
कक्षा १२ को अन्तिम परीक्षा स्थगित भएको छ। यही वैशाख ११ गतेदेखि सुरू हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिलेलाई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए। उनले आगामी वैशाख २१ गते परीक्षा सञ्चालनको नयाँ मिति तय भएको बताए।
अध्यक्ष शर्माले परीक्षा सञ्चालनका लागि तय भएको नयाँ मितिबारे बुधबार बोर्डको वेबसाइट र सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने जानकारी दिए। बोर्डले तय गरेको नयाँ मितिमा परीक्षा सञ्चालनमा सहयोग गर्न उनले शिक्षकलगायत सम्पूर्ण सरोकारवालासँग आग्रह गरेका छन्।
विद्यालय शिक्षा कानुन ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएका देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। लगातार २१ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकबाट असहयोग हुने भएपछि परीक्षा सञ्चालनका लागि बोर्डलाई सकस परेको छ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने निर्णय गरिसकेको छ । तर, उक्त परीक्षामा शिक्षकहरूको कुनै पनि सहभागिता नरहने नेपाल शिक्षक महासंघले जनाएको छ।
महासंघले शिक्षकहरूलाई केन्द्राध्यक्ष र निरीक्षक रूपमा नबस्न भनेको छ । शिक्षककै उपस्थिति विना पनि महासंघले मंगलबार बिहान बोर्ड बैठक राख्दै परीक्षा नसार्ने निर्णय गरेको थियो। ‘शिक्षकहरू परीक्षामा सामेल हुँदैनन्,’ महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, ‘निजामतीले परीक्षा लिओस् कापी जाँच पनि उसैले गरोस्, शिक्षकहरू ऐनका लागि सडकमा लड्दा उनीहरूमाथि प्रश्न उठाउनु गलत हो ।’
परीक्षा र आन्दोलनबारे थप निर्णय गर्न महासंघको बैठक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक सुरु भएको छ । रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बैठक सुरु भएको नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले जानकारी दिएका छन् । ‘महासंघको बैठक सुरु भएको छ । विशेष गरी आजको बैठक २१ दिनदेखि जारी शिक्षक आन्दोलन र १२ कक्षाको परीक्षा केन्द्रित छ’, उनले भने । आज बिहान बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो । बोर्डले निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा लिने भएपछि महासंघले आपत्ति जनाएको थियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक–पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन नरोक्न अपील गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु । तपाईहरुले पटक–पटक आन्दोलन गर्नु भएको छ । पटक–पटक धोका भएको छ । यस पटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नुको सट्टा अपमान गरेको प्रचण्डको आरोप छ । ‘यो सरकारले एक दिन पनि सरकारमा बस्ने हैसियत गुमाइसकेको छ । दुई हप्तादेखि शिक्षकहरू आन्दोलरत छन् । तर, सरकारको नेतृत्वको गरेको प्रधानमन्त्रीले उनीहरूको मागप्रति गम्भीर हुनुको साटो उल्टै अपमान गर्ने, गाली गर्ने, तिनलाई हप्काउने गरेका छन्,’ उनले भने । उनले प्रधानमन्त्री ओली शिक्षकहरूको मागलाई बेवास्ता गरेको आरोप लगाए ।
काठमाडौँ । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ ।
मंगलबार बसेको बोर्डको बैठकले शिक्षक सहभागी नभए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षकहरू रुष्ट भएका छन् ।
परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको बोर्डले बेलुकासम्म अर्को अपिल आउने बताएको हो । ‘परीक्षा संवेदनशील विषय हो । शिक्षामन्त्रीज्यूले पनि राजीनामा गर्नुभयो । त्यसैले बिहान हामीले शिक्षकलाई अनुरोध गर्ने निर्णय गर्यौँ । तर शिक्षामन्त्री नभएका कारण सरकारसँग सल्लाह गर्नुपर्ने भएकाले छलफलमा छौँ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘बेलुकासम्म अर्को फाइनल निर्णयसहितको अपिल आउँछ ।’
बोर्डले अरु संयन्त्र प्रयोग गरेर परीक्षा गरे पनि उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघले घोषणा गरेपछि अर्को अपिल जारी गर्ने निर्णयमा महासंघ पुगेको हो ।
परीक्षाको दिन आउन २ दिन बाँकी छ । तर, विद्यार्थी र अभिभावक परीक्षा हुने नहुने अन्योलमा परेका छन् । बोर्डका अनुसार ५ लाख ११ हजार विद्यार्थीले १२ को परीक्षा दिँदै छन् ।
काठमाडौं । सडक आन्दोलनमा जारी राखेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । यहि बैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सुरु हुने तालिका छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक-प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षक-प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।’
विभिन्न मागसहित शिक्षा विधेयक जारी गर्नुपर्ने मागसहित २१ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन् । यसैबीच शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि कसरत गरिरहेकी भनिएकी शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइसकेकी छन् । उनले सोमबार प्रधामन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी हुन् । उनले मन्त्री निवास समेत छोडिसकेकी छन् ।
यता राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।
‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ । जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’ बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने । यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।
काठमाडौं । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ ।
लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब अर्को दिन दुई न्यायाधीश भएको संयुक्त इजलासमा पेशी तोकिनेछ ।
लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्। उच्चको आदेश बदर गरी थुना बाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन् ।
उच्चको आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन् । सर्वोच्चमा प्रारम्भिक सुनुवाइपछि कागजात झिकाउने आदेश भएको छ । सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ । उक्त रकममध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ । जीबी राई भने फरार छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ ।
स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।
शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बजारमा आज सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा छ हजार नौ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले उत्पन्न भएको अन्योलताबीच कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा सार्ने कुनै योजना नभएको स्पष्ट गर्दै सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा स्थगित हुने भन्ने आशंका निराधार भएको उल्लेख गर्दै, सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । आन्दोलनको प्रभावका बाबजुद पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।
तर बोर्ड अध्यक्ष शर्माले भने निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिने बताए । ‘सबै शिक्षक आन्दोलनमा हुनुहुन्न । सकेसम्म हामी शिक्षक नै केन्द्राध्यक्ष र निरीक्षक राख्छौँ,’ उनले भने, ‘जहाँ हुनुहुन्न, त्यहाँ सिडिओले विकल्प खोजेर परीक्षा सञ्चालन गर्न सक्नुहुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (मंगलबार) बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।
यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । अर्यालले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने ।
कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ । तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने-नहुने अन्योल छ । यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।
आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ। यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन्।