
सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा भेटिएको छ। बसको पाटपुर्जा कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा आज (मंगलबार) फेला परेको हो । व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस धरानबाट विराटनगर–१२ स्थित मंगलबारे चौक नजिक रोकेर टुक्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला पारिएको हो। विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री प्रहरीले बरामद गरेको छ ।
बस भने विराटनगर १२ मा रोकिएको अवस्थामा रहेको छ । यता कवाडी गोदाममा प्रहरी पुगेपछि यसका सञ्चालक गीतादेवी साह भने जोगबनीतर्फ लागेको बुझिएको छ । उनलाई सहयोग गर्दै आएका उनका ज्वाई दिपेन्द्र साह समेत अहिले कवाडी गोदाम छोडेर भागेको प्रहरीले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
शुक्रबार चोरी भएको बस पूर्वपश्चिम राजमार्गको खोर्साने हुँदै विराटनगर तर्फ आएको सीसी क्यामेराको फुटेजमा देखिएको थियो । तर बस फेला परेको थिएन। मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् । शिक्षकका जायज मागहरू पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । सरकारले शिक्षकहरूका जायज मागहरू पूरा गर्नुको सट्टा दमन गरिरहेको उनको आरोप छ ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए कीर्तिपुर मात्र नभई जुनसुकै डाँडामा बसेर महिनाको दुई–तीन लाख कमाउन सकिने दोहोर्याएका छन्। विपन्न वर्गको उत्थान र विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति देउवालाई बुझाउने कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुरको डाँडाबारे आफ्नो भाइरल भएको अभिव्यक्तिलाई सम्झँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईं सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भनेर मैले भनें । कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ । अब हामी नलेज इकोनोमीमा छिरेका छौँ । अहिले चाइनामा जन्मिएको एउटा केटाले डिपसिक बनाएर च्याट जिपीटीसँग कम्पिटीसन गर्छु भन्ने ठाउँमा पुगेको अवस्था छ ।’
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले नेपाली कांग्रेस र नेकपा एमालेले सबै निर्माण व्यवसायीलाई पार्टीमा भित्र्याएर देशको सार्वजनिक बजेट सत्यानाश गर्छु भनेर कसम खाएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै गणतन्त्रकै एउटै देन लुटतन्त्र भएको टिप्पणी गरे । उनले भने, ‘पार्टी र सरकारको आवरणमा देशलाई अस्तव्यस्त नबनाऔं । काठमाडौं आएको पर्यटक लुम्बिनी जान खोज्यो भने कसरी जाने ? सडक नबनेर भद्रगोल छ । दुर्घटनाको जोखिम छ, जुनसुकै सडक होस्। सडक बने पनि गुणस्तरीय छैन ।’ उनले काम नगर्ने निर्माण व्यवसायीहरूलाई सरकारले पटक पटक म्याद थप गरेकोप्रति पनि आपत्ति जनाए ।
काठमाडौं । सांसदहरुले शिक्षकहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप समेत लगाएका छन्। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले शिक्षक र चिकित्सकका आन्दोलनका सम्बन्धमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न माग गरे ।
यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरु सबै दलका भएको भन्दै उनीहरुका माग सम्बोधन गरी तुरुन्तै विद्यालयमा पठाउन माग गरे । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई जवाफ दिन पनि माग गरे । शिक्षकहरुका माग सम्बोधन गर्दा राज्यलाई पर्ने आर्थिक भारको विश्लेषण गर्नसक्ने राष्ट्र बैंकमा गभर्नर पद रिक्त भएको भन्दै उनले तत्काल गभर्नर नियुक्तिको माग गरे ।
यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले विषयको गाम्भिर्यता हेरी शिक्षकहरुका माग सम्बोधन गर्न माग गरिन् । तर सरकारले परिस्थिति सम्हाल्नुको साटो झन् भड्काउने काम गरेको बताउँदै उनले भनिन्, ‘समस्या समाधान गर्न छिटो भन्दा छिटो सरकार अग्रसर बनोस् रमिते नबनोस् ।’ माओवादीकै अर्का सांसद महेन्द्रबहादुर शाहीले भने प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे । शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको उनको भनाइ छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र अर्का सांसद ठाकुर गैरेले शिक्षकहरु सरकार र सरकारमा भएका नेताहरुबीच निरन्तर वार्ता भइरहेको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गरे । रास्वपाका सांसद मनिष झाले सरकारले राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्रलाई हतकडी लगाएर थुनामा राखेको भन्दै विरोध जनाए । उनले सुशासनको कुरा गर्ने सरकारले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण किन सार्वजनिक नगरेको भनेर पनि प्रश्न गरे ।
राप्रपाकी सांसद रोशन कार्कीले सरकारले आन्दोलनमा उठेका माग नसुनेको भन्दै आलोचना गरिन् । सहकारी पीडित महिलाहरुले सोमबार अर्धनग्न प्रदर्शन गरेको भन्दै उनले त्यसरी महिलाहरुलाई प्रदर्शन गर्न बाध्य नपार्न सरकारको ध्यानाकर्षण गराइन् ।
‘सदनमा प्रतिपक्षले राखेका प्रश्नको उत्तर सत्तापक्षका सांसदले दिने परिपाटी गलत’
प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ सोमबार प्रमुख प्रतिपक्षी दलदल लगायत विपक्षीहरुले शिक्षक र चिकित्सक आन्दोलनका विषयमा अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे । सो प्रस्तावमाथि मंगलबार संसदमा छलफल हुनुपर्नेमा संसदमा त्यस विषयलाई कार्यसूचीमै नराखेपछि सुरुवातमै विपक्षी सांसदहरुले उठेर बिरोध जनाए ।
विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । उक्त प्रस्तावमाथि आजै संसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।
पाण्डेले अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई संसदमा छलफलको कार्यसूचीमा नराखिएकोमा असन्तुष्टि जनाउँदै छलफलमा राख्न माग गरे । यसपछि लगत्तै सरकारको नेतृत्व गरेको नेकपा एमालेका प्रमुख सचेतक महेष बर्तौलाले शिक्षकहरुसंग वार्ता भैरहेको र सरकारले समस्या समाधान गर्न प्रयास गरिरहेको भन्दै छलफल गर्न आवश्यक नरहेको अप्रत्यक्ष रुपमा बताए । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे । शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउन आवश्यक रहेको उनले बताए ।
‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनु भएको छ’, आज साँझसम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उनले बताए । त्यसै गरी सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे। यसपछि बैठक चलिरह्यो । शून्य समयमा बोल्ने विपक्षी दलका सांसदहरुले सरकारसंग राखिएका प्रश्नको उत्तर सत्तापक्षका सांसदले दिने परिपाटी बसेको भन्दै यस्तो अभ्यासले संसदको मर्यादामाथि नै आँच पुगेको बताए ।
काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउन खोजिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले सरकार ढालेर प्रधानमन्त्री बन्ने असफल प्रयास बन्द गर्न आग्रह गरे ।
‘पेसागत, संवेदनशील आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र बनाउने, सरकारलाई अप्ठ्यारो बनाउने, सरकार ढाल्ने र त्यसैबाट आफू प्रधानमन्त्री हुने असफल प्रयत्न बन्द हुनुपर्छ’, उनले भने, ‘त्यसो भए मात्रै प्रतिपक्षीका माननीयले राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको अर्थ हुनेछ ।’
उनले ‘शिक्षक महासंघका नेता बैठकबाट बाहिर आएपछि समस्या ज्युँकात्युँ रहने किन भइरहेको छ ?’ भन्दै प्रश्न गरेका छन् । बैठकमा एउटा र सडकमा अर्को कुरा गरिँदा निकास ननिस्किएको उनको भनाइ थियो । सांसद गैरेले एकै पटक सबै माग सम्बोधन गर्ने अवस्था नरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीलाई पनि जानकारी भएको बताएका छन् । उनले सरकारले शिक्षकसँगको वार्तालाई बुधबारसम्ममा निष्कर्षमा पुर्याउने समेत बताएका छन् ।
काठमाडौं । काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन् । आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेका हुन् । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोकेका छन् । उक्त बेला प्रहरी र शिक्षकबीच धकेलाधकेल भयो । उनीहरूले भनेका छन्, ‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ ।’
देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन ल्याउनुपर्नेसहितका माग रोखर आन्दोलित उनीहरुले आज पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । आन्दोलनरत शिक्षकहरुले शिक्षा ऐन खोज्दै विभिन्न नारा समेत लगाएका छन् ।
उनीहरुको ‘साह्रै दुःख पाइयो, शिक्षा ऐन चाहियो’, ‘अग्रगामी शिक्षा ऐन दिलाइदे, हामीलाई स्कुल पठाइदे,’ ‘हामी सडक छोड्दैनौं, शिक्षा ऐन नआए । हामी मर्न तयार छौँ, शिक्षा ऐन नआए’, ‘ओइ सरकार ओइ, शिक्षा ऐन खोइ ?’ लगायतका नारा लगाएका थिए । शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको उपचारका क्रममा सुई लगाइएपछि मृत्यु भएको छ ।
स्थानीय दहित मेडिकलमा सोमबार बिहान उपचारका लागि पुगेका शाहीले शरीर र छाती दुख्ने गुनासो गरेका थि ए। उनी आफैं मोटरसाइकल चलाई मेडिकल पुगेका थिए । प्रारम्भिक जाँचपछि ल्याब असिस्टेन्ट महावीर चौधरी (टीकापुर नगरपालिका-५) ले उनलाई सुई लगाएका थिए ।
तर सुई लगाएपछि केही क्षणमै शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले जानकारी दिए । दुर्घटनापछि सुई लगाउने चौधरी फरार भएका छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यता, काठमाडौँमा रहेका मेडिकल सञ्चालक इन्द्र चौधरी दहित पनि घटनापछि घर फर्किएका छन् ।
मृतक शाहीको शव हाल सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं १६ बालाजुकी बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरिरमा आगो लगाएकी छन्। घाइते उनको पिपल्स अस्पतालमा उपचार भैरहेको छ।
घटना आइतबार रातीको हो।
बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएको र अहिले उपचार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पतिसँग विवाद भएपछि श्रेष्ठले पट्रोल छर्केर आगो लगाएको पाइएको छ।
उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ।
नवलपरासी । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ । यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई वैशाख ३१ गतेसम्म निरन्तरता दिइने भएको हो ।
नवलरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार दाउन्ने क्षेत्रमा निर्माणकार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ः०० देखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म आवागमन बन्द गरिने भएको हो ।
‘दाउन्ने खण्डमा आवश्यक सडक मर्मतसम्भार र निर्माणकार्य गर्नेगरी रातको समयमा सवारीसाधन सञ्चालन रोकी निर्माणकार्यलाई अहिले तीव्रता दिइएको छ’, उनले भने, ‘सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्नका निम्ति थप केही दिन आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ ।’
यसअघि दाउन्ने सडक खण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम भइरहेको छ । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।
नारायणगढ–बुटवल सडकको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।