२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

काठमाडौं । फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे ।

प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।

गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताए ।

यस्तो छ प्रसाईंको भनाइ

खास गरेर धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुराहरु आए । मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा आए । हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा एउटा व्यक्तिले नै सुरु गर्ने हो ।

दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ । दुर्गा भनेको विचार हो । म भागेको होइन, जोगिएकोमात्र हो । म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ । म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।

१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५-५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।

म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ , तर म अरु ऊर्जा र उमंगका साथ, नयाँ योजनाका साथ आउँदैछु ।

मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।

आईजीपी साबलाई भन्न चाहन्छु, मलाई खोज्नुपर्दैन । तपाईंले मेरो सुरक्षाको जिम्मेवारी लिनुहुन्छ भने २४ घन्टाभित्र सार्वजनिक हुन्छु ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने बताएका छन् । राजावादी शक्तिहरूको समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लोहनीले शान्तिपूर्ण आन्दोलनलाई कमजोर नसम्झन चेतावनी दिए।

‘उनले भने, ‘हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ। अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन अब संघर्ष गर्ने समय आएको छ।’ नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिए। नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो।

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए। उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए।
नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे। आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए । उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए।

‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय शिक्षा विभागले शिक्षा ऐन नबन्नु लज्जास्पद विषय भएको बताएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै रास्वपाले संविधान बनेको लामो समयसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको हो ।

‘संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद छ। सरकार आफैंले बनाएको उच्चस्तरीय शिक्षा आयोग, २०७५ को प्रतिवेदन लुकाएर पनि शिक्षा ऐन निर्माणलाई पर धकेल्ने कार्य भयो,’ विभाग प्रमुख एवं सहमहामन्त्री सुमना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै रास्वपाले यसमा पार्टीको फरक मत नरहेको स्पष्ट पारेको छ । रास्वपाले पटक–पटक सदनमा पनि शिक्षकहरूको हकहितको कुरा उठाउँदै आएको भन्दै आफू सरकारमा हुँदा शिक्षकको हकहितका लागि काम गरेको पनि उनले दाबी गरिन् ।

‘सरकारमा हुँदा पनि विशेष शिक्षकहरूको हकहितको लागि नियमावली संशोधन गरेर अर्थ र कानुन मन्त्रालयमा पठाएकै हो । शिक्षकको पेन्सनपट्टा जिल्लास्तरबाटै बनाउनको लागि पनि अगाडि बढाएकै हो,’ उनले उल्लेख गरेकी छन्, ’शिक्षा विधेयक पेस हुँदै गर्दा पनि रास्वपाको धारणा सो विधेयक विधार्थी केन्द्रित नभएको र शिक्षाक्षेत्र पुनर्संरचनाको लागि उपयुक्त नभएको भन्ने नै थियो ।’

हेर्नुस् विज्ञप्ती

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यो घोषणा गरेका हुन् ।

उनले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन् । यदि माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनले बताए ।

‘हाम्रो अभियान सफल हुन्छ । हरेस नखानुस् । आजको आज, भोलिको भोलि भन्ने हुँदैन । सबै कुराको समय आउँछ। वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजक ज्यूको नजरबन्द खुलाएन भने, बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा साहदत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो,’ उनले भने।

उनले २१ गतेसम्म माग पूरा नभए सबैभन्दा पहिले आफूले गिरफ्तारी दिने बताए । ‘सबैभन्दा पहिले मैले नै गिरफ्तारी दिन्छु, म ७८ वर्ष पुगें । हामीले ज्यान माया मारेर आन्दोलनमा जाने हो । त्यसपछि को को आउनु हुन्छ, आउनुस्,’ उनले भने ।

शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

बानेश्वर-बबरमहल सडक-खण्डमा भेला भएका शिक्षक-कर्मचारीले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।

मंगलबार (हिजो) दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।

सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरूको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।

सेवानिवृत्त भएका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षमा ५९ लाख ४८ हजार रुपैयाँले बढेको छ ।

५ वर्षे कार्यकल पुरा गरी गत शुक्रबार राष्ट्र बैंकबाट बिदा भएको अधिकारीले आफ्‌नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकबाट बिदा हुँदै गर्दा २२ चैतमा राष्ट्र बैंकमा अधिकारीले आफ्‌नो सम्पत्ति विवरण बुझाएका हुन् ।

उनले बुझाएको सम्पत्ति विवरण अनुसार ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति का साथै वाणिज्य बैंकहरुको रहेको डलर खातामा २८ हजार ६०८ अमेरीकी डलर रहेको उल्लेख छ । मंगलबारको विनियम दर १३७ रुपैयाँलाई आधार मान्दा उनको सम्पत्ति मा भएको वृद्धि डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा मात्रै करिब ३६ लाख ४ हजार रुपैयाँ हुन आउँछ । नेपाली मुद्रामा गणना भएको कुल सम्पत्ति २३ लाख ४४ हजारले वृद्धि हुँदा उनले ५ वर्षमा कुल सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढाएका हुन् ।

नेपाल मुद्रमा मात्रै गभर्नरको ५ वर्ष कार्यकालमा अधिकारीको सम्पत्ति २३ लाख ४४ हजारले बढेको छ । तर, यस अवधिमा उनको सम्पत्तिको रुपमा रहेको डलर भने २६ हजार ३०६ डलरले वृद्धि भएर २८ हजार ६०८ पुगेको छ । गभर्नर नियुक्त हुँदै गर्दा २०७६ चैतमा उनको सम्पत्तिमा अमेरीकी डलर २ हजार ३०२ र ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ बराबरको सम्पत्ति थियो ।

 एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि हुने प्रक्षेपण गरेको छ। एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडीबीको छ । एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्नेछ ।

अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २.८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीको भनाइ छ । अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना पनि एडीबीले देखाएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए ।

उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए ।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो ।

लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।