
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । संगठित रूपमा सहकारी ठगी गरेको आरोप लागेका लामिछानेलाई उच्च अदालत बुटवलको इजलासले थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई घरमै गएर पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनलाई आज काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिनेछ । भोलि मात्रै उनलाई भैरहवा लग्ने तयारी गरिएको छ । शुक्रबार उच्च अदालत बुटवलले थुनामा पठाउने आदेश गरेलगत्तै बुढानीलकण्ठस्थित लामिछानेको निवासमा प्रहरीको टोली पुगेको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेपछि उनी उच्च अदालत पुगेका थिए । तर, उच्च अदालतले थुनामा पठाउन आदेश दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो । सभापति लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा थुनामा पठाउने आदेश भएको हो । यसअघि जिल्ला अदालतले रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।
काठमाडौं । अमेरिकामा अध्ययनरत सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ–१ भिसा अर्थात् विद्यार्थी भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । यो मेल अमेरिकी विदेश विभाग (डीओएस) ले मार्चको अन्तिम साता पठाएको हो ।
यो इमेल ती विद्यार्थीहरूलाई पठाइएको हो जो क्याम्पसमा भइरहेको प्रदर्शनमा संलग्न थिए । रिपोर्टहरूका अनुसार यस्ता इमेलहरू क्याम्पस प्रदर्शनमामा संलग्न नभएका तर सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्टहरू साझा, लाइक वा टिप्पणी गरेका विद्यार्थीहरूलाई पनि पठाइएको छ ।
मेलमा विद्यार्थीहरूको एफ–१ भिसा रद्द गरिएको बताइएको छ । विद्यार्थीहरूलाई आफूलाई देश निकाला गर्न अर्थात् अमेरिका छोड्न भनिएको छ । यदि उनीहरूले त्यसो नगरेमा कानुनी कारबाही भोग्ने चेतावनी पनि दिइएको छ । अमेरिकी सरकारले ’क्याच एण्ड रिभोक’ एपको सहयोगमा त्यस्ता विद्यार्थीहरूको पहिचान गरिरहेको छ । विदेश सचिव मार्को रुबियोका अनुसार मार्च २६ सम्ममा ३०० भन्दा बढी ’हमास–समर्थक’ विद्यार्थीहरूको एफ–१ भिसा रद्द गरिएको थियो । यसमा धेरै भारतीय विद्यार्थीहरू पनि सामेल छन् ।
यो मेल धेरै विश्वविद्यालयका विद्यार्थीहरूलाई पठाइएको छ । यसमा हार्वर्ड विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालय, येल विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय, मिशिगन विश्वविद्यालय जस्ता प्रसिद्ध संस्थाहरू समावेश छन् । यद्यपि, कति विश्वविद्यालयका कति विद्यार्थीलाई यो मेल पठाइएको छ भन्नेबारे यकीन जानकारी अझै खुलाइएको छैन ।
इमेलमा विद्यार्थीहरूलाई अमेरिकी आप्रवासन तथा राष्ट्रियता ऐनको धारा २२१ (i) अन्तर्गत उनीहरूको एफ–१ भिसा रद्द गरिएको बताइएको थियो । अब यदि उनीहरू अमेरिकामै रहे भने उनीहरूलाई जरिवाना, हिरासत वा देश निकाला गर्न सकिने बताइएको थियो ।
बैंकक – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ।
यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित गरेको हो।
प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन्।
थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए।
नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो। शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन् । सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए । प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिए । उनले भने, ‘पहिला प्राधिकरण धाउने अवस्था थियो, अहिले फेरियो, बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ ।’ उनले लोडसेडिङको अन्त्य गरी ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताएका छन् ।
घिसिङले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन् । उनले आम नागरिकको रुपमा आफूले गर्ने काममा कहिल्यै कमी नहुने उनले बताएका छन् । ‘सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनायो, म जिम्मेवार नागरिकका रुपमा कहिले कम हुने छैन,’ उनले भनेका छन्, ‘राज्यको सबै शक्ति ममाथि खनाइयो, यसमा जनता आफैं प्रष्ट छ, सार्वभौम संसद् दुरुपयोग गरियो, यसबाट म विचलित भएको छैन ।’
उनले आफूमाथि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले अनावश्यक नैतिक प्रश्न उठाउने काम गरेको पनि आरोप लगाएका छन् । ‘प्राधिकरणलाई बक्यौता असुल गर्ने काममा अवरोध सिर्जना गरियो, विद्युत्मा आत्मनिर्भर बनाउने मेरो प्रयास थियो,’ ममाथि वर्तमान ऊर्जामन्त्रीबाट अनावश्यक नैतिक प्रश्न उठाउने काम भयो, परिपक्व सल्लाह मार्गदर्शन दिनुको सट्टा मनोबल गिराउन सुनियोजित आक्रमण गरियो ।’
स्थानीयको अवरोध पश्चात् निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको निर्माण कार्य २० दिनदेखि ठप्प भएको छ।
स्थानीय बासिन्दाहरूले विभिन्न राख्दै समय समयमा निर्माण कार्य रोक्ने गरेका छन्। पुराना मागहरूको सम्बोधन नभएको भन्दै उनीहरुले चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन्। अहिले काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ।
काठमाडौं । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरुले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, ‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।’
विरोधका कारण विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन। यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए । विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन् ।
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ। खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय उपलब्धिमूलक नै रहनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ। अरूका लागि धन खर्च हुनेछ। आजकाे लाभांश सञ्चय नहुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आस मारेकाे काम समेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यात्मक परिस्थितिले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्न सक्छ। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। व्यर्थ विवादले शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुताे लाग्न सक्छ। समय लागे पनि प्रयत्न गर्दा विगतका कमजाेरी सच्याउन सकिनेछ। खर्च लागे पनि रमाइला ठाउँकाे भ्रमण गर्ने साइत जुर्न सक्छ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। सावधानीले फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। विज्ञको मार्गदर्शन पाइनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ।





