
व्यवसायी गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । लामो समयदेखि मुद्दा खेप्दै आएका लामा सोमबार सर्वोच्च अदालतको फैसलाबाट निर्दोष ठहरिएका हुन् ।
६१ किलो सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भए लगत्तै अमला रोकालाई पक्राउ गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले रोकालाई सोमबार २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसपी युवराज खड्काले जानकारी दिएका छन् ।
सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।
काठमाडौं । अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टोलीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आज (सोमबार) मुद्दा दायर गरेका हुन्। मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र हटाउन अनुरोध गर्दा पनि एमएसएम ओटीटी प्लेटफर्मबाट आफ्नो मोबाइल नम्बर नहटाएकोले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
यसले आफूलाई मानसिक तथा शारीरिक रुपमा हानिनोक्सानी भएको भन्दै उचित क्षतिपूर्तिको समेत माग दाबी गरिएको छ । ‘फर्की फर्की फिल्म रिलिज भए पश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ । एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ’ रिट निवेदनमा भनिएको छ। सुरु सुरुमा फोन आउँदा उक्त नम्बर आफ्नो भएको जानकारी गराउने गरेको भए पनि पछि दिनमै सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिनु भन्ने गरिएपछि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने काम विपक्षीबाट भएको दाबी गरिएको छ।
मुद्दा केसी, चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), रोहित अधिकारीसहितलाई कानुन बमोजिम सजायको माग गर्दै दायर भएको छ। यसबारे चलचित्र नियामक निकायहरूलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ। यसप्रकारको हैरानीबाट मुक्त गराइ पाउँ भनी तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई फोन गेर जानकारी गराए पनि समस्या समाधान नभएको गुनासो छ। त्यस्तै सुयोग गुरुङलाई पटकपटक आग्रह गरिएको र उनी पीडितको घरमै आएर समस्या समाधानको आश्वासन दिए गए पनि समस्या सम्बोधनको कार्य नगरेको पनि आरोप छ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इरानमाथि भएको अमेरिकी सैन्य आक्रमणलाई ‘क्रूर र फासिस्ट’ भन्दै कडा निन्दा गरेका छन्। आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरू ध्वस्त पारेको दाबी गर्नुले विश्वमा ‘जङ्गली राज’ को नमुना प्रस्तुत गरेको टिप्पणी गरेका छन्। उनले यो आक्रमण संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र देशहरूबीचको सामान्य सम्बन्धको नियमविपरीत भएको बताए।
‘यतिबेला इरानले कुनै आणविक अस्त्र निर्माण गरेको अवस्था थिएन। शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक अध्ययन, अनुसन्धान र विकास गर्न कुनै पनि राष्ट्र स्वतन्त्र छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बम वार्डिङले शान्ति होइन, मध्यपूर्व भरि नै प्रतिरोधका ज्वालाहरू दन्किने सम्भावना देखिएको छ।’ उनले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वको अशान्तिको मुख्य कारक रहेको आरोप समेत लगाए। पूर्व प्रधानमन्त्री खनालले अमेरिकी आक्रमणकारीहरू तत्काल मध्यपूर्वबाट हट्नुपर्ने र त्यस क्षेत्रका जनताको शान्तिको चाहनालाई सम्मान गर्नुपर्ने माग गरेका छन्।
उनले आफ्नो पार्टी इरानी जनताको प्रतिरोध संघर्षको समर्थनमा रहेको स्पष्ट पार्दै मध्यपूर्वमा दिगो शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघ र विश्व समुदायले गरिरहेका प्रयत्नलाई समर्थन गर्ने बताए। मध्यपूर्वमा तनाव बढ्दा लाखौं नेपाली श्रमिकको जीवन जोखिममा पर्न सक्ने भन्दै उनीहरूको उद्धारका लागि तम्तयार रहन नेपाल सरकारलाई आग्रह समेत गरेका छन्। ‘युद्ध विस्तार हुँदै जाँदा अरब देशमा रहेका लाखौं नेपाली श्रमिकहरूको जीवन अस्त व्यस्त हुन सक्छ। उनीहरुको संरक्षण र उद्धार गर्नका निम्ति तम्तयार रहन म नेपाल सरकारलाई पनि जोडदार आग्रह गर्दछु।’
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सबल संघीयताका निम्ति सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासनको मूल सोच हासिल गर्नेगरी आवश्यक रणनीति र कार्यनीतिसहितको दशवर्षे रणनीतिक योजना (२०७७/७८–२०८७/८८) अनुरूप नै मन्त्रालयले संघीयता कार्यान्वयन र कर्मचारी व्यवस्थापनमा काम गरिरहेको बताएका छन्।
प्रतिनधिसभाको आजको बैठकमा संघीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै तीनै तहका सरकारले सञ्चालन गर्ने विकास आयोजनाको निर्धारण गर्ने नेपाल सरकारबाट मापदण्डको निर्धारण भएको बताए। ‘सोही बमोजिम नै विकास व्यवस्थाको थालनी भएको छ, कतिपय विषय संघीय सरकारको कार्यक्रम तथा बजेटमा देखिए पनि प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरणको माध्यमबाट तल्लो तहबाट नै गर्नेगरी नेपाल सरकारबाट थालनी भएको छ’, उनले भनेका छन्।
उनले संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनले प्रशासनिक सङ्घीयताको ढाँचा निर्धारण गर्ने र तीनै तहको प्रशासनिक अन्तरसम्बन्धलाई थप प्रभावकारी बनाउनेगरी विधेयकमा विभिन्न प्रावधान राखिएको पनि बताए। ‘संविधानले नै व्यवस्था गरेको तीन तहको सहअस्तित्वलाई थप बल पुर्याउने गरी मन्त्रालयको क्रियाशीलता अगाडि बढाइएको छ। स्थानीय सरकारलाई थप बलियो, प्रभावकारी बनाउने गरी कार्य विस्तृतीकरण प्रतिवेदनले औंलाएका स्थानीय तहका थप काम, कर्तव्य र अधिकारलाई समावेश गरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधनको विधेयक यसै अधिवेशनमा दर्ता गर्नेगरी कार्य अगाडि बढाइएको छ’, उनले भनेका छन्।
संघीयता कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक ५० वटाभन्दा बढी नमूना कानुनहरू निर्माण गरिएको उनको भनाइ छ। मन्त्री गुप्ताले संघीता कार्यान्वयनको विषयमा मन्त्रालयको कार्यक्षेत्र बमोजिम कार्यहरू अगाडि बढाइएको उल्लेख गर्दै प्रदेश तथा स्थानीय तहको क्षमता विकास र अन्तर सरकारको सम्बन्धलाई थप प्रभावकारी बनाउने गरी विकास साझेदारको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालित रहेको बताए। ‘प्रदेश तथा स्थानीय तहका कर्मचारी र पदाधिकारीको क्षमता विकासलाई प्रभावकारी बनाउन प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालित रहेको छ’, उनले भनेका छन्।
संघीयता कार्यान्वयनमा सहकार्य र समन्वयका लागि प्रयोग हुने कतिपय औजारका रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै उनले स्थानीय तहले मन्त्रालयमार्फत समन्वय गर्ने सन्दर्भमा स्थानीय तहको सेवा प्रवाहलाई सहयोग पुर्याउने र स्थानीय तहले माग गर्ने सानास्तरका कार्यक्रम स्थानीय तहले नै कार्यान्वयन गर्नेगरी सञ्चालित रहेको पनि बताए। तराईका जिल्लामा बजेटको समान वितरण नभएकाबारे सांसदले राखेको प्रश्नको जवाफमा उनले भने, ‘तराई–मधेशका मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गरी सघन रूपमा आर्थिक, सामाजिक रूपान्तरण गर्न एवम् जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने समग्र उद्देश्यसहित कार्यक्रम तराई–मधेश समृद्धि कार्यक्रम सञ्चालित रहेको छ।’ तराई मधेशमा २२ जिल्लाका २७८ स्थानीय तह कार्य क्षेत्र रहेको कार्यक्रमबाट स्थानीय तहको मागका आधारमा स्थानीय तहमा ससर्त कार्यक्रम सञ्चालनका लागि वित्तीय हस्तान्तरण हुने गरिएको मन्त्री गुप्ताको भनाइ छ।
कार्यक्रम सञ्चालनका लागि निर्देशिकाको व्यवस्था गरिएको र निर्देशिकाको व्यवस्थाबमोजिम स्थानीय तहले लागत साझेदारी गर्ने गरी आयोजनाको माग हुने गरेको उहाँको भनाइ छ। स्थानीय तहको मागका आधारमा उपलब्ध बजेट सीमाको अधीनमा स्थानीय तहमा वितीय हस्तान्तरण गरी रकम पठाउने गरिएको प्रस्ट पार्दै उहाँले स्थानीय तहमा आयोजना छनोट गरी पठाउँदा विगत वर्षमा आयोजना परे-नपरेको, क्रमागत योजना रहेको र कार्य सम्पन्न भए-नभएको, लागत साझेदारीको प्रतिबद्धताका आधारमा आयोजना छनोट हुने गरेको बताए। उनले भने, ‘यस वर्ष विभिन्न स्थानीय तहबाट ५८५ आयोजना माग भएकामा निर्देशिका र सरकारको नीतिबमोजिम तीन करोडसम्मको लगानी गर्न सकिने २३ वटा आयोजनामा मात्र समेट्न सकिएको छ, निर्देशिकाले तोकेको मापदण्ड नपुग्दा सबै आयोजनामा रकम विनियोजन गरिएको छैन।’ संसद्को राज्य व्यवस्था समितिबाट पेस भएको प्रतिवेदनसहितको विधेयक अविलम्ब स्वीकृत गर्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुप्ताको भनाइ छ।
उनले भने, ‘प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थाका लागि प्रदेश लोकसेवा आयोगको क्रियाशीलता भएको छ, प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा नेपाल सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको छ।’ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको स्थायित्वको सन्दर्भमा मन्त्रालयले कानुनबमोजिम खटनपटन गर्ने गरिएको उनले बताए। निश्चित समयसम्म स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बस्नुपर्ने तथा सरुवा नगरिने गरी व्यवस्था गर्न लागिएको बताउँदै उनले कतिपय अवस्थामा स्थानीय तहको राजनीति वातावरण तथा अनुरोधमा सरुवा गर्नुपर्ने अवस्था आएता पनि निश्चित आधार र कारण बिना प्रमुख प्रशासकीय अधिकृतको सरुवा नगर्ने बताए । ‘निश्चित दरबन्दीमा पदपूर्ति हुने कर्मचारी विभिन्न कारणले रिक्त रहने हुँदा सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत व्यवस्था गर्न सकिएको छैन, यस्तो अवस्थामा निजामती सेवा तथा स्थानीय सेवाका वरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिएर सेवा प्रवाहको व्यवस्था मिलाइएको छ’, उनले भने।
संसदमा विचाराधीन विधेयकमा प्रमुख प्रशासकीय अधिकृतको दीर्घकालीन व्यवस्थापनको विषय समावेश गरी समस्या समाधानको विकल्प तयार गरिएको उनको भनाइ छ। निजामती सेवाभित्रको सरुवा बढुवालाई व्यवस्थित पूर्वअनुमानयोग्य बनाउने गरी ऐनको मस्यौदमा व्यवस्था गरिएको उल्लेख गर्दै सरुवाका अधिकांश निर्णय कर्मचारीको मागलाई सम्बोधन गर्ने गरी नै हुने बताए । केही विशेष जिम्मेवारी दिनुपर्ने अवस्थामा मात्र ऐनको अधीनमा आवश्यकताका आधारमा सरुवा हुने उनको भनाइ छ। मन्त्री गुप्ताले प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा कुनै पनि संशोधन नगरी संसद्बाट पारित गर्ने बताएका छन्।
मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री गुप्ताले निजामती विधेयकमाथि अब कुनै पनि संशोधन नगरिने स्पष्ट पारेका हुन्। ‘संघीय निजामती ऐन जुन राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपले सदनमा टेबुल भएको छ। यो संघीय निजामती ऐनमा कुलिङ अफ पिरियड हैन त्यसमा फूलस्टप र कमा पनि परिवर्तन हुँदैन,’ उनले भने। नेपाल सरकारका मुख्यसचिव र सचिवहरू नै उक्त विधेयकमा व्यवस्था गरिएको २ वर्षे कुलिङ अफ पिरियडको व्यवस्था हटाउनका लागि लबिइङ गरिरहेको अवस्थामा मन्त्री गुप्ताले उक्त प्रतिबद्धता जनाएका हुन्।
पोखरा । गण्डकीमा नेकपा (माओवादी केन्द्र) का सांसदले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। माओवादीका प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सोमबार प्रदेशसभा बैठकमा तीनवटा मन्त्रालयको छलफलको क्रममा म्याग्दीलाई अन्याय गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्। उनले म्याग्दीमा साढे तीन करोडको नयाँ योजना छानिएको तर त्यसमा नेपाली कांग्रेस र नेकपा (एमाले)को मात्र योजना छानिएको दाबी गरे। म्याग्दीका दुईवटै प्रदेशसभा क्षेत्रबाट माओवादीका प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेशसभा सदस्य जुग्जालीले दुई वर्षसम्म म्याग्दीलाई अन्याय भएको बताए। उनले आफ्नै खर्चमा भौतिकमन्त्री र अर्थमन्त्रीलाई म्याग्दी भ्रमण गर्न पनि आग्रह गरे।
‘भौतिक मन्त्री ज्यू, तपाईंलाई अझै पुगेको छैन भने मेरो र हरि माननीय ज्यू (हरि भण्डारी) को दुई करोड पनि फिर्ता लैजानुस् भन्दै दुई वर्ष म्याग्दीलाई अन्याय भएको हुँदा, म्याग्दीलाई कुनै अर्थ नभएको हुँदा सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद’, उनले भने । उनी बजेटमार्फत आफ्नो जिल्लामा अन्याय भएको भन्दै रुष्ट बने। ‘म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु । अर्थमन्त्री र भौतिक मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमाउँछु,’ उनले भने, ‘म्याग्दीलाई तपाईंहरुले विनियोजन गरेको साढे ३ करोड ? भौतिक मन्त्री ज्यू मेरो भागमा परेको २ करोड पनि फिर्ता लैजानुस्। २ वर्षसम्म म्याग्दीलाई अन्याय भयो, यो पुस्तक हामीलाई काम छैन। च्यात्न चाहन्छु।’
जुग्जालीले बजेटमा सत्ताको समेत उकुसमुकुस रहेको भन्दै सबैको प्रतिनिधित्व गरेर पुस्तक च्यातेको बताए। ‘यो बजेटमा सत्ताको पनि उकुसमुकुस । सबैको प्रतिनिधित्व गरेर अर्थ मन्त्रालयको बजेट मैले बहिष्कार गर्न चाहन्छु। पुस्तक च्यात्न चाहन्छु,’ उनले भने । गण्डकी प्रदेशले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरू पनि रुष्ट छन्।
काठमाडौं । सरकारले बजेटमा जलविद्युत क्षेत्रमा ‘रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ’ भन्ने नीति अगाडि सारेको छ। तर, प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा ऊर्जामन्त्री दीपक खड्काले भने ‘टेक एन्ड पे’ नभई ‘टेक अर पे’ को नीति ल्याइएको बताए।
ऊर्जा मन्त्रालयको विनियोजनमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा मन्त्री खड्काले ‘टेक एन्ड पे’ शब्द नै उच्चारण गरेनन्। ‘जलविद्युत र प्रशारण क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न टेक अर पे सम्झौता ट्यारिफ बिडिङ प्रणाली प्रशारण लाइन, विद्युत व्यापार सहभागिताको लागि नीतिगत संरचना तयार गरिएको छ भने प्रशारण लाइनको विकास र निर्माण पब्लिक प्रभाइभेट पार्टनरसीप मोडेलमा निजी क्षेत्रको सहभागिता बढाइएको छ,’ खड्काले भने।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ मा पेस गरेको बजेट वक्तव्यको बुँदा नम्बर २२७ मा गरिएको व्यवस्था छ, ‘जलविद्युत आयोजना सम्पन्न हुने समय तालिकासँग संगति मिल्ने गरी सब स्टेशन र प्रशारण लाइन निर्माण गरिनेछ। विद्युत उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत खरिद सम्झौता गर्ने नीति लिइनेछ। रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत खरिद सम्झौता गरिनेछ।’
यो व्यवस्थालाई लिएर जलविद्युत उत्पादक र सांसदहरूले प्रश्न उठाए। जलविद्युत उत्पादकले भने आन्दोलन नै घोषणा गरेका छन्। बजेटमा ल्याएको व्यवस्था उल्लेख नगरी अर्कै व्यवस्था बोलेर अलमलमा पारेको भनी सांसदले प्रश्न गरेका छन्। ‘टेक एन्ड पे’ नेपाल विद्युत प्राधिकरणले आवश्यकताका आधारमा मात्रै उत्पादकसँग विद्युत खरिद गर्ने र त्यसको मात्रै भुक्तानी दिने प्रणाली हो भने ‘टेक अर पे’ भनेको उत्पादकबाट विद्युत खरिद गरे पनि नगरे पनि सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने व्यवस्था हो। हाल कार्यान्वयनमा रहेको ‘टेक अर पे’ को व्यवस्थाअनुसार उत्पादकले सम्झौताअनुसार विद्युत दिन नसके प्राधिकरणलाई जरिवाना हुने व्यवस्था छ । टेक एन्ड पे मा भने प्राधिकरणले विद्युत खरिद नगरेमा उत्पादकले उत्पादन गरेको विद्युत खेर जानसक्छ।
काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटारमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएको सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेका छन्।
शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष दाहालले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकी यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।’ उनले थपे, ‘सरकार र शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ।
हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।’ अध्यक्ष दाहालले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं ।’ उनले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याए। भेटमा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएको सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गरे।
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभाव आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भू–भागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
पछिल्लो ६ घण्टामा कहाँ कति प¥यो पानी ?
पछिल्लो ६ घण्टामा देशैभरि उल्लेख्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै उल्लेख्य वर्षा भएको छ। एक–दुई वटा केन्द्रका धेरै भारी, भारी वर्षा भएको छ भने अधिकांश केन्द्रमा मध्यम वर्षा मापन भएको छ। विभागका अनुसार पछिल्लो ६ घण्टामा गोरखाको एग्रोमेटमा १०३ मिलिमिटर वर्षा भएको छ। चितवनको चर्छरे केन्द्रमा १०९.४, कपिलवस्तुको भगवानपुरमा १०९.६ मिलिमिटर वर्षा भइको छ।
अर्घाखाँचीको राङसिङमा ९६.४, बाराको रजुवामा ८१.८, झापाको दमकमा ७२.२, सप्तरीको रुपनी बजारमा ६३.४ मिलिमिटर वर्षा भएको छ। नवलपरासीको देउराली केन्द्रमा ६७.२ मिलिमिटर वर्षा भएको छ। पछिल्लो १२ घण्टामा काठमाडौंमा पनि मनग्य वर्षा भएको छ। विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा पछिल्लो १२ घण्टामा ६२ र कपन केन्द्रमा ६१.४ मिलिमिटर वर्षा भएको छ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। पछिका लागि लगानी गर्न सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसग मित्रता बढ्न सक्छ। व्यापार बढ्नेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। स्वास्थ्य कमजाेर रहनेछ, आहारविहारमा सजग रहनुहोला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले नयाँ काम गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हिम्मत गर्दा काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।




