
काठमाडौँ । बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर केही बेरअघिबाट यातायात सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयले दाउन्नेको दलदल हिलोमा ग्राभेल राखेर भर्खरै यातायात सञ्चालन गराइएको जानकारी दिएको छ ।
हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो । वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन् ।
तत्कालका लागि दुम्कीवासदेखि पश्चिम खुर्सानी खोलासम्मको खण्डमा ग्राभेल हालेर यस वर्षामा जाम हुन नदिने गरी काम सुरु गर्न आयोजना प्रमुख चुडाराज ढकालसहितको बैठकले बिहीवार दिउँसो ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।
भिजिट भिसा प्रकरणमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।
भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनले बताए ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरे । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीलाई लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनु पर्ने बताएका हुन्।
राष्ट्रिय सभाको विहीबारको बैठकमा बस्नेतले भने, ‘तपाईंहरुको पार्टी सभापतिलाई मुद्दा लगाएको छ। पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? अनि हामी नेपाली कांग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’ सांसद बस्नेतले रास्वपा र नेकपा एसले कांग्रेसलाई नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरे । ‘नैतिकताको कुरा आउँदा रास्वपा र समाजवादीलाई सोध्न चाहन्छु। एउटा अध्यक्षलाई अख्तियारले मुद्दा लगाएको छ। एउटा सभापति जेलमा हुनुहुन्छ, संसदीय दलको नेता बस्नु पर्ने, पार्टी सभापति छाड्नु नपर्ने ?’ बस्नेतले भने । बस्नेतले राजावादीहरुलाई पनि निशाना साँधेका छन्। उनले राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे।
‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरु आज हेरौंन उनीहरुका महलहरु। पञ्चका महलहरु हेरौंन। आज सम्पत्ति उनीहरुको जाँच्नुपर्ने हो,’ बस्नेतले भने। उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ।’ राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरुलाई पनि उनले व्यंग्य गरे। उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला। सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ।’
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आज (बिहीबार) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौं । युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौं। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लाश लैजान मान्छे छैन।’
उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। ‘कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौं भन्छ, थर्काउँछ । देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भने। उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए । ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?,’ उनले सोधे, ‘मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’ उनले नेपालका नेताहरूको चिन्तन नै नपुगेको बताएका छन्। ‘अरु जहाँसुकै जाऊन्, आफू मात्रै बन्न खोज्ने प्रवृत्ति भयो । हामीकहाँ दृष्टिकोण नै पुगेन,’ उनले भने।
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन्। आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन्।
उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए। ‘यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद’, उनले भने। थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन्।
काठमाडौं । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज (बिहीबार) कार्यालय पुगेका छन्।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो। अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम थालेका हुन्। उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो।
दैलेख । दैलेखको जलजलेमा गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्यअन्तर्गत गरिएको ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई बुझाएको छ। दैलेखको एउटा खण्ड जलजलेमा गरिएको अन्वेषणको प्रतिवेदन सँगै दैलेखका अन्य तीन स्थानमा पनि मिथेन ग्याँस रहेको र जुन ग्याँसले नेपाललाई ५० वर्षसम्म पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ। चार स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरि ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पुराउने आशा गरिएको उद्योग मन्त्री दामोदर भण्डारीले बताएका छन्।
भण्डारीले भने ‘ड्रिलिङका बेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २०१६ मा चीन सरकारसँग जिटुजी सम्झौता गरी गौरवको आयोजनाको रूपमा लिनुभएको यो आयोजनालाई जसरी सरकारको प्राथमिकतामा राखेर काम गर्यो, सोही अनुसार चिनिया कम्पनीले पनि द्रुत गतिमा काम अगाडि बढायो, प्रारम्भिक प्रतिवेदनले आम नेपालीहरूको भविष्य सुन्दर हुनसक्ने आशा गरिएको छ। पहिलो भण्डारण कुवामा प्रारम्भिक एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको भेटिएको छ अन्य तीनवटा ग्याँस भण्डारणका कुवाहरू पनि दैलेखमै रहेका र जम्मा चारवटा कुवामा करिब चार सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सरकार निकै उत्साहित भएको छ।’
यो सँगै अव दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा राखेको मन्त्री भण्डारीको भनाइ छ । सरकारले डिसेम्बरभित्र उत्पादन सुरु गर्ने गरी तयारी थालेको छ । करिब ६५ करोड लागतमा उत्पादन परीक्षण सम्पन्न हुने प्रारम्भिक प्रतिवेदनले देखाएकोले सोही अनुसार काम अगाडी बढाउने सरकारको तयारी रहेको भण्डारीले बताए। पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना प्रमुख दिनेश कुमार नापितले भने ‘नेपाल सरकार र चीन सर कारबिच २०१९ मा जिटुजी भएसँगै काम अगाडि बढेको थियो । धेरै खाले अध्ययनका कार्यक्रम सम्पन्न गरेर अहिले प्रारम्भिक नजिता आएको छ। नेपाल सरकारले दैलेखको जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेर काम थालेको हो।
नेपालको लागि अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययनको रूपमा लिइएको यो परियोजनाले केही आशा जगाएको छ। प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्याँस देखिएको र यसको परीक्षण उत्पादन सुरु गरेर ग्याँसको प्रकृति, व्यावसायिक उत्पादनका कामहरू अव सुरु हुने छन्। चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बरभित्र व्यवसायिक उत्पादन परीक्षण सम्पन्न पछि यसको वास्तविक तथ्य बाहिर आउने छ।
प्रारम्भिक प्रतिवेदनमा आएको कुराले नेपालको समृद्धिको आधार स्तम्भ दैलेख हुनसक्ने आशा पलाएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै बेलामा देशको मुहार फेरिने आशा गरेको थापाले बताएका छन्।
काठमाडौँ । हाल कोशी प्रदेश, मधेश , बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
देशभर साधारणतया बदली देखि पूर्णयता बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।
विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन भत्काएपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। बुधबार बेलुकी डाइभर्सन बनाएर सडक एकतर्फी खुले पनि बाटो चिप्लो भएका कारण गाडी विस्तारै गुडिरहेका र लामो जाम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
खोलाको बेग बढी भएका कारण सानो बाढी आउँदा पनि डाइभर्सन बगाउने गरेको छ। त्यहाँ बनाइएको डाइभर्सन ६ पटक बगाइसकेको छ।
यस्तै बाटो चिप्लो र हिलो भएका कारण गाडीहरु फस्दा पनि समस्या हुने गरेको छ। त्यसैले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
यसैगरी, दुम्कीबास-दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न अनुरोध गरिएको हो।
पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ।
त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ-पोखरा-स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ।
पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ।
साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट-पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा राजमार्ग पूर्ण रूपमा नखुलेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे तोकिएका वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सहकर्मीहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ। पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो। कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ। सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ। प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ। जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ। जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ। गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ। प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ। सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ। जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ। टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख(सन्तोष मिल्ने राम्रो दिन छ। आफूले चिताएका हाँके(ताकेका काम पनि सम्पन्न हुने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ। यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ। दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ। सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन। थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ। कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ। भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ। मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ। प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो। व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ। आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ। घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ। प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ। कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ। कामको बोझ बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो। अझ साँझपख मन हतास र भावुक बन्नसक्छ। मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ। व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो। दौडधूप गर्नुपर्ने काम, ढुवानी(यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ। बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ। नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ। मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ। व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ। राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला। गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ। मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ। व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ।