२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ जनाको नियुक्तिसम्बन्धी मुद्दामा निर्णय सुनाउने मिति सारेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ मिति असार १८ गतेका लागि सारेको हो । यसअघि उक्त मुद्दाको निर्णय आज सुनाउने तय गरिएको थियो।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए । प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइ बिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओपप्रकाश अर्याल, सम्रित खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जति पनि केन्द्रीय सदस्य बनाउन मिल्ने गरी विधानको प्रावधान सच्याएको छ। २०८० फागुनमा काठमाडौंमा भएको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य संख्याको १० प्रतिशतसम्म मात्र समायोजन गर्न सकिने प्रावधान गरेको थियो। तर, त्यसलाई संशोधन गरेर माओवादीले जति पनि सदस्य बनाउन मिल्ने प्रावधान ल्याएको हो।

गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। यसपछि पार्टीले १९ गते केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाएर यसबारे जानकारी समेत गराइसकेको छ। ‘पार्टी विधानको प्रावधानअनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कूल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निष्क्रिय बनाउने’, पार्टी महासचिव देव गुरूङले जारी गरेको सर्कुलरमा भनिएको छ।

माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन्। यसअनुरूप जाने हो भने बढीमा ४० जना मात्रै थप्न सकिन् । तर, विधानको यो प्रावधान निष्क्रिय पारेर माओवादीले जति पनि केन्द्रीय सदस्य बनाउन मिल्ने बनाएको छ। माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो। तर, पार्टीको महाधिवेशनसम्मका लागि अहिलेकै कमिटी यथावत् राख्ने र महाधिवेशनमा निर्वाचनबाट केन्द्रीय सदस्य छान्ने निर्णय माओवादीले गरेको थियो।

त्यसो त अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिल्यैदेखि दुई अंकको केन्द्रीय सदस्य बनाउने बताउँदै आएका हुन्। तर, अहिले आएर फेरि असीमित संख्यामा बनाउन सकिने बनाएका छन्।यसअघि माओवादीले चार हजारसम्मको संख्याको केन्द्रीय समिति बनाएको थियो । जसको आलोचना समेत भएको थियो। फेरि माओवादीले अरु पार्टीहरूसँग एकता र ध्रुवीकरण हुने भन्दै असीमित केन्द्रीय सदस्य बनाउन सकिने प्रावधान बनाएको हो।

काठमाडौं । नेपाली कांग्रेसका लोक प्रिय युवा नेता सांसद डा. सुनिल शर्माले पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताएका छन् ।

सांसद शर्माले असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुने भए पनि सिधै अपराध ठहर गर्दै पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भएको बताए ।

‘सत्ता सँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउन प्रयास गर्न कलम चलाउने पत्रकारिता कुनै अपराध होइन,’ उनले भने, ‘प्रकाशित/प्रसारित सामग्री प्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको भएता पनि सिधै अपराध ठहर गर्दै पत्रकार दिलभुषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो ।’

उनले यो केवल एउटा व्यक्तिको मुद्धामात्र नभएर अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरे ।

सामाजिक सञ्जाल लेख्दै सांसद शर्माले पत्रकार पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरिनु पर्ने बताएका छन् । ‘यो केवल एउटा व्यक्तिको मुद्धामात्र होइन । यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो । पत्रकार दिलभुषण पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरियोस्’ उनले भने ।
डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्

काठमाडौँ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन्।

२०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन्।

१० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र छनोट भएका गरी अहिलेसम्म १३ टोलीले विश्वकप स्थान पक्का गरेका छन्।

एसियाबाट जापान र इरानले विश्वकप खेल्ने पक्का गरेका थिए। दुवै टोलीले तेस्रो चरणको छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेका हुन्। अघिल्लो साता जोर्डन, उज्वेकिस्तान र दक्षिण कोरियाले विश्वकपको टिकट पक्का गरेका थिए। मंगलबार अस्ट्रेलियाले पनि एसियाबाट विश्वकपमा स्थान बनायो। एसियाबाट अहिलेसम्म ६ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन्। जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्।

यता ओसियाना क्षेत्रबाट न्युजिल्यान्डले पनि विश्वकप खेल्ने पक्का भएको छ।

दक्षिण अमेरिका छनोटबाट अर्जेन्टिना फिफा विश्वकप २०२६ मा पुग्ने पहिलो देश बनेको थियो। मंगलबार ब्राजिल र इक्वेइडरले पनि विश्वकपमा स्थान बनाए। ब्राजिलले दुई खेलअघि स्थान पक्का गर्ने क्रममा पाराग्वेलाई १-० ले पराजित गर्‍यो। इक्वेइडरले पेरुसँग बराबरी खेल्यो।

४८ टोलीबीच प्रतिस्पर्धा हुने विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। एसियाबाट अब २ टोली सिधा छनोट हुन बाँकी छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्।

यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।

४८ टिमलाई अब चार(चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ।

१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ। फिफा विश्वकप २०२६ मा तीन देशका १६ सहरमा खेल हुनेछन्।

काठमाडौं । व्यापारमा बढ्दो तनाव र नीतिसम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ। विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक दृष्टिकोण’ प्रतिवेदन अनुसार, हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन्।

प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २.७ प्रतिशतबाट घटाएर २.३ प्रतिशत बनाइएको छ । यस्तै, सन् २०२६ का लागि यो दर २.७ प्रतिशतबाट घटाएर २.४ प्रतिशतमा ल्याइएको छ । विकसित देशहरूमा आगामी वर्ष १.२ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो। विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर ३.८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन पूर्वानुमानभन्दा ०.३ प्रतिशत अंकले कम हो। संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा १.४ प्रतिशत मात्र रहने सम्भावना देखिएको छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को २.८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो।

युरोप क्षेत्र र जापान दुवैको वृद्धिदर ०.७ प्रतिशत रहने अनुमान गरिएको छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ । चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत् रहेको छ। प्रतिवेदनमा उल्लेख गरिएअनुसार, केवल केही महिना अघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ। यदि शीघ्र उपयुक्त नीतिगत कदमहरू नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्ने चेतावनी समेत प्रतिवेदनमा दिइएको छ । विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री तथा वरिष्ठ उपाध्यक्ष इन्डर्मिट गिलले भने, ‘एशिया बाहेकका क्षेत्रहरूमा विकासको गति सुस्त बन्दै गएको छ, जसले विकासशील राष्ट्रहरूलाई थप चुनौतीमा पार्ने सम्भावना देखिन्छ।’

गिलका अनुसार, विकासशील राष्ट्रहरूमा लगानीको दर अपेक्षाकृत कम भएको र ऋणको भार उच्च रहेकोले आय असमानता हटाउने तथा गरिबी घटाउने प्रयासहरूमा प्रगति पर्याप्त छैन। भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले २०२६ र २०२७ मा केही सुधारको संकेत गरे पनि, समग्रमा आर्थिक उत्पादन स्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने सम्भावना औंल्याएको छ। यद्यपि, यदि व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीति सम्बन्धी अन्योलता निरन्तर रहने हो भने, आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय दबाब पनि बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ।पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिद बिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको युट्युब च्यानलमा पोष्ट गरेका थिए। शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन्। साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन्। पत्रकार पाठकलाई यही विषयमा पक्राउ पुर्जी जारी भएको अनुमान गरिएको छ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।
 
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
 
आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
 
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने कार्यसूची छ ।
 
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तापनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। पछि लाभ हुने काम थालनी हुनेछ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। व्यापार लगायत दिगो काम सुरु गर्न सकिनेछ। प्रयत्न गर्दा परिस्थिति अनुकूल बन्नेछ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। सोखले फजुल खर्च पनि बढाउन सक्छ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिन सक्छन्।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। तर निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले व्यवहारमा सजग रहनुहोला।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ, सावधान रहनुहोला।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुनेछ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल भइनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।