
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ’, भण्डारीले भने ।
आगामी आर्थिक वर्षको बजेट बनाउनका लागि सबै मन्त्रालयहरुले बजेटको सीमा र बजेट तर्जुमा मार्गदर्शन पाइसकेका छन् । मन्त्रालयहरुले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरुको विवरण आगामी चैत १ गतेदेखि चैत २० गतेसम्म अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसक्नु पर्नेछ । बजेटमा समावेश गर्नुपर्ने विषयहरुमा सार्वजनिक सूचना जारी गरी सुझाव सङ्कलन गर्ने काम आगामी चैत १५ गतेदेखि २०८२ वैशाख १० गतेभित्र टुङ्ग्याउने गरी कार्यतालिका बनाइएको छ । बजेटका नीति तथा कार्यक्रममाथि आगामी चैत १६ गतेदेखि चैत २२ गतेसम्म राष्ट्रिय योजना आयोगमा छलफल चल्नेछ ।
सबै मन्त्रालयहरुले आगामी चैत १५ गतेभित्र सम्बन्धित मन्त्रालय र मातहतका निकायबाट आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि बजेट प्रस्ताव गरिसक्नुपर्नेछ । मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआईएस) मार्फत् विषयगत मन्त्रालयहरुले बजेत प्रस्ताव गर्ने अन्तिम मिति चैत १५ लाई तोकिएको छ । यसरी मन्त्रालयबाट प्रस्ताव भएका योजना तथा कार्यक्रममाथि मन्त्री र सचिवहरुसँग आगामी चैत २० गतेदेखि चैत २२ गतेसम्म सैद्धान्तिक छलफल चल्नेछ । मन्त्रालयहरुसँग बजेट कार्यक्रम र शीर्षकगत छलफल भने चैत २४ गतेदेखि वैशाख १५ गतेसम्म चल्नेछ ।
त्यस्तै, चैत २८ गतेभित्र अन्तरसरकारी वित्त परिषद्को बैठक बसिसक्ने र बजेटका उद्देश्य, प्राथमिकता एवं मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत रुपमा छलफल हुनेछ । सङ्घीय सशर्त अनुदानका विषयमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालयहरुसँग छलफलका लागि आगामी चैत २४ देखि वैशाख १५ गतेसम्मको समयावधि तोकिएको छ । आगामी आर्थिक वर्षको बजेटबारे राजनीतिक दलका प्रतिनिधि, पूर्वअर्थमन्त्रीहरु, पूर्वगभर्नर, पूर्व अर्थसचिव, अर्थशास्त्री एवं विज्ञहरुसँगको छलफलका चैत २६ देखि वैशाख २५ गतेसम्म चल्नेछ । त्यस्तै, आगामी वैशाख १० गतेभित्र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार पार्ने र वैशाख १५ गतेभित्र सङ्घीय सदनका दुवै सदनमा पेस गर्नेगरी क्यालेन्डर बनेको छ ।
आगामी जेठ १ गतेभित्र राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्नेछ र त्यो बेलासम्ममा बजेट वक्तव्यको पहिलो मस्यौदा तयार भइसक्नेछ । त्यस्तै, अर्थमन्त्रीले जेठ १० गते राष्ट्रपतिसमक्ष बजेट ‘बिफ्रिङ’ गर्ने कार्यतालिका छ । बजेट वक्तव्यलाई जेठ १३ गतेभित्र अन्तिम रुप दिइ जेठ १४ गते मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफ्रिङका लागि लगिनेछ ।
आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक जेठ १४ गते छपाइका लागि पठाइनेछ । आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण आगामी जेठ १४ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुनेछ । त्यस्तै, जेठ १५ गते संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस हुनेछ ।
लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक तथा पूर्व उपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
लमजुङ बेंसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा संकटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ’, उनले भने, ‘राजनीति दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा संकट पैदा भएको छ, यस्ता संकटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’
देशलाई सही दिशामा लैजानका लागि दुई ठूला दल एमाले र कांग्रेसले संविधानअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता रावलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिँदा पार्टीभित्रै आलोचित हुनुपरेको गुनासो गरे ।
काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधनका लागि विधेयक ल्याउने तयारी गरेको छ। सत्तारुढ कांग्रेस र एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संघीय संसदमा रहेका कुनै पनि दलका ४० प्रतिशत सांसदले मिलेर छुट्टै दल बनाउन सक्ने प्रावधानसहित विधेयक संसदमा अघि बढाउने निर्णय गरेको हो ।
यो विधेयकको दफा ३३ को व्यवस्था लामो समयदेखि निस्क्रिय रहँदै आएको छ । सोही दफालाई जगाउनका लागि विधेयक अघि बढाउन लागिएको बताइएको छ । निस्क्रिय रहेको दफामा राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था छ। दफा ३३ को उपदफा २ मा कुनै पनि दलको केन्द्रीय सदस्य र संघीय सांसदको ४० प्रतिशत सदस्य भएमा अर्को दल गठन गर्न सक्ने व्यवस्था छ ।
यो विधेयक संशोधनले दल विभाजन गर्न सहज भए केही दल फुट्न सक्छन् । संसदमा अध्यादेश अघि नबढेको बेला प्रतिपक्ष दलहरूलाई यही विषयमा दबाब दिन पनि सरकारले यो विधेयक ल्याउन लागेको हो । तर, विधेयकमा दल विभाजनको लागि के–के कति प्रतिशत राखिने भन्ने बारेमा अहिले नै तय भइसकेको छैन।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक ‘वाकयुद्ध’ मा परिणत भयो ।
ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने। यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो । यद्यपि, सामाजिक सञ्जाल एक्समामा उनले ट्रम्पलाई उनको समर्थनको लागि धन्यवाद दिए र भने, ‘युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ ।’
युक्रेन–अमेरिका वार्ता असफल भएपछि, युक्रेनी राष्ट्रपतिले फक्स न्यूजलाई एक विशेष अन्तर्वार्ता दिए । यसमा उनले विवादको लागि माफी मागेनन्, तर उनले यो प्रकरणलाई दुवै पक्षको लागि राम्रो ठानेनन् । यद्यपि, जेलेन्स्कीले यदि अमेरिकाले आफ्नो हात फिर्ता लियो भने, ‘हामीलाई युक्रेनलाई रूसबाट जोगाउन गाह्रो हुने बताए । उनले सम्पूर्ण घटना टेलिभिजनमा देखाइएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘म विनम्र हुन चाहन्छु । म राष्ट्रपतिलाई सम्मान गर्छु । म अमेरिकी जनताको सम्मान गर्छु ।’
ओभल अफिसमा भएको बैठकमा जेलेन्स्कीमाथि ट्रम्पले आक्रोश पोखेका थिए । उनले जेलेन्स्कीलाई लाखौं मानिसको जीवनसँग खेलेको भन्दै आलोचना गरे । ट्रम्पले जेलेन्स्कीको कार्यले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने समेत बताए।यसपछि, जेलेन्स्की अचानक अमेरिकासँगको महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट निस्किए । ट्रम्पले युक्रेनलाई भविष्यमा सहयोग गर्न यो एक शर्त भएको भन्दै सम्झौताको खोजी गरेका थिए ।
ट्रम्प, जेलेन्स्की र प्रतिनिधिमण्डलले दिउँसो लन्च गर्ने समेत बताइएको थियो । यो व्यवस्था क्याबिनेट कोठा बाहिर गरिएको थियो, तर तनावपूर्ण बहसपछि स्थगित भएको थियो । ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीले लगभग ४५ मिनेट वार्ता गरे, जसमध्ये अन्तिम १० मिनेट तीन जनाबीच चर्को बहस भएको थियो । आफ्नो पक्ष प्रस्तुत गर्दै जेलेन्स्कीले रुसको कूटनीति प्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरेका थिए । यसका लागि, मस्कोले तोडेका प्रतिबद्धताहरूलाई उनले उद्धृत गरेका थिए ।
यो तनावपूर्ण अवस्था उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई यसो भनेपछि शुरु भएको थियो–‘मलाई लाग्छ कि तपाईं ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो मुद्दा चलाउन खोज्नु अपमानजनक छ । म यो कुरा पूर्ण सम्मानका साथ भन्दैछु ।’ जेलेन्स्कीले आपत्ति जनाउन खोजे, जसको जवाफमा ट्रम्पले ठूलो स्वरमा भने, ‘तिमी लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ । तिमी तेस्रो विश्वयुद्धको निम्तो दिइरहेका छौं र जे गरिरहेका छौ, त्यो देशप्रति अत्यन्तै अनादरपूर्ण छ ।’ बैठकको सुरुमा ट्रम्पले अमेरिकाले युक्रेनलाई सैन्य सहयोग प्रदान गरिरहने तर धेरै सहयोग प्रदान नगरिने बताएका थिए ।
यो सबै घटनाक्रम पछि जेलेन्स्कीको अमेरिका भ्रमण कुनै सम्झौता बिना सकिएको छ । यस अघि हुने भनिएको खनिज सम्झौता समेत हुन सकेन । जेलेन्स्कीले पुटिनले सधै सहमतिको उल्लंघन गरेको र युद्ध पनि उनैले शुरु गरेको हुनाले सुराक्षा ग्यारेन्टी बिना कुनै सहमति नगर्ने अडान लिएको देखिएको छ । राष्ट्रपति ट्रम्प र उनको प्रशासनले भने जेलेन्स्कीमाथि दबाब बढाएर खनिज सम्झौता गर्ने र पुटिनलाई खुसी नै राखेर युद्धविराम गराउने रणनीति बनाएको बुझेपछि जेलेन्स्की झस्किएको मिडिया रिपोर्टमा उल्लेख छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–२ चटहवामा अज्ञात समूहले गोली हानेर एक युवकको हत्या गरेको छ।
शनिबार बिहान करिब ७ बजेतिर घरमै रहेका २९ वर्षीय राकेश लोधमाथि गोली हानिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सुरज कार्कीले जानकारी दिए।
लोधको टाउको गोली लागेको छ। प्रहरीले घटनास्थलबाट मुचुल्का उठाइरहेको छ। थप विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रवक्ता कार्कीले बताए।
काठमाडौँ । अमेरिका र युक्रेनबीच खनिज सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ भएको वार्ता असफल भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
यसअघि अमेरिका र युक्रेनबीच खनिजसँग सम्बन्धी सम्झौता गर्न सहमति भएको थियो । तर, हस्ताक्षर गर्ने तयारी भए पनि पछिल्लो बैठक तनावपूर्ण भएको बताइएको छ ।
बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्की बैठक नसकी हिँडेपछि सम्झौता अघि बढ्न नसकेको हो । खनिज सम्झौता हुने निश्चितजस्तै भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बैठक सुरु हुनुअघि जेलेन्स्कीको प्रशंसासमेत गरेका थिए । तर, बैठक सुरु भएपछि अवस्था असामान्य भएको समाचारमा उल्लेख छ । समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएपछि सम्झौता हुन नसकेको हो ।
ह्वाइट हाउसका स्रोतलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प नै इच्छुक नभएपछि सम्झौता हुन नसकेको हो । समग्रमा दुई राष्ट्रपतिबीचको बैठक पूर्णरुपमा असफल भएको छ । चर्काचर्की बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याइरहेको’ आरोप लगाएका थिए ।
समाचारमा बताइएअनुसार ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्काचर्की भएको थियो । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीलाई चेतावनी दिँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धको जुवा खेलिरहेका छौँ ।’
ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएरमात्रै अर्को वार्तामा आउन भनेका छन् । ट्रम्प चर्कोरुपमा प्रस्तुत भएपछि जेलेन्नस्की बैकको निर्धारित समयअघि नै हिँडेका थिए ।
ट्रम्पले यो सम्झौतालाई युद्धविरामका लागि पहिलो सर्तका रूपमा लिएका थिए । तर, उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भएको कूटनीतिक दबाबका कारण वार्ता तनावपूर्ण बनेको बताइएको छ । यस घटनाले अमेरिका–युक्रेन सम्बन्ध थप जटिल बनाएको विश्लेषण गरिएको छ । साथै, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ ।