
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एउण्ड लोकलाइजेसन सेन्टरले यहाँ आज आयोजना गरेको ‘विद्यायिक अन्तरसम्बन्ध र कानुनको मापन’ अन्तरक्रियामा उनले आवश्यकताअनुसार कानुन बनाउने काम भइरहेको बताए ।
उनले भने, ‘आवश्यकताअनुसार थप कानुन बनाउने काम पनि भइरहेको छ, अब सङ्घीय सरकारले कानुन बनाउँदा व्यवस्थित ढङ्गले सरोकारवालासँग छलफल गरेर मात्रै बनाउने छ, प्रदेश, अन्तरसम्बन्धित, स्थानीय तहसम्बन्धी कानुन बनाउँदा विज्ञको सुझावको आधारमा कानुन बनाइने छ ।’
देशको वर्तमान व्यवस्थामाथि प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै मन्त्री चौरसियाले तीनै तहबीचको सहकार्य, समन्वय र सहमतिमै देशमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘स्थानीय, प्रदेश र सङ्घीय गरी तीन तहको अधिकारको सम्बन्धमा संविधानले नै व्यवस्था गरेको छ, यसको विषयमा धेरै कम मात्रै विवाद छ, केही साझा अधिकारको विषय छ, ती साझा अधिकारको सम्बन्धमा तीनै तहले आआफ्नो आवश्यकताअनुसार कानून बनाउने कुरा तोकिको छ, त्यो काम भइरहेको छ ।’
स्थानीय सरकारलाई अझै व्यवस्थित गर्दै अनुशासनमा ल्याउने काममा गाउँपालिका महासङ्घ र नगरपालिका महासङ्घले भूमिका निर्वाह गर्नुपर्ने मन्त्री चौरसियाको भनाइ छ । उनले सङ्घीय सरकारले कानून बनाउँदा स्थानीय र प्रदेश सरकारको अधिकार कटौती गर्नेभन्दा पनि सुरक्षित गर्ने गरी कानून बनाउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री चौरासियाले जनताको आवश्यकताको आधारमा छलफलको माध्यमबाट सबै राजनीतिक दलको सहमतिमा मात्रै संविधान संशोधन हुने विश्वासनपनि व्यक्त गरे । समानुपातिक निर्वाचन प्रणालीलाई असर नपर्ने गरी कानुन संशोभन हुने उनको भनाइ छ ।
त्यस अवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संविधानले व्यवस्था गरेको शासकीय संरचना, सङ्घीयता र कानुनी पूर्णताका लागि न्यूनतम आवश्यक कानुन निर्माणमा ढिलासुस्ती गर्न नहुने बताइन् । उनले संविधानमा कतिपय राम्रा व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन नहुँदा प्रतिफलमुखी हुन नसकेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘पहिचान भएका कानुन निर्माण र कार्यान्वयनको चरण पहिले पूरा गर्नुपर्छ, संविधानको मर्म, विधायिकाको मनसाय र जनताको आमअपेक्षाको सम्बोधनका लागि संविधान कति कार्यान्वयनमा आयो आएन समीक्षा अत्यावश्यक छ।’ उपाध्यक्ष घिमिरेले कानुनको कार्यान्वयन मापन एवं उत्तर विधायिकी परीक्षणको कार्य सरकारसँग समन्वय गरी सङ्घ र प्रदेशमा गर्नुपर्ने बताउँदै अब सम्बन्धित सभाका नियमावलीमा त्यसको व्यवस्था गरिनुपर्ने बताइन् ।
‘सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता, पूर्वबजेट छलफल एवं संसद्बाट अनुमोदित बजेट, बजेटको खर्चका सम्बन्धमा अध्ययन विश्लेषण गरी संसद् सदस्यलाई अनुसन्धानात्मक सेवा पुर्याउन संसदीय बजेट कार्यालय स्थापना गर्न जरुरी देखिन्छ’, उनले भनिन् । कानुन बने पनि कानुनबारे सर्वसाधारणलाई जानकारी नभएको, लक्षित वर्ग लाभान्वित हुन नसकेको तथा कतिपय कानुन पाँच वर्षसम्म कार्यान्वयनमा नै नआएको भन्दै उपाध्यक्ष घिमिरेले कानुन कार्यान्वयनको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
‘संसद्को मूल जिम्मेवारी नै कानुन तर्जुमा भएपछि कानुनको रेखदेख र प्रभावकारिता अनुगमन गर्नु हो, कानुनको औचित्य, आवश्यकता र प्रभावकारिताका सन्दर्भमा बुझ्नु जनताको प्रतिनिधिमूलक अङ्ग संसद्कै भूमिका बढी हुन्छ’, उनले भनिन् । कानुन कार्यान्वयनमा समग्र पक्षको सामयिक अनुगमन, मूल्याङ्कन र निर्देशन अनिवार्य भएको उनको भनाइ छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकारलाई अझै सक्रिय बनाउनका लागि सङ्घीय सरकारले निजामती, शिक्षा र प्रहरीलगायत आवश्यक कानुन जतिसक्दो चाँडो बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उनले संसदमा पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए । ‘विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौं’, अध्यक्ष दाहालले भने ।
‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’
यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । ‘सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको संकल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ’, उनले भने ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दल स्वार्थ समूह बनिरहेको टिप्पणी गरे । डा. भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।
नेपालका राजनीतिक दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शभन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको भनाइ छ । उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी आर्थिक उपार्जन गर्ने माध्यम बनाएको बताए।
राजनीतिक दलहरू विचार, सिद्धान्त, आदर्श, नैतिकताकावाहक हुन नसकेको उनको आरोप छ । अध्यक्ष भट्टराईले नेपाली अर्थतन्त्रले गुणात्मक फड्को मार्न गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताए । डा. भट्टराईले दलीय संकीर्णताले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभाजन आएको बताएका छन्।
‘दलसँग आबद्ध हुनुपर्छ । तर, मुलुक बाहिर एनआरएनएलाई साझा रुपमा राख्नुपर्छ। दलीय संकीर्णतामा जानु हुँदैन,’ गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता हो ।’ उनले एनआरएनको विवाद अड्डा अदालतमा जानु आवश्यक नभएको बताए । ‘अदालतको एकताको भाव एनआरएनएमा कायम राख्नुपर्छ । यो महाधिवेशनबाट छुटेका साथीहरुले प्रतिष्ठाको विषय नबनाएर एनआरएनएलाई एकताबद्ध बनाउनु पर्छ,’ उनले भने ।
नेपालमा सबैभन्दा बढी पुँजी, ज्ञान र सीपको आवश्यकता भएकाले संविधानमा लेखिएबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक सहितको अधिकारको नागरिकता दिनुपर्ने उनले बताए । ‘एनआरएनलाई नागरिकता दिन कुनै छेकबार गर्नु हुन्न । संविधानको भावनाविपरीत नीति नियम आउनु हुँदैन,’ उनले भने ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर एक पिकअप भ्यान गायब भएको छ ।
भित्री कच्ची सडक खण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।
गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’
घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ । पानीमा गाडीको भाग नदेखिएको प्रहरीले जनाएको छ । पानी कटाएर गाडीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
नवलपरासी । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए । शुक्रबार साँझ पोखरीमा एक बालक तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् ।
आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । ‘हामी अँध्यारोमा बस्न बाध्य छौँ निकुञ्जले यहाँ सोलार समेत लगाउन दिँदैन’, ढक्का शिविरका रामदास चौधरीले भने, ‘हामी मोबाइल र टर्च चार्ज गर्न अर्को गाउँ जानुपर्छ त्यहाँ मोबाइल र टर्च चार्ज गरेको रु दश-दश तिर्नुपर्छ ।’ उनका अनुसार ढक्का शिविरमा बसोबास गर्ने नागरिकहरू मोबाइल र टर्च चार्ज गर्न एक किलोमिटर टाढा रहेको लालझाँडी गाउँपालिकाको चान्देउ पुग्ने गरेका छन् ।
शिविरमा विद्युत् नहुँदा बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको छ । ‘यहाँ हामीले धेरै दुःख खेप्नुपरेको छ, खेतमा लगाएको अन्न जङ्गली जनावरले खाइदिन्छन्, धान र गहुँ थ्रेसिङ गर्न निकुञ्जको अनुमति लिनुपर्छ’, शिविरका मोतिलाल डगौराले भने, ‘हामीले राज्यबाट पाउनु पर्ने सेवा पाएनौँ, नागरिकता भएर पनि अनागरिक जस्ता भएका छौँ ।’
विसं २०५८ मा संकटकालका बेला सरकारले तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडितहरू अझै पनि जङ्गल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् । निकुञ्जको ‘कोर एरिया’ मा रहेको ढक्कालगायत जिल्लाका विभिन्न स्थानका १७ वटा शिविरमा विस्थापित बसोबास गरिरहेका छन् ।
आरक्ष पीडितहरूलाई पुनःस्थापना गर्नका लागि सरकारले पटकपटक गरी हालसम्म ३२ वटा आयोग गठन गरेको छ तर विस्थापितहरूको समस्या समाधान हुन भने सकेको छैन । निकुञ्ज विस्थापित ढक्का शिविर संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले २०५८ सालदेखि राज्यबाट पाउने सेवा सुविधा पाउन नसकेको बताए ।
‘आरक्ष पीडितहरू २३ वर्षदेखि पीडामा छन् यसका नाममा विभिन्न आयोग बने तर अहिलेसम्म हाम्रो पुनःस्थापना हुन सकेन’, भण्डारीले भने, ‘हाम्रा बालबालिकाहरूले पढ्न पाएका छैनन्, खोप छैन अँध्यारोमा बस्नुपरेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली र शौचालय समेत छैन ।’ उनले शिविरमा बस्ने वृद्धवृद्धाले अहिलेसम्म उपचार नपाएको र बालबालिकाले खोप नपाएको बताए । उनले पालिकाबाट सोलार जडान गर्ने आश्वासन मात्रै आउने गरेको बताए ।
लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ढक्का शिविरमा थुप्रै समस्या रहे पनि समाधान गर्न नसकिएको बताए । ‘हामीले शिविरमा उज्यालोका लागि सोलार जडान गर्ने तयारी गरेका थियौँ तर निकुञ्जले अनुमति दिएन’, रानाले भने, ‘त्यहाँ हामीले चाहेर पनि केहीँ गर्न सक्दैनाै ।’
उक्त शिविर निकुञ्जको कोर एरियामा भएका कारण त्यहाँ निकुञ्ज प्रशासनले विद्युत्, खानेपानीलगायतका सेवा विस्तारमा रोक लगाउने गरेको छ । विसं २०३१ मा सरकारले १५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर बनाएको थियो ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानकाे समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। आँटेकाे काम राेकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामकाे उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ नयाँ काम थालनी हुने समय छ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहानकाे समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। दिउँसाेदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूकाे समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूकाे विचारमा सहमत बन्न नसक्दा काम राेकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसाेदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विशेष काम गर्न बिहानकाे समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसाेदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर परिस्थितिवश यात्रा राेकिन सक्छ। काम बिग्रनाले दाेहाेर्याएर प्रयास गर्नुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्राे लाभ उठाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानकाे समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहाेला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।