
काठमाडौं । अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो ।
निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् । अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।
काठमाडौ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे गलत प्रचार भइरहेको बताएको छ ।
स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम बाहना बनाएर गएकाहरू नफर्किएको बताएकी थिइन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै नभई विभिन्न कार्यक्रमको बाहनामा नेपालीलाई प्रलोभनमा पारेर विदेश लैजाने गिरोहसँग जोडिएको विषय भएको जिकिर गरेकी थिइन् ।
संसदमा यस विषयमा कुरा उठेपछि मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक र आधारहीन यस्ता सामग्रीमा विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको छ ।
३० जुनदेखि ४ जुलाईसम्म सम्पन्न उक्त सम्मेलनमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सबै सदस्यहरू स्वदेश फर्किसक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

रसुवाका बाढीले प्रभावितको उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक सहायक हवल्दार आफैं घाइते भएपछि उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेपछि घाइते भएका थिए । उनको घुँडामा चोट लागेको बताइएको छ ।
काठमाडौ। सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनभित्र ड्रोन बसेको विषय प्रतिनिधि सभाको बैठकमा राखेका छन् ।
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् । असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै निष्काशन गरिएको हो ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोदार्थ पत्र पठाएका छन् । उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जनाएका छन् ।

काठमाडौँ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन् ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन् । अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताइन् । ‘आर्थिक वर्ष सकिनु एक साताअगावै सरकारी खाता रोक्का गर्नुपर्ने भनेर कानुनमा उल्लेख छ ।
आज रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी हुँदैन । यो कानुनमा राखिएको विषय भएकाले प्रलेनिका र कोलेनिकालाई खाता रोक्काका लागि परिपत्र गरिएको छैन’, उनले भनिन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको प्रवक्ता अर्यालले जानकारी दिइन् । चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ । यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
रसुवामा गएको बाढीमा परेर बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ ।
उद्धारका क्रममा बाढीमा बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेपछि मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीमा अझै १९ जना बेपत्ता छन् । उनका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै, ५७ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।
बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । बाढीले रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति पुर्याएको छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश कार्यसम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले समस्या देखा परे पनि उचित समयमा सहयाेगी जुट्नेछन् र नियमित काम सम्पादन हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। व्यापार बढ्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। साथीभाइबाट उत्साह प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र समेत फराकिलो बन्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि आर्थिक जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत व्यावसायिक काममा भने केही मन्दी आउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।




