
पर्सा । हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि वीरगञ्जमा प्रहरीले दुई राउण्ड हवाई फायर र २५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । घण्टाघरदेखि दक्षिणतर्फ वीरगञ्ज–३ छपकैयास्थित श्रीराम चोक पुगेर फर्किने क्रममा शोभायात्राका सहभागीमाथि अज्ञात समूहले ढुंगा हानेको थियो ।
त्यसपछि तितरवितर भएका सहभागीले टायर बालेर प्रदर्शन गरे भने पसलका फर्निचर निकालेर जलाएका थिए।झडपका क्रममा छपकैयाका दुई वटा बिरियानी हाउस, केही मासु पसल, एउटा औषधि पसलका साथै निजी घरमा तोडफोड गरियो। बिरयानी हाउसका फर्निचर, फ्रिज, चुल्हो, काउण्टर लगायतका सामान सडकमा ल्याएर आगजनीपनि गरियो। त्यसैक्रममा त्यहाँ ८ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।
अवस्था तनावग्रस्त बनेपछि नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको एसपी गौतम मिश्रले जानकारी दिएका छन् । सो क्रममा मिश्र र सशस्त्र प्रहरीका डीएसपीसहित २५ जना सुरक्षाकर्मी र करिब एक दर्जन बढी स्थानीय घाइते भएका छन् । अहिले वीरगञ्जमा कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बेलुका ६ः३० बजेदेखि भोलि मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक, पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो । हनुमान जयन्तीका अवसरमा प्रत्येक वर्ष यहाँ शोभायात्रा हुने गरेको छ ।
पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त नै रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिए ।
सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रशासनका अनुसार पूर्वतर्फ भेडियाही चौक– वीरगंज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगंज महानगरपालिका– १६ मा कर्फ्यु लगाइएको हो ।
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले आज (शनिबार) ११ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शर्त पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुको भनाई छ ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन सकेको छैन । आज ११ औं दिन पनि शिक्षकहरु सडकमा छन् । कतिपयले तलब वृद्धिको, पदस्थापनको वा सेवा सुविधाको विषयलाई लिएर मात्र आन्दोलन गरेको भन्दै आलोचना गर्दै आएका छन् । शिक्षकहरूले आफ्नो माग नभई समग्र शिक्षामा परिवर्तनको लागि आन्दोलन गरिरहेको बताएका छन् ।
‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’, ‘शिक्षक पेसालाई सम्मान गर’, लगायतका नारा लगाउँदै शिक्षकहरूले काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलन आइतबारदेखि आमहड्तालमा परिणत भएको हो । शिक्षकहरूले आइतबारदेखि विद्यालयका उत्तरपुस्तिका परीक्षण, तालिम, गोष्ठी, सेमिनार, भ्रमणलगायतका कुनै पनि कार्यक्रम गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनु नपर्ने बताएका छन् ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तगर्तको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली चलचित्रको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।
अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली चलचित्र प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ चलचित्र प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली चलचित्रका दर्शक उलेख्य रूपमा बढेको चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए ।
उनले भने, ‘यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई चलचित्र भवनमा तान्न सफल भए । स–परिवार नै चलचित्र हेर्न आएको पाइयो । पारिवारिक चलचित्रले दर्शक बढाउन महत्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष चलचित्र निर्माणमा वृद्धि हुनेछ ।’
उनले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यस वर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरूआत गरेका छन् । यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र चलचित्रको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उनले आउँदो वर्ष नेपाली चलचित्रका लागि महत्वपूर्ण भएको बताए ।
‘यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै चलचित्रकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती चलचित्रकर्मीले चलचित्र लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली चलचित्रले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ’, निर्देशक झाले भने। उनी आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिन्छन् । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा चलचित्र प्रदर्शन हुने अनुमान चलचित्रकर्मीले गरेका छन् ।
‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली चलचित्रको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान चलचित्रकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।
मुस्ताङ। मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ ।
गए राति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका– ९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर सल्यानको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।
गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक प्रहरी नियन्त्रणमा छन् ।
काठमाडौं । अघिल्ला वर्षहरूझै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :
राजनीतिक घटनाक्रम
वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले) का दमनबहादुर भण्डारी विजयी ।
वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी ।
वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।
जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।
जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।
जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।
जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।
असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।
असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।
असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।
असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।
साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।
साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।
पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कफ्र्यू आदेश ।
चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।
कूटनीति
वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।
जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान ।
कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।
मङ्सिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।
अपराध
वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।
जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ।
कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।
कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।
चैत ५ गते– काठमाडौँको टोखाबाट करिब रू २५ करोड बराबरको विदेशी मुद्रा बरामद ।
चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।
पूर्वाधार निर्माण
वैशाख ३ गते– नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।
माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।
आर्थिक गतिविधि
वैशाख १५ गते– काठमाडौँमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत
माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।
खेलकुद र पर्वतारोहण
जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औं पटक सगरमाथा शिखरमा ।
जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।
पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।
विविध
असार ९ गते– अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।
मंसिर २ गते– पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन ।
मंसिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान ।
मंसिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।
फागुन ३ गते– संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।
फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु ।
फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।
चैत १ गते– उपभोक्ता अदालत गठन ।
चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त ।
चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।
चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।
चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।
घटना–दुर्घटना
असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।
असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।
साउन ९ गते– काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
साउन २३ गते– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।
भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।
भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।
भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।
असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।
असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।
असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु ।
असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
मंसिर १४ गते– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।
माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। तर हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। आफ्नैले पनि काममा साथ नदिन सक्छन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। दिगो फाइदा हुने जिम्मेवारी भने प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। यात्रा, खानपान, मानोरञ्जन र पहिरनको सोख पनि पूरा हुने समय छ।