२०८३ असार १४ गते आईतवार
२०८३ असार १४ गते आईतवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ । आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र संगठनहरुले शुक्रबार उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरेकोप्रति ध्यानाकर्षण जनाउँदै उक्त अपिल गरेको हो।

आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ। उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए।

आयोगका प्रवक्ता डा. पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुन भनिएको छ। ‘अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको आंकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गर्दछ।’

आयोगले प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त समेत गरेको छ । आयोगले उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको जनाएको छ ।

छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्तिसुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको जानकारी गराए। आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्न निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरु बनाई शुक्रबार हुने प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्नेछ।

काठमाडौं । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।

भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासंघको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’ मा सहभागी भारतका व्यावसायिक घरानाले, नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड दिए । उनीहरुले लगानी गरेपछि प्रतिफलको सुनिश्चितता, सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत जलविद्युत् आयोजनाले सामना गर्नुपरेका समस्या समाधानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) का आयोजना निर्देशक सुशील शर्माले नेपालमा काम गर्न वन, जग्गा प्राप्ति, भन्सार र सडकको समस्या रहेकाले ती समस्या समाधानमा सरकारले सहजीकरण गरिरहेको उल्लेख गरे । एसजेभीएनले २१७ किलोमिटर लामो प्रसारणलाइन निर्माण गरिरहेको र सरकारको सहयोग रहेकाले ९०० मेगावाटको आयोजना तीन वर्षमै ८४ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

अरुण–३ मा ३४ हजार करोड भारतीय रुपैयाँ लगानी गरेर २५ वर्षपछि सरकारलाई हस्तान्तरण गरिने भएकाले यसले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उनको दाबी थियो । यो आयोजनाले भारतीय लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने शर्माले बताए । अडानी ग्रुपका उपाध्यक्ष जयरमन पुनिधानले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न कम्पनीले राम्रा आयोजनाको खोजी गरिरहेको बताए । विश्वभर २७ हजार ३०० मेगावाट विद्युत् उत्पादनका लागि अडानी ग्रुपले ‘एमओयू’ गरेको जानकारी दिँदै उनले अडानीको प्राथमिकतामा छिमेकी मुलुक र क्षेत्रीय ऊर्जा बजार रहेको उल्लेख गरे।

भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव आकाश त्रिपाठीले नेपाल र भारतबीच एक हजार मेगावाट विद्युत् आदानप्रदानको संरचना तयार भइसकेको र आठ हजार मेगावाट विद्युत् आदानप्रदान गर्ने क्षमताका चारवटा प्रसारणलाइन निर्माणाधीन भएकाले नेपालमा उत्पादित विद्युत् भारत निर्यातका लागि समस्या नहुने बताए । उत्तर भारत हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक नरेश गोयलले नेपाल सरकारले प्रशासनिक अवरोध हटाएर लगानीको वातावरण बनाइदिएमा भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताए ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाल सरकारले अघि सारेको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राप्तिका लागि दूतावासले सम्मेलन आयोजना गरेको बताए । उनले भारतीय लगानीकर्ताले नेपालमा आयोजनाको स्वामित्व किनेर वा ‘जोइन्ट भेन्चर’ मा पनि काम गर्न सक्ने जानकारी दिए ।

काठमाडौं । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन आयोजना गरी समितिले यो जानकारी दिएको हो ।

‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ,’ पत्रकार सम्मेलनमा भनिएको छ । प्रसाईकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् । यता भोलि नै गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् । दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

काठमाडौँ । विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै बुधबार घिसिङ सर्वोच्च पुगेका थिए । समय अभावका कारण बुधबार दर्ता हुन नसकेको रिट बिहीबार दर्ता भएको हो ।

अदालतका सहायक प्रवक्ता एवं सूचना अधिकारी निराजन पाण्डेका अनुसार सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ ।

रिट निवेदन अनुसार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्री दिपक खड्का एवं उनले सम्हालेको मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा दाबी गरिएको छ ।

सर्वोच्च अदालत प्रशासनले शुक्रबारका लागि उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।

अभियन्ता दुर्गा प्रसाई र पूर्वराजा ज्ञानेन्द्र शाहबीच निर्मल निवासमा गोप्य भेटवार्ता सुरु गरेका छन् । केहिबेर अघि प्रसाई निर्मल निवास प्रवेश छन् । उनको पूर्वराजासँग अर्थपूर्ण संवाद हुने जनाइएको छ।

यस भेटवार्तालाई राजनीतिक वृत्तमा गम्भीर चासोका साथ हेरिएको छ। प्रसाईले भोली (चैत्र १५) काठमाडौंको तीनकुनेमा जनविद्रोहको घोषणा सभा आयोजना गर्ने तयारी गरिरहेका छन्। यस्तो परिस्थितिमा पूर्वराजासँगको भेटवार्तालाई निकै गम्भीरतापूर्वक राजनितिक चासोका साथ हेरिएको छ ।

प्रसाईले यसअघि पनि संवैधानिक राजतन्त्र पुनःस्थापनाको माग गर्दै विभिन्न प्रदर्शन र सभा गर्दै आएका छन्। उनले लघुवित्त, सहकारी, बैंक तथा भ्रष्ट नेताहरूबाट पीडित नागरिकहरूको पक्षमा आफू लडिरहेको बताएका छन्। यसै क्रममा, २०८० मंसिर ७ गते उनले बल्खुमा ठूलो संख्यामा नागरिक उपस्थित गराई शक्ति प्रदर्शन गरेका थिए।

पछिल्लो समय राजसंस्था पुनःस्थापनाका पक्षधरहरू सक्रिय बन्दै गएका छन्। प्रसाईको नेतृत्वमा भइरहेको आन्दोलनलाई राजसंस्थाप्रति आशा राख्ने समूहले समर्थन गरेका छन् ।

भोलीको जनबिद्रोहमा राप्रपा, राप्रपा नेपाल, राष्टिय शक्ति नेपाल लगायत राजा र हिन्दु धर्मलाई मुल एजेन्डा बनाउदै आएका शक्तिहरुले समर्थन गरेका छन् । प्रसाईले लाखौं मानिस सडकमा आउने दाबी गरेका छन् ।

ऋतु अनुसारका चाडपर्वले गाउँघरमा रमाइलो मात्रै ल्याउँदैनन्, शैक्षिक उन्नयनका लागि वरदानसमेत बन्न थालेका छन्। यहाँको एक विद्यालयले होली र देउसीभैलो खेलेर विद्यालयमा बालउद्यान स्थापना, अतिरिक्त शैक्षिक क्रियाकलाप र निजी स्रोतका शिक्षकलाई तलब खुवाउने स्रोत जुटाउँदै आइरहेको छ।

पाटन नगरपालिका- ९, हुक्केडाँडास्थित सिद्धेश्वर माविले शैक्षिक उन्नयनका लागि मौलिक चाडपर्वको उपयोग गर्दै प्रत्येक वर्ष आर्थिक सहयोग जुटाउँदै आएको छ। यो वर्ष शिक्षक, विद्यार्थी र अभिभावकले चार दिन होली खेलेर विद्यालयको खातामा तीन लाख १८ हजार ८५० रुपियाँ जम्मा गरेका छन्।

चाडबाडका अवसरमा विद्यालयले २०७१ सालदेखि २०८१ सम्म होली र देउसीभैलोबाट १७ लाख ३४ हजार ६१४ रुपियाँ आर्थिक स्रोत जुटाएको छ । संकलन भएको रकम गणित, विज्ञान, सामाजिक पढाउने छ जना निजी स्रोतका विषयगत शिक्षकको तलब भत्तामा खर्च हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए।

सिद्धेश्वर माविका शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका सदस्यले सन्देशमूलक होली खेलेर स्रोत जुटाउने गरेको उनले बताए। उहाँले अतिरिक्त शैक्षिक क्रियाकलाप र निजी स्रोतका शिक्षकका लागि वार्षिक लाखौँ रुपियाँ खर्च हुने गरेकामा मौलिक चाडपर्व नै आर्थिक सहयोग जुटाउने माध्यम रहेको बताए।

छ जना निजी स्रोतका शिक्षकमध्ये पाँच जनालाई नगरपालिकाले मासिक १६ हजार रुपैयाँ दिने भए पनि सो रकम अपुग भएकाले विद्यालयले थप रकम बेहोरेर मासिक २७ हजार रुपियाँ तलब दिने गरेको प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताए। विद्यालयको स्रोत जुटाउन होली र देउसीभैलो मुख्य चाड बनेको विद्यालयले जनाएको छ । नयाँ पुराना पुस्ताले सँगसँगै चाडबाड मनाउँदा मौलिक संस्कृति पुस्तान्तरण हुनुका साथै लोकसंस्कृतिको जगेर्ना भएको व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले अनुभव सुनाए।

शिशुदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा सरकारी स्तरबाट प्राविमा तीन जना मात्रै स्थायी शिक्षक छन् । योबाहेक प्राविमा एक जना राहत शिक्षक, निमाविमा सङ्घीय अनुदान एक र माविमा दुई गरी जम्मा तीन जना अनुदान शिक्षक रहेका छन् । योबाहेक छ जना शिक्षकको तलब मौलिक चाडपर्व देउसीभैलो र होलीबाट संकलन हुने गरेको बताइएको छ। गोरखापत्र दैनिकमा समाचार छ

नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युतको सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

मंगलवार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

अहिले २० युनिटसम्म विद्युत् प्रयोग गर्ने जनताले सेवाशुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्छ । त्यसमा प्राधिकरणले ५० प्रतिशत छुट दिने निर्णय गरी त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

नियमन आयोगले स्वीकृति दिएपछि यो दर लागू हुनेछ ।

त्यस्तै, २० युनिटसम्म विद्युत उपभोग गर्ने गरिब र साना ग्राहकहरूकोमा तीन महिनामा एकपटक मात्रै मिटर रिडिङ गर्ने निर्णय भएको शाक्यले जानकारी दिए ।

हाल सबै ग्राहकहरूको मिटर महिनैपिच्छे रिडिङ हुने गरेको छ ।

हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार ९ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो । राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे प्रहरीले जनाएको छ ।

घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो ।

राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।
मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् । दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइएपनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अलिअप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलाे भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। अध्ययनमा त्यति समय दिन नसकिएला। अरूका काममा चासाे लिँदा समस्या निम्तिन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।