख्दै विद्युत लाइन काट्न अनुमति मागेको थियो । तर, यसअघि आयोगले दिएको निर्देशनपछिको परिस्थितिमा कुनै परिवर्तन नभएकाले आयोगले पुरानै निर्देशनलाई दोहोर्याएको छ ।
आयोगको तीन बुँदे निर्देशनको पहिलो बुँदामा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रीस्तर)बाट २ मंसिर ०८१ मा गठित बक्यौता रकमको जाँच गर्ने प्राविधिक समितिले आफ्नो कार्य सम्पन्न गरी नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि त्यसउपर नेपाल सरकारबाट निर्णय भई तथ्य स्थापित हुन बाँकी नै भएको अवस्था भएकाले यस आयोगबाट अर्को निर्देशन प्राप्त नभएसम्म विवादित डेडिकेटेड फिडर र ट्रङ्क लाइन उपभोक्ताहरुउपरको कारबाही यथास्थितिमा राख्ने र बक्यौता असुलीको कार्यलाई भने निरन्तरता दिने ।’
बाजुरा । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् ।
थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका–७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।
उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेकामध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नु पर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा– भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किटमा) मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।
गत फागुन ६ गतेदेखि यो नाका हुँदै शनिबार बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए।
‘दैनिक एक दुई जना फर्किरहेका छन्,’ उनले भने, ‘आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन्।’
काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहेका छन्।
त्यस्तै, सप्तरी राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन्।
यसैगरी सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँ इचम्भु–१ का २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ ।
लामो समय देखि विविध स्वास्थ्य समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो ।
मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आईपुगेका दलिपिले बुवालाई अन्तिम समयमा भेट्न पाएका थिए ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ। कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि रु चार लाख ३८ हजार बजेट निकासा भएको छ। एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाख दुई हजार ५०० खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन ।
बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए । निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।
उनले भने, ‘हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन ।’ बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए । थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ । बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा २०८१ फागुन ९ गते सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिए ।
वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ । जसले पुँजी पलायनलाई तीव्र बनाउँछ । अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ ।
नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो । यसलाई पनि महत्वपूर्ण कारण ठानिएको छ ।
नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रो पटक हो । यसअघि नेपाल सन् २०१४ मा ‘ग्रे लिष्ट’ बाट निस्किएको थियो । त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफटिएफको प्रत्यक्ष निगरानी हटाइएको थियो ।
कहाँ चुक्यो नेपाल ?
‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन) गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो ।
सन् २०२३ जुलाई ९ देखि जुलाई १४ सम्ममा क्यानडाको भ्यानकुभरमा आयोजना भएको एपिजीको वार्षिक प्लेनरी बैठकले नेपालको पारस्पारिक मूल्याङ्कन पारित गरेको गरेको थियो । सोहि आधारमा सन् २०२३ अक्टोबरमा एफएटीएफले नेपाललाई एक वर्षको निगरानी अवधि (अब्जरभेसन पिरियड) दिएको थियो ।
जसमा ४० वटा सुधारका क्षेत्रहरू औंल्याइएका थिए । निगरानी अवधिमा एफएफटिएफले सुझाएका काम नेपालले कार्यान्वयन गर्ने र सम्भावित खैरो सूचीमा जानबाट रोकिने विश्वास लिइएको थियो । तर नेपालले एक वर्षको निगरानी अवधिमा पनि उल्लेख्य सुधार गर्न नसकेपछि अन्ततः खैरो सूचीमा परेको हो ।
एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनि औंल्याएका विषयहरूमा गैर–वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतंककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्र्याकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानूनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेकोलगायत उल्लेख थिए ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायत विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो । ती सुझावहरू कार्यान्वयनमा आंशिक प्रगति देखिए पनि नेपाल खैरो सूचीमा पर्नबाट जोगिन सकेन ।
त्यसअघि, नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो । उक्त मूल्याङ्कनबाट नेपालका नियामकलगायत सम्बन्धित निकाय र निजी क्षेत्र सम्पत्ति शुद्धीकरणका चुनौतीबारे केही हदसम्म जानकार देखिए पनि आतंककारी क्रियाकलापमा वित्तीय लगानी पहिचान र निवारण चुनौतीपूर्ण रहेको औंल्याईएको थियो ।
राजनीतिक क्रियाकलापसँग जोडिएका गतिविधिमार्फत आतंककारी क्रियाकलापमा वित्तीय लगानी भइरहेको विषयलाई नेपालले पहिचान गर्न नसकेको एपिजी प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, गैर–वित्तीय पेशा व्यवसाय (नन् फाइनान्सियल बिजनेस एन्ड प्रोफेसन्स) लाई नियामकीय दायरामा ल्याउन नसकेको पनि निश्कर्ष पनि उक्त मूल्याङ्कनले निकालेको थियो ।
सम्पत्ति शुद्धीकरण मामलामा नेपाल उच्च जोखिममा रहेपनि त्यसको अनुसन्धान, जाँचबुझ तथा मुद्दा अभियोजन निकै फितलो छ । त्यस्तै सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित कानून तल्लो तहसम्म कार्यान्वयनमा जान नसक्नु नेपालको कमजोरी रह्यो ।
नेपालमा वित्तीय संस्थाको नियामकका रूपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ । तर गैर–वित्तीय पेशा तथा व्यवसायका लागि छुट्टै नियामकीय निकाय अझै बनिसकेको छैन । बैंक तथा वित्तीय संस्थामा पनि लाभसहितको स्वामित्व (बेनिफिसियल अनरसिप) र राजनीतिक संलग्नता भएका व्यक्ति (पोलिटिकल्ली एक्सपोज्ड पर्सन) को लगानीलाई एपिजीले चुनौतीका रूपमा देखाएको थियो । अर्कोतर्फ साना वित्तीय संस्थामा ‘एएमएल सिएफटी’सँग सम्बन्धित औजारहरू निकै कम मात्रामा प्रयोग भएको र ती प्रणाली आधुनिक प्रविधिमा आधारित हुन नसकेको जनाइएको थियो ।
कस्तो प्रभाव पर्छ ?
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकारहरू बताउँछन् । ‘ग्रे लिष्ट’ मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तरराष्ट्रिय विश्वास घटाउँछ । यसका कारण अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ । अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुन पुग्छ। वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ ।
वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ । जसले पुँजी पलायनलाई तीव्र बनाउँछ । अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ । परिणामस्वरूप, आर्थिक स्थायित्व कमजोर हुँदै जान्छ र दीर्घकालीन रूपमा देशको विकास क्रममा अवरोध उत्पन्न हुन्छ ।
सप्तरी । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ का लिलावती चौधरी र परशुराम चौधरी रहेको वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए । यस्तै वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको उक्त वडाका वडाध्यक्ष कैलास साहले जानकारी दिए ।
दुर्घटनामा घटनामा सात जना गम्भीर घाइते छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिंक रोडमा शुक्रबार राति स्कोर्पियो दुर्घटनामा परेको हो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको दैनिक भास्करले जनाएको छ ।
घाइतेहरुको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार दुर्घटनामा मृत्यु भएको खबर आएका परिवारका सदस्यले सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा शनिबार बिहान जानकारी गराएको र थप बुझने कार्य भइरहेको बताएका छन् ।
काठमाडौं । नेपाल निर्धारित समय अगावै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिरिने विश्वास उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यक्त गरेका छन् । नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले समयपूर्व सूचीबाट बाहिरिन नेपाल सक्षम हुने बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार विगतमा आवश्यक सुधार समयमा लागू गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको हो । उनले भने, ‘पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भइसकेको छ । यो योजनाअनुसार प्रभावकारी रूपमा कार्यान्वयन गरेर हामी निर्धारित समयभन्दा चाँडो ग्रे लिस्टबाट बाहिरिनेछौं ।’
नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी आवश्यक मापदण्ड पूरा गर्न नसक्दा एफएटिएफले दुई वर्षका लागि नेपाललाई ग्रे लिस्टमा राखेको हो । पेरिसमा आयोजित बैठकले नेपाललाई औपचारिक रूपमा ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । नेपाललाई ग्रे लिस्टमा पर्ने सम्भावना रहेको अर्थमन्त्री पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै संकेत गरेका थिए ।
राष्ट्र बैंकका अनुसार एफएटिएफले निर्धारण गरेका ४० शर्तमध्ये नेपालले हालसम्म २१ वटा मात्र पूरा गरेको छ । एसिया प्यासिफिक ग्रुप अफ एन्टिमनी लन्डरिङ (एपीजी) ले २०२३ मा नेपालको मूल्यांकन गरेको थियो, जसको आधारमा नेपाललाई १ वर्षको ‘अब्जरभेसन’ अवधिमा राखिएको थियो । तर, कार्यान्वयन प्रभावकारी नहुँदा नेपाल ग्रे लिस्टमा परेको हो ।
गभर्नर महाप्रसाद अधिकारीका अनुसार, नेपालले २०२३ को तुलनामा उल्लेख्य सुधार गरे पनि एफएटिएफको सन्तुष्टि प्राप्त गर्न पर्याप्त हुन सकेन । नेपाल यसअघि पनि २००८ देखि २०१४ सम्म ग्रे लिस्टमा परेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी तथा संस्थागत संरचना निर्माण गरेपछि नेपाल सूचीबाट हट्न सफल भएको थियो ।
नेपालको सम्पत्ति शुद्धीकरण नीतिगत संरचना सुदृढ गर्न २००५, २०१० र २०२३ मा गरी तीन पटक मूल्यांकन भइसकेको छ । २०१० मा नेपालले ४९ मध्ये मात्र ३ वटा शर्त पूरा गरेको थियो भने अहिले ४० मध्ये २१ वटा पूरा गरेको छ । आगामी दिनमा बाँकी शर्तहरू कार्यान्वयन गरी नेपालले ग्रे लिस्टबाट यथाशीघ्र बाहिरिने प्रयास गर्ने बताइएको छ ।