२०८२ जेष्ठ २ गते बिहीबार
२०८२ जेष्ठ २ गते बिहीबार

काठमाडौं । नयाँ बर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक (सरकारी) बिदा परेको छ । नेपालमा राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ सालमा ५२ वटा शनिबार परेका छन् भने ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा छन्। दसैँ र तिहार समेत विभिन्न पर्वका जम्मा बिदा २८ दिन हुनेछ भने गणतन्त्र दिवस समेत विभिन्न दिवसको कूल बिदा ६ दिन परेको छ । यसबाहेक स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिन सक्ने छन्।

हेर्नुस् २०८२ सालको बिदा सूची :

वैशाख

वैशाखमा ४ दिन शनिबार छन् । यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकै दिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ ।

जेठ

जेठमा ५ दिन शनिबार । अनि जेठ १५ गते गणतन्त्र दिवस ।

असार

असारमा ४ शनिबार। अन्य बिदा छैन ।

साउन

साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन् । २५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा ।

भदौ

भदौमा ४ शनिबार । भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ । १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व ।

असोज

असोजमा ४ शनिबार । ३ गते संविधान दिवस । असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा ।

कात्तिक

कात्तिकमा ५ शनिबार । कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा । कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा ।

मंसिर

मंसिरमा ४ शनिबार । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा ।

पुस

पुसमा ४ शनिबार । पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा ।

माघ

माघमा ४ शनिबार । माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा । माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा ।

फागुन

फागुनमा ५ शनिबार । ३ गते महाशिवरात्रिको बिदा । फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई–मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा ।

चैत

चैतमा ४ शनिबार । ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा) । चैत १३ गते रामनवमीको बिदा ।
यस्तो छ वर्षभरिको बिदा

आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो।

नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा हिजो यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो ।

यस्तै आजै तल्लो मूलपानी मैदानमा भएको खेलमा अफगानिस्तानले हङकङलाई ८ विकेटले हराएको छ।अफगानिस्तानले पहिलो खेलमा ओमानलाई पनि ८ विकेटले हराएको थियो । एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।

 नयाँ वर्षको दिनमा पनि शिक्षकहरूको आन्दोलन जारी नै छ ।

केही दिनदेखि लगातार आन्दोलन गर्दै आइरहेको शिक्षक आन्दोलन आज वैशाख १ गते पनि रोकिएको छैन ।

काठमाडौँ केन्द्रित आन्दोलनरत शिक्षकहरूले नयाँ शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दै आएका छन् ।

शिक्षकहरूले माग पूरा नभएसम्म आफ्नो कार्यक्षेत्रमा नफर्किने अडान लिएका छन् । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू वैशाख १ गते सम्म पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनका क्रममा शिक्षकहरूले हात हल्लाउने, मोबाइलको लाइट बाल्ने, सडकमा नै सुत्ने, सिट्ठी बनाउनेजस्ता कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

साथै, स्थानीय कला संस्कृति, वेशभूषाअनुसार सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना माग पूरा गर्न सरकारलाई खबरदारी गर्ने शैली पनि अपनाइसकेका छन् ।

शिक्षकहरू अहिले नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।

महासंघले विधेयकप्रति राहत, करार, बाल विकास, स्थायीलगायतका विभिन्न १८ बुँदे असहमति राखेका छन् ।

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

केही दिनअघि मात्र अमेरिका बसोबास गर्दै आएकी लम्साल नेपाल आएकी थिइन् । सार्वजनिक रूपमा उनी अभिनीत चलचित्र ‘घर: बट इन अमेरिका’ को प्रचारप्रसारका लागि नेपाल आएकी बताइए पनि वास्तवमा डिभोर्सको कानुनी प्रक्रिया अघि बढाउन आएको खुलेको हो ।

अमेरिकी नागरिक भइसकेकी अरुणिमाले नेपालमा सिधै मुद्दा दायर गर्न नसक्ने भएकाले वारेसमार्फत सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेकी हुन् । उनले वैवाहिक सम्बन्ध अगाडि बढ्न नसकेको बताउँदै श्रीमान् युवराजमाथि आरोप लगाएकी छन् । उनका अनुसार युवराजले विवाहपूर्व विभिन्न विषयमा झूट बोलेका थिए ।

गत भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूबीच परम्परागत शैलीमा विवाह भएको थियो । विवाहको प्रस्ताव अरुणिमालाई आफन्तमार्फत आएको थियो र केही दिनको चिनजानपछि उनीहरूले बिहे गरेका थिए । विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन्। उनी श्रीमानको घरमा बस्नसमेत नगई अमेरिका फर्किएकी हुन् ।

अरुणिमाले विवाहपछिका केही समयमै श्रीमान् युवराजसम्बन्धी विभिन्न नकारात्मक कुराहरू थाहा पाएको बताउँदै यस्तो झूटो आधारमा सम्बन्ध अघि बढाउन नसकिने निष्कर्षमा पुगेकी बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘विवाहअगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो, विवाहपछाडि नराम्रो मात्रै देखियो । उहाँले झूट बोलेको स्वीकार गर्नुभएको छैन ।’

उनी अनुसार पछिल्लो केही महिनायता श्रीमान्-श्रीमतीबीच बोलचालसमेत बन्द भइसकेको छ । अर्कोतर्फ, युवराजले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । बुझिएअनुसार उनी सम्बन्धविच्छेद गर्न नचाहने पक्षमा छन् ।

कानुन अनुसार सम्बन्धविच्छेदका लागि श्रीमान् र श्रीमती दुवैको सहमति आवश्यक हुन्छ । यदि सहमति नजनाए पनि, एक पक्षले मुद्दा दायर गरेपछि एक वर्षसम्म अर्को पक्षले हस्ताक्षर नगरेको खण्डमा अदालतले एकपक्षीय रूपमा सम्बन्धविच्छेदको फैसला दिन सक्छ ।

अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विवाह अमित अर्यालसँग भएको थियो । उनीहरूबाट एक छोरी पनि छन् । विवाहपछि उनीहरू अमेरिका सरेका थिए तर केही समयमै सम्बन्धविच्छेद भएको थियो। त्यसपछि अमितले पुनः विवाह गरेका थिए ।

मेषः दिन राम्रो छ। खर्चबाट जोगिनु पर्नेछ। मनमा साना कुराले सताउने जोखिम छ। गणेशको आरधना गरेर दिनको सुरुवात गर्नुपर्नेछ। विपक्षीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

वृषः बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। विपक्षी मोर्चा बलियो बन्दा राजनीतिमा घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुनः शैक्षिक क्षेत्रको गुणस्तर बढ्नेछ। पठनपाठनमा मिहिनेत गर्नुपर्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सामूहिक निर्णयबाट फाइदा हुनेछ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ।

कर्कटः दिन राम्रो छ। राजनीतिमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले दुःख दिनेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः शनिदेवको सुरुवाती दशा चल्दैछ। तपाईंको बोली सुनेर साथी टाढा पुग्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

कन्याः जग्गाको कारोबारबाट फाइदा हुनेछ। साथीभाइको साथ मिल्नेछ। कृषिको व्यापारबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा विपक्षी मोर्चामा रहेकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। मन खुशी बन्ने दिन छ। आफ्नो काम देखेर मन बुझाउने ठाउँ प्रशस्त छन्। साथीभाइको साथले विशिष्ट सम्मान प्राप्त हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

वृश्चिकः शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको सफल बन्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारमा कर्तव्य पूरा गर्नुपर्नेछ। धेरै माया देखाउँदा धोका हुने जोखिम छ।

धनुः दिन सामान्य राम्रो छ। आम्दानी बढे पनि इज्जतमा प्रश्न उठ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ।

मकरः दिन राम्रो छ। तपाईं साढेसातबाट मुक्त हुनुभएको छ। काम गर्ने शैली फेरिनेछ। मनमा उत्साह बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन उत्साहित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन सामान्य छ। वर्षको सुरुवाती दिन भएकाले शिवको भजन मात्र सुन्न सकेमा ठुलो फाइदा हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए राम्रो फाइदा हुनेछ। खर्च बढ्ने जोखिम छ।

मीनः दैनिकी सामान्य छ। शुद्धतामा ख्याल गर्नुपर्नेछ। बोलीमा नम्रताको खाँचो देखिन्छ। आफन्त टाढा हुने जोखिम छ। शिक्षामा ढिलासुस्ती हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यु आदेश हटाउने निर्णय भएको छ’, प्रजिअ अर्यालले भने, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पारेका छन् । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो। अहिले चलिरहेको सिद्धार्थी ५३ औं संवत्सर हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।