२०८३ असार १३ गते शनिबार
२०८३ असार १३ गते शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू गरिएको निगमले जनाएको छ।

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’ मा भएको झडप र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन् । उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ ।शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियाे । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो ।

‘शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन्,’ उनले भने, ‘यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन् । केहीले टाउको दुख्यो र अप्ठ्यारो भयो भनेर बताएपछि उनीहरूलाई पनि अस्पताल पुर्‍याइएको छ।’ गम्भीर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले बताए ।

बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा प्रहार गरेका थिए । यसबाट ३ जना प्रहरी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो । त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कुटाकुटका क्रममा ५–६ जना बालबन्दी भागेका थिए, तर पछि उनीहरू आफैं सम्पर्कमा आएको प्रजिअ जोशीले जानकारी दिए । उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए । आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । ‘क्षतिका कारण ७०–८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ,’ जोशीले भने, ‘पछि कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ ।’

समाजवादी मोर्चा नेपालले यही चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ ।

आज ललितपुरमा आयोजित कार्यक्रममा मोर्चाको सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पछिल्लो समय देखिएको अन्योलता र नेपाली जनताका अधिकार कुण्ठित हुने अवस्थाविरुद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले जनप्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समावेशी र समानुपातिक व्यवस्थाका पक्षधरले आमजनतालाई आफ्नो कुरा भन्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । “पछिल्लो पटक सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध केही राम्रो काम गरेकै हो । पहिले सरकारमा थियौँ, अहिले जनताका घरदैलोमा छौँ । विगतमा हामीबाट केही त्रुटि भएकै हो, हाम्रा मुद्दा छुट्न गएकै हुन् । यसलाई मनन गरेका छौँ”, उनले भने ।

अध्यक्ष दाहालले जनभावना, धर्मसंस्कृतिविरुद्ध नभई लामो संघर्ष र बलिदानी मार्फत प्राप्त उपलब्धि र गणतन्त्रमाथि समस्या सिर्जना नहोस् भन्ने अभिप्राय रहेको बताए । उनले देशको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध जनतालाई सुसूचित गराउनु आफ्नो दायित्व भएको बताए । अध्यक्ष दाहालले समाजवादी मोर्चाको अन्तिम लक्ष्य समाजवादी गणतन्त्र भएको बताउँदै अहिले उद्योग-व्यवसायमा आधारित रहेर जनतालाई आर्थिक समृद्धि दिने, ग्रामीण अर्थतन्त्रको विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने तत्कालीन लक्ष्य रहेको बताए । उनले संविधान जारी भएको दश वर्ष हुन लागेकाले संशोधनको विषयमा छलफल आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले राजतन्त्रलाई लक्षित गरेर हिजो मात्रै बोलेका धारणा नयाँ नभई भूमिगतकालदेखि नै उठाइएको बताए । “भूमिगत हुँदा पनि यही कुरा बोलेको थिए, अहिले पनि यही कुरा बोलेको छु । आम नेपाली जनताका मनमा भएको कुरा मैले बोलेको हुँ”, अध्यक्ष दाहालले भने, “यसका साथै हामीले समाजवादी मोर्चा गठन गरेका छौँ, त्यसको उद्देश्यअनुरूप नै अगाडि बढिरहेका छौँ । समावेशी, समानुपातिक गणतन्त्र ल्याउन नेपाली जनताको धेरै ठूलो योगदान र परिश्रम रहेको छ । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली विशेषताको समाजवादी गणतन्त्र अहिलेको आवश्यकता रहेको बताए । उनले वंशका आधारमा शासन गर्नेहरूले नेपालको इज्जत, प्रतिष्ठा कायम राख्न नसक्ने भन्दै परिवर्तन चाहनेहरूले अग्रगमनतर्फ ध्यान दिनुपर्ने बताए । नेता नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालका माओवादीलाई एक धारमा ल्याउने अभियान र छलफल चलिरहेको बताए ।

जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले महामूर्खको उपाधि यो वर्ष मुख्यमन्त्री सतीशकुमार सिंहलाई प्रदान गरेको छ।

जनकपुरधामको राममन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बीच मुख्यमन्त्री सिंहलाई महामूर्ख २०८१ घोषणा गरिएको हो। मिथिला नाट्यकला परिषद् आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्यका क्षेत्रमा सुधारका लागि चालेको कदमको सह्रना गर्दै ‘महामूर्ख’को उपाधिबाट सम्मानित गरिएको हो।

उनलाई विशेष प्रकारको व्यंग्यात्मक माला तथा टोपीसहित जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सम्मान गरे। मुख्यमन्त्री सिंहले मधेश प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि चालेको कदमको सह्राना गर्दै उक्त उपाधिले सम्मानित गरिएको मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झाले जानकारी दिए।

यसैगरी प्रसिद्ध साहित्यकार, गीतकार सियाराम झा सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहलाई हराशंख, प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार, साहित्यकार तथा वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशंकरको उपाधिले सम्मानित गरिएको छ। 

काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसुललाई निष्काशन गरेको छ । यो जानकारी दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’ गरेको आरोप लगाएका छन् ।

रुबियोले लेखेका छन्, ‘हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन । इब्राहिम रसुल एक जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन् । हामीसँग उहाँसँग कुरा गर्न केही छैन, त्यसैले उहाँलाई अस्वीकार्य व्यक्ति मानिन्छ ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो । फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए । यसै कारणले गर्दा, ट्रम्पले दक्षिण अफ्रिकाको एउटा कानूनलाई उद्धृत गरे, जसमा उनले भनेका थिए, गोरा किसानहरूको जग्गा ‘जफत’ गर्न सकिन्छ ।

गत हप्ता, ट्रम्पले दक्षिण अफ्रिकी किसानहरूलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिने भन्दै तनावलाई अझ बढाए । उनले भने, ‘सुरक्षाको कारणले देश छोड्न चाहने कुनै पनि दक्षिण अफ्रिकी किसान (परिवारसहित) लाई नागरिकतासहित संयुक्त राज्य अमेरिका आमन्त्रित गरिनेछ ।’

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर जलाएको छ ।

आज (शनिबार) मकवानपुरमा आयोजित जिल्ला अधिवेशनमा राप्रयुसंका निराजन बमले कार्यक्रम मञ्चमै पूर्व प्रधानमन्त्री प्रचण्डको तस्वीर जलाएका हुन् । कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहलगायत नेताहरू उपस्थित थिए ।

यता जिल्लामा पूर्व प्रधानमन्त्रीको तस्वीर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर देखिएको छ । यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन् । आफू एउटा बैठकमा रहेको बताउँदै सीडीओ श्रेष्ठले यस विषयमा पछि कुरा गरिने बताइन् ।

यसैबीच बमले आफूले जलाएको तस्वीरहरु समाजिक सञ्जालमा शेयर गर्दै लेखेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोप–प्रत्यारोप लगाएर वातावरण प्रदूषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु । मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनु भयो।’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूबिरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चुनौति दिएका छन् । फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका–९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनि आरोप लगाएका थिए।

सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरुले वदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको उनले बताए । सांसदको शून्य समयमा सांसदद्वयबाट अस्वभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको समेत उनले बताएका छन् । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न समेत उनले चुनौति दिए । रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साँख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने चेतावनी उनले दिए ।

उनकाअनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साविक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जनिएको व्यहोरा उल्लेख छ ।

उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त व्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताएका छन् । कित्ता नम्बर ६३ प्रश्तावित बाटो भनेर पहिले नै पास भइसकेको उनले जानकारी दिए । सोही अनुरुप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी समेत उनले दिए ।

लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रुपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ सालतिरै पर्खाल लगाइएको उनले बताएका छन् । उनले आफूले कानून विपरित कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताएका छन् ।

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन्। उपभोक्ता अदालत उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम गठन गरिएको हो।

विश्व उपभोक्ता अधिकार दिवस, २०८१ तथा अदालत समुद्घाटनका अवसरमा आयोजित कार्यक्रममा उनले उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरिसकेको र गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार पाउने अधिकार सुनिश्चित भएको बताएका हुन्।

प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको कार्यक्षेत्र व्यापक भएकाले यसको अधिकार क्षेत्र थप स्पष्ट पार्दै लैजानुपर्ने आवश्यकता औँल्याए। साथै अदालतले प्रभावकारी न्याय सम्पादन गरेर उपभोक्ताको विश्वास जित्नुपर्नेमा उनले जोड दिए। ‘अदालतले उपभोक्ताको विश्वास जित्दै स्थापित हुनुपर्ने जिम्मेवारी पनि छ’, उनले भने, ‘त्यसैले अदालतले न्यायिक सक्रियता देखाउँदै परिणाममुखी काम गर्न आवश्यक छ।’

त्यस अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वच्छ र प्रतिस्पर्धी बजार प्रवर्द्धन गर्न तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता अदालतको स्थापना भएको बताए।

उनका अनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै सरकार उपभोक्ता हितका लागि निरन्तर अनुगमन गरिरहेको छ। चाडपर्वमा प्रभावकारी अनुगमनको व्यवस्था गरिएको र उपभोक्ता अधिकार संरक्षणका लागि अदालतको भूमिका महत्त्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे।

मन्त्री भण्डारीले सरकारको प्राथमिकतामा नै उपभोक्ता अदालतको स्थापना रहेको उल्लेख गर्दै यसको न्यायिक प्रक्रियालाई सहज बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए। अदालतको कार्यान्वयनमा देखा पर्ने सम्भावित चुनौतीहरू सम्बोधन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउने जानकारी पनि उनले दिए।

महान्यायाधिवक्ता रमेश वडालले उपभोक्ता अदालतको स्थापना न्यायिक सुधारको दिशामा महत्त्वपूर्ण कदम भएको बताए। उनले उपभोक्ता संरक्षण दिवस सबै नागरिकका लागि सरोकारको विषय भएको उल्लेख गर्दै उपभोक्ता अदालतमा आउने मुद्दाहरूका प्रकारबारे स्पष्टता आवश्यक रहेको बताए।

‘उत्पादन मिति मेटाइएका सामान, डिजिटल उपभोक्ता अधिकारलगायतका अनेक खालका उजुरीहरू अदालतमा आउनेछन्। आम नागरिकलाई यी विषयमा जानकारी हुन आवश्यक छ’, उनले भने। उपभोक्ता अदालतमा सरकारका तर्फबाट मुद्दाको बहस पैरवी विशेष अदालतका सरकारी वकिलहरूले गर्ने पनि उनले स्पष्ट पारे।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खाँनले उपभोक्ता हक कार्यान्वयनका चरणमा रहेको बताए। उनले उपभोक्ता अधिकार संरक्षणमा अझ जिम्मेवार बन्न सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै नवगठित उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयनका लागि ठोस नीति आवश्यक रहेको औँल्याए। उनले सबै सीमा नाकामा गुणस्तर परीक्षण प्रयोगशाला ९ल्याब० स्थापना गर्न सरकारलाई निर्देशन दिइसकेको बताए।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन भएको हो। उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ।

त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका छन् ।

शुक्रबारसिन्धुपाल्चोक पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोर, सुन तस्कर र आफ्नै वंशको नास गर्ने ‘भाइमारा’ को आरोप लगाएपछि त्यसको सामाजिक सञ्जालमार्फत जवाफ दिदै शाहीले भड्किला झुठा भाषण गर्दै हिडेमा प्रचण्डलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘भाररतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका  पुजारी,लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ?  तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ ।  तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’
नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
 
प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ ।
 
त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
 
सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म लाइन काटिनेछ ।
 
जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने जनाएको छ ।
 
बिजुली कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।