२०८३ असार ११ गते बिहीबार
२०८३ असार ११ गते बिहीबार

काठमाडौं । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज मंगलबारसम्म अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।

काठमाडौं बाहेक पाँच महानगरपालिकाले बजेट सार्वजनिक गरेका छन् । काठमाडौं बाहेकका पाँच वटा महानगरहरुले कुल २८ अर्ब ९३ करोडको बजेट ल्याएका हुन् । देशको राजधानी रहेको काठमाडौं महानगरले सबैभन्दा ठूलो बजेट विनियोजन गर्दै आएको थियो । तर मेयर बालेन्द्र शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंको विवादले कार्यपालिका बैठक बस्न नसक्दा बजेट ल्याउन नै सकेन ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन । यस बाहेक अन्य पाँच महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेका छन् । जसमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदा वीरगञ्जले भने सानो आकारको बजेट ल्याएको छ ।

कुनले कतिको ल्याए बजेट ?

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट अनुसार संघीय सशर्त अनुदान तीन अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने भएको छ ।

संघीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, संघीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । खर्च केन्द्रगतरुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड, सामाजिक विकास तर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालय तर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन तथा वातावरण तर्फ ३८ करोड बजेट प्रस्ताव गरिएको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापन तर्फ संघीय सरकारबाट १ अर्ब ४१ करोड २७ लाख र प्रदेश सरकारबाट १८ करोड २७ लाख, आन्तरिक स्रोतबाट ३ अर्ब ७१ करोड ४६ लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख, अन्तर सरकारी अख्तियारीबाट ९५ करोड १५ लाख, नगद मौज्दातबाट १ अर्ब १२ करोड ७३ लाख व्यहोरिने सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख र रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेका बजेट अनुसार बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ । जनसहभागिता तथा श्रमदानबाट पाँच करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण महानगरले गरेको छ ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकारको सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान गरेको छ । यसका साथै प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान छ ।

महानगरपालिकाले संघीय सरकार वित्तीय समानीकरण अनुदान तर्फ ३४ करोड ३४ लाख प्राप्त हुने अनुमान गरेको छ । प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३ करोड ६२ लाख ३० हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन कर तर्फ ३ करोड ८ लाख आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै, घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको महानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरेको छ ।

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेट अनुसार बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख विनियोजन गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ लाख, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने अनुमान गरेको छ ।

प्रतिनिधि सभाबाट विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८२ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ ।

बजेट पारित हुनुअघि संसदमा मन्त्रालयगत छलफल चलेको थियो भने छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईँहरूले सहमति जनाएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए । अझ पनि त्यही प्रयासमा आफू रहेको बताए । रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन । अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ ।’

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए । समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक बनाइसकेपछि पनि दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने बताएका छन्। सञ्चार मन्त्रालयले तीन पटकसम्म दर्ताका लागि आह्वान गर्दा समेत दर्ता नभएको भन्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक निर्माण गरिरहेको बताए । उनले विभिन्न माध्यमबाट सम्पर्क गरेर उनीहरूसँग छलफल गर्दा सोसल मिडिया नियमन गर्ने विधेयक पनि नभएको देश भनेर हेपेर बोल्ने गरेको बताए । सबै सामाजिक सञ्जाल दर्ता हुनुपर्ने र नेपालको कानुन मान्नु पर्ने भन्दै विधेयक पास भएसँगै यसको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘सामाजिक सञ्जाल प्लेटफर्म अहिले पनि दर्तामा आएको छैन । तीन पटक हाम्रो मन्त्रालयले दर्ता गर भनेर आह्वान गरेको थियो । उनीहरू आएको छैन । विभिन्न च्यानल प्रयोग गरेर सम्पक गर्ने प्रयत्न गरेका थियौँ। सम्पर्क पनि गरेका थियौँ,’ उनले भने, ‘हामीलाई हेपेर बोल्ने, तिमीहरूको देशमा सोसल मिडियामा नियमन गर्ने विधेयक पनि नभएको देश भनेर आलोचना गरेर बसिरहेको कारणले अहिले हामीले अध्ययन गरिरहेका छौं । कम्युनिटी गाइडलाइन र फ्याक्ट चेकिङका माध्यमबाट पनि उनीहरूको सबै कन्टेन चेकिङ गर्ने । दर्ता भएको र प्वाइन्ट अफ कन्ट्याक्ट तोकेको भए त्यसको आधारमा हामीसँग कन्टेनलाई मोडिरेशन र फिल्टेशनको अधिकार मन्त्रालयले पाएको भए उनीहरूको कन्टेन यो भएन हटाउनु पर्छ भन्न सक्थ्यौं ।’

उनले सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्ने र नेपालको कानुन मान्नु पर्ने दोहो¥याए । यो विधेयक पास भइसकेपछि त यसको समस्या समाधान होला । ‘विधेयक पास नहुन्जेल निर्देशिकाको आधारमा सञ्चालन गर्दछौं । त्यसको आधारमा पनि आएनन् भने नेपालको कानुन नमान्नेहरू, नियम नमान्नेहरू, नेपालको सरकारसँग सम्पर्क नगर्नेहरूलाई सधैँ मानिराख्नु पर्छ भन्ने छैन,’ उनले भने, ‘त्यसको व्यवस्थापन हामी गर्छौँ ।’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधारस्तम्भका रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइएको बताएका छन् । मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि विकास गरिने स्पष्ट पारेका छन् । मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्दै सूचना प्रविधिमार्फत आर्थिक, सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोच अगाडि बढाइएको स्पष्ट पारेका हुन् । सुशासन र विद्युतीय शासन प्रवद्र्धन तथा सदाचारको परिपालनमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित छ वटा क्षेत्रमा आधारित बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले भने, ’सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रयोगहरूको अधिकतम उपयोग गर्ने, यस क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गर्ने, सूचना प्रविधिको क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने तथा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी विकासको आधार स्तम्भका रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइएको छ । सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रूपान्तरण एवं आर्थिक समृद्धि हासिल गर्ने सूचना प्रविधि मन्त्रालयको दीर्घकालीन सोच रहेको छ ।’

उनका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट मूलतः आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रमा आधारित छ । सो आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायका लागि ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये ७५ प्रतिशत चालूतर्फको अनिवार्य दायित्वका रूपमा रहेको रकम हो भने बाँकी पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।

मन्त्री गुरुङका अनुसार मन्त्रालयसँग सम्बन्धित विषयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल, नेपाल टेलिभिजन), गोरखापत्र संस्थान र चलचित्र विकास बोर्डले नेपाल सरकार र आफ्नै आन्तरिक स्रोत समेत परिचालन गर्दै आएका छन् । उनले मन्त्रालयसँग सम्बन्धित विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिका लागि वार्षिक कार्यक्रमहरूको एकीकृत कार्ययोजना तयार गरी साउनदेखि कार्यान्वयनमा ल्याइने र नियमित अनुगमन तथा मूल्याङ्कन गरिने जानकारी दिए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरण छानविन गर्न सरकारले बनाएको समिति टालटुले भएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकपछि बाहिरिएर सांसद वाग्लेले टालटुले समिति बनाएर भिजिट भिसा प्रकरणलाई नै फासफुस पार्न लागेको बताए । उपसभापति वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्न सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन् । ‘यो टालटुल समिति बनाएर फासफुस बनाउन खोजियो । यो समिति सुन पानी छर्किने, जोगाउने, चोख्याउने नियतले बनेको हुँदा रास्वपालाई स्वीकार्य छैन,’ उनले भने ।

यस्तै उनले मनिष झाको भनाइ उदृत गर्दै तीर्थराज भट्टराईकै नेतृत्वमा समिति बनाएर सुन पानी छर्किए हुने भनेर कटाक्ष समेत गरे । उनले सरकारले जाँचबुझ आयोग ऐन अनुसार २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको बताए । त्यसबाहेक संसदीय छानबिन समिति भए पनि स्वीकार्य रहने उनको भनाइ थियो ।
अहिले पूर्व कर्मचारीको नेतृत्वमा बनेको समिति कसरी उच्चस्तरीय भयो भनेर पनि उनले प्रश्न गरेका छन् । ‘यो उच्चस्तरीय भनेको छ नि । एउटा पेन्सन खाइरहेको पूर्व कर्मचारी कसरी उच्चस्तरीय भयो ?,’ उनले प्रश्न गरे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार केन्द्रित अनुसन्धानमात्रै गर्ने भएकाले नीतिगत, प्रणालीगत सुधारका विषयमा प्रवेश गर्न उच्चस्तरीय समिति मागेको उनले बताए ।

आफूहरू जेठ १३ गतेदेखि आन्दोलनमा रहेको तर जेठ २५ गते पनि सेटिङमा मानिस बाहिरिएको प्रमाण रहेको उनले बताए । ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२’ लाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको छ । यस समितिमा ६ वटा मन्त्रालयका प्रतिनिधिहरू राखिएका छन् । सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृह मन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन् ।

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औंल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताए । वैदेशिक रोजगार विभागमा हाल करिब ३६ हजार वैदेशिक रोजगार ठगीका मुद्दा दर्ता भएको र कानुनको छिद्रलाई आधार मानेर ठगी गर्नेको क्रम बढ्दो छ ।

‘यी मुद्दा सम्बोधन गर्न संस्थागत संरचनामा विस्तार गरी जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिनेकार्य अघि बढाएका छौं’, मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार ऐनमा संशोधन गरेर ठगी मुद्दा हेर्ने काम प्रत्येक जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने र जिल्ला अदालतमा मुद्दा दायर गरेर फर्छौट गर्ने काम अघि बढे पीडितले राहत पाउने छन् भन्ने सोचले ‘फास्ट ट्रयाक’मा अघि बढाउन खोजेका छौँ ।’ मन्त्री भण्डारीले सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयले हाल गरेका र आगामी वर्षमा गर्नेकार्यको विवरणबारे जानकारी दिए । देशमा कूल जनसंख्याको करिब ११.६ प्रतिशत बेरोजगार रहेका उल्लेख गर्दै उनले तत्काल आन्तरिक रोजगारी सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको बताए ।

‘मुलुकको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई नेपालको रोजगारीमा संलग्न गराउन मन्त्रालय प्रयत्नशील छ’, उनले भने । नीतिगत सुधारतर्फ श्रम आप्रवासन नीति तर्जुमा भई स्वीकृतिका लागि अन्तिम चरणमा रहेको मन्त्री भण्डारीले जानकारी दिए । राष्ट्रिय श्रम बजार सूचना प्रणालीको निर्माणका लागि प्राविधिक अध्ययन समेत भइरहेको उनले जानकारी दिए । ‘दूतावासमा फोन उठेन भने निश्चित समय पश्चात त्यो कल नेपालस्थित कल सेन्टरमा ‘आइपी बेस्ड फोन’ मार्फत फरर्वाड हुने व्यवस्था मिलाउन लागिएको छ’, मन्त्री भण्डारीले भने, ‘अहिले नेपाली को कहाँ छ भन्ने सामान्य जानकारी समेत नभएको अवस्थामा विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्ने यो एक प्रभावकारी प्रणाली हुनेमा हामी विश्वस्त छौँ ।’

नेपाली श्रमिकको हकहितका लागि कुटनीतिक बैठकलाई निरन्तरता दिइने मन्त्री भण्डारीले बताए । यस्तै, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र जापानमा अर्धदक्ष तथा दक्ष कामदार पठाउने निर्णयबारे उनले जानकारी दिए । यही जुलाई महिनादेखि युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको र उच्च मानवअधिकार भएका मुलुकमा श्रमिक पठाउन तयारी भइरहेको उनको भनाइ थियो ।

काठमाडौं । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । सरकारले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको हो । त्यसबारे गृहमन्त्री रमेश लेखकले आज (मंगलबार) प्रतिनिधि सभामा जानकारी गराउँदै समितिलाई ९ बुँदे कार्यादेश दिएको जानकारी गराएका छन् ।

‘तत्काल गर्नुपर्ने सुधारका केही कामहरू अगाडि बढाएका छौं । तर ती मात्रै पर्याप्त नहुन सक्छन् । समग्रतामा सम्पूर्ण समस्याहरूको अध्ययन गरेर, विश्लेषण गरेर, छानबिन गरेर, ती समस्याहरूलाई समाधान गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरेर समिति गठन गरिएको छ,’ उनले भने । भिजिट भिसा क्षेत्रमा देखा परेका समस्या समाधान गर्नका लागि अहिले तत्काल गर्नुपर्ने कामहरू प्रारम्भ भएको पनि उनले बताए ।

‘तथापि विस्तृत रूपमा यो प्रतिवेदन प्राप्त भइसकेपछि हामी समग्रतामा अध्यागमन प्रणालीका समग्र विषय, समस्याहरू, उल्झन र जटिलताहरूलाई सम्बोधन गरेर अगाडि बढ्नेछौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानको कार्यमा असर नपर्ने गरी, अध्यागमनको व्यवस्थापन, भिजिट भिसा लगायत अन्य भिसाहरू र सोबाट सिर्जित समस्याका सम्बन्धमा अध्ययन एवम् छानबिन गरी ९ क्षेत्रहरूमा केन्द्रित रही सुझावसहितको प्रतिवेदन गर्ने समितिको कार्यक्षेत्र रहेको छ,’ उनले भने ।

यस समितिमा ६ वटा मन्त्रालयका प्रतिनिधिहरू राखिएका छन् । सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन् ।

यस्ता छन् समितिको नौं कार्यादेश
१) अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने ।

२) अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए, सोको मस्यौदा पनि बुझाउने ।

३) अध्यागमन व्यवस्थापनमा विद्यामान संरचनागत, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने ।

४) अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरू बीचका समन्वय र सहकार्यका गर्नुपर्ने सुधार एवम् व्यवस्थाबारेमा सुझाव पेस गर्ने ।

५) अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेशअनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने ।

६) भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूबीचको समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा समस्या हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने ।

७) अध्यागमन प्रणालीलाई प्रविधिमैत्री सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव पेस गर्ने ।

८) विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने ।

९) अध्यागमनको आवतजावतको अभिलेख राखी सुरक्षित र दुरूस्त राख्न अपनाउनुपर्ने उपायकाबारेमा सुझाव पेस गर्ने ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन्।उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा दुई देशबीच युद्धविराम सहमति भएको उल्लेख गरेका छन्।

‘म यो घोषणा गर्न पाउँदा खुशी छु कि इजरायल र इरानबीच पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ।’ १२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद दिएका छन्। ‘यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो,’ उनले लेखेका छन्, ‘मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो!’

यद्यपि, इरान र इजरायलले युद्धविरामबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन्। न्यूयोर्क टाइम्सका अनुसार, इजरायली सेनाका प्रवक्ताले युद्धविरामसम्बन्धी ट्रम्पको भनाइमा केही बोल्न अस्वीकार गरे । ट्रम्पको घोषणाको केही घण्टाअघि इरानले कतारमा रहेको अमेरिकी अल–उदेइद हवाई सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपि, आक्रमणमा कुनै हताहत भएको छैन, किनभने इरानले आक्रमणअघि नै यसबारे अलर्ट जारी गरेको थियो।

काठमाडौं। सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा गृह, श्रमलगायत मन्त्रालयका सहसचिवहरू सदस्य रहने भएका छन्। समितिलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ।

भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ । पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । जीवनसाथी वा आत्मीय मित्रको स्वास्थ्यमा समस्या देखिने वा सम्बन्धमा तिक्तता आउन सक्ने समय देखिन्छ । साझेदारीको काम छ भने अर्कालाई नसुम्पनु ठीक हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मातृ सुखमा प्रभाव पर्ने समय भएकाले घरमा सम्पर्क राखी आमाको स्वास्थ्यस्थितिबारे जानकारी लिनु ठीक हुन्छ, सहकर्मीसित असमझदारी बढ्नाले तनावको स्थिति बन्नसक्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।