
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा देखिएको नागरिक असन्तुष्टि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति रहेको जिकिर गरेका छन् ।
भारत भ्रमणमा रहेका भट्टराईले सोमबार द हिन्दूसँगको अन्तर्वार्तामा नेपाली नागरिकको असन्तुष्टि लोकतन्त्रप्रति नभएको स्पष्ट पारेका हुन् ।
अन्तर्वार्तामा भट्टराईले नेपालमा लोकतान्त्रिक प्रक्रिया कमजोर हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन र नागरिक असन्तोष ओली सरकारप्रति हो, लोकतन्त्रप्रति होइन ।’
‘नेपाल अहिले शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड भन्ने तीन नेताको चक्रमा फसेको छ। आर्थिक विकास निकै सुस्त भएको कारण युवाहरू निराश छन्। जनताले परिवर्तन खोजिरहेका छन्, त्यसैले हामी नयाँ मोर्चा गठन गर्दैछौं,’ भट्टराईको भनाइ उद्धृत गर्दै द हिन्दूले लेखेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बढ्दो असन्तुष्टि सम्बोधन गर्न नयाँ राजनीतिक मोर्चा ल्याउने तयारी भइरहेको बताएका छन् । उनले नयाँ मोर्चाको प्रारम्भिक नाम ‘प्रगतिशील लोकतान्त्रिक मोर्चा’ वा ‘प्रगतिशील समाजवादी मोर्चा’ राखिएको जानकारी पनि दिए।
२०८४ सालमा हुने आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न नयाँ समूहहरू यो मोर्चामा सहभागी हुने भट्टराईको जिकिर छ ।
भट्टराईले काठमाडौँमा हालै भएको राजतन्त्र पक्षधर प्रदर्शनले पर्याप्त राजनीतिक समर्थन नपाएको पनि बताए। ‘जनता ओली र देउवा सरकारप्रति असन्तुष्ट छन्, लोकतान्त्रिक प्रणालीप्रति होइनन्। त्यसैले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना छैन,’ अन्तर्वार्तामा उनले भनेका छन् ।
भट्टराईले अहिलेको सरकारप्रति बढ्दो असन्तुष्टि हुँदाहुँदै पनि तत्काल सरकार परिवर्तनको सम्भावना न्यून रहेको बताए। ‘संसदमा कुनै दलको बहुमत छैन। अहिले परिवर्तन भए पनि गुणात्मक परिवर्तन नहुने सम्भावना छ, किनभने ओली र देउवा सरकारमा र प्रचण्ड विपक्षमा भएका सबै नेताहरू बदनाम भइसकेका छन्। त्यसैले हामी नयाँ विकल्पको खोजीमा मोर्चा निर्माण गर्दैछौं,’ उनले भने।
भट्टराईले अन्तर्वार्तामा भनेका छन्, ‘नेपालको अहिलेको राजनीतिक समस्या मुख्यतः माओवादी आन्दोलनले आफ्नो पूर्ण एजेन्डा कार्यान्वयन गर्न नसक्नुको प्रतिफल हो।’
उनले अगाडि थपेका छन्, ‘नेपालमा क्रान्ति अपूर्ण रह्यो र अहिले देखिएको असन्तोष र आन्दोलनहरू त्यो अपूर्णताको पीडा हुन्, जसलाई पार गर्दै नयाँ परिवर्तनको बाटो खोल्नुपर्छ।’
भट्टराईले नयाँ मोर्चामा नयाँ सोच भएका मानिस समेटिने बताएका छन् । ‘ओली र प्रचण्ड उस्तै हुन्। माओवादी नेता रहेका ‘प्रचण्ड’ पुरानो व्यवस्थामा समाहित भइसकेका छन्। त्यसैले हामी जस्ता नयाँ सोच भएका मानिसहरूले नयाँ मोर्चा बनाउन खोजिरहेका छौँ,’ भट्टराईले अन्तर्वार्तामा भनेका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाएका छन्। आज (सोमबार) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। ‘अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ’, उनले भने ।
उनले सबै प्रकारका आग्रह–पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए । यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए । ‘राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ । लोकतन्त्र र मानवअधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानवअधिकारको खिल्ली उडाए’, उनले भने ।अलोकतान्त्रिक र मानवअधिकारविरोधी गतिविधिका विरुद्ध सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । ‘लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौं । चैत १५ गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त आवाज उठाऔं’, लिङदेनले भने ।
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए । ‘हामी सबै सँगै छौं । सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै दुविधा नरहोस्’, उनले भने । अध्यक्ष लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताएका छन् । उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरेका छन् । सोमबार राप्रपा, नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले यस्तो अपिल गरेका हुन् । कमल थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । राप्रपाको अध्यक्ष लिङ्देन निर्वाचित भएपछि कमल थापाले नयाँ पार्टी खोलेका थिए ।
लिङ्देनसँग पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए । ‘राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भनेर उनी राप्रपाबाट अलग भएका थिए । यो घटनाका कारण केही वर्ष एकअर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थापा र लिङ्देन राजासंस्थाको पक्षमा गतिविधि हुन थालेपछि नजिकिएका छन् ।
काठमाडौं ।नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन्। विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्दै उनले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए ।
उनले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरूले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरू थाकेर भाग्न सक्छन् तर सडकमा आन्दोलनमा उत्रिएका शिक्षक–कर्मचारी माग पूरा नभई आन्दोलनबाट नभाग्ने जिकिर गरे । उनले शिक्षकहरूको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्न सक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए ।
उनले भने, ‘आज २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक कर्मचारी साथीहरू थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरू थाक्लान् तर शिक्षक कर्मचारीहरू थाक्दैनन् गल्दैनन् । हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङ्गो नाँच देखायो । शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्सायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ।’
उनले भने, ‘सरकारको निर्सम्ससँग शिक्षक कर्मचारी विरोधी अलोकतान्त्रिक कदमको घोर भत्र्सना गर्न चाहन्छौँ । हिजोको ६२ जना साथीहरू घाइते हुनुभएको छ । घाइतेहरू कोही आँखा चिम्लिएर कोही खुट्टो खोच्याउँदै, कोही टाउकोमा पट्टी बाँधेर फेरि आन्दोलनको मोर्चामा आउनु भएको छ । केही अफवाहहरू सिर्जना भएका छन् । निश्चित मान्छेहरू सङ्गठित भएर शिक्षक आन्दोलनलाई विभाजन गर्न अनेक थरी कुप्रचार गरिरहेका छन् । त्यो कु प्रचारप्रति सचेत रहन आग्रह गर्दछु । सुन्दै छु कहिले पाँच बुँदे, कहिले सात बुँदेको त कहिले नौ बुँदाका के–के आइरहेका छन् । हामीले तपाईहरूलाई ढाँट्नु पर्ने केही छैन । नेपाल सरकारले ऐनमा के–के गर्नुपर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ । त्यही नै हाम्रो आधिकारिक डकुमेन्ट हो । सरकारले गर्न सक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ ।’
सहकारी पीडितहरूले काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।
उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौँदेखि सडक आन्दोलनमा छन् । उनीहरूले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् । उनीहरूका माग सरकारले सम्बोधन गरेको छैन ।
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने अभियान अब नयाँ ढंगले सशक्तरुपमा अघि बढ्ने बताएका छन् । काठमाडौंको शान्तिवाटीकामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दावी गरेका हुन् । सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका नेताहरु सहभागी छन् ।
अध्यक्ष कमल थापाले सबै राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढ्न अपिल गरेका छन् । व्यक्ति र पात्रलाई नहेरी एजेन्डाका आधारमा हेरेर एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ । थापाले सबै राजावादीहरू मिलेको खण्डमा केही हप्ता वा केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्न सकिने दाबी गरे । उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनाभित्रैमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । एक पटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौं । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् ।’
कार्यक्रम पूर्वमन्त्री समेत रहेका थापाले नयाँ सन्देश दिन र नयाँ संकल्प गर्न भेला भएको बताए । ‘यो जनप्रदर्शनको माध्यमबाट केही सन्देश दिन, केही संकल्प गर्न र केही उदघोष गर्न भेला भएका छौं ।’ उनले चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायतलाई रिहा गर्न थापाले माग गरे । उनले उनीहरु निर्दोष भएको जिकिर गरेका छन् ।
तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाउने काम स्वयं सरकारबाट भएको आरोप उनले लगाए । ‘आज यो मञ्चबाट सरकारलाई प्रष्ट पार्न चाहन्छु, तपाईंहरुको योजना, तपाईंहरुको षडयन्त्र जनताले बुझिसकेका छन्,’ थापाले थपे, ‘तपाईंहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र पुनर्स्थापना गर्ने अभियान नयाँ ढंगबाट सशक्त ढंगले अगाडि बढ्ने छ।’
‘मलाई सार्वजनिकरूपमा भन्दा कत्ति पनि आपत्ति हुँदैन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मेरो अत्यन्त प्रिय भाइ हुनुहुन्छ, हिजो राजनीतिक आरोह अवरोमा विभिन्न घटना–दुर्घटना भए होला, अहिलेको घडीले उहाँको सक्रिय सहभागीता र नेतृत्वको आवश्यकता महसुस गरिरहेको छ,’ थापाले भने । उनले अहिले राजसंस्था पुनःस्थापनाका लागि एकदमै अनुकूल वातावरण बनेको दाबी गरे । यो अवस्थामा पनि एक ठाउँमा उभिन नसके इतिहासले सराप्ने उनको भनाइ थियो ।
काठमाडौँ । पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ ।
संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् ।
गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन-अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमितिहरू गठन गरेको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमितिको संयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन थिए ।
उनी नेतृत्वमा उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन उपसमिति एमाले सचिव एवं सांसद योगेश भट्टराईको नेतृत्वमा छ । यो उपसमितिमा सांसदहरू अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् ।
सांसदहरूका अनुसार राज्यको अर्बौँ रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यी आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो ।
२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
३० अर्ब रुपैयाँको लगानीमा बनेको भैरहवा विमानस्थल २०७९ जेठमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका छन् ।
केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरेका छन् ।
उनले भने, ‘काँग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेड रुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेड रुममा छ । अहिलेसम्म काँग्रेसले उसलाई हटाउन सकेको छैन । किनकि नेपाली काँग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।’
उनले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी पनि चलिरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारको घटना ओझेल पार्न सरकारले राजावादीहरूले आंतक मच्चाएको हौवा फैलाएका छन् ।’
उनले आफूहरू राजा चाहिन्छ भन्ने मान्छे भएको बताएका छन् । तर, आफूहरूको राजा चाहिन्छ भन्ने धारणालाई लिएर भ्रष्टाचार काण्ड लुकाउन नपाइने उनले बताएका छन्। उनले भ्रष्टाचारको छानबिन गर्न माग गरे ।
काठमाडौं । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँगको झडपमा घाइते ६२ शिक्षक–कर्मचारीमध्य झण्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको जनाएकोे छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक–कर्मचारीमध्ये झण्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक–कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै एक दर्जनको अवस्था निकै चिन्ताजनक छ । हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ ।’
यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्षमीकिशोर सुवेदीले आज पनि आन्दोलन जारी रहने जानकारी दिएका छन् । २०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ । शनिबार शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन ।
सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका–१ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे। दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन् ।हतकडीसहित थुनुवा भागेपछि दुई जना प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।