२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा दलितको घर भत्काएको अभियोगमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाले उनीहरुलाई नियन्त्रणमा लिएर राखेको हो। महायज्ञको तयारीका लागि भन्दै पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले औरही गाउँपालिकाको वडा नम्बर ५ मा रहेको दिपक मरिक (डोम)को घरमा डोजर लगाएर भत्काएका थिए।

सोधपुछका लागि बोलाएपछि उनीहरु दुबैजना आफै जिल्ला प्रहरी कार्यालय आएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा अहिलेसम्म उजुरी भने परेको छैन्। पीडितले जाहेरी दिएको खण्डमा उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ।

काठमाडौं । जिलेप्सीजंग कार्कीको एक मात्र गोलमा नेपालले शुक्रबार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सिंगापुरलाई १–० ले पराजित गरेको छ ।

नेपालले सिङ्गापुर नेशनल स्टेडियममा यो ऐतिहासिक जित हात पारेको हो । खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिङ्गापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिङ्गापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिङ्गापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो । अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।

काठमाडौँ । चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका-५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका-५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका-१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका-६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका-५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौँ सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेका हो । उनीहरूबाट विभिन्न ब्राण्डका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको परिसरले जनाएको छ । 

बरामद मोबाइलमध्ये १८ थान आइफोन छन् । बुधबार ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको मोबाइल पाकेटमारी भएको थियो ।

पाकेट मारेर भागेको सूचना आएपछि प्रहरीले खोजी गरेको थियो । पाकेटमारीमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गर्दा ठूलो मात्रामा मोबाइल र ल्यापटप बरामद भएको हो ।

चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामाग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामहरूको व्यवस्थापन गर्न पहल अघि बढाएको छ ।

शुक्रबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्सांकन, सुरक्षित बा स्थान निर्माण, पूर्व तयारी, प्रतिकार्य, पुर्नलाभ, पुनर्स्थापनाका कार्यहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वयात्मक रूपमा कार्य गर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी बैठकमा नगर प्रहरीको क्षमता विकासमा माग अनुसार नेपाल प्रहरीले सहयोग गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता/सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समय बढ्दै गएको लागू औषध दुर्व्यसन, आत्महत्या, सडक दुर्घटना, साइबर अपराध लगायतका सुरक्षा चुनौतीको न्यूनीकरण गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा गर्न नीति कार्यक्रम तथा पूर्वाधार निर्माणमा सहकार्यलाई थप सुदृढ बनाइने छ ।

प्रहरी समायोजनको कार्यलाई निष्कर्षमा पुर्‍याउन आवश्यक कानून परिमार्जन तथा व्यवस्थापकीय तयारीको कार्यलाई गृह मन्त्रालयले प्रदेश सरकारसँग समन्वय अगाडि बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

“देशको समग्र शान्ति सुरक्षाको अवस्था र प्रादेशिक रूपमा देखिएका सुरक्षा चुनौतीहरूको विश्लेषण तथा समीक्षा गरिएको छ ।” प्रवक्ता तिवारीले भने,“ बैठकमा भएका निर्णय र प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रिय समन्वय परिषदमा पठाइनेछ ।”

पछिल्ला दिनमा देखिएका संविधान तथा व्यवस्था विरोधी गतिविधीहरुलाई निस्तेज गर्दै विद्यमान सुरक्षा चुनौतीहरूको सुरक्षात्मक निगरानी तथा नियन्त्रण गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन गृह मन्त्रालय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले प्रादेशिक आपतकालिन गोदामहरू प्रदेश सरकारलाई हस्तान्तरण थालिएको जानकारी दिए । “ कर्णाली र सुदूरपश्चिम प्रदेशमा हामीले प्रदेश सरकारलाई गोदामघरहरु हस्तान्तरण गरिसकेका छौँ ।” उनले भने,“ अरु प्रदेशमा पनि हस्तान्तरण गर्ने र पालिका स्तरसम्म गोदामहरू सञ्चालनमा ल्याउने गरी प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक छ ।”

बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी, प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. दिनेश भट्ट लगायतले  धारणा राखेका थिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागको आदेश बदर गर्न निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको लाज छोप्नका लागि आफू अदालत धाइरहेको बताएका हुन् ।

‘सरकार अहिले नाङ्गिएको हुनाले लाज छोप्नका लागि म अदालत घुमिरहेको छु । सरकारको लाज छोप्दिनु पर्नेछ । म ठाउँ–ठाउँमा पुग्नुपर्नेछ । समय आउँदैछ । सबैलाई तयार हुनका लागि भन्न चाहन्छु । गेट रेडी फर द रेभुलेसन,’ उनले भने । त्यस्तै, दुई तिहाइको सरकारले समस्याको समाधान गर्ने बाचा गरे पनि कुनै विषम परिस्थिति बिना नै मिलेको हुँदा यसले भयावहको स्थिति निर्माण गर्नेबारे पनि संसदमा बोलेको बताए ।

‘दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकारले देशको तमाम समस्या समाधान गर्नुपर्ने थियो । के बाचा गरेको थियो,’ उनले भने, ‘एउटै कुरा स्मरण गराउन चाहन्छु । मैले संसदमा जब दुई ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थितिमा मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति भयावह हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर भनेको थिएँ । त्यही स्मरण गराउन चाहन्छु ।’

उनले आफू बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने पनि उनले बताएका छन् । सञ्चारकर्मीले रवि लामिछाने र राजावादीको प्रदर्शनबारे पनि प्रश्न गरेका थिए । त्यसमा उनले आफू कुनै आवेग र उत्तेजनामा आएर अभिव्यक्ति नदिने जबाफ दिएका छन् ।

मोरङ  सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन्।

यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए।

विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ। वि.सं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो।

प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा +२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए। कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन्।

काठमाडौं । सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ । सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

सिरहामा दलित समुदायको घर भत्काइएको घटनाको व्यवस्थापन गर्न नसकेको विषय उठेपछि प्रजिअलाई मन्त्रालय तानेको स्रोतले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दोषीमाथि हदैसम्मको कारवाही गर्न माग गरेका थिए ।

काठमाडौं । यस पटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ । यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ ।

तर यदि, चीनको यो दाबी सत्य साबित भयो भने यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुनको भण्डार हुनेछ, जुन दक्षिण अफ्रिकाको दक्षिणी गहिरो खानीभन्दा पनि ठूलो सुनको भण्डार हुनेछ । चिनियाँ माटोमा फेला परेको यो सुनको खजानाको मूल्य करिब ८३ अर्ब अमेरिकी डलर अर्थात ६०० अर्ब युआन रहने अनुमान गरिएको छ । जसका कारण चीनको अर्थतन्त्रलाई धेरै बल मिल्नेछ । यसबाहेक विश्वभर सुनको मूल्यमा पनि असर पर्न सक्छ ।

साइन्स अलर्टको रिपोर्टका अनुसार चीनको हुनान प्रान्तको भू–गर्भ ब्यूरोले पिङजियाङ काउन्टीमा २ किलोमिटर गहिराइमा ४० वटा सुन खानी फेला पारेको हो, जसमा करिब ३०० मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । तर, त्यसक्रममा थ्रीडी मोडलिङ प्रविधि प्रयोग गरे पछि ३ किलोमिटर गहिराइसम्म थप धेरै सुनको भण्डार फेला परेको जनाइएको छ ।

जसका कारण यो सुनको भण्डारको कुल तौल १ हजार मेट्रिक टनसम्म पुग्न सक्छ । हाल, हुनान प्रान्तको भूगर्भीय प्रकोप सर्वेक्षण र अनुगमन संस्थानका प्राविधिकहरूले पिङ्क्सियाङ काउन्टीमा रहेको सुन खानीबाट नमूनाहरू जाँच गरिरहेका छन्। हुनानको भूगर्भ ब्यूरोका अन्वेषक चेन रुलिनले एक विज्ञप्तिमा भने, ‘पिङ्जियाङ काउन्टीमा ड्रिलिङको क्रममा रक कोरमा सुन फेला परेको थियो । नमूनाहरू जाँच गर्दा प्रत्येक मेट्रिक टन अयस्कमा १३८ ग्रामसम्म सुन भेटियो ।’

विश्व सुनको उत्पादनमा करिब १० प्रतिशत योगदान दिने चीन विश्व सुन बजारमा पहिले नै अग्रस्थानमा रहेको छ । अब नयाँ सुन भण्डार फेला पारेपछि यस्तो अवस्थामा चीनको योगदान निकै महत्वपूर्ण हुन्छ । चिनियाँ विज्ञहरू अझ यो पनि विश्वास गर्छन् कि धेरै ठूला सुन भण्डारहरू अझै पनि चीनको माटो भित्र लुकेका छन् । एजेन्सी

लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । संघको ३२औं स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान गरे ।

संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०/८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताए । संघले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिए ।

‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौं’, उनले भने, ‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।’ आगामी दिनमा सबै सूचकाङ्कमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उनले बताए । सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले हरेक वर्ष जारी गर्ने ह्याप्पिनेस इन्डेक्स (खुसीमापक सूची) सन् २०२५ हालै जारी भएको छ। सो सूचीमा नेपाल ९२औं स्थानमा परेको छ।

अघिल्लो वर्ष (२०२४ मा) ९३औं स्थानमा रहेको नेपाल यो वर्ष यो एक तह माथि उक्लिएको छ। त्यसो त सन् २०२३ को खुसीमापक सूचीमा नेपाल ७८औं स्थानमा थियो। त्यस्तै यो सूचीमा नेपाल सन् २०२२ मा ८४औं, २०२१ मा ८७औं र २०२० मा ९२औं स्थानमा थियो।

खुसीमापक सूचीमा अघिल्ला सात वर्षजस्तै यस वर्ष पनि फिनल्यान्ड पहिलो स्थानमा परेको छ। डेनमार्क, आइसल्यान्ड, स्विडेन र नेदरल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन्। यो सूचीको ११औं नम्बरमा अस्ट्रेलिया, १२औंमा न्युजिल्यान्ड, २२औं नम्बरमा जर्मनी, २३औं नम्बरमा बेलायत, २४औं नम्बरमा अमेरिका र ६८औं नम्बरमा चीन छन्। भारत ११८औं नम्बरमा रहेको छ। त्यस्तै पाकिस्तान १०९औं, श्रीलंका १३३औं र बाङ्लादेश १३४औं नम्बरमा परेका छन्। खुसीमापक सूचीको सबैभन्दा पुछार अर्थात् १४७औं नम्बरमा अफगानिस्तान छ।

कुनै पनि देशका जनताको जीवनस्तर मापन गरी खुसी हेरिन्छ। यसका लागि देशको जिडिपी परक्यापिटा, सामाजिक सहयोग, जनताको स्वास्थ्य र स्वतन्त्रताको पनि मापन गरिन्छ। सर्वसाधारणमा अरूप्रति सहयोगी भावना कति छ र भ्रष्टाचारप्रति उनीहरूको दृष्टिकोण कस्तो छ भन्ने धारणालाई समेत मूल्यांकन गरी खुसीमापन सूची जारी गरिन्छ। नेपालको अवस्था सन् २०२३ मा ७८औं स्थानमा भए पनि २०२४ मा ९३औं स्थानमा झरेको देखिन्छ।

भुटानले जिडिपीको साटो ग्रस ह्यापिनेस इन्डेक्स प्रयोग गर्छ। त्यसैले भुटानले आफ्नो तथ्यांक संयुक्त राष्ट्रसंघलाई दिने गरेको छैन। देशमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गरेमा, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिएमा, पारदर्शितालाई बढवा दिँदै भ्रष्टाचार नियन्त्रण गरेमा, सामाजिक सुरक्षाका लागि शिक्षा तथा सामाजिक सेवा बढाउन सकेमा नेपाल खुसीसूचीमा अगाडि आउन सक्ने विशेषकहरू बताउँछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।