काठमाडौँ । सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको आरोप लगाएका छन् । एमालेले राष्ट्र हित र जनताका सवाललाई सशक्त ढङ्गले उठाउँदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पुरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए । एमाले काठमाडौँ जिल्ला कमिटीको छैटौँ बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए ।
‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरू सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामी माथि खनिएका हुन् ।’ एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उनले बताए । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालीबाट हामी विचलित हुनु हुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौँ ।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी, समाजवादी र अन्य कम्युनिष्ट नामका पार्टीहरू एमाले माथि हमला गर्न आउने गरेको उनले बताए । ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्’ पोखरेलले भने ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ ।’
महासचिव पोखरेलले एमाले माथि हमला गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमाले माथि हमला गरिरहेका छन्’ पोखरेलले भने, ‘किन भन्दा उनीहरूको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’ अराजकतावादीले घृणाको संस्कृति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनले बताए । नेपाली संस्कृति, सामाजिकता,सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उनले स्पष्ट पारे ।
एमालेको खोइरो खन्ने बाह्य शक्ति पनि भएको उनको भनाइ छ । एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा रहेकोले त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उनले बताए । ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वाभिमान प्रदर्शन एमालेले ग¥यो । मुलुकमा स्थायित्वको खोजी ग¥यो ’ पोखरेलले भने ‘एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गिर खेल्ने ठाउँ बनाउँथे । त्यो स्वार्थ पुरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’
महासचिव पोखरेलले एमालेका मूल नेता र प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई उनले निर्देशन दिएका छन् । आज एउटा नेतालाई हमला गर्नेले भोलि अरूलाई नै बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई आजै निस्तेज पार्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ’ पोखरेलले भने, ‘आजै यो कुरालाई निस्तेज नगरे भोली अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ ।’ उनले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माथि उल्लेख गरिएका चारै वटा शक्तिहरूले आक्रमण गर्ने गरेको बताए । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर एमालेका केही नेता–कार्यकर्ताले पास्नी, बिहे, पार्टी, पारिवारिक तस्वीर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भने, ‘एमालेहरूले यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गरेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन् । बिहीबार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए । अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरूरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य कोही पनि पुरा नगर्ने । यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुपर्यो ।’ उनले अझै पनि सीमान्तकृत वर्गले निःशुल्क रूपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने टिप्पणी समेत गरे ।
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबान जस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढीकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापनमा समन्वय र जनचेतना अभिवृद्धि गर्न स्थानीय र प्रदेश तहसँग सहकार्य गरी प्रभावकारी कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा ल्याउन गृह, रक्षा, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै समितिले विगतका वर्षहरूमा भएका विपद्को मूल्याङ्कन गरी सिकाइका आधारमा प्रभावकारी जोखिम नियन्त्रणका उपायहरू लागू गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशित गरिएको छ ।
समिति बैठकले प्राकृतिक विपद्बाट भएको क्षतिको सही पहिचान गरी उद्धार तथा राहत कार्यमा पीडित व्यक्ति प्रत्यक्ष लाभान्वित हुने गरी कडाइका साथ कार्ययोजना अवलम्वन गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ । समितिले विपद्को पूर्वसूचनाको लागि हाल प्रयोग गर्दै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै फोनमार्फत बोलेर नै सूचना दिने प्रणाली यही वर्षदेखि लागू गर्न समेत निर्देशन दिएको छ ।
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन् ।
‘…निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ । आयोगका पदाधिकारले गएको असार ६ गते आगामी कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत गरेका थिए । उपनिर्वाचनको मिति घोषणा हुन बाँकी छ ।
काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री आफू नै भएको दावी गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ ।
ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन् । आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन् । पार्टी अनुशासन विपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो । पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ ।
जनकपुरधाम । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका –८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो । उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतै स्थानीयले टिपरमा आगजनी गरी जलाएका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। तापनि बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन गर्ने समय छ। सानो प्रयत्नले काम बन्न सक्छ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। प्रयास गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। सहयोगीबाटै गोपनीयता बाहिरिन सक्छ।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा निकै फाइदा हुनेछ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साथीभाइसँग रमाइलाे भेट हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामकाे याेजना बन्न सक्छ। भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यापार बढ्नाले मनग्य लाभ उठाउन सकिनेछ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मतले काम बनाउन सकिनेछ। यस अघिको उपलब्धिले काममा उत्साह जगाउनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले समेत मित्रताका हात अघि बढाउलान्।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ।