२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो। उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ । कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ ।’

कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । उनले भने, ‘कोभिड पुष्टि भएका तीनै जनाको स्याम्पल काठमाडौँ पठाएका छौं । काठमाडौँमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।’ भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् ।

आइडिया स्टुडियोले काठमाडौँमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव दिए ।

उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने ।

उनले भने, ‘यो फेसबुक-फेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ भनेर हेर्नुभयो भने टेन्सन हुन्छ ।’

उनका अनुसार सामाजिक सञ्जालमा मुख छाड्नु उनीहरूको आदत हो । ‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दा खेरी ऊ आफैँ तनावमा हुन्छ,’ उनले भने ।

गाली गरेर हिँड्ने अभ्यासले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो नगर्ने तर्क गरे । उनले भने, ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन ।’

उनले युवाहरूलाई केही काम गर्नासाथ घमण्ड नगर्न सुझाव दिए । ‘आफूले गरेको कामप्रति गर्व गर्नुस्, घमण्ड गर्ने होइन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले रोजगारीको समस्या समाधान गर्न उद्यमशीलता विकासको विकल्प नरहेको बताए ।

‘उद्यमशीलताबाट रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उद्यमशीलताको विकास गर्नुपर्छ । उद्यमशीलताको विकास नगरी रोजगारी अवसर कसरी आउँछ रु,’ उनले प्रश्न गरे ।

उनले सरकारी जागिरलाई सीमित प्रतिशतले मात्र पाउने अवसरको संज्ञा दिए । ‘यो त सीमित एक प्रतिशतले पाउने हो । एक प्रतिशतले रोजगारी पाएर त भएन नि,’ उनले भने, ‘हरेक वर्ष साढे चार लाखदेखि ५ लाख युवाहरू रोजगारीका निम्ति बजारमा आउँछन् । एक प्रतिशत रोजगारी सरकारी तवरमा पाउँछौँ । दुई, तीन प्रतिशत हामीलाई चाहिएको हुन्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलतको विकास बाहेक अर्को कुनै उपाय नरहेको बताए ।

काठमाडौं । संसदको पाँचौं ठुलो दल राप्रपा सांसदहरूले सदनभित्र विभेद भएको भन्दै सभामुख देवराज घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका छन् । प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सदन सञ्चालनसम्बन्धी पछिल्ला बैठकमा सभामुखले राप्रपालाई बोलाउन छाडेका थिए । यसबारेमा ध्यानाकर्षण गरिएको शाहीले बताए ।

सभामुखले आवश्यकताका आधारमा बैठक बोलाइने भन्दै कार्य व्यवस्थामा बोलाइरहेको जवाफ दिएका थिए। राप्रपाले सांसद दीपकबहादुर सिंहको पक्राउ, संसद्को विशेषाधिकार हनन भएको विषय राखेका थिए। सभामुख घिमिरेले सिंह पक्राउको जानकारी नआएको बताएका थिए। राप्रपाले पिएसओ फिर्ताबारे पनि चासो राखेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले बुधबार सभामुख घिमिरेसँग भेटेर पिएसओ फिर्तालगायत विषयमा कुराकानी गरेका हुन्। राप्रपाका सांसदहरूले आफूहरूलाई दिइएको पीएसओ बिना कारण सरकारले फिर्ता बोलाएको विषय सभामुखसँग राखे ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो। ‘हाम्रो दलको हैसियत र दीपक सिंह त संसदीय समितिकै सभापति भएकोले पीएसओ पाउनु भएको थियो, तर किन हाम्रा पीएसओ फिर्ता गरियो ?,’ सभामुखलाई राप्रपा सांसदहरूले सोधे, ‘संसदीय व्यवस्थामा यसरी विभेद गर्न पाइन्छ ? कि अरू संसदीय समिति र प्रमुख सचेतकहरूले लिएका पिएसओ पनि फिर्ता गर्नुपर्‍यो । यस विषयमा सभामुख ज्यूले गृहमन्त्रीसँग नै कुरा गर्नुपर्ने हुन्छ।’

बुद्धिमान तामाङले गृहमन्त्री रमेश लेखकसँग पनि पिएसओबारे सोधेका थिए । लेखकले मान्छे कम परेर लगेको जवाफ दिएका थिए। प्रहरीले भने नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको बताउँदै आएको थियो। तर बुधबार गृहमन्त्री रमेश लेखकले पिएसओ फिर्ता बोलाइएको कुरा बताए। राजावादी आन्दोलनको सुरक्षालाई मध्यनजर गर्दै राप्रपाका नेताहरूलाई दिइआएको पीएसओहरूलाई फिर्ता बोलाएर आन्दोलन सुरक्षामा परिचालन गर्नुपरेको गृहमन्त्री लेखकको भनाइ छ। प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीहरूको आन्दोलन स्थगित गरिए तत्काल राप्रपा नेपाहरूलाई पीएसओ पठाइने बताए।

काठमाडौं । पूर्व सभामुख अग्नि सापकोटाविरूद्वको ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषरणाको आदेश जारी गरेको छ ।

सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दामा तीन थरी आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमाया लामाको पक्षमा सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो ।

सापकोटाविरूद्व काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै अर्जुनकी पत्नी पूर्णिमाया, कनकमणि दिक्षित र सुशील प्याकुरेल समेतले रिट दायर गरेका थिए । सवोच्चले दिक्षित र प्याकुरेलको रिट भने खारेज गरिदिएको छ । यो आदेशसँगै २०६९ साउन १२ गते तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले मुद्दा नचलाउने गरी गरेको निर्णय पनि बदर भएको छ । काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ । भट्टराई सरकारले सापकोटाविरूद्ध काभ्रे प्रहरीमा परेको कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी तामेलीमा रख्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासले १४ वर्षपछि यो विवाद किनारा लगाएको हो ।

द्वन्द्वकालीन अवस्थामा माओवादीको एक समूहले २०६२ वैशाख १६ गते काभ्रेको दाप्चास्थित श्रीकृष्ण माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको भेलाबाट उठाएर अर्जुन लामालाई बेपत्ता पारेको आरोप छ । लामा स्थानीय व्यापारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा माओवादी नेताहरू अग्नि सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान संलग्न रहेको दाबी गरी अनुसन्धान हुनुपर्ने माग गरी सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन ।

आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्। उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखेका छन् । उनले दलहरूबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने बताए।

प्रवक्ता गुरुङले प्रेस काउन्सिललाई समावेशी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको भन्दै अहिले विभिन्न कारणले समावेशी बनाउन नसकिएको उल्लेख गरेका छन्। त्यस्तै जेठ १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए। जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको उनले बताए। त्यस्तै असार ३ गते अस्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठिसकेपछि गृहमन्त्री लेखकको राजीनामा नआएकाले संसद् बैठक चल्न नसक्ने धारणा राखेका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षीको अडान र पहिले संसद्मा बोल्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण कुरा मिनल्न नसकेको जानकारी दिए ।

विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग बुधबार दिउँसो छलफल गरेका हुन् ।

तर दुवै पक्षले अडान नछाडेपछि बुधबार दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अनिश्चित भएको हो । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिएकाले जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।

बजेट टेबुल भए पनि गृहमन्त्री प्रकरणले छलफल प्रक्रिया अघि बढाउन समस्या भएको छ । मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन । दुई पक्षबीच कुरा नमिलेकाले बुधबारको संसद् बैठक पनि अनिश्चित भएको छ ।

काठमाडौं । काठमाडौं तीनकुनेमा चैत्र १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईसहित ३९ जना प्रतिवादीहरूको बयान सकिएको छ। बयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा आज (बुधबार) देखि थुनछेक बहस हुँदैछ।

प्रसाईसहित अन्य प्रतिवादीहरूको बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरू हुने अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि प्रसाईसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।राज्यविरुद्धको कसुरका ५० जना प्रतिवादीमध्ये ३९ जना प्रहरी हिरासतमा छन्।

उनीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो। ५० जना प्रतिवादीमध्ये ११ जना धरौटीमा छुटिसकेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रसाईं राजावादीले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर थिए । १५ चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएका थिए । पछि प्रहरीले प्रसाई र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा, आगजनी, तोडफोड र लुटपाट गरेका थिए । हिंसात्मक घटनामा परी एक जना पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

काठमाडौँ । सरकारले ‘फाइनान्सियल टास्क फोर्स’ (एफटीएफ) को ‘ग्रे लिस्ट’ बाट मुलुकलाई बाहिर निकाल्न घरजग्गा कारोबारमा थप कडाइ गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य गरेको हो ।

विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गर्दै घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरेको छ ।

निर्देशन अनुसार घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने छ ।

एफएटीफले नेपालको सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रमा बनाएका नियम कानुन कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै यसै वर्ष ग्रे लिस्टमा राखेको छ । नेपाललाई ग्रे लिस्टबाट बाहिर आउने समय २ वर्ष दिइएको छ ।

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा आएको छ । मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्तामा सहमति जुटेसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन् । राइड शेयरिङ नियमावली खारेजीको माग गरेर यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशभरि गुड्ने सार्वजनिक यातायात बन्द गरेका थिए । काठमाडौं उपत्यकामा गुड्ने तथा उपत्यका बाहिर जाने छोटो तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन्। कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला। एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ। आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफू स्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ। दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र माया प्रीति कायम नै रहने देखिन्छ। लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो। सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ। रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लगानी गर्नुभएको छ भने आज त्यसको लाभांश÷बोनस पाउने दिन हो। तर खर्चको मात्रा बढ्ने समय छ, बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुहोला। कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ। परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो। आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

करियर र भविष्यको सोच सलबलाउने छ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ। आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ। कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ। उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ जानकारी र समाचारहरू प्राप्त गरी अपडेट हुने समय हो, कार्यस्थलमा विशेष भूमिका निर्वाह गर्ने समय छ, हाँके÷ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि जनसम्पर्कको दायरा बढ्नेछ। अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ। त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला। पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ। भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ। हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ। याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो। लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला। अन्तरङ्ग मित्र वा आफन्तसँग भेटघाट हुनेछ। सृजनात्मक, कल्पनाशील र रमणीय दिन छ, व्यस्त दिनचर्या अर्थात् बोरिङ रुटिनबाट राहत पाउने समय हो।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ। सुनिश्चित सफलताको योग छ, तथापि रिसराग र आवेग बढ्ने समय भएकाले भावनामा बहेर कुनै पनि निर्णय नगर्नु होला। ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ। छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ। बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ। कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ। ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ। कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो। पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ। शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो। आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो। उदारमना व्यक्तित्व वा हाइ प्रोफाइल व्यक्तिसँग उठबस गर्ने मौका मिल्नेछ, आवश्यक परेमा उहाँहरूको सुझाव प्राप्त हुनाले देखिएका बाधा हट्नसक्छन्। सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।