
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निराजन बम रिहा भएका छन् ।
काठमाडौं । ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा दुई महिनासम्म प्रदर्शन तथा जुलुस गर्न नपाइने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।
उक्त कार्य उचित नभएको प्रचण्डको भनाइ छ ।
सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्- लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले ‘प्रचण्ड’को आलोचना गर्दै फोटो जलाएका थिए ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को ८ महिना (साउन-फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।
यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो ।
नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै बिदेसिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ ।
पोखरा । पोखरामा एक वडाध्यक्षमाथि रड प्रहार भएको छ। पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि एक पुरुषले रड प्रहार गरेका हुन्।
आइतबार सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न गएका बेला आफूमाथि बाझिपोखरीका भूपेन्द्र गिरीले रड प्रहार गरेको सुवेदीको आरोप छ।
पोखराका मेयर धनराज आचार्यले घटनाको निन्दा गरेका छन्। घटनाले विकास र न्यायको मार्गमा ठूलो अवरोध सिर्जना गरेको भन्दै उनले संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै जनप्रतिनिधिलाई हातपात गर्नु गलत भएको बताएका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले अहिलेको व्यवस्था जनतालाई नभइ सीमित नेताहरूलाई चाहिएको बताएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले पछिल्लो १६ वर्षको अवधिमा अहिलेको व्यवस्थाले जनताको अवस्था परिवर्तन नभएको भन्दै सीमित नेताहरुलाई मिलेर खानलाई अहिलेको व्यवस्था चाहिएको दावी गरे । उनले प्रजातन्त्रसहितको राजतन्त्र आफूहरूको मुद्दा भएकाले राष्ट्रपतिको स्थानमा राजा राख्ने व्यवस्था आवश्यक रहेको तर्क गरे । सांसद शाहीले अहिलेको व्यवस्थामा राष्ट्रपति र प्रधानमन्त्री जनताले नभइ सीमित सांसदहरूले चुनेको भन्दै हिम्मत छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चयन हुने व्यवस्थामा जान चुनौति समेत दिए ।
उनले नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासिकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उदघोष समेत गरे । सांसद शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।
‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नु भएको थियो, मदन भण्डारीको हत्या कसले ग¥यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ’, शाहीले भने, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।’ उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । ‘हत्याको कुरा गर्नु हुन्छ ? राष्ट्रपति तपाईहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?’, उनले प्रश्न गरे ।
काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौं ? भन्दै प्रश्न गरे । उनले थपे, ‘बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?’, उनले भने, ‘लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् । यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’
उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति पनि खनिएका छन् । ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो । भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’, उनले भने । उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताएका छन्।
काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेसी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाएका छन् । उनले भने, ‘भर्खर अहिले सिभिल हस्पिटलको डाइरेक्टरको नियुक्ति भएको छ । त्यहाँ पनि तीन नम्बरकोे मान्छेलाई गरियो । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए । मधेसी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ ? मधेसी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो ?’
सरकारले पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको उनले विरोध गरेका छन् । उनले पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर उनीहरुलाई सुविधा दिन नहुने बताए । उनले भने, ‘पूर्व विशिष्टको सुविधाको कुरा छ । पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने । रिटायर्ड भएर पनि जनताको लुट्ने ? त्यो मिल्दैन । जनता ऋणको मारमा जाने, पूर्व विशिष्टहरु पदमा जाँदा पनि लुट्ने, रिटायर्ड भएर पनि लुट्ने । यो बन्द हुनुपर्छ ।’
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आइतबार उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति असन्तुष्टि जनाएका छन् ।
बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा राखेका छन् । उनले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा शोभनीय नभएको बताए ।
“पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कानुन बनाउन लागेको भन्ने विषय पत्रपत्रिकामा आएको छ”, उनले भने, “देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषय अमान्य छ ।”
सांसद यादवले पूर्वराष्ट्रपति, प्रधानमन्त्री, पूर्वसभामुख, पूर्वराष्ट्रियसभाका अध्यक्ष, पूर्वसंविधान सभाका अध्यक्ष, मन्त्रिपरिषद्का पूर्वअध्यक्षहरुलाई आजीवन भत्ता, घर भाडा, सवारी साधन, सचिवालयका लागि कर्मचारी र सहयोगी राख्नेसहितको कानुनको मस्यौदा बनिरहेको भन्ने सुन्नमा आएको भन्दै मुलुकको कमजोर आर्थिक अवस्था, स्वास्थ्योपचार नपाएको र बेरोजगारीले युवा पलायन भइरहेका सन्दर्भमा यस्ता विषय आउन नहुने जिकिर गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई कमजोर बनाउने केही तत्त्वहरू लागिरहेको भन्दै त्यसप्रति सचेत रहन ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र कमजोर रहेको अवस्थामा जनतालाई राहत दिएर भरोसा बढाउनुपर्ने बेलामा पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिने प्रस्ताव प्रति असन्तुष्टि जनाए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले मुलुकको अर्थतन्त्र खस्किएको अवस्थामा राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिन नहुने धारणा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मकवानपुरको थाहा नगरपालिकामा हालै आएको हुरीका कारण विभिन्न वडामा पुगेको क्षतिबारे सरकारको ध्यानाकर्षण गराए । उनले प्रभावित स्थानीयलाई तत्काल राहत उपलब्ध गराउन माग गरे । हालैको असिना पानीसहित आएको हुरीबाट नगरपालिकाको वडा ३, ४ र ५ का झण्डै एक सय घरमा क्षति पुगेको उल्लेख गर्दै उनले सो सम्बन्धमा गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।
होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो ।
अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।
आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उनले बताए ।