२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

राजसंस्था पुनर्स्थापना अभियानको संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् ।

राजावादीहरूले गरेको आन्दोलन अशान्तिपूर्ण बनेपछि सुवेदीलाई सरकारले आफ्नै घरभित्र नजरबन्द गरिदिएको हो ।

उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउमा हिँडडुल गर्न कडाइ गरिएको छ भने फोटो खिच्न रोक लगाइएको छ ।

गुह्येश्वरी हाइटमा रहेको नवराजको घरमा अहिले ६ जना बस्छन् । तीनजना परिवारका सदस्य (नवराज, उनकी पत्नी र छोरा) हुन् भने अन्य तीन नजिकका आफन्त हुन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ ।

पारिवारिक स्रोतले भन्यो, ‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’

सुवेदीले आफ्नो मोबाइल फोन प्रयोग गर्न पाएका छैनन् । प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको पारिवारिक स्रोतले बतायो । घरको इन्टरनेट भने काटिएको छैन ।

नजरबन्दमा भएदेखि पार्टी र अभियानका नेताहरुसँग नवराजको सम्पर्क लगभग विच्छेद भएको छ । केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

नवराजका छोराले कनक सुवेदीले बुवाआमाको स्वास्थ्य हेरविचार गर्ने गरेका छन् । उमेरले ९० छुन आँटे पनि नवराज शारीरिक र मानसिकरूपमा सबल नै छन् । आफ्नै जीवनकालमा राजसंस्था फर्किन्छ भन्नेमा उनी आशावादी रहेको निकटस्थ स्रोतहरू बताउँछन् ।

काठमाडौंको तीनकुनेमा शुक्रबार घटेको घटनामा पक्राउ परेका ४१ जनामाथि प्रहरीले थप अनुसन्धान गर्न म्याद थप गरेको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ४१ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । चैत १५ गतेदेखि नै मानिसहरू पक्राउ परेकाले त्यस दिनदेखि गन्ती गरी पाँच दिनको अनुमति दिइएको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले ४१ जनाविरूद्ध दुई वटा अनुसन्धान प्रतिवेदन तयार गरी अनुसन्धान अघि बढाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवल शमशेर राणासहित ११ जनालाई राजद्रोह र संगठित अपराधमा अनुसन्धान गर्ने भएको हो । अन्य ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न म्याद लिएको हो । यसरी म्याद लिँदा न्यायाधीश महर्जनले मिश्र र राणाको स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर उपचारको व्यवस्था मिलाउन आदेश दिएकी छन् ।

त्यस्तै प्रहरीले भक्तपुर बस्ने ४२ वर्षीय सन्तोष चौधरी, ५१ वर्षीय रामकुमार धिमाल, ४१ वर्षीय पशुपति खड्का, ४२ वर्षीय हरिहर चौलागाईं र ३९ वर्षीय विष्णु पराजुलीलाई पनि पक्राउ गरेको छ । बाँकी ३० जना पनि विभिन्न सिसिटिभी फुटेज, भिडिओ, फोटोमा देखिएका व्यक्तिहरूलाई पक्राउ गरेको एसपी बोहराले बताए ।

उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए । प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

राप्रपाका  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलसम्सेर राणालाई ५ दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौँले मिश्र र राणालाई  राज्यविरुद्ध र संगठित अपराधको अभिओयोग लगाउदै म्याद थापका लागि अदालत लागेको थियो ।   

त्यस्तै अन्य ३० जनालाई आपराधिक उपद्रोमा अनुसन्धानका लागि म्याद थपिएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । ४१ मध्ये मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्ध र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद लिन अदालतमा उपस्थित गराइएको हो ।

अन्य ३० जनालाई भने आपराधिक उपद्रवमा अनुसन्धानका लागि म्याद लिन उपस्थित गराइएको छ । अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनेको म्याद मागेको सरकारी वकिल प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनपछि तोडफोड, आगजनी, लुटपाट भएको थियो । दुगाई प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए । प्रसाईंलाई भने ‘जनकमाण्डर’ तोकिएको थियो । प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको आरोप छ । मिश्र र राणालाई हतकडी लगाएर म्याद थपका लागि काठमाडौं अदालत उपस्थित गराइएको छ ।

यता शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् । आइतबार उनले फेसबुकमा भिडिओ राख्दै आफू काठमाडौंकै कुनै मन्दिरमा बसेको उल्लेख गरेका छन् । प्रहरीले संगठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ । चैत १५ गते तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बेग्लाबेग्लै ८ वटा पत्र काटेर ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललाई हाजिरी जमानीमा छुटेका छन् ।

उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।

उनलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा फर्काउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्नेछन् । लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन÷महाधिवेशन कार्यतालिकालगायत पनि छलफलको एजेण्डामा छ ।

नेपाल प्रहरीले राजसंस्था पुनः स्थापनाको माग गर्दै काठमाडौँमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्न व्यक्तिहरूबारे सूचना दिन दिन आग्रह गरेको छ ।

शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो ।

प्रहरी मुख्यालयले एक सार्वजनिक सूचना जारी गरी अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधारणसँग भएका तथ्यपरक सूचना ९फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण० उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिन भनेको छ ।

सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने समेत बताइएको छ । सूचना पठाउनको लागि प्रहरीले इमेल आइडी सार्वजनिक गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका जनकमान्डर बनाइएका व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नबनेको दाबी गरेका छन् ।

आफूलाई हत्या गर्न खोजिएको थाहा पाएपछि काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको उनको भनाइ छ ।

मन्दिर अगाडि बसेर एउटा भिडियो वक्तव्य जारी गर्दै दुर्गा प्रसाईंले प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएको बताएका छन् ।

उनले भिडियोमा भनेका छन् ।

चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ ।

माओवादीको सभामा ३ हजार मान्छे आए, हाम्रा मान्छे बढी हुन्छन् भनेर कलंकी, गौशाला, बसपार्कको मास आउन दिएनन् । जुलुस बाटोबाटोमा रोकेर १५ मिनेट अगाडिदेखि रणभूमि बनाए । म सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेर भित्र पसेको हो । प्रहरीप्रति दुश्मनी होइन । पर्न गएको चोटमा क्षमा चाहन्छु ।

दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरुकै अगाडि मर्छु ।

 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले चैत १३ गते हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो।

बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तुको प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न  भनिएको छ।

साथै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ।

पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। स्थानीयवासीले भने सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन निर्मल निवास गएका काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फिर्ता पठाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।

पत्र बुझाउन निर्मल निवास पुगेका काठमाडौं महानगर टोलीलाई पत्रको विषयमा कुराकानी हुन नपाउँदै फिर्ता पठाइएको हो । ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । ‘पत्र बुझ्न मानेनन् अब हामी प्रक्रियामा जान्छौं’, उनले भने । महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो । शुक्रवार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।