त्यसैगरी राष्ट्रियसभाको दिउँसो १ः४५ मा बस्ने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८१–०८२ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका रहेको छ ।

काठमाडौं । आज जेठ १५ गते, गणतन्त्र दिवसका दिन सत्तारुढ नेकपा एमाले र राजावादी समूहले एकै स्थान रत्नपार्कमा प्रदर्शन गर्दैछन् । तर एमालेको कार्यक्रम सकिएपछि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहले प्रदर्शन गर्ने समय तय गरिएको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम दिउँसो २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीले सोही स्थानमा कार्यक्रम गर्ने सहमति गराएको हो। राप्रपा र ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले दिउँसो २ बजेपछि शान्तिवाटिकामा कार्यक्रम गर्ने भएका हुन् । कुनै अप्रिय घटना नहोस् भनेर आज नेपाल प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको अपिल
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आज (बिहीबार) हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गर्दै उक्त अपिल गरेको हो ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन गरेका छन् । आयोगले विभिन्न टोलीहरू बनाई प्रदर्शनको मानवअधिकारको कोणबाट अनुगमन समेत गर्नेछ ।
उनले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरे । जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्य मान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरिएको छ ।
छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा–व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चार गृहलगायतका संवेदनशीलस्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवम् जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन् ।
काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ ।
आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।
संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
त्यसअघि प्रतिनिधिसभाको दिउँसो १ः३० बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१–०८२ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको दिउँसो १ः४५ मा बस्ने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८१–०८२ को आर्थिक सर्वेक्षण’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यतालिका रहेको छ ।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ। नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभावले काम पूर्ण नहुन सक्छ। कमजाेरी सच्याउन काम दोहोर्याउनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। तर आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुटाउन सकिनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने सम्भावना छ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिगो योजना बन्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगनशीलताले लाभ उठाउन सकिनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
राेकिएकाे काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सानाे प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउने समय छ। नयाँ काम गर्ने अवसर समेत जुट्नेछ।