काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाइएको निगमले जनाएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

शिक्षामन्त्री रघुजी पन्तको आग्रह स्वीकार गर्दै प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । अर्को बैठक कहिले बस्छ भन्ने टुंगो नभएकाले बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
समितिको आजको बैठकबाटै विद्यालय शिक्षा विधेयक टुंग्याउने तयारी भए पनि शिक्षामन्त्रीले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
शिक्षामन्त्रीको आग्रहपछि अहिलेसम्मको सहमतिबाट ब्याक नहुने गरेर बैठक स्थगित गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
‘अहिलेसम्मका सहमतिबाट ब्याक नहुने गरेर अर्को सूचना नआएसम्म बैठक स्थगित गरेका छौं,’ सभापति थापाले भने ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थिति जटिल बनेको भन्दै केही दिन विद्यालय शिक्षा विधेयक पारित नगरी छलफलका लागि समय माग्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए ।
समितिसमक्ष त्यस्तो माग गर्नुअघि उनले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यसपछि सत्तागठबन्धनमा थप छलफल आवश्यक परेको भन्दै उनले बैठक स्थगितको माग गरेका थिए ।
काठमाडौं । विशेष अदालतले जग्गा प्लटिङको नीतिगत निर्णय गरी त्यसबाट अनुचित लाभ (घुस) लिएको आरोपमा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
बस्नेतले नौं करोड २२ लाख ४६ हजार घुस लिएको यसअघि ठहर फैसला भइसकेका बस्नेतलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार सोमबार सजाय निर्धारण गर्दै ८ वर्ष कैद सजायको फैसला गरेको हो । बस्नेतले नगरपालिका जस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप ३ महिना कैद सजाय गर्ने निर्णय पनि गरेको छ ।
अदालतले उनलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेकोमा सोमबार नै ८ बर्ष कैद सजाय गर्ने फैसला गरेको हो । पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत प्रमुख बस्नेतले घुस लिएको अख्तियारको दाबी गरेकोमा विशेष अदालतले ती दुई कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको हो । उनीहरु दुबै जनालाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ आठ पैसा जरिवाना हुने पनि फैसला गरेको छ ।
यस्तै सम्पत्ति सुद्धिकरणतर्फ बस्नेतले १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा सम्पत्ति शुद्धिकरण गरेको देखिदाँ बस्नेतलाई सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बोजिम ३ वर्ष कैद सजाय हुने, विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ६६ पैसा जरिवाना हुने सँगै सम्पत्ति जग्गा समेत जफत हुने फैसला गरेको छ ।
यस्तै नगर प्रमुख बस्नेतलाई सम्पत्ति शुद्धिकरण सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा थप १० प्रतिशत सजाय हुने भएको छ। जसमा कैदतर्फ ३ महिना १८ दिन र जरिवानातर्फ २ करोड ६२ लाख ५४ हजार ६०० रुपैयाँ ४६ पैसा जरिवाना थपिएको छ ।
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम नगरप्रमुख बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । परिवर्तित नाममा साइबर ब्युरोमा परेको उजुरीका आधारमा पाठकविरुद्ध मुद्दा दायर भएको हो ।
साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो । साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोको छानबिन प्रतिवेदनका आधारमा आज मुद्दा चलाइएको हो । गैरकानुनीरुपमा सामग्री प्रकाशन÷प्रशारण गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको माग दावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै पीडितलाई क्षतिपूर्ति भराउन पनि माग गरिएको छ ।
पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको दाबी गर्दै कार्यक्रम प्रशारण गरेका थिए । उक्त कार्यक्रम भिडिओ, स्कृनसर्ट कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ । तर, प्रहरीले पाठकसँग भने बयान लिएको छैन ।यसअघि नै जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर साइबर ब्युरोले अनुसन्धान गर्ने तयारी गरे पनि उच्च अदालतले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौँ । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्ने विरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् ।
केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् ।
यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सारेकी छन् ।
काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् ।
शीतल निवासबाट आफ्नै निवास फर्किएकी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाउँदै आएको अधिकांश सुविधा स्वेच्छाले छाड्ने निर्णय गरिसकेको स्रोतले जनाएको छ । बाँकी सुविधा पनि आगामी १ साउनदेखि फिर्ता गर्ने गरी पत्र पठाउने तयारी भएको स्रोतको भनाइ छ ।
‘शीतल निवासबाट फर्कंदै उहाँले धेरै सेवासुविधा नलिने निर्णय गर्नुभएको थियो,’ भण्डारी निकट स्रोतले भन्यो, ‘अब बाँकी रहेका सुविधा पनि फिर्ता गर्ने तयारी छ ।’
हाल सरकारबाट पूर्वराष्ट्रपतिलाई दुईजना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा र इन्धन खर्च सुविधा दिइँदै आएको छ ।
यद्यपि, भण्डारीले शीतल निवास छाडेपछि तलब, निवास खर्च लगायतका सुविधा प्रयोग नगरेको स्रोतको दाबी छ ।
पूर्वराष्ट्रपति भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार (असार १६) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।
समितिमा यस दिन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रस्तुतपछि उनले देशमा न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी गरे । विनियोजन विधेयकमाथि पनि अदालत प्रवेश गर्नु पटक्कै राम्रो नभएको उनले बताए । ‘संसद्ले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन’, उनले भने, ‘यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।’ सर्वोच्चमा कुनै कार्य धेरै समय अड्कने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै उनले प्रश्न गरे । शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्नेमा जोड दिए ।
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर–३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ।
आयोगको आज (सोमबार) बसेको बैठकले सो निर्णय गरेको र स्थानीय तहका रिक्त पदमा आवश्यकता अनुसार सोही मितिमा गर्ने निर्णय भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताए।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
काठमाडौं- नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरुन्तै आन्दोलनमा जान बाध्य हुने जनाएको छ। तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो।
महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ।
‘२०८२ वैशाख १७ गते राज्य पक्ष र महासंघबीच महत्वपूर्ण सहमति भयो, त्यो सहमतिमा महासंघसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो तर सो प्रतिबद्धता अनुरूप असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन,’विज्ञप्तिमा उल्लेख छ।
यसबाट आम नेपाली शिक्षक/कर्मचारी सशंकित र आक्रोशित भएको महासंघले जनाएको छ।
‘त्यसैले संसदको शिक्षा समितिमा विधेयक माथि चलिरहेको छलफल शीघ्र सम्पन्न गरी विगतका सहमतीहरू समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ,’विज्ञप्तिमा उल्लेख छ।
सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते असार १५ गतेभित्र शिक्षा विधेयक जारी गर्नुपर्ने सहित ९ बुँदे सहमति भएपछि शिक्षकहरू २९ दिनसम्म चलेको आन्दोलन छाडेर घर फर्किएका थिए। तर,यो समयमा शिक्षा विधेयक जारी हुन सकेन।
भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु स्वाभाविकै हो । हतारहतार अनलाइनमार्फत आफ्नो नतिजा खोज्न थालिन् । नतिजा आउँदा खुसीको सीमा रहेन । उनी सर्वोत्कृष्ट अंक ४ जिपिएसहित उत्तीर्ण भइन् ।
सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि ४ जिपिए हासिल गरेकी उनी भक्तपुरका ३० सर्वोत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भइन् भने चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बनिन् । गोमाको थातथलो रामेछापको खनियाँपानी हो । उनी चार वर्षको उमेरमा अभिभावकसँग खनियापानीबाट भक्तपुर आएका हुन् । परिवारको आर्थिक कमजोर अवस्था र छोरी गोमाको पढाइप्रतिको रुचिका कारण खनियापानी छाडेर भक्तपुरको सुडाल आएको गोमाको बुबा मीनबहादुर श्रेष्ठले बताए ।
‘एकातर्फ कमजोर आर्थिक अवस्था अर्कोतर्फ छोरी गोमाले सानै बेलादेखि पढाइप्रति रुचि राख्ने भएकाले आफ्नो थातथलो छोडेर भक्तपुर आएँ, कामको खोजी गर्दै । त्यो बेला गोमा चार वर्षकी थिइन्’, मीनबहादुरले भने, ‘रामेछापको खनियाँपानीबाट भक्तपुर झर्नुको खास कारण छोरीको पढाइकै कारणले हो ।’ भक्तपुर आएर इँटाभट्टामा काम सुरु गरेका मीनबहादुरले गोमालाई नजिकैको महेन्द्रग्राम माध्यमिक विद्यालयमा भर्ना गरिदिए । ‘खनियाँपानीको लेकबाट बेँसीसम्मको विद्यालय पुग्न एक घण्टा ओरालो लाग्नुपथ्र्यो । यसैले ज्याला मजदुरी गरेर, इँटा पारेर, भारी बोकेर भए पनि पढाउँला भनी भक्तपुर सरेका हौँ । भक्तपुरमा कामको सिलसिलामा इँटाभट्टामा काम गरेँ, इँटा पारे, छोरीलाई इँटा भट्टासँगैको विद्यालयमा भर्ना गरिदिएँ ।’
दिउँसो विद्यालय जाने गोमा साँझ बिहान भने इँटाभट्टको खलामा खेल्दै हुर्कन थालिन् । उमेरसँगै गोमाले बुबाआमाको काममा सघाउन थालिन् । दिउँसो विद्यालय जाने, साँझ बिहान खलाको इँटा सुकाउन ओल्टाइपल्टाई गर्ने उनको दैनिकी बन्दै गयो । त्यसरी नै दैनिकी अघि बढेको गोमाले कक्षा ९ सम्म लगभग उनी रुटिनमा दैनिकी बिताइन् । कक्षा १० पुगेपछि भने गोमाले आफ्नो दैनिकीलाई केही परिवर्तन गरिन् । ‘बुबा–आमाले पनि अबको एक वर्ष पढाइ ध्यान दिन भने । एसइई दिनुपर्ने भएकाले विद्यालयले पनि पढाईमा जोड दिन सुझाव दिए । त्यसैले मैले आफ्नो दैनिकीलाई केही परिमार्जन गरेर पढाइमा ध्यान दिन थालें । यसैको परिणाम आज मैले एसइईमा राम्रो नतिजा पाएँ’, उनले भनिन् ।
गोमाले भविष्यको लक्ष्य डाक्टर बन्ने रहेको बताइन् । तर त्यसको लागि कडा मेहनतका साथ पढेर छात्रवृत्तिमा नाम निकाल्नुको विकल्प नभएको उनले बताइन् । ‘विज्ञान संकायमा प्लस टु गरी नेपालको कुनै पनि मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकालेर एम बिबिएस पढ्ने लक्ष्य छ । एक असल डाक्टर बनेर मेरो जन्मदाता, देश र जनताको निःस्वार्थ रुपमा सेवा गर्नु नै मेरो मुख्य लक्ष्य हो। यसका लागि कडा मेहनत चाहिन्छ भन्ने ज्ञान छ । सोही अनुसार तयारी गर्छु’, उनले भनिन् ।