
काठमाडौं । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको छ ।
यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्यूज१८ डटकमले जनाएको छ ।
‘मेरो अघिल्लो अभिव्यक्ति गलत रुपमा उद्धृत गरिएको थियो, एक व्यक्ति जीवितै भेटिएका छन्’, अहमदावाद प्रहरीका आयुक्तले भनेका छन्, ‘अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।’
दुर्घटनामा जीवित रहेका व्यक्ति ४० वर्षीय विश्वास कुमार रमेश रहेको भनिएको छ । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ ।
भारतमा आफन्त भेट्न आएका विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग बेलायत फर्किँदै दिए । हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘टेकअफ गरेको ३० सेकेण्डमै ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो । सबै कुरा एकैचोटी भयो ।’
अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार, बाँकी शवहरुलाई पोस्टमार्टमका लागि पठाइएको छ । घटनास्थलबाट सार्वजनिक भएको तस्वीर र भिडियोहरुमा विमानको केही भाग होस्टल भवन वरिपरि छरिएको देखिन्छ ।
विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु आएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासले नेपाली नागरिक समेत हुनसक्ने आशंकामा भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । त्यसक्रममा भारतीय अधिकारीहरूले एउटा सूची पठाएका थिए, त्यसपछि विमानमा नेपाली नरहेको पुष्टि भएको थियो ।
एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यो घटनालाई ‘विपत्तिपूर्ण दुर्घटना’ भनेका छन् । बेलायतका राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै धेरै बेलायती नागरिक समेत सवार रहेको विमान दुर्घटना भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
ललितपुरको नक्खु कारागारमा एक जना कैदीको मृत्यु भएको छ।
कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार कर्तव्य ज्यान र जबर्जस्ती करणीको कसुरमा २० वर्ष कैद तोकिएका व्यक्तिको तातो दालमा परेर मृत्यु भएको हो।
आइतबार नै दाल पकाउने क्रममा घाइते भएका ती कैदीलाई उपचारका लागि किर्तिपुर वर्न अस्पताल लगिएको थियो। अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो।
ती कैदी कारागारभित्रै आन्तरिक प्रशासनबाट भान्सामा काम गर्दै आएका थिए। २०८७ सालमा कैद भुक्तान गरिसक्ने उनी ३ वर्षदेखि नक्खु कारागारमा थिए।
दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ ।
विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।
दूतावासका कन्सुलर सन्जिव शर्माले भने, ‘त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् ।’ उनका अनुसार भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका छन् ।
सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटना भएको एयर इन्डियाको बिमानमा चार देशका २३० नागरिक सवार रहेको भारतीय मिडियाले जनाएका छन्।
जसमा १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, १ कनाडाई नागरिक र ७ पोर्चुगलका नागरिक सवार रहेको आजतकले जनाएको छ।
पश्चिम भारतको अहमदाबादमा लन्डनका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो।
काठमाडौं– गुजराँतबाट उडान भरेको केही निमेषमा नै दुर्घटना भएको एयर इन्डियाको बिमानमा चार देशका २३० नागरिक सवार रहेको भारतीय मिडियाले जनाएका छन्।
जसमा १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, १ कनाडाई नागरिक र ७ पोर्चुगलका नागरिक सवार रहेको आजतकले जनाएको छ।
पश्चिम भारतको अहमदाबादमा लन्डनका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो।
एयर इन्डियाका अनुसार अहमदाबाद–लन्डन ग्याटविक उडान गर्ने एआई१७१ उडान खसेको हो। उडेको केही निमेषमा नै विमान खसेको थियो।
भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुखले एपीलाई भने विमानमा २३२ यात्रु र १२ जना चालक दलका सदस्य थिए।
ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले विमानबाट अन्तिम संकेत ‘उडान उडेको केही सेकेन्ड पछि’ ६२५ फिट (१९० मिटर) मा प्राप्त भएको बताएको छ।
यो विमान दुर्घटनापछि गुजरातबाट उड्ने सबै जहाज रोकिएका छन्।
दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।
बम विष्फोटका घाइतेहरूलाई जिउँदै इट्टाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशमाथि कालोमोसो प्रहार भएको छ ।
नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालोमोसो प्रहार गरेका हुन् । न्यायाधीश थारू र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले प्रमाण नपुगेको भन्दै सपाइ दिएको थियो ।
नेकपा बहुमतका कार्तकर्ताले इजलासमै पुगेर न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेपालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. भोला प्रसाद रौनियार अब विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज अन्तर्गत सञ्चालित नोबेल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्नुहुने भएको छ। अब क्यान्सर उपचारको खोजीमा रहेका बिरामीहरूले राजधानी बाहिरै, पूर्वी नेपालमै अनुभवी विशेषज्ञको सेवा पाउन सक्ने भएका छन्।
डा. रौनियार नेपालका प्रतिष्ठित फिजिसियन तथा मेडिकल अङ्कोलोजिस्ट हुनुहुन्छ, जसले क्यान्सर उपचारको क्षेत्रमा चार दशकभन्दा बढी समय समर्पण गर्नुभएको छ। उहाँ नेपालमा मेडिकल अङ्कोलोजी अभ्यास सुरु गर्ने प्रारम्भिक चिकित्सकमध्ये एक हुनुहुन्छ। लामो समयसम्म उहाँले भरतपुरस्थित बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा गर्नुभयो र त्यहाँको मेडिकल अङ्कोलोजी विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाल्नुभयो।
उहाँको विशेषज्ञता स्तन, डिम्बाशय, फोक्सो लगायतका ठूला ट्युमरहरूको उपचारमा केन्द्रित छ। लक्षित चिकित्सा (Targeted Therapy), इम्यूनोथेरापी, फैलिएको क्यान्सरको उपचार (Metastatic Care) तथा जीवन गुणस्तर सुधार गर्ने पालीएटिभ केयरमा उहाँ विशेष दक्ष हुनुहुन्छ। साथै, किमोथेरापीको असरस्वरूप देखिने जटिलता र साइड इफेक्टहरूको व्यवस्थापनमा पनि उहाँको अनुभव अत्यन्तै उपयोगी छ।
डा. रौनियारको समावेशसँगै नोबेल क्यान्सर अस्पताल क्यान्सर उपचारको क्षेत्रमा अझै सशक्त बनेको छ। पूर्वी नेपालका बिरामीहरूका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हट्दै, स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ।
यससँगै नोबेल मेडिकल कलेजले बिगत केही महिनादेखि नेपालमै पहिलोपटक रेडिएसन थेरापीसहितको अत्याधुनिक प्रविधि प्रयोग गरी क्यान्सर उपचार सुरु गरेको छ। करिब ३ अर्ब ४० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको नयाँ भवनमा अत्याधुनिक उपकरण, दक्ष चिकित्सक र सहकर्मीहरूमार्फत सेवा विस्तार गरिएको हो।
उपलब्ध रेडिएसन प्रविधिमा रहेको ६डी काउच, हाइपर आर्क, एचडीएमआईसी, एसआरएस र एसबीआरटीजस्ता सुविधाले बिना शल्यक्रिया नै क्यान्सरको उपचार गर्न सक्ने क्षमता रहेको बताइएको छ। यस्तै IGRT, IMRT र VMAT प्रविधिले सामान्य स्वस्थ कोषहरूलाई क्षति नपुर्याई केवल क्यान्सर सेललाई लक्षित गरी नष्ट गर्न सक्षम बनाउँछन्। ब्राकी थेरापी प्रविधिबाट उपकरणको सहायताले शरीरभित्र नै पुगेर क्यान्सर सेललाई विनादुखाइ नष्ट गर्न सकिने जनाइएको छ।
नेपालमै पहिलोपटक नोबेलले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको प्रयोगमार्फत हजारौँ बिरामीको सफल न्युरो सर्जरी गरिसकेको छ। अत्याधुनिक उपकरणहरूको प्रयोगले सर्जरीको जटिलता कम गर्दै सुरक्षित र प्रभावकारी उपचार सम्भव बनाइएको छ।
नोबेल क्यान्सर अस्पतालमा क्यान्सर रोगका लागि दैनिक ओपीडी सेवा, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड, डे केयर, किमोथेरापी, शल्यक्रिया, भर्ना गराई उपचार गरिने अन्तरङ्ग सेवा तथा रेडिएसन थेरापीसमेत सञ्चालनमा छन्।
नेपालमै उत्कृष्ट क्यान्सर उपचार केन्द्रका रूपमा नोबेल क्यान्सर अस्पतालको उपस्थिति थप सशक्त बन्दै गएको छ।
नोबेल नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनील शर्माको हो । डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।
इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।
दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।
रौतहट । रौतहटको चन्द्रपुर–१ स्थित पूर्व–पश्चिम राजमार्गको बागमती खण्डमा बिहीबार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घटना भएपछि स्थानीयले राजमार्ग बन्द गराएका छन्।
झण्डै सात घण्टादेखिको सवारी जाम खुलाउन प्रशासन सक्रिय छ राजमार्ग बन्द हुँदा गर्मीमा यात्रुले सास्ती भोग्नु परेको छ । ठक्कर दिने गाडी कुन प्रकारको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी पत्ता लगाउन प्रहरीले सीसीटीभी जाँच गरिरहेको जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएपछि सवारी फरार भएको थियो।
गाडीको ठक्करबाट चन्द्रपुर–१, मंगलपुरका ३५ वर्षीय बुद्ध जिम्बाको मृत्यु भएको हो। बिहान करिब ४÷५ बजेतिर घरबाट बाहिर निस्किएको अवस्थामा राजमार्गमा सवारीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। जिम्बाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली पुगेको थियो।
प्रहरीले शवको मुचुल्का उठाउन खोज्दा स्थानीयले अवरोध गरेका थिए। त्यसपछि शव उठाउन नदिइएको प्रहरीले जनाएको छ। घटनापछि मृतकका आफन्तले पूर्वप–श्चिम राजमार्ग जाम गरेका छन्। जामका कारण ठूलो संख्यामा सवारीहरू सडकमै अलपत्र परेका छन्। पीडित पक्षको माग सम्बोधन गरी जाम खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी राजकुमार राईले बताए।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन्। बुधबार काठमाडौं प्लाजामा उपमेयर सुनिता डंगोल, तीन जना वडाध्यक्षसहितको उपस्थितिमा भएको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउने सहमति जनाएका हुन्। छलफलमा महानगरका प्रवक्ता समेत रहेका कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धर एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली र नेकपा एसबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलको सहभागिता रहेको थियो।
‘हिजो मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनु भएको छ,’ मानन्धरले भने, ‘अब चाँडै बैठक बस्छ।’ पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। जसले गर्दा महानगरको बजेट समेत अन्योलमा परेको थियो। काठमाडौं टावर नक्सापास विवादमा प्रमुख प्रशासकीय अधिकृ सरोज गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाइएको थियो। काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत अन्य विषयमा प्रश्न उठाउन १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले चैत १० गते कार्यपालिका बैठक माग गरेका थिए।
जेठ १२ गते उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले एक साताभित्र कार्यपालिका माग गरे पनि बालेनले बैठक बोलाएका थिएनन्। त्यसको लगत्तै १५० जनाभन्दा बढि भेला भएको एक अनौपचारिक कार्यक्रममा नगर सभा सदस्यहरूले मेयर बालेनलाई नगर सभा डाक्न अनुरोध गरेका थिए। वडाध्यक्षहरूसहितको बैठक करिब ४ घण्टासम्म चलेको बताइएको छ। उक्त बैठक अपरान्ह ४ बजेतिर सकिएपछि फेरि मेयर शाह र उपमेयर डंगोलबीच बेग्लै छलफल भएको थियो। मेयर र उपमेयरबीच करिब अढाइ महिनादेखिको संवादहिनता हिजो तोडिएको महानगर स्रोत बताउँछ।
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा मतदान जारी छ। सहमतिमा नेतृत्व चयन नभएपछि आज बिहानबाट मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जानकारी दिए। निर्वाचन समितिका अनुसार ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुनेछ।
कीर्तिपुरमा जारी महाधिवेशनमा उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन्। महाधिवेशनमा अखिलको अध्यक्ष पदका लागि प्रकाश पौडेर र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा हुने भएको छ।महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरे पनि अध्यक्ष मण्डलले कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना शिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको थियो । तर, प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भएपनि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको हो।
सुरुमा विरोध गरेपनि धामीले अध्यक्षमण्डलको प्रस्ताव अनुसार महासचिवमा उम्मेदवारी दिएर कडेरियालाई समर्थन गरेका छन् । डा. कडरिया महाधिवेशन प्रतिनिधि बनेकै समयमा केन्द्रीय सचिव बनेका थिए। कडरिया मेडिकल क्षेत्रका व्यक्ति हुन्। उनी आफूलाई फरक क्षेत्रबाट प्रतिनिधित्व गरेर विद्यार्थी आन्दोलनमा सहभागी भएकाले नेतृत्व पाउँदा विद्यार्थीमा बेग्लै उभार ल्याउने दाबी गर्छन्। ‘महाधिवेशनलाई सद्भाव, एकता र संघर्षको ऊर्जा बनाऔं । नयाँ युग हाम्रो हातमा छ! न कसैप्रति गुनासो छ, केबल असल मान्छे बन्न मेहनत गर्दैछु’ कडेरियाले भने।
पौडेलले २०६७ सालको जनकपुर महाधिवेशनबाट प्रतिनिधिका रूपमा अनेरास्ववियु यात्रा सुरु गरेका थिए। उनी म्याग्दी जिल्ला अध्यक्षदेखि गण्डकी प्रदेश अध्यक्ष बनेका उनी हाल केन्द्रीय सचिव हुन् । एमालेको सचिवालय बैठकले अखिलको नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिलेका अध्यक्ष, उपाध्यक्ष र महासचिवहरू प्रतिस्पर्धाबाट रिङ आउट भएपछि सचिवहरु प्रतिस्पर्धामा उत्रिएका हुन्।
खुल्ला उपाध्यक्षमा गणेशबहादुर साही, भरतसिंह धामी लिपुलेक, राजकुमार ढकाल र विकास श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी परेको छ । महासचिवमा आरके रोमस, दीपक धामी, र सुनिल कँडेलको उम्मेदवारी परेको छ। उपमहासचिवमा अमरबहादुर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ। सचिवको लागि ३५ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशनमा १,५३४ प्रतिनिधि छन्। मतदानपश्चात आजै नतिजा आउने बताइएको ।





