२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् ।

आज (शनिबार) बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले राई र बस्नेतबारेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने भन्दै आफूहरू पनि जेल बसेर आएको सांसदहरूलाई स्मरण गराए । उनले भने, ‘उहाँहरूको विषयमा पनि सांसदहरूले कुरा उठाउनु भयो । त्यो विषयमा सभापति ज्यूले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौं, थुनामा बसेर आएका हौं भन्ने कुरा राख्नु भयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौं भन्नु भयो ।’

माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको र कांग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि उनले बताए ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवालाई फोन गर्नु सामान्य भएको बताएको छ।

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। तर, कांग्रेस नेताहरूले भने यी घटना सामान्य रहेको र अहिले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना नरहेको बताएका छन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले डडेलधुराबाट प्रचण्डले सभापति देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए। यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै महतले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र दाबी गरे। महतले प्रचण्ड र देउवाबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि कांग्रेस अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने कुनै सोचमा नरहेको बताए। माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको घिमिरेले प्रस्ट पारे। पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै प्रमुख सचेतक घिमिरेले अहिले नै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको दोहोर्‍याए।

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट निष्काशित नेता भीम रावललाई माओवादीसँग सहकार्यमा आउन आग्रह गरेका छन्।

आज (शनिबार) रावलको गृह जिल्ला अछाम पुगेर प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें,’ प्रचण्डले भने, ‘उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो।’ आफूले रावललाई ‘किन भौंतारिई रहनु भएको छ ?’ भनेर प्रश्न गरेको पनि प्रचण्डले सुनाए।

उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौंतारिई रहनु भएको छ । आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौं भने।’ जोसँग कुरा गर्नुपर्ने हो त्योसँग कुरा नगरेर समय खेर फालेको पनि बताएको अध्यक्ष प्रचण्डले बताएका छन्। ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को–कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु,’ उनले भने।

काभ्रे । काभ्रेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सर्लाहीको लालबन्दीका अन्दाजी २८ वर्षीय उपेश नेपाली (परियार) रहेका छन्। शनिबार बिहान ११ः३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचना विनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक हरेराम नेपालको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । उनको शव पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले । ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन् । गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन् । चौधरी गाउँपालिका–४ को वडासदस्य हुन् । उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन् ।

‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनु पर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताए ।

‘विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी सदस्यहरूले आफूले यति उति पढेको कुरा सुनाउन थाले आफू नपढेकाले हीनता महसुस गरें’, उनले भनिन्, ‘मैले पनि पढेको भए अहिले फुइ लगाउथे भनेर सोच्न थाले, बैठकमै सहभागी शिक्षकले उमेर जति भए पनि पढनका लागि उमेर तगारो हुँदैन भनेर हौसला बढाएपछि मनभित्रैबाट पढ्ने पुनः इच्छा पलायो, त्यसपछि भर्ना भए, विद्यालयबाट किताब लगेर अध्ययन गर्न थालेको छु।’

वडाको कामले गाउँमा खटिनुपर्ने हुँदा नियमित विद्यालय जान नपाए पनि घरमा रहेका नातिनीहरूबाट बाह्राखरी, दुनालगायत पढ्न र सिक्न थालेको उनले बताइन् । समय मिलेको बेला कक्षामै अरू विद्यार्थीसँगै बसेर पढ्न पनि जाने गरेको उनले बताइन् । धेरै वर्ष पहिले गाउँमा सञ्चालन भएको अनौपचारिक (प्रौढ) कक्षामा क, ख र १, २ सिकेको भए पनि बाह्राखरी र दुना नसिक्दा पढन लेख्नबाट वञ्चित भएको उनी बताउँछिन्। अनौपचारिक कक्षामा पूरै समय दिन नसक्दा लेख्न र पढ्न जान्ने हुन नसकेको उनको भनाइ रहेको छ।

‘बुबा किसान (जमिदार) को घरमा कमैया भएर काम गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘सानै छदा विद्यालय पढ्छु भनेर बुबालाई नभनेको होइन, उहाँले पढ्ने कुराप्रति फिट्टिकै ध्यान दिनुभएन, सानै भएकाले आफूले विद्यालय जाने हिम्मत गरिन्, १०-१२ वर्षको उमेर भएपछि गोठाला जान थाले त्यसपछि विद्यालय जाने कुरा बिर्सिए ।’ १३ वर्ष पुग्नै लाग्दा विवाह भयो । घरधन्दा गर्नमै उहाँका दिन बित्न थाले ।

‘विवाह भएर आएपछि ससुरालमा भान्साको काम सुम्पियो’, उनले भनिन्, ‘पूरै परिवारका लागि साँझ बिहानको खाना पकाउनु पर्दथ्यो, खाना पकाउन, खुवाउन र भाँँडाकुँडा सफा गर्नमै दिन बित्थ्यो, बचेको समयमा खेतबारीमा काम गर्नमै ठिक्क हुन्थ्यो ।’ चुलोचौकाबाट फुर्सद नै नहुने भएपछि पढ्ने कुरा सोच्न पनि नपाइएको उनी बताउँछिन्। ‘विवाह भएको तीन चार वर्षमै बच्चाबच्ची जन्मिए, बच्चाबच्चीलाई हुर्काउनमै समय बित्दै गयो’, उनले भनिन्।

आफूले नपढे पनि छोराछोरीलाई पढाउनु पर्छ भनेर त्यसतर्फ लागेको उनले सुनाइन् । छोरीछोराले एसइई परीक्षा उत्तीर्ण गर्न नसके पनि छोरीलाई सीपमूलक कार्यमा संलग्न गराउनु पर्छ भनेर सिलाइकटाइको कार्य सिकाएर आत्मनिर्भर बनाएपछि विवाह गरेको उनी बताउँछिन्।

छोरालाई इन्टरनेट जडानको कार्यको सीप सिकाएर आत्मनिर्भर बनाएको उनको भनाइ रहेको छ । उनले छोरीको विवाह भने गरी सकेकी छन् । ‘वडासदस्यमा पहिलो पटक निर्वाचित भएर आएपछि समाजका अगाडि बोल्न निकै गाह्रो हुन्थ्यो’, उनले भनिन्, ‘वडासदस्यमै दोस्रो कार्यकाल बित्न लागेको छ, अब सबैका अगाडि विकासका कार्य, सामाजिक कार्य, रीतितिथी बसाल्ने कार्यसँगै गाउँमा हुने सामाजिक कार्यमा नियमित भाग लिने भएकाले बोल्न सिकेको छु ।’

उनी थप भन्छिन्, ‘जनताको आवाज गाउँसभामा लगेर राख्न सक्ने भएको छु, केबल खाँचो छ पढ्न लेख्नको, त्यो पनि पूरा गरेरै छाड्छु ।’ उनका अनुसार पढ्नका लागि विद्यालय भर्ना भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, गाउँपालिकाका जनप्रतिनिधि, गाउँका भद्रभलादमीले हौसला बढाउने कार्य गरिरहेका छन् ।

आउँदो स्थानीय तहको चुनावमा वडाध्यक्षको चुनाव लड्नु पर्छ, वडाध्यक्ष बन्नु पर्छ भनेर अहिलेदेखि नै दबाब आउन थालेको उल्लेख गर्दै उनले चुनाव आउनअगावै पढ्ने लेख्ने कुरामा पोख्त बन्नका लागि निकै मेहनत गर्नुछ, त्यसैका लागि बढी समय दिन थालेको बताइन् । विद्यालयका प्रध्यानाध्यापक जगन्नाथ भट्टले वडासदस्य चौधरीलाई विद्यालयमा कक्षा १ मा भर्ना गरी पढ्नका लागि किताब उपलब्ध गराइएको बताए।

‘उहाँको पढ्ने प्रवल इच्छा रहेछ’, उनले भने, ‘उहाँकै इच्छाअनुसार भर्ना गरी कक्षामा सहभागी हुनका लागि आग्रह गरेका छौँ, उहाँलाई बाह्राखरीसँगै वर्णविन्यास, दुनालगायत लेख्न पढ्न सिकाउने कार्य गर्छौ ।’ खरर किताब पढ्ने र चुस्त दुरूस्त रूपमा हिसाब गर्न सक्ने गरी पढाएर निपूर्ण बनाउने उनले बताए । ‘वडा सदस्यलाई पनि मेहनत गराउँछौँ’, उनले भने, ‘कक्षा शिक्षकहरूलाई सिकाउने कार्यमा बढी जोड दिन भनेका छौँ, भर्खरै कक्षा सञ्चालन भएकाले उहाँले कक्षामा सहभागी भएर पढ्ने इच्छा जाहेर गर्नु भएको छ पढ्नका लागि आउनुहुन्छ ।’ 

डोटी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् । शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्‍याएको बताए ।

उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याएका हुन् ।’ अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरुका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए । अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्गको प्रस्ताव आफूले नै गरेको दाबी गरेका छन् ।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताएका हुन् । उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ ।’

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचार विना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरुलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिए ।

‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए। खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ।’

अध्यक्ष ओलीले भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरु निरंकुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्‍यो। यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रुपमा स्थापित भइसकेको छ। यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी लाग्नु पर्नेछ ।’

प्रधानमन्त्री ओलीले आफूहरुले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरुले कहिल्यै नछोडेको स्पष्ट गरे।आफूहरुको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनको भनाइ थियो । उनले एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिन्छ भन्ने तत्वहरुले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरुलाई एकताबद्ध भएर ढुक्का साथ अघि बढ्न आग्रह गरे ।

एमालेले अग्रगतिका लागि निस्क्रिय कामना होइन, सक्रिय हस्तक्षेपको नीति लिँदै बताउँदै उनले विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरुले त्यस्ता कमी कमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको बताए । विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको पनि उनले टिप्पणी गरे ।

उनले जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रुपमका हाँक्ने नीतिकार, रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्‍याएको बताए । कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थिए । कार्यक्रममा अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवंगत नेताप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनरमार्फत सफल अंगदान सम्पन्न गरेको छ। यो नेपालमा अहिलेसम्म मात्र छैटौँ पटक भएको दुर्लभ र संवेदनशील प्रक्रिया हो, जसमा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू — कलेजो (लिभर) र दुईवटा मिर्गौला (किड्नी) — दान गरिएका हुन्।

मृतक १८ वर्षीय दोर्जे मान तामाङ धादिङ जिल्लाको गजुरी गाउँपालिका–७ निवासी थिए। काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारका क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि, उनका बुबा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो।

केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो। ती अंगहरू दुईजना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी प्राप्त भएको छ।

यो उपलब्धि केएमसीको चिकित्सा सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रतिविम्ब हो। यसले न केवल केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रपंक्तिमा उभ्याएको छ, तर समग्र नेपाली स्वास्थ्य प्रणालीमा अंगदानबारे जनचेतनामा समेत सकारात्मक प्रभाव पारेको छ।

केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो। केएमसी डा. शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।

डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

अब लिभर ट्रान्सप्लान्टतर्फ तयारी
केएमसीले अब लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवनरक्षक शल्यक्रिया सञ्चालन गर्न तीव्र तयारी गरिरहेको छ। आवश्यक पूर्वाधार निर्माण, दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन, र अत्याधुनिक उपकरणहरूको समायोजन तीव्र गतिमा अगाडि बढिरहेको केएमसीले जनाएको छ।

यो पहलले नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले गम्भीर अवस्थाका बिरामीहरूलाई नयाँ जीवन दिनेछ।

३० वैशाख, काठमाडौं । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।

मंगलबार राजधानीमा एक समारोह आयोजना गरी वानीरा फाउन्डेसनले जोशीको एक सय छैटौँ जयन्ती मनाएको हो ।

सो अवसरमा प्रसिद्ध समालोचक प्रा.केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरे ।

लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ छन् ।

दीक्षितकृत कृतिको सम्पादन श्रीमती इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा.ऋषिराम शर्माले गरेका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा.केशव सुवेदी, श्रीमती इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिहरूबारे मन्तव्य प्रकट गरेका थिए ।

काठमाडौं । लेखक तथा वैज्ञानिक जीवन प्रसाईंको ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ पुस्तक लोकार्पण भएको छ । शनिबार नेपालय पब्लिकेशन २० वर्ष पुगेको अवसरमा सो पुस्तकको लोकार्पण गरेको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक प्रसाईले सो पुस्तक तनाव, भागदौड, अवशाद र एक्लोपनले आजित पारेको व्यक्तिका लागि करुणा भाव राख्ने किसिमको रहेको सुनाए ।

‘एआईको युग छ, तर म त इआई, अर्थात् इमोसनल इन्टेलिजेन्सको बाटोतिर छु, ’लेखक प्रसाईं भन्छन् ‘यस पुस्तकमार्पmत भावनाका कुरा समेटेको छु । मन बुझ्ने र बुझाउने, चिन्ने र चिनाउने साथी यो पुस्तक बन्नेछ भन्ने आशा लिएको छु ।’

यो प्रसाईंको पाचौं पुस्तक हो । उनका ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’, ‘वरिपरि नै सर्वोपरी’ र ‘धेरैको धपेडी’ पुस्तक पनि निकै रुचाइएका पुस्तकमा पर्छन्।

२३१ पृष्ठको यो पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम बाट तथा विश्वभरका पाठकले अमेजनबाट खरिद सक्ने नेपालय पब्लिकेशनले जानकारी दिएको छ ।

नेपालयले वार्षिक उत्सवका अवसरमा शनिबार र आइतबार कालिकास्थानस्थित आफ्नै कार्यालयको प्रांगणमा दुई दिने पुस्तक मेला पनि आयोजना गरेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।