२०८२ असार २९ गते आईतवार
२०८२ असार २९ गते आईतवार

मकवानपुरको हेटौंडामा गत शुक्रबार जमिनमुनि भासिएर गायब डीआई गाडी भूगर्भविद्को अध्ययनले समेत पत्ता लगाउन नसकेपछि टोली काठमाडौँ फर्किएको छ । मंगलबार (हिजो) र बुधबार (आज) दिनभर पहिलो चरणको अध्ययन गर्दा पनि गाडीको अवस्था पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टोली आज काठमाडौँ फर्किएको हो।

ना ४ च ४८३३ नम्बरको गाडी गत शुक्रबार दिउँसो हेटौँडा–१६ र १७ को सीमानामा पर्ने गौरीगाउँस्थित कच्ची सडकको हिलोमा फसेको र केहीबेरमै जमिनमुनि गायव भएको थियो । हिलोमा फसेको गाडी निकाल्ने क्रममा ५ सेकेण्डकैबीचमै जमिनमुनि गायव भएको थियो । उक्त गाडी र त्यस स्थानको अध्ययन गर्न काठमाडौँबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना फिल्डमा खटिएका थिए ।

हिजो दिनभर त्यस स्थानको अध्ययन र म्याग्नेटो मिटरको आधारमा गाडी भासिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए । तर, गाडीको अवस्था भने पत्ता लाग्न नसकेको भूगर्भविद् अधिकारीले जनाएका छन् । गाडी भासिएको स्थानमा थप जमिनको सतह विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो । भूगर्भविद् अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुना ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिएका छन् ।

गाडी भासिएको ठाउँमा धेरै दलदल माटो रहेको कारण जमिन भासिएको निष्कर्ष निकाल्दै भूगर्भविद् अधिकारीले भने, ‘गाडी दबिएको खाल्टोको जमिनबाट निरन्तर पानी आइरहेको अवस्था छ । यसलाई हेर्दा पनि यो जमिन कमजोर छ भन्न सकिन्छ । भित्र दलदले भएकै कारण गाडीको लोड थाम्न नसकेर गाडी भासिएको हो ।’ भूगर्भविद् अधिकारीका अनुसार म्याग्नेटो मिटरले अध्ययन गर्दा गाडी दबिएको जमिनको पूर्वी भागमा छ भन्ने देखिएको छ। तथापि, यसको पुष्टि गर्ने कुनै यन्त्र आफूहरुसँग नभएको उनी बताउँछन् ।

दुईदिनसम्म ड्रिल मेसिन जमिनमा ड्रिल गरेर हेर्दा गाडी यहीँ छ भन्ने कुराको पत्ता नलागेको उनले बताए । यसैबीच भूगर्भविद्को टोली काठमाडौँ फर्किएपछि भासिएको गाडी खोजी गर्न हेटौँडा उपमहानगरपालिकाले नयाँ तरिका अपनाउने योजना बनाएको छ । भूगर्भविद्को टोलीले पहिलो चरणको रिर्पोट उपमहानगरपालिकामा उपलब्ध गराएपछि सोही अनुसार गाडीको खोजी गरिने प्रवक्ता सवीन न्यौपाने बताए ।

हालका लागि भने त्यस क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखेर सतर्कता अपनाउने र गाडी खोज्नका लागि अर्को उपाय अपनाइने उनको भनाइ छ। ‘भूगर्भविद्ले त भूमिको अवस्था पत्ता लगाउने कुरा भयो,’ हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले भने, ‘उहाँहरुले गाडी सोही खाल्टोको करिब ६ देखि ८ मिटर तल पूर्वपट्टी छ भन्ने संकेत दिनुभएको छ। अब सोही आधारमा सुरक्षाको उपाय अपनाएर खोज्ने काम गर्ने हो ।’

गत शुक्रबार माछाको दाना लिन गाडी धनि समेत आफै रहेका चालक रामहरी राई त्यसस्थानबाट हेटौँडा बजारतर्फ आउँदै थिए। सोही क्रममा बोरिङ खनेको सानो खाल्टोमा गाडी फसेपछि निकाल्ने क्रममा एक्कासी गाडी जमिनमै गायव भएको थियो । गाडीमा रहेका चालक राई र सहचालक मुक्तिनाथ सहनीले भने भागेर ज्यान जोगाएका थिए ।

काठमाडौं । परिवर्तन अभियान नेपालले काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसमा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिहरुलाई सम्मान गरेको छ ।

बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबिच स्ववियु सभापतिहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले ‘सामाजिक रुपान्तरणमा विद्यार्थी आन्दोलनको भूमिका’ का विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताए ।

००७ सालदेखि ०६२–०६३ सम्मको परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण रहेको उनले बताए । पछिल्लो समय राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको बताउँदै आफ्नो क्षमता विस्तार गरेर नेतृत्वका लागि दबाब दिनुपर्नेमा जोड दिए ।

‘जति नचाए पनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन,’ उनले भने ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले अब आफ्नो दलले गरेको गलत निर्णयमा समेत खबरदारी गर्नुपर्ने बेला आएको बताए ।

‘राजनीतिक दल, अझ तपाईँहरुको मातृ पार्टीले गरेको निर्णय कार्यान्वयन नभए खबरदारी गर्नुपर्छ कि पर्दैन ? खबरदारी गर्ने कसले हो ? तपाईँहरुले होइन ? तपाईँहरु के हेरेर बस्नुभएको छ खबरदारी गर्नुपर्दैन ?,’ उनले भने ।

हरेक दलका भ्रातृ संगठनले माउ पार्टीले गरेको गलत निर्णयमा खबरदारी गर्नुपर्ने बेला आएकोमा जोड दिए । साथै पछिल्लो समय केही भएन भन्दै युवाहरुमो निराशाको बिजारोपण गर्ने प्रवृत्ति बढिरहेको भन्दै त्यसलाई चिर्न समेत विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका सांसद एवं पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले विद्यार्थी संगठनहरुले मातृ पार्टीलाई खबरदारी गर्नुपर्नेमा जोड दिए । साथै आफूहरु विद्यार्थी रहँदा गरेको संघर्ष स्मरण गर्दै आगामी आगामी पुस्ताले त्यसकै जगमा निर्माण भएको वर्तमान व्यवस्थाको रक्षा गर्नुपर्ने बताए ।

यता नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले अब देशको नेतृत्व गर्न पछिल्लो पुस्ता सक्षम रहेको प्रकाश पारे । साथै उनले वर्तमान समयमा देशमा केही हुँदैन भनेर फैलाइएको निराशालाई वर्तमान पुस्ताले चिर्नुपर्ने बताए ।अखिल क्रान्तिकारी को पुर्ब अध्यक्ष पन्चा शिहले समयअनुकूल विद्यार्थी राजनीति र परिमार्जित गर्दै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले ००७ सालदेखि अहिलेसम्मको व्यवस्था परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिकाबारे प्रष्ट पारे । त्यस्तै अहिलेको अवस्थामा विद्यार्थी राजनीतिले नै केन्द्रीय राजनीतिलाई मार्गनिर्देश गरेको बताए ।

‘हामीले हरेक आन्दोलनलाई केलाएर हेर्ने हो भने विद्यार्थी आन्दोलनको भूमिका महत्वपूर्ण थियो, छ र हुनेछ । त्यति मात्र होइन हरेक समयमा देशको केन्द्रीय राजनीतिलाई विद्यार्थी राजनीतिले नै गाइड गरेको देखिन्छ,’ भट्टले भने । कार्यक्रममा राजनीतिक विश्लेषक पिताम्बर भण्डारी , माननिय सुरेश श्रेस्ठ , सविन तामाङ लगायतले आफ्नो बिचार राखेका थिए ।

आजको कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसबाट निर्वाचित स्ववियु सभापतिहरुलाई सम्मान गरिएको थियो । काठमाडौंका विभिन्न क्याम्पसका करिब २ दर्जन स्ववियु सभापतिहरुलाई सम्मान गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

परिवर्तन अभियान नेपालले यसअघि पनि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताएका छन्। ‘आजको मितिसम्म २१ जना छन्, तीन जनाको मृत्यु भएको छ’, हालसम्म २४ जना जीवित रहेको विश्वास गरिएको उल्लेख गर्दै ट्रम्पले हमासले लिएका बन्धकहरूको बारेमा भने। उनले अब मृत भएको विश्वास गरिएकाहरूको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा पाए भन्नेबारे थप विवरण दिएनन् । ‘त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि’, उनले भने।

एक अमेरिकी एडन अलेक्जान्डर जीवित रहेको विश्वास गरिएका २४ बन्धकमध्ये एक थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीका शव पनि हमासको कब्जामा रहेका छन्। बन्धकहरूलाई पुनः प्राप्त गर्न र हमासलाई नष्ट गर्ने आफ्नो युद्ध लक्ष्यहरू पूरा गर्ने प्रयासमा इजरायलले गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनी क्षेत्रमा अनिर्दिष्ट समयका लागि बस्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो ।

यदि कार्यान्वयन गरियो भने यस कदमले त्यहाँ इजरायलको अपरेसनहरू व्यापक रूपमा विस्तार गर्नेछ र सम्भवतः कडा अन्तर्राष्ट्रिय विरोधलाई आकर्षित गर्नेछ । अमेरिकी दूतावासले सोमबार १७ जना अमेरिकी नागरिक र कानूनी स्थायी बासिन्दाहरूलाई गाजा छोड्न मद्दत गरेको अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ। ‘हामी इजरायली र जोर्डन सरकारहरूका हाम्रा साझेदारहरूलाई धन्यवाद दिन्छौँ जसले यो प्रस्थान सम्भव बनाए’, मन्त्रालयले भनेको छ। विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग भेट गरे ।

नक्सालमा रहेको बाल मन्दिरको जग्गा हिनामिनासम्बन्धी मुद्दा जिल्ला अदालतमा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले आवश्यक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले थप छानवीन गरेर मुद्दा बुझाएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । 

मुद्दामा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रितासिंह वैद्यसहित १७ प्रतिवादी छन् । भारतीय नागरिकलाई पनि प्रतिवादी बनाइएको उक्त मुद्दामा ६० करोडभन्दा बढी रकम मागदावी पेश भएको छ ।

प्रतिवादी बनाइएका भारत, कर्नाटक राज्य, बैंग्लोरका कीर्तिप्रसाद पाण्डे बाल मन्दिर हाताभित्र सञ्चालित बृहस्पति विद्या सदनका सञ्चालक हुन् । उनले सञ्चालन गरेको राई स्कुलले पनि सो जमिन ओगटेको छ । उनी नेपालमा बसोबास गर्ने भारतीय नागरिकको एक संस्थाका अध्यक्ष पनि हुन् ।

मुद्दाका प्रतिवादीमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह, तत्कालीन अख्तियार प्राप्त महासचिव श्यामकुमार आले, तत्कालीन अख्तियार प्राप्त महासचिव सुवासकुमार पोखरेल, तत्कालीन महासचिव प्रचण्डराज प्रधान, तत्कालीन महासचिव रामकाजी गुरुङ, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, तत्कालीन उप–कोषाध्यक्ष दिपदास श्रेष्ठ, बृहस्पति विद्यालय व्यवस्थापन प्राली सञ्चालनकहरु प्रविणराज जोशी, मुरारीनिधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिवन सिंघानिया, सिद्धार्थ केडिया, किर्तीप्रसाद पाण्डेसहित छन् ।

पूर्णपाठ :

पर्वत । युवा संघ पर्वतको भेलामा दुई गुटबीच विवाद हुँदा कुटाकुट भएको छ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्व प्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन्। अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ।

यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो । तिमिल्सिना निकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेर रक्ताम्य बनेको। उनलाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ। युवा संघ पर्वतको नवौं जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो।

तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए। अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए । अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।

भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।

‘आन्तरिक सुरक्षातर्फ गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदानलगायतका विषयमा कुराकानी भएको छ’, प्रवक्ता तिवारीले भने, ‘सीमानाकादेखि विमानस्थलसम्मको सुरक्षा व्यवस्थामा विशेष निगरानीसहित चुस्तदुरुस्त बनाउने, राष्ट्रिय तथा आन्तरिक सुरक्षा व्यवस्था सुनिश्चित तुल्याउने, सम्भावित चुनौतीको सामना गर्नेलगायत समसामयिक विषयमा बैठकमा छलफल भएको छ ।’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन्। आज (बुधबार) गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोट बाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका हुन् । जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ ।

उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने, प्रिन्ट गर्न सक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यानपावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौं । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ ।’ मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए। उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताएका छन् । उनले चलचित्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताएका छन्। चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गरी राजस्व आर्जनको महत्त्वपूर्ण क्षेत्र बनाउने उनको भनाइ छ ।

उनले भने, ‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ । चलचित्र विकास बोर्डको पुरानो ऐन थियो, त्यसलाई हामीले दर्ता गरिसकेका छौँ, त्यो पास हुन्छ । त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम सुरु हुन्छ। आफ्नै स्टुडियो भवन हुन्छ । त्यसले चलचित्र विकासको क्षेत्रमा रहेका धेरै विकृतिहरू हटाउँदै लगेका छौँ हामीले । ठूलो राजस्व आर्जन गर्ने ठाउँमा पुगेका छौँ, र इन्डस्ट्रीलाई विकास गर्ने कुरामा हाम्रो मन्त्रालय अघि बढिसकेको छ । कोमामा परेको थियो त्यो, मृत प्रायः थियो । भेन्टिलेटरमा राखिएको थियो, त्यहाँबाट निकालेर अहिले काम गर्ने ठाउँ बनाएका छौँ त्यसलाई।’ सञ्चारमन्त्री गुरुङले जनताको हकहित सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता जोगाउन गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

अतिवादी संगठन जैश–ए–मोहम्मदले भारतले गए राति पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएको बताएको छ।

यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।

जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ। विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० भारतीय सैनिक मारिएका थिए। बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन्।

‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो’, उनले भनिन्। पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ। भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ।

काठमाडौँ । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ ।

बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ । आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।

बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितो पत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ । आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको गुनासो गरेका हुन्।

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरेको भए पनि द्रुत गतिमा काम नगरेको उनले बताएका छन्। उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे। उनले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु÷नचलाउनु भनि दबाब नआएको बताएका छन् ।

उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गरे। उनले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा नियन्त्रणमा कायापलट गरेको समेत दाबी गरे।भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईको भनाइ छ । प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको बताएका छन्। उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।