
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच हात हालाहाल हुन लागेको तर आफूहरूले त्यसो नगर्न सुझाव दिएको बताएका छन् ।
आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौँ । उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा शान्तिको सन्देश छर्ने पवित्र भूमि भएको उनले बताए । लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बुद्धका शान्ति, प्रेम र करुणा फैलाउने तथा संसारमै हिंसा नहोस् भन्ने सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे ।
ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्बिनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।
लुम्बिनीको गुरुयोजना अनुसार काम सकेसम्म छिटो पूरा गर्न सरकार लागेको उनले बताए ।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार जना क्षमताको सभा हल आफ्नै अग्रसरतामा निर्माण भएको स्मरण गरे । तर हलमा ध्वनी प्रणाली राम्रो नभएको टिप्पणी गर्दै उनले तत्काल सुधार गर्न निर्देशन दिए ।
वक्ता बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी बनाउन प्रधानमन्त्रीले निर्देशन दिए । हलमा कार्यक्रम हुँदा विभिन्न भाषामा उल्था गर्ने जनशक्ति र प्रविधि व्यवस्था गर्न आग्रह गरेका छन्।
अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरू पछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस भाग्न बाध्य भएका थिए ।
यो सन् १९९९ मा आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूको अन्तिम खुला द्वन्द्वपछिको सबैभन्दा खराब हिंसा थियो र यसले पूर्ण रूपमा युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आशङ्का उत्पन्न गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा युद्धविरामको घोषणा गरेको केही घण्टापछि नै दुवै पक्षले एक–अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि सुरुमा शङ्काहरू उत्पन्न भएका थिए ।
“काश्मीर र अन्तर्राष्ट्रिय सीमासँगका अन्य क्षेत्रमा रात धेरै हदसम्म शान्तिपूर्ण रह्यो”, भारतीय सेनाले भनेको छ, “हालैका दिनहरूमा पहिलो शान्त रातलाई सङ्केत गर्दै कुनै घटना रिपोर्ट गरिएको छैन ।”
भारतद्वारा प्रशासित विभाजित काश्मीरको सीमावर्ती सहर पुँचमा बन्दुकको गोली वा गोलाबारी बिनाको यो लगातार दोस्रो रात पनि थियो ।
पछिल्लो द्वन्द्वमा पुँच सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो । यहाँ कम्तीमा १२ जना बासिन्दा मारिएका थिए भने अनुमानित ६० हजार बासिन्दामध्ये अधिकांश आफ्नो घर छाड्न बाध्य भएका थिए ।
आइतबार मानिसहरू सहरमा फर्कन थालेका थिए । यद्यपि धेरैजसोलाई अझै पनि युद्धविराम धेरै समय टिक्ने छैन भन्ने चिन्ता थियो ।
बुधबार बिहानै भारतले काश्मीरको पाकिस्तानी भागमा रहेको ‘आतङ्कवादी शिविरहरू’ लाई ध्वस्त पार्दै क्षेप्यास्त्र आक्रमण गरेपछि समग्र द्वन्द्वतर्फ खतरनाक लहर सुरु भएको थियो ।
यो अप्रिल २२ मा भारत प्रशासित काश्मीरमा पर्यटकहरूमाथि भएको आक्रमणपछि भएको थियो, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
भारतले पाकिस्तानलाई आक्रमणको समर्थन गरेको आरोप लगाएको थियो तर इस्लामाबादले संलग्नता अस्वीकार गर्दै तुरुन्तै भारी गोलाबारीका साथ आक्रमणको जवाफ दिएको थियो ।
पाकिस्तानले पाँच भारतीय लडाकू विमान खसालेको दाबी गरेको छ । नयाँदिल्लीले यसबारे कुनै टिप्पणी गरेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारले यस क्षेत्रको सीमित स्वायत्तता खारेज गरी नयाँदिल्लीबाट प्रत्यक्ष शासनमा लिएपछि सन् २०१९ देखि आतङ्कवादीहरूले काश्मीरमा कारबाही बढाएका छन् ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि विभाजित मुस्लिम बहुल काश्मीरलाई लिएर धेरै युद्धहरू लडेका दुवै देशले काश्मीरलाई पूर्ण रूपमा दावी गरेका छन् ।
राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ ।
राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् । देवमाथि रु एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उनले बताइन् ।
काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बंैकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ ।
यस्तै मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टी नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ ।
विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले प्रतिवादी देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ बिगो बराबरको राजस्व छली गरेको प्रवक्ता श्रेष्ठले बताइन् ।
सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी रु एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी लिई अभियोगपत्र दायर गरिएको उनले बताइन् ।
काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने भएको छ ।
सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएको छ । सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५-१५ मिटर सडकको सीमा कायम भएको छ।
यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्ककन गरेर चिह्न समेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ । उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास विना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुने समेत जनाइएको छ ।
हेर्नुस् सूचना
काठमाडौँ । विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । विराटले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
विराटले लेखेका छन्- ‘१४ वर्षअघि मैले टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको थिए । इमानदारीपूर्वक भन्नुपर्दा, मैले कहिल्यै कल्पना गरेको थिइन कि यो ढाँचाले मलाई यस्तो यात्रामा लैजान्छ । यसले मलाई परीक्षा दियो, मलाई परिभाषित गर्यो र मलाई जीवनभर साथमा बोक्ने पाठहरू सिकायो । सेतो जर्सीमा खेल्नु मेरो लागि एकदमै विशेष र व्यक्तिगत अनुभव हो । कडा परिश्रम, लामो दिनहरू, साना क्षणहरू जुन कसैले देख्दैनन्, तर ती सधैंभरि मसँगै रहनेछन् । म यो ढाँचाबाट टाढा जाँदै गर्दा, यो सजिलो छैन, तर अहिले यो सही लाग्छ । मैले यसमा मेरो सबैथोक दिएको छु र यसले मलाई अपेक्षा गरेको भन्दा बढी दिएको छ । म खेलको लागि, मैदानमा रहेका मानिसहरूको लागि र यो यात्रामा मलाई साथ दिने सबैको लागि आभारी छु । म मेरो टेस्ट करियरलाई सधैं मुस्कानका साथ फर्केर हेर्नेछु ।’
विराटले पोष्टको अन्त्यमा आफ्नो जर्सी नम्बर ‘२६९’ र ‘साइन अफ’ लेखेका छन् ।
यसअघि उनले भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई दिएको र बोर्डले उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको बताइएको थियो ।
यसअघि बिहीबार रोहित शर्माले सामाजिक सञ्जाल पोस्ट मार्फत टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।
३६ बर्षिय विराटले पछिल्ला ५ वर्षमा, उनले ३७ टेस्टमा केवल ३ शतक बनाए र उनको औसत ३५ भन्दा कम थियो । यसअघि, कोहलीले टी-२० क्रिकेटबाट सन्यास लिएका थिए, तर उनी आईपीएल २०२५ मा उत्कृष्ट फर्ममा रहेका छन् । कोहलीले टेस्टमा ३० शतक बनाएका छन् । यी मध्ये सबैभन्दा धेरै १४ शतक भारतीय भूमिमा बनेका छन् । जबकि न्युजिल्याण्डमा उनले कम्तिमा एक शतक बनाएका छन् ।
अब विराटले एकदिवसीय क्रिकेट खेल्ने छन् । टी-२० अन्तर्राष्ट्रियबाट उनले यसअघि नै सन्यास लिएका थिए ।
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २,५६९ औं जन्म जयन्ती आज (सोमबार) नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धलाई भगवान् विष्णुको नवौं अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्ध हुन् । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
आज लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम हुँदैछन् । इसापूर्व ५६३ अर्थात् आजभन्दा २,५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनी २९ वर्षको उमेरमा दरबार छोडी ज्ञान प्राप्तीका लागि निस्किएका थिए ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। किनमेलमा केही खर्च हुने समय छ। मिहिनेत गर्दा चिताएकाे काम सम्पादन गर्न सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। साथीभाइकाे आगमनले परिवेश उल्लासमय रहनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि प्रतिकूल रहला। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ, क्रियाशील रहनुहाेला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दिगो काम गर्न समयले साथ दिनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएकाे काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य काममा धन र श्रम खर्च हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।