२०८२ असार २९ गते आईतवार
२०८२ असार २९ गते आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष समेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ का सदस्य सचिव रवीन्द्र मिश्र र समितिले तोकेका ‘जनकमाण्डर’ दुर्गा प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

मिश्र र प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले मंगलबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। मिश्र ४६ दिनदेखि प्रहरी हिरासतमा छन् । उनी गत चैत १५ गते पक्राउ परेका थिए ।

‘जनकमाण्डर’ दुर्गा प्रसाईको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी, पार्टी कार्यालय र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।

प्रसाईले गरेको उक्त कार्यक्रमलाई राप्रपा र ‘संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन जनाएका थिए। प्रसाई चैत २९ गते पक्राउ परेका थिए। राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको छ। मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री तथा ‘संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका धवल शम्शेर राणा भने उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका थिए । तर मिश्रमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।

यस्तो अवस्थामा रवीन्द्र मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मंगलबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।रवीन्द्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले रिट दिएकी हुन्। रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ। प्रहरीले मिश्रमाथि राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान गरिरहेको छ। यस रिटको पेसी बुधबारका लागि तोकिएको छ। मिश्रलाई रिहाइ गर्न माग गर्दै राप्रपाले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ भने १२ दिनदेखि ललितपुरको जावलाखेलमा रिले अनसन जारी छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् ।

बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दशकदेखि आवाज उठाउनु परे पनि अब बन्ने प्रक्रिया अघि बढेको बताए । प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो ।

‘त्यसबेला जति अहिले राज्यको ढुकुटीमा पैसा छैन । तैपनि थालेका काम हामी पूरा गर्छौं । यसका लागि बजेट विनियोजना हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनु पर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ,’ प्रधानमन्त्री ओलील भने ।

ओरालो लागेको अर्थतन्त्रलाई आफूले लयमा ल्याएको दावी गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको गाडी अब त्रिशूलीमा नखस्ने बताए । बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमाउनले सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए । कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको उनले स्पष्ट पारे ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति समेत प्रकट गरे। ‘आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्म परिबर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगति चाहन्छौं, राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौ’ थापाले भने।

उनले थपे, ‘सरकार हाम्रो जायज माग र आन्दोलनप्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ, दमन गर्नतर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ।’ जेठ १५ गतेको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशिल हुन कार्यकर्तापंक्तिलाई सो अबसरमा निर्देशन समेत उनले दिए। यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ। कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागत समेत गरे।

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ। आफ्ना पति मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दावी गर्दै सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन्।

उनले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधीवक्ता, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय लगायतलाई विपक्षी बनाएकी छन्। मंगलबार दर्ता भएको निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ।

गैरकानुनी रुपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमती दिइरहेको भन्दै उनले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरेकी हुन्। कुनै व्यक्ति पक्राउ वा थुनामा परेमा त्यसको कानूनी बैधतामा प्रश्न उठाई अदालतहरूमा दिने निवेदनलाई बन्दी प्रत्यक्षीकरणको निवेदन भनिन्छ। अदालतले पक्राउ परेको व्यक्ति गैरकानूनी थुनामा रहेको ठहर्‍याएमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी थुनामुक्त गर्छ । बन्दी प्रत्यक्षीकरणको निवेदनलाई अदालतले उच्च प्राथमिकतामा राखी सुनुवाइ गर्ने कानुनी व्यवस्था छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको ढुकुटी रित्तो भएको बताएका छन् । आज (मंगलबार) बालुवाटारमा सिनेपा चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा रहेको तर अहिले पैसा नहुँदा कुनै पनि नयाँ काम सुरु गर्न पनि डराउनु पर्ने अवस्था आएको बताएका हुन् ।

उनले विगतमा प्रधानमन्त्री हुँदा प्रशस्त बजेट भएकाले धेरै काम सुरु गरेको स्मरण गर्दै सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको बताए । उनले त्यति बेला सुरु गरिएका ६० भन्दा बढी स्वास्थ्य केन्द्र अहिले सञ्चालनमा रहेको जानकारी दिए । एक रुपैयाँ चन्दा उठाएर नेकपा एमालेको पार्टी कार्यालय बनाउने कुरा पनि आएको उल्लेख गर्दै उनले त्यो भन्न सजिलो भए पनि गर्न कठिन हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘एक–दुई वटा साना काममा साथीभाइहरू धेरै उत्साहित हुन्छन् । हामी छौँ भन्छन्, चन्दा उठाउँछन् । अस्ती हाम्रो पार्टी अफिस एक–एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए । एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने अरे । एक–एक रुपैयाँ चन्दा दिन्छौँ, पार्टी अफिस बनाउँछौँ । चन्दा एक–एक रुपैयाँ कहाँ साटेर ल्याउने ? दिँदैन त्यो पनि । यो भन्ने एउटा कुरा हो । तर रियालिटी अर्को कुरा हो । जे होस् हामीले यो नयाँ काम सुरु गरेका छौं । ६० वर्ष लाग्नुपर्ने होइन । यसका लागि जमिन खोजी भएको छ । यसमा बजेट पनि हालेको हो । म यसअघि प्रधानमन्त्री हुँदा अहिले जस्तो पैसाको हाहाकार थिएन । जे पनि गर्नुपर्छ भन्थें, जे पनि बनाउँथें ।’

प्रधानमन्त्री ओलीले तीन वर्षको अन्तरालमा आफू प्रधानमन्त्री हुँदा विकासको काम आफूले छोडेकै ठाउँमा रोकिएको बताएका छन् । पैसाको कमीले पहिला जस्तो ‘यो पनि गर्छु, त्यो पनि गर्छु’ भन्ने आँट गर्न नसकिरहेको उनले बताए । यद्यपि, उनले अब देशको अर्थतन्त्र ओरालो नलाग्ने दाबी गरेका छन् ।

काठमाडौं । दक्षिण कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिन स्थगित गरेको हो ।

मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरेर कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको जनाएको छ । दक्षिण कोरियामा डी टु र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरू (विशेष गरी अण्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकताका कारण अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउने प्राथमिकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्या तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरुमा समेत विद्यार्थी पठाउने गरेको जस्ता समस्याहरू देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यी समस्याहरूको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । कोरियामा अध्ययन गर्न जाने व्यवस्थामा व्यवस्थित एवं नियमन गर्नुपर्ने आवश्यकता देखिएको कार्यदल गठन गरिएको सूचनामा उल्लेख छ । उक्त कार्यदलको सिफारिसका आधारमा थप निर्णय लिने मन्त्रालयले जनाएको छ ।

काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’ मा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् ।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै संख्यामा नेपाली सहभागी हुने जानकारी दिइन् । उनले भनिन्, ‘संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ । बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।’

पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तर्राष्ट्रिय मञ्च हो । मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ । ‘संवादको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ । हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौं’, मन्त्री डा. राणाले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।

कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा संभावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा. राणाले बताइन् ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन्। मन्त्री डा. राणााले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताइन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस-सुन्तली फाउन्डेसनको पहलमा सुरु भएको गौतम बुद्ध क्रिकेट रंगशाला अब बन्ने बताएका छन् । कुनै पनि काम थालेपछि जसरी पनि सफल हुने उनले बताए।

बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको बताए। उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे। नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुःख पाए, माया लाग्छ।’

उनले अब भने उनीहरुको दुःख हट्ने बताएका छन्। ओलीले भने, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुःख कष्ट पनि हट्छ । मैले त दुःख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे।’

कलाकारलाई प्रधानमन्त्रीको प्रश्न–जनकपुरको रेल किन नदेखेको ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको बताएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेपा : चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिरहेको छ, तपाईहरू गीत बनाउनु हुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ? हामीले अब जनकपुरको रेल।’ प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको छुटेको थियो । प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन्। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए।

काठमाडौं । पदबाट राजीनामा दिएकी लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङ बेलायतमा रहेको खुलेको छ। उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन्। तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ।

उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो। उनले उतैबाट राजीनामा पठाएको पाइएको छ। गीता अब बेलायतमै बस्ने मनसायमा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए।

अहिले पनि उतै रहेको सूचना पाएको गुप्ताले जनाएका छन्। उनका अनुसार सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन्। भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन्। उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन्। गीताको राजीनामा पत्र उनका पति कैलाश गुरूङले सञ्चारकर्मीहरूलाई मेसेन्जरमा पठाइदिएका थिए।

‘उहाँ बेलायत गइसक्नु भएको छ। अब राजनीतिमा आउनु हुन्न । उतै बस्नु हुन्छ’, ती आफन्तले भने। गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन। प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिएका छन्।

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि करिब १८ घण्टा छलफल हुने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाँच-पाँच घण्टा, नेकपा (माओवादी केन्द्र) ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी) ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच–पाँच मिनेट समय पाएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।