२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बनाएको नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमिति विद्यालयमा निजी लगानीका विषयमा निष्कर्षमा पुग्न असफल भएको छ ।

उपसमितिले कम्पनी कानुन अनुसार खुलेका विद्यालय कहिलेसम्म शैक्षिक गुठीमा जानुपर्ने भन्ने विषयमा अब समितिमा छलफल गर्ने भएको छ । त्यस्तै प्रारम्भिक बाल विकास (इसिडी) को विषयमा पनि उपसमितिले सहमति जुटाउन सकेन।सुरूमा विद्यालय शिक्षामा नै इसिडी राख्ने समझदारीमा पुगेको उपसमिति अन्त्यमा पुनः समितिको पूर्ण बैठकमा छलफल गर्ने गरी उठेको छ । उपसमितिले यीसहित अन्य असहमतिका विषयमा पुनः छलफल गर्ने भएको छ ।

उपसमितिले यी दुबै विषयमा छलफलका लागि समय अभाव भएको उल्लेख गर्दै समितिमा छलफलको प्रस्ताव गर्न लागेको हो । सांसदहरू विद्यालय शिक्षामा निजी लगानी स्वीकार गर्ने पक्षमा छैनन् । उनीहरू अबदेखि निजी लगानीका विद्यालय खोल्न तयार छैनन्। त्यस्तै अहिले कम्पनी अनुसार खुलेका विद्यालयहरू कम्तीमा १५ वर्षमा शैक्षिक गुठीमा जानैपर्ने अडान सांसदहरूको छ। तर सरकार निजी लगानीका विद्यालयलाई शैक्षिक गुठीमा जानुपर्ने विषय कानुनमा समयअवधि तोकेर जान तयार छैन।

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले खोजी गरेको बखत उपस्थित हुने गरी हाजिरी जमानीमा छोडेको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ गर्दै आज न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले सो आदेश गरेको हो ।

न्यायाधीशद्वय डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज बन्दीप ्रत्यक्षीकरणको आदेश जारी गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘हालसम्मको अनुसन्धान तहकिकातको अवस्थालाई हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलन सम्पन्न भइसकेको, थप प्रमाण सङ्कलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु ।’

राप्रपा नेता मिश्रलाई गत चैत १५ गते पक्राउ गरिएको थियो । प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँबाट पटक–पटक अनुमति लिएको थियो । उनलाई अनुसन्धानकै लागि हालसम्म हिरासतमा राखिएको थियो ।

जिल्ला अदालतबाट गत वैशाख १० मा हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट संकलन गर्नुपर्ने प्रमाणहरु संकलन भइसकेको अवस्था देखाइ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश गरेको हो ।

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा राज्य व्यवस्था समितिबाट अघि बढेको संघीय निजामती ऐनसम्बन्धी विधेयकलाई आत्मसात गर्न आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनद्वारा आज यहाँ आयोजित ‘आगामी बजेट र कर्मचारीका अपेक्षा’ विषयक कार्यक्रममा मन्त्री गुप्ताले लामो समयपछि अथक मेहनतका साथ अघि बढाइएको विधेयकमा केही कमी कमजोरी भए पनि स्वीकार गर्दै अघि बढ्न निजामती प्रशासन सेवाका कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री गुप्ताले भने, ‘ऐनलाई कार्यान्वयन गर्दै जाने क्रममा देखिएका समस्यालाई आवश्यकताअनुरुप संशोधन र परिमार्जन गर्दै लगिनेछ । यसले लथालिङ्ग अवस्थामा रहेको निजामती क्षेत्रलाई सही मार्गमा अघि बढाउन योगदान पुर्‍याउनेछ ।’ निजामति कर्मचारी संगठनका नेताहरुसँगको छलफलमा उनीहरुले आफ्ना सम्पूर्ण माग समेटेर पास नगरे आगो बाल्ने, विरोधका कार्यक्रम ल्याउने धम्की दिएको मन्त्री गुप्ताको भनाइ छ । निजामति कर्मचारीका सबै मागहरु पूरा नभए पनि विधेयकले गर्दा निजामति क्षेत्र ठिक ठाउँमा आयो भन्ने रुपमा लिन आग्रह गरे ।

मन्त्री गुप्ताले भने, ‘हिजो ख्यालठट्टामै केही कर्मचारी संगठनका नेताहरूसँग मेरो चेम्बरमा कुरा भइरहेको थियो । आगो बल्छ, हामी विरोधका कार्यक्रम ल्याउँछौँ । म तपाईंहरूलाई के भन्न चाहन्छु भने, ‘तपाईंहरूले सोचेको हरेक चिज यो निजामति ऐनमा पक्कै आएको छैन होला । त्यो मैले पनि महसुस गरेको छु । तर राज्य व्यवस्था समितिमा मन्त्रालयको तर्फबाट हामी नेतृत्व गरिरहँदा हाम्रो पनि त्यहाँ बहुमत छैन । विभिन्न दलका सांसद ज्युहरु हुनुहुन्छ ।’ मन्त्री गुप्ताले संविधान निर्माणताका पनि सबै राजनीतिक दलका सबै मागहरू पूरा नभएको स्मरण गराए । उनले कमजोरी सुधार गर्दै जाने सम्झौताअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका अध्यक्ष भवानी न्यौपाने, वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र महासचिव रामचन्द्र गौतमले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा निजामती प्रशासन र संगठनको महत्वपूर्ण योगदान रहेको बताए । आफ्नो माग मुद्दा उठाउने र कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने सिलसिलामा लोकतन्त्रलाई खतरा नपुगोस् भन्नेमा संगठन सजग र सचेत रहेको उल्लेख गर्दै उनीहरुले बजार मूल्यका आधारमा थोरै सेवा सुविधा भए पनि राज्यकातर्फबाट नागरिकलाई उपलब्ध गराउनुपर्ने सरल र सहज रुपमा उपलब्ध सबै कर्मचारीलाई आग्रह गरे । उनीहरुले निजामती सेवामा रहेका कर्मचारीको आधारभूत तलबमान रु ४० हजारबाट सुरु गर्नुपर्नेलगायत माग प्रस्तुत गरे ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत उत्पादन बढदै गए पनि सोही अनुसार प्रसारण लाइन सञ्जाल नबढ्दा विद्युत् आपूर्ति प्रभावित भएको बताएका छन्।

बिहीबार एक्कासी विद्युत अवरुद्ध भएपछि आज (शुक्रबार) पत्रकारसँग उनले यसमा चिन्ता नलिन आग्रह गरे। उनले विद्युत उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनु पर्ने अन्यथा यस्ता समस्या आइरहने बताए। सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताएका छन्।

‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो । त्यो समयमा त्यो क्षेत्र वरिपरि चक्रवात जस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो । धेरै ठाउँमा एकै पटक समस्या भयो’, उनले भने, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगञ्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’ पटक पटक प्रयास गर्दा पनि सम्भव नभएपछि भारतसँग कोअर्डिनेसन गरेको बताउँदै दुईवटा कोड पठाएर समस्या पहिचान र समाधानको प्रयास गरेको उनले बताएका छन्। यसले गर्दा केही समय लागेको शाक्यले उल्लेख गरे ।

‘विद्युत् उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क त्यही गतिमा बढाउन सकेनौँ भने रोक्दै गयौँ भने साना साना घटनाहरु हुने गर्छ’, उनले भने, ‘हिजो अढाई घण्टा कन्ट्रोल रुममा बस्दा मैले हरेक घटनालाई नियालें। त्यसपछि अहिले बैठक अगाडि ट्रान्समिसन, डिस्ट्रिब्युसन, सिस्टम कन्ट्रोल, सिस्टम प्लानिङका सबैलाई बोलाएर बृहत् छलफल गरेको छु।’ उनले तत्काल गर्नुपर्ने, एक वर्षभित्र गर्नुपर्ने र सिस्टम रिइन्फोर्समेन्टका मुख्य तीन कुराहरुबारे आवश्यक तयारी गरेको जानकारी दिएका छन्। पहिलेभन्दा अझ चुस्त विद्युत् प्रवाहको लागि प्राधिकरण अग्रसर भएको उनको दाबी छ। ‘कुनै चिन्ता लिनु पर्दैन । हिजोभन्दा अझ बेटर नै गर्छौ’, उनले भने।

बैतडी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाएका छन्। आज (शुक्रबार) बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो। अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ प्रचण्डले भने।

उनले भने, ‘यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ।’ सरकारको गलत कदमविरुद्ध आफूहरू चुनौती दिएर हिँडिरहेको उनको भनाइ छ । उनले भने, ‘अझै पनि हामी यो मध्य पहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जाने छौं । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन, उल्टो दिशातिर हिँडेको छ ।’

 

जनताको आवाजलाई, जनताको मतलाई बेवास्था गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतीलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई–मधेश–पहाड–हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनको भनाइ थियो ।

‘०६४ को जस्तै माओवादीको हात बलियो बनाइदिनुस्’
अध्यक्ष ‘प्रचण्ड’ ले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन् । प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले जित्नुपर्ने बताएका हुन् । ‘साँच्चै भ्रष्टाचारको अन्त्य गर्न, जनताको हक अधिकार सुनिश्तित गर्न माओवादी केन्द्र बलियो हुन जरुरी छ । जसले यो व्यवस्था ल्यायो त्यो बलियो हुनुपर्छ,’ उनले भने, ‘०६४ जस्तै माओवादीको हात बलियो बनाउन सकियो भने सुशासन र आर्थिक र सामाजिक क्षेत्र बलियो हुनेछ ।’त्यस्तै उनले आफू नेतृत्वको सरकारले राम्रा काम गरिरहँदा बिचौलिया र दलालहरूले कांग्रेस–एमालेसहितको गठबन्धन बनाएर सरकार बाहिर पुर्‍याएको आरोप लगाए ।

‘बिचौलिया दलालहरूले हामीलाई सरकारबाट बाहिर आउन बाध्य पारे । तर पनि हामीले खबरदारी गरिरहेका छौँ । सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरेहको छ,’ उनले भने, ‘ठूलो चुनौतीका साथ सरकारलाई खबरदारी भनिरहेका छौँ । पछिल्लो सरकारको कामबाट जनतामा केही न केही आशा पलाएको थियो । त्यसकाविरुद्ध अहिलेको गठबन्धन सरकार बन्यो । धेरै भ्रष्टाचार काम अघि बढाउँदै छन् । भूमि अध्यादेश हेरौं । गभर्नर तुरुन्तै हुनुपर्ने पद हो त्यो त्यसमा अनेक चलखेल र प्रपञ्च भइरहेका छन् । यो गलत दिशातिर सरकार गएको छ । हामी त्यसलाई चुनौती दिएर हिँडेका छौँ ।’

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मुल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले राजनीतिक दलहरुले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचनमुखि राजनीति गर्दा मुलुकमा समस्यामा सिर्जना भएको बताएका हुन्।

उनले सांसदहरूले आफ्नो योजना नछुटोस् भनेर बजेट निर्माणको समयमा मात्रै लुछाचुँडी गर्नुपर्ने अवस्था रहेको बताए। ‘अर्थमन्त्री ज्यु यहाँ बस्नु भयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरुले एकैछिन भए पनि कानेखुसी गर्नुपर्नेछ–मेरो चाहीँ नछुटोस् है हजुर भनेर,’ उनले भने । यसमा भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष रहेको वाग्लेले बताए । ‘त्यसकारण प्रत्यक्ष कार्यकारीतिर गयौं भने चाहीँ यो समस्या भत्किन्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज (शुक्रबार) देखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु / गराउनु हुन समेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ।’ स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ। आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुनेछन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ।

उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ। भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ।

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुनेछ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनको प्रस्तुति रहने छ।

आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुनेछ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिने छन्।

संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने छ।

नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने बताइएको छ । संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन् ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ। यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवद्र्धन गर्नु हो। प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३६ पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज÷पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाम्पत्य जीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन्, तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।