
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले शिक्षक आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पताल प्रशासन प्रमुख नारायण प्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको निःशुल्क रूपमा उपचार गर्ने बताएका हुन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको विज्ञप्ति उल्लेख छ ।
शिक्षक आन्दोलनको क्रममा आज २६ औँ दिनमा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा ६३ जना शिक्षक तथा कर्मचारीहरू घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गम्भीर चोट लागेको छ ।
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा ६२ शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। शिक्षकहरूले बिजुलीबजार–नयाँ बानेश्वर सडकमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने भीड तितरबितर पार्न प्रहरीले पानीका फोहोरा प्रयोग गरेको थियो। झडपका क्रममा ६२ शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले दाबी गरेको छ । उनीहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको महासंघले जनाएको छ। चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आज २६ औं दिन पनि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका हुन् ।
शिक्षक महासंघका प्रतिनिधिसँग हिजो शनिबार भएको वार्तामा पेशागत मागका बारेमा सकारात्मक भएको र सहमति भएका विषय मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता शिक्षामन्त्रीले जनाएका थिए। तर, शिक्षकहरूले भने आफूहरू मन्त्रिपरिषद्को निर्णय नआउन्जेल आफूहरू आश्वस्त नभएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने जनाएका हुन् । शिक्षकहरूको आन्दोनलका कारण कक्षा १२ को परीक्षा, भर्ना अभियान र विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले अपमानजनक व्यवहार गरेको छ । आज (आइतबार) म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुईटै हातमा हत्कडी लगाइएको पाइएको छ ।
थुनुवाको पोशाकमा गाडीबाट ओरालेर हत्कडीसहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सामाजिक सञ्जालहरुमा आएका छन् । मिश्र हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोज्छन् । तर, प्रहरीले उनको हातमै धकेलेर तल झारिदिन्छन् । प्रहरीले रोक्दै गर्दा मिश्र भन्छन्, ‘अदालतलाई नमस्कार गर्नुपरेन ?’
घटनास्थलमा रहेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले प्रहरीबाट वरिष्ठ उपाध्यक्ष मिश्रमाथि ज्यादतीपूर्ण व्यवहार भएको बताएका छन् । ‘राजनीतिक आन्दोलनमा सहभागी भएकै कारण एउटा प्रमुख दलको वरिष्ठ उपाध्यक्षलाई यो किसिमको व्यवहार भत्र्सनापूर्ण छ’, उनले भने । यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो । तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोलिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिदा पनि हत्कडी खोलिएन ।
भिडियो स्रोत : शरदराज पाठक
शिक्षकहरूको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सबिना कार्की घाइते भएकी छिन् । उनको आँखामा गम्भीर चोट लागेको छ । अहिले उनलाई उपचारका लागी तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ ।
आइतबार रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।
लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शन स्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैँ बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।
काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ।
वैशाख २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए। थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरेका थिए।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज-सरम पचाएर यस्ता आरोप लगाउँछन्।’
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए। उनले भने, ‘एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरेका छन्।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुझाव दिए। ‘पार्टीभित्र एकताको चेत चाहिन्छ। विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन’, उनले भने।
काठमाडौं । सांसद उर्मिला माझीले सिन्धुपाल्चोकको माझी बस्ती नै लिलामीमा पर्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा सांसद माझीले नायिका श्वेता खड्का फाउन्डेसनको ऋणमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीप्रति कर्तव्य पालना गर्न सक्षम नहुँदा विस्थापित हुनेक्रम बढेको बताएकी हुन् ।
०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा खड्काले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा ५५ घर माझी बस्ती बनाइदिए पनि कर्तव्य पूरा गर्न चुकेको उनको आरोप छ ।
‘व्यक्तित्वको हिसाबले श्वेता खड्का सम्मानित व्यक्ति हुनुहुन्छ । कलाकारिताका हिसाबले राष्ट्रकै गहना हुनुहुन्छ, हामी उहाँलाई सम्मान गर्छौँ,’ उनले भनिन्, ‘उहाँले घर त निर्माण गरिदिनु भयो, तर आज उहाँकै कारणले गर्दा ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको छ । उहाँले सेवाका भावनाले गर्नुभयो, हामी नराम्रो मान्दैनौं । तर, उहाँले जुन किसिमले सेवा गर्न खोज्नु भयो, त्यसलाई पूरा गर्न सक्नु भएन । आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु भएन ।’ नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।
काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ।
विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।
सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्षित गर्दै भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल चोरेको हो प्रमाणित गर्न चेतावनी दिएका छ ।
चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए । उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकबाट माग गरेका हुन् ।
‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोत्तल बोहेर हिँड्नु भयो प्रमाणित गर्नुस् । होइन भने क्षमायाचना गर्नुस् । संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।
वैशाखकृष्ण औंसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुमाउनुपर्ला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट प्रशस्त नाफा हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हाेला। नयाँ काम गर्न समयले साथ दिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। पहिलेको सफलताले पति थप अवसर दिलाउन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। पठनपाठनमा समय दिन नसकिएला। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सहयोगीका माध्यमबाट काम सम्पादन हुन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। आयआर्जन राम्रै हुनेछ। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला। तापनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अप्रिय समाचारले मन खिन्न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक काममा फाइदा भए पनि घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। तापनि, परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
फाइदा कममात्र हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ।