२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले तीन करोडभन्दा कम बजेटका आयोजनाहरू संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना रहेको दाबी गरे । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बताए । सहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने उनको भनाई थियो । उनले योजनाहरू आफूखुसी राखेको स्पष्ट देखिएको पनि बताए ।

उनले भने, ‘हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि किन यो तीन करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नु भएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन् अरू अरूतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबै खाले आफूखुसी राखेको देखिन्छ ।’

बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताए । उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए । नीति तथा कार्यक्रममाथि पनि पहिलो पटक आफ्ना धारणा राखेको जिकिर गरे ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर प्रकरणमा सभापति शेरबहादुर देउवाले अडान नलिएको भए सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगिसकेको खुलासा गरेका छन् ।

उनले गठबन्धनमा सबै कुरामा सम्झौता नहुने र गभर्नरको विषयमा ‘खतराको घण्टी’ बजिसकेपछि मात्रै परिस्थिति सम्हालिएको बताए । आज (शनिबार) अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै प्रवक्ता महतले गठबन्धनको आन्तरिक अवस्थाबारे उक्त खुलासा गरेका हुन् ।

‘गठबन्धनको बाध्यताले कतिपय कुरामा चित्त नबुझे पनि स्वीकार्नु पर्छ’, उनले भने, ‘तर राष्ट्र बैंकको गभर्नरको कुरामा त सभापतिले भन्नुभयो नि, ‘यो कुरा मिलेन भने (गठबन्धन) मिल्दैन ।’ उनले सभापतिको उक्त दृढतापछि मात्रै लामो समयदेखि अल्झिएको विषय टुंगोमा पुगेको बताए । प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने दाबी गरेका छन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘हामीले व्यक्तिवादी हुन छाडेर बलियो हुने कोशिस गरौं । खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौं, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो । अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यहीअनुसार भएको छ, एमाले प्रतिस्पर्धी पार्टी हो । उहाँहरूको जस्तो सञ्जाल हाम्रो छैन ।’

बाजुरा । शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताउनुभयो । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु एक करोड ८० लाख क्षति भएको पाइएको छ ।

यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए। आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन ।आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।

शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् । ‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो’, पीडित छत्र थापाले भने । आगलागीबाट पीडितहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ ।

शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौं । काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइ पाउँ भन्ने रहेको छ। कामपामा आएका विवादमध्ये ५० प्रतिशत भवन खाली गराइ पाउँ भन्ने र त्यसको ५० प्रतिशत सहकारीसँगै सम्बन्धित विषय रहेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

जसमा समयमा बहाल नतिरेको कारण घरकोठा खाली गराइपाउँ, बहाल कर नतिरेको कारण सो तिराइ घरकोठा खाली गराइ पाउँ, सहकारीको कारण घरमा भएको क्षतिको पूर्ति गराई खाली गराइपाउँ, आफ्नो बचत समेत सहकारीमा रहेकोले सो रकम र भाडा समेत उपलब्ध गराई सहकारी हटाइ पाउँ, सहकारी कार्यालयमा घरधनीले ताला लगाइदिएको कारण कार्यालय सञ्चालन गर्न सहजीकरण गरीपाउँ, दुई प्रकारको सम्झौता खारेज गरी बहाल कर तिराइ पाउँजस्ता विवाद बढी आएका छन् ।

कामपा कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता देखाउँदै उपप्रमुख डङ्गोलले विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नुपर्ने बताइन्। क्षेत्राधिकार बाँडिएको र प्राप्त अधिकारको प्रयोगका लागि निकायगत संयन्त्रका विषयमा कुरा गर्दै उनले वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वानुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने पनि बताइन् ।

सहकारीहरू संकटमा पर्नुको मुख्य कारण आफ्नालाई ऋण दिने, उत्पादनमा भन्दा उपभोगमा ऋण लगानी गर्ने, ऋण लिनका लागि मात्र सदस्य बन्ने, धितो नलिई वा कमसल धितो लिएर ऋण दिने, मुनाफा मात्रै खोज्ने प्रवृत्ति रहेको बताइएको छ । कामपाको कानुन तथा मानवअधिकार विभागका प्रमुख वसन्त आचार्यले कोठा खाली गराउनेबारे गुनासो बढ्नुको मुख्य कारणमा घर बहालमा लिँदादिँदा लिखित सम्झौता नगर्नु, लिखित सम्झौता गरे पनि सर्त स्पष्ट नहुनु, बहाल कर कम तिर्न बहाल अङ्क न्यून राख्नु वा दुइवटा सम्झौता गर्नु जस्ता समस्या देखिएको बताए ।

उनले समयमा बहाल नबुझाउनु, बहाल कर कसले बुझाउने भन्ने सम्झौतामा नखुलाउनु र खुलाएको अवस्थामा पनि सहकारी संस्थाले बहाल कर नतिर्नु, घरधनीलाई सहकारी समस्यामा छ वा बन्द हुँदैछ भन्ने जानकारी नहुनु, कार्यालय बन्द भएको सहकारीका पदाधिकारी तथा कर्मचारीसँग सम्पर्क हुन नसक्नुजस्ता समस्यासँग सम्बन्धित विवाद आउने गरेको जानकारी दिए ।

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले तीन करोड बजेट दिएको छ। मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले गणेशमान स्मृति भनवको नाममा बजेट विनियोजन गरेको भए पनि यो तरुण दलको भवन हो । तरुण दलका अध्यक्ष विद्वान गुरुङले वक्तव्य जारी गर्दै भवन निर्माणका लागि बजेट विनियोजन गरेकोमा धन्यवाद भनेका छन् । गुरुङले बजेटका लागि पहल गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । शहरी विकासमन्त्री कांग्रेसकै प्रकाशमान सिंह छन् ।

तरुण दलले उनलाई पनि बजेट विनियोजन गरिदिएको भन्दै आभार प्रकट गरेको छ । प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट कटौंती गरेको भनिरहेको बेलामा आफू मन्त्री भएको बेलामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै प्रकाशमान सिंहले बजेट विनियोजन गरेका हुन् । यसअघि पनि तरुण दलले भवन बनाउने भन्दै करोडौँ आर्थिक संकलन पनि गरिसकेका छ ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन्। भक्तपुरमा (शनिबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग राख्नुपर्ने बेला भइसकेको टिप्पणी गरे।

उनले कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे। नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरूसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नु पर्ने बताए। कांग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरू नागरिक समक्ष लैजानुपर्ने बताए। कोइरालाले कतार, दुबईहरू बनाउने नेपालीहरूले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए। नेपाललाई नेपाल बनाउनु पर्ने उनको भनाइ छ।

डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन् । आज (शनिबार) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन्।

उनले कांग्रेसको विधानमा ४ वर्षमा गर्नुपर्ने प्रावधान रहेको बताए। यस पटक के–ले महाधिवेशन रोक्यो ? भन्दै उनले प्रश्न गरे। महाधिवेशन रोक्नुपर्ने कारण के हो ? भनेर कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुपर्ने उनको भनाइ छ। कोइरालाले नेपाली कांग्रेस कमजोर नरहेको बताए।

अमेरिकामा चार जना नेपाली मृत अवस्थामा फेला परेका छन् । बिहीबार अमेरिकाको भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार विहीबार साँझ लगभग १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरको तल्लो तल्लामा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरे। प्रहरी पुगेपछि तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरू एकै परिवारको हो होइन खुलिसकेको छैन । प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ।

काठमाडौं- मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ।

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ। हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।

‘यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा) मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ’, उनले भने ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ।

मक्का मदिना जान नपाउने हजयात्री समेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन्।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो।

जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ। यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

अनावश्यक र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्र्पद्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ, घरपरिवारबाट पनि शुभ समाचार आउने दिन हो, मातापिता वा वयोबृद्ध व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सार्मथ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।