
शृङ्खलाबद्ध डकैती, लुटपाट तथा आपराधिक घटनामा संलग्न गिरोहका मुख्य नाइके बुद्धिमान तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १९, लगनखेलबाट पक्राउ परेका ४१ वर्षीय तामाङ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-२, कर्थली स्थायी निवासी हुन्। प्रहरीले उनको साथबाट दुई थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरेको छ।
अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। सन् २०६१ मा डलर ठगीसम्बन्धी कसुरमा काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता भई फरार रहेका उनी, सन् २०६२ मा ललितपुर प्रहरी परिसरमा डाँका चोरी मुद्दामा दोषी ठहर भई ६ वर्षको सजाय भुक्तान गरिसकेका थिए। साथै, सन् २०७८ मा बाह्रबिसे इलाका प्रहरी कार्यालयमा शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुरमा मुद्दा दर्ता भई सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक भएको छ।
बुद्धिमान तामाङको नेतृत्वमा काभ्रेपलाञ्चोक, गुल्मी, बाग्लुङ लगायतका स्थानहरूमा विभिन्न गम्भीर आपराधिक घटनाहरू घटाइएको अनुसन्धानबाट खुलेको छ। गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७, न्वारास्थित गंगा होटलकी सञ्चालिका ५८ वर्षीया गोपाल कुमारी शेरचनको हत्या उनी संलग्न रहेको घटनामध्ये एक हो। लुटपाटपछि हात, खुट्टा र मुख टेपले बाँधी हत्या गरिएको पाइएको छ। काभ्रेपलाञ्चोकको फस्कोटमा बिक्रम तामाङको घरमा घुस्दै हथियारको प्रयोग गरी लुटपाट गरिएको थियो। त्यस्तै, चौकोटस्थित होटलमा प्रवेश गरी नगद रु. ४०,००० लुटिएको घटनामा पनि उनी संलग्न रहेको पाइएको छ। बनेपा नगरपालिका वडा नं. ३, टनचोकस्थित लोप्चन लामाको घरमा लुटपाट तथा बनेपा नगरपालिका वडा नं. ४, रेडक्रस टोलस्थित सुकान्त बम्जनको घरमा घुस्दै सुन, नगद लुटिएको घटनामा समेत उनको संलग्नता पुष्टि भएको छ।
यस घटनामा संलग्न रहेका बुद्धिमान तामाङका सहोदर दाजु विर बहादुर तामाङ, उदयपुरका राजु कुमार दनुवार र ओखलढुंगाका महेश कुमार खड्कालाई विभिन्न मितिमा पक्राउ गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। यसैबीच, बुद्धिमान तामाङका कान्छा भाइ शिव कुमार तामाङ गुल्मी हत्या प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेको खुलेको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।
काठमाडौँ । यस वर्षको ‘महामूर्ख’ को उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।
रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ। उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। उनका अनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ ।
‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो । त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो ।
एजेन्सी । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
चितवन । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ। दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन ।
यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैंडाको संकेतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए । महानिर्देशक कँडेलले भने, ‘गणना जस्तै गरी यकिन संख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।’
विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैंडा पाइन्छन् । गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसबेला ७५२ गैंडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैंडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैंडा रहेका तथ्याङ्क छ ।
नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैंडा थिए । यसअघि सन् २०२१ मा गैंडा गणना गरिएको थियो ।
कसैलाई मूर्ख, महामूर्ख भन्दा रिसाउने, गाली गर्ने गर्छन्, तर यहाँ आफूलाई महामूर्ख साबित गर्न तछाडमछाड हुने गर्छ भन्दा अचम्म लाग्न सक्छ । मिथिलाको यस सहरमा महामूर्ख बन्न सबै ललायित हुने गर्छन् । हो, प्राचीन मिथिला र मधेस प्रदेशको राजधानी जनकपुरधाममा आफूलाई महामूर्ख साबित गर्न प्रत्येक वर्ष उच्चपदस्थ व्यक्तित्वहरूले पैरवी तथा सिफारिस आयोजक समक्ष गर्ने गरिएको छ ।
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आयोजना गरिने महामूर्ख सम्मेलनका लागि महामूर्खहरूको लिस्ट तयार भइसकेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताए ।
होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् (मिनाप) यसका आयोजक हुन् । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट समाजिक सम्मान गर्ने चलन छ । जुन मिथिला क्षेत्रमा चर्चित छ ।
मिथिला ना्यय कला परिषद्को भनाइलाई यदि सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई वर्षैपिच्छे छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ ।
परासी । लागुऔषधमा कसूरदार ठहरिका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो ।
कसूर ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो । उक्त सजाय बाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।
अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ । लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो । धोबीलाई गरिएको उक्त सजायको आधारमा अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना तोकिएको हो ।
लागुऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबीले पटक पटक लागुऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ । धोबीले ‘क्षतिपूर्ति शुल्कपीडित राहत कोष’मा १८ हजार दाखिला गर्नुपर्ने पनि फैसलामा भनिएको छ । धोबी पाल्हिनन्दन आधारभूत अस्पतालका गार्ड समेत हुन् ।
अध्यक्ष गुप्तासहित लागुऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवानले सफाई पाएका छन् । अभियोग लागेका पाल्हिनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् । पाण्डेको मुद्दा मुतलबी (फरार रहेकाले कारबाही स्थगन) मा राखिएको अदालतले जनाएको छ । यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पदसमेत कायम नै रहने अदालतले जनाएको छ।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा भएको घटनामा अध्यक्ष गुप्ताको निर्देशनमा २-२ थान एम्पुलको झोला ९०-९० थान डाइजेपाम नुर्फिन र फेनार्गनसहितको झोला रामा र जीतेन्द्रको मोटरसाइकल नजिक फालेर फसाउन षडयन्त्र गरेकाले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको अदालतले जनाएको छ । अध्यक्ष गुप्तासँग रामा र जितेन्द्रको कवाड व्यवसायको कारोबार रहेकाले लेनदेनका विषयमा उनीहरूबीच मतभेद रहँदै आएको थियो ।
राजनीतिक दलहरूको आयको महत्वपूर्ण हिस्सा चन्दा तथा सहयोग रकम अपारदर्शी बनेको छ ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले), चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले चन्दा तथा सहयोगबाट उल्लेख्य आम्दानी गरेका छन् तर लेखा परीक्षण प्रतिवेदन बुझाउँदा कुनै पनि दलले चन्दा दिनेको नाम खुलाएका छैनन् । कानुनले त्यस्तो आम्दानीको स्रोत र २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम खुलाउनुपर्ने व्यवस्था गरेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले आव २०७९/८० को विवरण बुझाउँदा चन्दा दिनेको नाम र सहयोग राशि खुलाए पनि गत आवको प्रतिवेदनमा सो विषय लुकाएको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ३८ मा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ ट्रान्सफर वा चेकमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ ।
सोही दफामा आर्थिक सहयोगसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ । दलसम्बन्धी ऐनसँग सम्बन्धित अनुसूची २ ले २५ हजार रुपियाँभन्दा बढी चन्दा दिनेको नाम, थर, वतन वा संस्थागत परिचय उल्लेख गर्ने विवरणसँग सम्बन्धित छ ।
राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउँदा चन्दा तथा सहयोग र विशेष आर्थिक सहयोग शीर्षक अन्तर्गतको कुल आम्दानी उल्लेख गरेका छन् तर चन्दा तथा सहयोग दिनेको नाम उल्लेख गरेका छैनन् । दलले अनुसूची ३ अन्तर्गत गरेको आम्दानीलाई भने शीर्षकगत रूपमै राखेका छन् । अनुसूची ३ प्रकाशन बिक्रीबापत भएको आम्दानीसँग सम्बन्धित छ ।
दलहरूले निर्वाचन आयोगमा बुझाएका विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेका छन् । सो विवरण अनुसार नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ चन्दा तथा सहयोगबाट आम्दानी गरेको छ । यसअघि कांग्रेसले यस शीर्षकमा दुई करोड ६५ लाख ६४ हजार ५७७ रुपियाँ आम्दानी गरेको थियो ।
नेकपा (एमाले)ले विशेष आर्थिक सहयोग अन्तर्गत आव २०८०/८१ मा ६२ लाख २४ हजार ५२० रुपियाँ आम्दानी गरेको छ । आव २०७९/८० मा सो दलले आर्थिक सहयोग शीर्षकमा पाँच करोड छ लाख ६८ हजार १७८ रुपियाँ आम्दानी गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा एक करोड १५ लाख ७२ हजार ३९६ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको छ । सो दलले स्थापनाको पहिलो वर्ष भने एक करोड ८६ लाख २५ हजार ८१५ रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनले लिन नहुने स्वेच्छिक आर्थिक सहयोगको रकम कुनै दलले प्राप्त गरेको प्रमाणसहितको उजुरी परेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा वा दलले त्यस्तो रकम प्राप्त गरेको छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा आयोगले त्यससम्बन्धमा तोकिएबमोजिम जाँचबुझ गर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगको जाँचबुझबाट दलले त्यसरी रकम प्राप्त गरेको देखिएमा त्यस्तो रकम आयोगमा दाखिला गर्न सम्बन्धित दललाई आदेश दिने उल्लेख छ । राजनीतिक दलले यसअघि राजनीतिक नियुक्ति शीर्षकमा समेत आम्दानी जनाएको थियो । त्यसयता दलले कुल आम्दानी उल्लेख गरे पनि सहयोग दिनेको नाम र शीर्षक उल्लेख गर्न चाहेनन् ।
नेकपा (माओवादी केन्द्र) ले सार्वजनिक गरेको विवरण अनुसार १० हजार मात्र उसले चन्दाबाट सहयोग प्राप्त गरेको छ । चन्दा तथा सहयोगबाट सबैभन्दा बढी नेकपा (एकीकृत समाजवादी)ले आम्दानी गरेको छ तर सो दलले पनि चन्दा तथा सहयोगको विवरण पारदर्शी गरेको छैन ।
एकीकृत समाजवादीका अनुसार आव २०८०/८१ मा सो दलले तीन करोड ११ लाख ५९ हजार १४५ रुपियाँ आम्दानी गरेको छ, जसमध्ये संस्थागत सहयोग एक करोड ४५ लाख र व्यक्तिगत सहयोग करिब एक करोड ६६ लाख छ । गोरखापत्र दैनिकमा समाचार छ
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ, उनले भने, धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
‘अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ, उनले भने, अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागूपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। आँटेकाे काम बिग्रन सक्छ। पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहोर्याउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धनलाभ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।