
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबुलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ ।
सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन्।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’

काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । दर्शनार्थी एवम् भक्तजनका सवारी साधनहरुको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन् ।
त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरि सहज आवागमनको व्यबस्थापन गर्नेछ त्यसका लागी करिडोर सडक र भित्री सडकहरुमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।
सदाझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अबस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अबलम्बन गरि वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राखिदिनु हुन समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा कमाण्ड सेन्टर राखी ८ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रबक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए ।
प्रबक्ता राउतले महाशिवरात्रीको अबधीभर पाशुपत क्षेत्रमा आउने दर्शनार्थी एवं भक्तजनहरुलाई निर्वाध रुपमा दर्शन गर्ने वातावरण सुनिश्चित गर्न र आवागमनलाई प्रभावकारी व्यबस्थापन गर्न हामी पुर्णरुपमा समर्पित भई खटिने छौ भनी प्रतिबद्धता व्यक्त गरे ।
शिवरात्रीकै अवसरमा अन्य शिवालयहरूमा हुन सक्ने भिडभाडलाई समेत मध्यनजर गरी ट्राफिक प्रहरीहरु खटाइने समेत प्रबक्ता राउतले जानकारी दिए ।
काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कञ्चनपुर। कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका-६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट-५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिइन्। उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका-६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको हो।
उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए।
पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताए। कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको बताए। ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,’ निरीक्षक जोशीले भने, ‘अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।’
काठमाडौं । स्याङ्जाका आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि एउटा सुखद अवसर आएको छ । संघीय सांसद एवं वरिष्ठ अधिवक्ता धनराज गुरुङको विशेष पहलमा काठमाडौँ मेडिकल कलेज (केएमसी) का प्रोपाइटर तथा सांसद डा. सुनिल शर्माले स्याङ्जाका विपन्न बिरामीहरूको लागि निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् ।
यस योजनाअन्तर्गत, यही चैत्र ४ गते काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा अप्रेसन चार्ज, बेड चार्ज, रगत परीक्षण, सिटी स्क्यान, एमआरआई लगायत सम्पूर्ण सेवाहरू निःशुल्क प्रदान गरिनेछ। बिरामीहरूले औषधि, औषधिजन्य सामग्री तथा खानाको व्यवस्था भने आफैं गर्नुपर्नेछ ।
कसरी लाभ लिन सकिन्छ ?
स्याङ्जाका विपन्न बिरामीहरूले स्थानिय अस्पतालबाट जाँच गराई, यदि शल्यक्रिया आवश्यक परेमा वा थप उपचारका लागि अस्पतालमै भर्ना गर्नुपर्ने भएमा त्यहाँबाट रिफर लिई आउनुपर्नेछ । साथै, स्वास्थ्य बीमामा आबद्ध बिरामीहरूले बीमाको रिफर कागजात पनि अनिवार्य रूपमा ल्याउनुपर्नेछ । स्याङ्जाका विपन्न बिरामीहरूको सहज उपचारका लागि धनराज गुरुङको सचिवालयले समन्वय गर्नेछ ।
थप जानकारीका लागि:
सम्पर्क व्यक्तिः भुपराज बस्याल
सम्पर्क नम्बरः ९८५१११०८५०
स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा धनराज गुरुङ लामो समयदेखि सक्रिय छन् । जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई जीवनरक्षाको अवसर दिलाउने काम गरेका छन्।
यस्तै, डा. सुनिल शर्मा स्वास्थ्य सेवामा सामाजिक उत्तरदायित्वको उदाहरणीय पात्र बनेका छन् । उनले*पूर्वी नेपालदेखि सुदूर पश्चिमसम्म विशेषज्ञ चिकित्सकहरूसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै हजारौँ बिरामीलाई उपचार उपलब्ध गराएका छन् । उनलेअपरेसन, गम्भीर रोगको उपचारदेखि मिर्गौला प्रत्यारोपणसम्म निःशुल्क सेवा प्रदान गर्दै आएका छन् । सांसद भए पनि उनले राज्यबाट कुनै तलब सुविधा नलिने घोषणा गरेका छन् र सधैँ जनताको आवाज संसदमा बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गरेका छ ।
यस योजनाले स्याङ्जाका कुनै पनि विपन्न बिरामीले आर्थिक अभावका कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य राखेको छ । यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने र अन्य क्षेत्रका लागि पनि प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सयले बढेर प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ ।
सवारीसाधनको चापका कारण वन्यजन्तुले सडक पार गर्न नसक्ने भन्दै नारायणगढको आँपटारीबाट रामनगर र जुगेडीको भतेरी जङ्गलमा अन्डर पास (पुलमुनीबाट जान सकिने मार्ग) निर्माण गरिएको थियो ।
मुग्लिङ–नारायणगढ सडक विस्तारका व्रmममा निर्माण गरिएको अन्डर पास पुल साँघुरो भएका कारण ठुला वन्यजन्तुले प्रयोग नगरेको पाइएको हो । गोरखापत्र दैनिकमा समाचार छ ।
सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन् । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले नेपाललाई आगामी दुई वर्षका लागि यस्तो सूचीमा समावेश गरेपछि सो समयअघि नै बाहिरिने प्रयास नेपालको छ ।
अवैध रूपमा वा आपराधिक क्रियाकलापबाट आर्जित सम्पत्तिलाई वैध बन्न नदिने तथा आतङ्ककारी गतिविधिमा यस्तो सम्पत्ति लगानी हुन नदिने क्षमताको पर्याप्त विकास नगरेको भन्दै नेपाललाई यस्तो सूचीमा राखिएको हो ।
सूक्ष्म निगरानी सूचीमा राख्दै गर्दा एफएटिएफले नेपालबाट सम्पत्ति शुद्धीकरण निवारणका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता प्राप्त भएकाले यससम्बन्धी मापदण्ड पूर्ण पालना हुने अपेक्षा पनि गरेको छ । यस्तो प्रतिबद्धता करिब दुई महिना पहिले नै प्रधानमन्त्री कार्यालयमा सबै दलका प्रमुख, उच्च प्रशासक सम्मिलित बैठकमार्फत जनाइएको थियो । त्यसपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एफएटिएफलाई पत्राचार गरी सम्पत्ति शुद्धीकरण निवारणका सबै सर्त पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
विभागका महानिर्देशक दाहालका अनुसार सात बुँदाका सबै मापदण्ड पूरा गर्ने गरी थालनी भइसकेको छ । बैङ्क तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी गर्न नेपाल राष्ट्र बैङ्कमा नियमन विभाग बनिसकेको छ । साथै सहकारी क्षेत्रको निगरानी गर्न सहकारी नियमन प्राधिकरणका लागि अध्यादेशमार्फत कानुनी प्रबन्ध पनि भइसकेको छ ।
महानिर्देशक दाहालले अब क्यासिनोका लागि पर्यटन विभाग र घरजग्गा कारोबारका लागि मालपोत कार्यालयलाई यो क्षेत्रमा पनि सक्रिय बनाउने तयारी रहेको जानकारी दिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग यही उद्देश्यका लागि स्थापित भएको भए पनि विभागको मात्र प्रयास पर्याप्त नहुने सङ्केत एफएटिएफले दिएको छ । यसैलाई सम्बोधन हुने गरी सरोकारका १२ वटा विभिन्न विभाग तथा निकायलाई यस सम्बन्धमा जिम्मेवार निकाय तोकिएको महानिर्देशक दाहालले बताए । यस अनुसार एक वर्षमा एक सयभन्दा बढी मुद्दा अनसुन्धान तथा अभियोजना हुने अपेक्षा गरिएको छ ।
सम्पत्ति शुद्धीकरणको प्रयास भएको प्रमाणित भएमा त्यस्तो सम्पत्ति सरकारीकरण हुने गरी गृह मन्त्रालयले पनि यसमा तयारी थालेको छ । सम्पत्ति जफत गर्न अदालतसरहको अधिकारसहित गृह मन्त्रालयले हालै कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग पनि स्थापना गरेको छ । एफएटिएफले सातौँ बुँदामा भनेको आतङ्ककारी तथा विध्वंसात्मक कार्यमा हुने लगानी रोक्न प्राविधिक तयारी पनि पूरा नभएको औँल्याएको छ । यो मापदण्ड पालना हुने गरी गृह मन्त्रालयले पनि टिएफएस ९टार्गेटेट फाइनान्सियल स्याङ्सन० सफ्टवेयर पनि प्रयोगमा ल्याउने र यसका लागि परराष्ट्र मन्त्रालयको पनि संलग्नता रहने गरी तयारीमा रहेको उनको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ ।
बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो। एक्कासी कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे। तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई त्यतिकै फर्कायो।
त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो। उनले क्लिनिकमा छ सय ५० तिरेर भ्याक्सिन लगाए। तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुगे। तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए। फेरि निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाए। बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउन पाए।
शुक्रबार अस्पताल परिसरमा भेटिएका उनले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताए। अस्पतालले दुई सय लिने भ्याक्सिन बाहिर छ सय ५० तिर्नु पर्दा महँगो परेको उनले बताए।
‘गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन्। अस्पतालमा सधैँ छैन् भनेर फर्काउँछन्। बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन। यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ,’ उनले भने।
चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ। ‘कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ,’ उनी भन्छन्, ‘त्यस्ता जनावरको निगरानी कसरी गर्नु?’ राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उद्दको भनाइ छ।
बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो। दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उनलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु-याए। तर, उनले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाइनन्। चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए।
त्यसपछि उनी लालबन्दी नगरपालिकाको एक निजि क्लिनिकमा पुगेर भ्याक्सिन लगाए। प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिए। भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उनले बताए। भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन्।
जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ। सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता छ। जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ।
तर, ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ। तीन सय भाइल भ्याक्सिनको कोटा भएपनि कहिले महिना दिन, त कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए।
औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरेपनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाँही १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउँछन्। चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भएपनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनै पर्ने दवाब हुने उनले बताए।
भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताए। पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उनले बताए। प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उनको भनाइ छ।
गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताए। फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उनले जानकारी दिए। अहिले अस्पतालमा रेबिजविरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उनले स्वीकारे।
हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ। यो आवश्यकताको एक तिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन्। आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षित वर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताए।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। आफ्ना काममा अरूको भरपर्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी बढ्नेछन्। द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि खर्चिलाे काम थाल्न राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि कामले आशा भने जगाउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अध्ययनमा राम्राे प्रगति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन्। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहाेला। आफन्तको साथ सहयोग जुट्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पेसा–व्यवसायमा फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारबाट मनग्य धनलाभ हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। नयाँ काम थालनी गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।



