
काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अध्यावधिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा डा. मुकुल ढकाल नै रहेको उल्लेख छ। आयोगले ढकालले माग गरेअनुसारको विवरण उपलब्ध गराउँदै उनी नै महामन्त्री रहेको जनाएको हो।
ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेका थिए।त्यस्तै आयोगले २०८० चैत २० गते रास्वपाले पछिल्लो पटक अध्यावधिक विवरण पठाएको र अभिलेखमा सोही नै कायम रहेको पनि उल्लेख छ। निवेदक दिएकै दिन निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखामा कार्यरत शाखा अधिकृत उशा गजमेरले ढकालको नाममा पत्र लेखेकी हुन्।
२० चैत, २०८० मा निर्वाचन आयोगको बैठकले रास्वपाको विधानको दोस्रो संशोधन अभिलेखिकरण गरेको थियो।त्यसक्रममा केही पदहरू हेरफेर भएका थिए । त्यसअघि रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री तथा प्रवक्तामा डा. मुकुल ढकाल थिए । त्यतिबेला आयोगले अद्यावधिक गरेको विवरणमा स्वर्णिम वाग्ले दोस्रो उपसभापतिमा मनोनयन भएका थिए भने महामन्त्री ढकाल चौथो बरियतामा थिए।
त्यही दिन तीन सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष अनि तीन प्रवक्ताको जिम्मेवारी पनि थपिएको अभिलेखबाट देखिन्छ । ‘त्यसयता राष्ट्रिय स्वतन्त्र पार्टीका कुनैपनि विवरण अद्यावधिक भएको छैन,’ निर्वाचन आयोग सम्बद्ध स्रोतले भन्यो, ‘अहिले पनि पार्टीको महामन्त्रीमा डा. मुकुल ढकालको नाम छ, त्यही विवरण नै आधिकारिक हो।’ ढकाललाई रास्वपाले गत वर्षको भदौ ११ गते बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो।
पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। पार्टीले निलम्बनमा राखेपछि उनले आयोगलाई पत्र लेखेर कुनै पनि पत्र अध्यावधिक नगर्न भनेका थिए । पार्टीले पदमुक्तको निर्णय गरिसके पनि ढकालले आफूलाई पदमुक्तको जानकारी नभएको भन्दै लेखेको पत्र ०८१ साउन १३ गते आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका थिए।
‘राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका थिए।
‘निर्वाचन आयोगले नै जवाफ दिनुपर्छ’
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा. मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले नै जवाफ दिनुपर्ने बताएको छ। आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो । यसबारे रास्वपाले खण्डन गर्दै आयोगसँग जवाफ माग गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय समितिको २०८१ असार २५ गतेको निर्णयअनुसार पार्टी फेरबदल भएको र अभिलेख अध्यावधिक गर्न आयोगलाई सोही वर्षको साउन १७ गते निवेदन पेस गरेको दाबी गरेका छन्।
‘निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोग समेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको थियो,’ झाले भने, ‘पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकाले हालसम्म किन अद्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ।’
ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
उक्त ओभरपासको शुक्रबार दिउँसो रिबन काटेर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले उद्घाटन गरेका छन् ।
उता उक्त ओभरपासको ताम्रपत्र प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् । अब सवारीचालकले रिङ रोडमा गुड्दा यो ओभरपास प्रयोग गर्न पाउने भएका छन् ।
यो ओभरपास तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो ।
इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।
दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।
त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।
काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजका प्रमुख कार्यकारी निर्देशक तथा प्राचार्य डा. घनश्याम प्रसाद साहले लेखा विषयमा नेपालमै पहिलोपटक ‘पोष्ट डक्टरल फेलो’ को उपाधि हासिल गर्नुभएको छ।
उहाँले भारतको श्रीनिवास विश्वविद्यालयबाट ‘क्यापिटल बजेटिङ प्राक्टिसेस इन नेपाल’ विषयमा पोष्ट डक्टरल अनुसन्धान पूरा गरी उपाधि प्राप्त गर्नुभएको हो। विद्यावारिधिपछि थप गहिरो अनुसन्धान र ज्ञान निर्माणका लागि प्रदान गरिने यो उपाधि लेखा विधामा नेपालमा अहिलेसम्म कसैले हासिल नगरेको साहको दाबी छ।
डा. साहले अनुसन्धानका क्रममा नेपालको पुँजी लगानी प्रणाली, प्रक्रिया र व्यवहारिक अभ्यास बारे विस्तृत अध्ययन गर्नुभएको जानकारी दिनुभयो। “मैले नेपालको पुँजी प्रणाली, लगानीको अभ्यास र यसको समसामयिक अवस्थाबारे गहिरो विश्लेषण गरेको छु,” उहाँले भन्नुभयो, “यसले मलाई आगामी दिनमा अझ गहिरो अनुसन्धान र ज्ञान विकासतर्फ अघि बढ्न हौसला दिएको छ।”
सर्लाही ब्रह्मपुरी–३ निवासी डा. साह हाल काठमाडौं उपत्यकामा प्राध्यापन तथा अनुसन्धानमा सक्रिय हुनुहुन्छ। उहाँका लेखा र वित्तीय व्यवस्थापन सम्बन्धी २१ भन्दा बढी अनुसन्धानमूलक प्रकाशनहरू प्रकाशित भइसकेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा आज परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन गर्न र राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।
प्रतिनिधि सभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ ९२० को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।
यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणको लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले आगामी आवधिक निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए ।
काठमाडौँ । प्रतिनिधिसभामा आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन्। सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाए।
प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसदबाट बाहिरिए। त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाईले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरे। जवाफमा ओलीले हल बाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे– ‘मज्जा लाग्यो ?’
आज संसदमा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो। त्यसमध्ये युवा तथा खेलकुद एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएकोले सो समेत कार्यसूचीबाट हटाइयो। अहिले भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रममाथि छलफल हुँदैछ।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानहरूमा जारी गरेको निषेधाज्ञा हटाएको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते आदेश जारी गर्दै प्रशासनले चक्रपथ र चक्रपथभित्र विरोध कार्यक्रम तथा सभा–जुलुस गर्न निषेध गरेको थियो।
प्रशासनले एक सूचना जारी गर्दै अब ती सबै स्थानहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिने जनाएको छ। प्रशासनले भनेको छ, ‘हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्ने गरी उक्त आदेश कायम नरहेको ब्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन् ।
“दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।”
यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।
काठमाडौं । कैलालीमा एक सुत्केरी महिला मृत भेटिएकी छन् । आज बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले तुलसी नाथ घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको जानकारी दिए । उनी १६ दिने सुत्केरी हुन् ।
उनको १६ दिनको छोरा भने सामान्य अवस्थामै भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।
बुटवल । बुटवल–नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयीखोलामा आएको बाढीले बगाएको बस फेला परेको छ। बिहीबार राति बाढीले बगाएको बस बस एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
उनका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो। ३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गए राति बगाएको थियो। डाइभर्सनसँगै बाढीले बस बगाएको थियो।ओभरलोडसहितको ट्रकले पुल भाचिएपछि विनयीखोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ।
प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो । जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ।
तर, पछिल्लो समय वर्षा शुरू भएसँगै दैनिकजसो बाढीले डाइभर्सन बगाउने गरेको छ। बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ। डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ। दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन्।
काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटक–पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्।
‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रो पटक म्याद थप भएको थियो। तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको काम समेत ठप्प भएको थियो।
केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए। ‘ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो’, उनले भने, ‘प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो। त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो। साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो। यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्यो ।’
त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए। ‘त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढेको थियो। उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । जसले कार्यअवधि थप लम्बिएको हो’, उनले भने।
भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको उनको भनाइ छ। ‘बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ’, भण्डारीले भने, ‘यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो ।’
चौध करोड थप लागत
केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारी दिए । ‘करिब रु १७ करोड छ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ’, उनले थपे, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’ भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।
ट्राफिक व्यवस्थापनमा सहज
काठमाडाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए । ‘ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो । छोटाछोटाभन्दा पनि लामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ’, उनले भने, ‘ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् । तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्ने छ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ ।’
गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ता ओरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिए ।
अन्डरपास र ओभरपास अबको आवश्यकता
पूर्वाधारविद् समेत रहेका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले उपत्यकालगायत मुलुकका मुख्य सहरमा सवारीसाधनको चापका कारण ट्राफिक समस्या बढिरहेको अवस्थामा अन्डरपास र ओभरपास आजको आवश्यकता रहेको बताए ।
‘ग्वार्को फ्लाई ओभर निर्माणले मुलुकमा पूर्वाधार विकासको सकरात्मक पक्षलाई झल्काउँछ । निर्माणकार्य ढिला भए पनि यसले सकरात्मक सन्देश प्रवाह गरेको छ’, उनले भने, ‘ग्वार्कोमा मात्र नभएर अब कोटेश्वरर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटोलगायत क्षेत्रमा अन्डरपास र ओभरपासको योजना छिट्टै तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । अनि मात्र ट्राफिक व्यवस्थापन सहज हुन्छ ।’
सिसीटिभी र बत्ती जडान गर्न आवश्यक
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ग्वार्को ओभरपासको निरीक्षण गरेको थियो ।उद्घाटनको पूर्वसन्ध्यामा गत बुधबार समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको थियो । ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको र जहाँ स–साना तर महत्वपूर्ण काम बाँकी रहेको बताउँछन् समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ।
‘ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी छन्’, उनले भने, ‘जस्तै बत्ती जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसीक्यामेरा जडानलगायतका काम बाँकी छन्। मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको छ।’
निर्माण सम्पन्न गराउन अग्रसरता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को चोकमा निर्माणाधीन अवस्थामा रहेको फ्लाई ओभर निर्माणलाई चालु आर्थिक वर्षभित्र नै सम्पन्न गराउनका लागि निरन्तर अग्रसरता देखाएका थिए। पटक-पटक स्थलगत निरीक्षण गरेर मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिँदै आएका थिए। काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणकार्यलाई गति दिएर समयमा नै सक्नुपर्ने भन्दै उनले ताकेता गर्दै आएका थिए।
आगामी आव २०८२/८३ मा टोखा–छहरे–गुर्जु–भन्ज्याङ सुरूङमार्ग, हेम्जा–नयाँपुल खण्ड सडक सुरूङमार्ग, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, फुस्रेखोला छोरेपाटन (पोखरा)बाट स्याङ्ग्जा गुडीकोला टनेल अध्ययन, शिवपुरी–भालुवाङ सुरूङमार्ग, रानीघाट–भुरीगाउँ सुरूङमार्गलगायत विकासका योजना छनोट भएका छन्। निर्माणकार्य सम्पन्नपछि ट्राफिक समस्याको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। रासस





