
बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी रिता वैद्यसहित १७ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ ।
नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा हिनामिना भएको बताइएको छ । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको आरोप छ ।
उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यस प्रकरणमा यसअघि दुई तहको सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले प्रमुख दुई पार्टीको दुर्लभ सरकार फेल भए के बाँकी रहन्छ भन्दै प्रश्न गरेका छन्।
सरकारको नीति तथा कार्यक्रमबारे रास्वपाको तर्फबाट प्रतिनिधिसभा बैठकको छलफलमा भाग लिँदै वाग्लेले दुई तिहाइको सरकारले कामैले नतिजा दिनुपर्ने बताएका हुन् । ‘हामीले विकास गर्ने कुरालाई अन्यथा भनेका छैनौं । तर धेरै योजना कार्यक्रम भन्दा सरमा विषय आउनुपर्ने हो । पहिलो र दोस्रो दलले बनाएको यो दुर्लभ सरकार हो,’ वाग्लेले भने, ‘यत्ति बलियो सरकार पनि फेल भए के बाँकी हुन्छ ?’
दुई महिनादेखि राष्ट्र बैंकको गभर्नरमा अल्झिएको भन्दै उनले सरकार धेरै ठाउँमा चुकेको बताए। डा. बाबुरामलाई बाटो बनाउने, प्रचण्डलाई भुटानी शरणार्थी प्रकरणमा काम गरेका भनेर सम्झिँदा अहिलेको सरकारलाई कसरी सम्झिने भन्दै उनले प्रश्न उठाएका छन् । प्रचार गरिएका काममा पनि धेरै भ्रम रहेको भन्दै उनले व्यवहारिक बन्न आग्रह गरे ।
उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनमा रास्वपाको समर्थन रहेको भन्दै उनले सकिने जति कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए । अरु अध्यादेशको विरोध गरे पनि आर्थिक तथा व्यावसायिक लगानीसम्बन्धी विषयमा रास्वपाले संशोधन नहालेको उनले बताए । अर्थतन्त्रको आकार बढाउनुपर्ने र यसको लागि सुशासन हुनुपर्ने उनले बताए । सुशासन नहुँदा नेपालको जीडीपी आजका दिनमा कम्तीमा एक सय बिलियन डलरको अंकमा पुग्ने उनले बताए । पुरानो बजेट नै कार्यान्वयन नभएको भन्दै उनले यसबाट सिक्नुपर्ने बताए ।
वाग्लेले सत्ता गठबन्धन बन्दाको सात बुँदे सहमति मजाक भइसकेको टिप्पणी गरेका छन् । ‘दुई तिहाई बहुमतको सरकारको छ । विश्वमै यो दुर्लभ प्रयोग हो। नतिजा के छ ? लगभग शून्य,’ वाग्लेले भने, ‘सात बुँदे भनिएको थियो–हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन इत्यादि । त्यो एउटा मजाक भइसक्यो।’ टेलिभिजनका कमेडी कार्यक्रम नचले कुनै मन्त्रीलाई उभ्याएर त्यो सम्झौता वाचन गर्न लगाए पर्याप्त हुने पनि उनले दाबी गरे । ‘आजभोलि टेलिभिजनमा कमेडी कार्यक्रम चलेनन् भने कुनै मन्त्रीलाई त्यहाँ उभ्याएर वाचन गर्न लगाइदिए हुन्। पर्याप्त हुन्छ,’ उनले भने ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले देशको विकासभन्दा पनि बाहिरबाट ऋण ल्याउँदै नेताहरूलाई पाल्ने काम मात्रै भएको टिप्पणी गरेका छन्।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले घट्नु पर्ने वेला झनै सार्वजनिक ऋण बढ्दै गएको बताएका हुन् ।
उनले भने, ‘२०७४ सालमा सार्वजनिक ऋण करिब ८ खर्ब थियो, संघीयता र प्रदेश लागू गरिएपछि अहिले २६ खर्ब ११ अर्ब ६ करोड पुग्यो । यो पैसा कसले तिर्ने ?, जनताकै करबाट होइन ?, ऋण ल्याउँदै भएभरका नेता, छोटे नेता पाल्ने हो भने उधोतिर देश लाग्ला नि !।’ सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताका लागि भने नल्याइएको उनले बताएका छन् । ‘तीन तहको सरकार छ, ३० थरीको कर छ तर न निःशुल्क स्वास्थ्य सेवा छ, न निःशुल्क शिक्षा दियो अनि किन कर तिर्ने ?, कर तिर्ने जनता, जनताकै सेवा सुविधाका लागि भने नीति कार्यक्रममा आएन’, उनले भने ।
उदयपुर । उदयपुरमा जन्ती पुर्याएर फर्किएको बसलाई त्रियुगा नदीको बाढीले बगाएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन्। ‘जन्ति पुर्याएर फर्किएको बस बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’ सोमबार राति जिल्लाकै सिवाइबाट सप्तरीमा जन्ती पुर्याएर फर्किएको को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक बस भासिएको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेकाे बताए। असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू सकुशल छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ ।
न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान–बेल्टार रूटमा चल्ने गरेको असई मेहताले जानकारी दिएका छन्। चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा यहाँका जनताले हरेक वर्ष सास्ती भोग्नु परेको छ । यही ठाउँमा बनेको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य छन् । वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य हुन्छन् ।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ ।
सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् ।
प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेका छन् ।
तर, नीति तथा कार्यक्रमको छलफलमा सहभागिता भने निराशाजनक छ । संसद्का अधिकांश कुर्सी खाली छन् ।
सांसदहरूलाई नीति तथा कार्यक्रममाथिको छलफलमा अरूचि देखिएको छ । मंगलबार संसद् भवनका खाली कुर्सीले त्यही कुरा पुष्टि गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विपक्षीहरूमाथि भइरहेको राजनीतिक प्रतिशोध नरोकिए सँधै चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गरेका छन् ।
उनले पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाले बताए । उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं । अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ? त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेका छौं । गम्भिरतापूर्वक लिइराखेका छौं । सधैं चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौं ।’ उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाएका छन् ।
सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सिङ्गै हात्ती खानेसँग कमिला पनि खानु हुन्न भन्नेको तुलना गरेर बदनाम गरिएको गुनासो गरेका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै मंगलबारको बैठकमा उपसभापति गुरुङ यस्तो बताएका हुन् ।
‘नीति तथा कार्यक्रममा सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कुरा आएको छ, यसको म स्वागत गर्न चाहन्छु,’ उपसभापति गुरुङले भने, ‘हामी कुरा होइन काम गरौँ हामी काम । काम गर्ने हो भने २०४६ सालयताका लाभको पदमा पुगेका सबै नेता र कर्मचारीको छानबिन गर्न उच्च स्तरीय शक्तिशाली आयोग गठन गरौं ।’
आफूले यो प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेको एक वर्ष भइसकेको उनले स्मरण गराएका छन् । ‘छानबिन समिति गठन गर्ने, अनि जसको सम्पत्तिको स्रोत खुल्दैन राज्यले जफत गर्ने । यस्तो आँट गर्नुपर्छ । यो व्यवस्था गणतन्त्रलाई सुदृढ गर्ने बाटो हो यो,’ गुरुङले भने। यो बाटोमा जानुको सट्टा कमिला पनि खानु हुन्न भन्नेको बदनाम हुन थालेको पनि उपसभापति गुरुङले बताएका छन् । उनले भने, ‘यहाँ त यो बाटो नगएर कमिला पनि खान हुन्न भन्नेलाई सिङ्गै हात्ती खानेसँग दाँजेर बदनाम गरिन्छ यो मुलुकमा ।’
‘अष्ट्रलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारु मार्छ, हामीले बाँदर मार्न हुने ?
नेपाली कांग्रेसका सांसद गुरुङले यदि किसानलाई राहत दिने हो भने बाँदर र बँदेललाई मार्नुपर्ने बताएका छन्। मंगलबार सरकारको २०८२/ ०८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले यस्तो बताएका छन् । किसानलाई दुःख दिने बाँदर र बँदेल मारे कानून लाग्छ भनेर संरक्षण गरिरहने हो भने किसानहरु विस्थापित हुने अवस्था आउने उल्लेख गरे । उनले भने, ‘अष्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारु मार्छ तर, हामीेले बाँदर मार्न किन नहुने ?’
गाउँगाउँमा सिंहदरबार पुर्याउने भनेको पालिकाको भवनमा मात्रै सीमित रहेको बताए । उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । राजस्व बढाउन करको दायरा बढाउनु पर्नेमा जोड दिए । उनले घरेलु मदिराबाट एक रुपैयाँ पनि कर नउठेको भन्दै घरेलु मदिरालाई करको दायरामा ल्याउने हो भने दुई खर्ब राजस्व उठ्ने दाबी गरे । लथालिंग ढंगले सामाजिक सुरक्षाको भत्ता बाँडिरहेको आरोप लगाए । देश विकासको लागि डोनर नभइ इनभेष्टर खोज्नु पर्नेमा उनले जोड दिए ।
काठमाडौं । गाडी भासिएर हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन सुरु गरेको छ । मंगलबार बिहान हेटौडा पुगेको भूगर्भविद् नारायण अघिकारी र कृष्ण पाण्डेसहितको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन सुरु गरेको हो ।
विभागका भूगर्भविद् नारायण अधिकारीले टोलीले घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गर्ने जानकारी दिए ।
टोलीले घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरेको छ ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।
लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्को सहयोग मागेको हो ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।
आज (मंगलबार) दिउँसोपख काठमाडौँ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही क्षेत्रमा चट्याङसहित वर्षा र केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो । मंगलबार राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।