२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । उनले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुद राजनीति गर्ने ठाउँ नभएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) का सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेको छ । एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिएका हुन् ।

‘सरकारमा राजनीतिक दल नै आउने हाे। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो । कृषि हो भने कृषिको विकास हुनुपर्‍यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्‍यो । त्यहाँ राजनीतिक गर्नु भएन,’ सातदोबाटोमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्‍घाटन समारोहमा प्रधानमन्त्री ओलीले भने, ’खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि लैजानु पर्छ । त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन । पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’ । जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्‍यो ।’ मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो । त्यसमा पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए । उनले उल्टै क्यानलाई एनपीएलको तयारी गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले एनपीएलको भब्य तयारी हुनुपर्ने बताए । ‘एनपीएलको भब्य तयारी गर्नुस् । यो हाम्रो नेशनल प्राइड हो । यसलाई राष्ट्रियस्तरमा बढाउनु पर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ । देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानु पर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनु पर्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली यतिमा मात्र सीमित भएनन् । कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुद पटक–पटक सारिएकोमा आपत्ति जनाए । उनले अब अर्को मिति नसारिने र मंसिरमा जसरी पनि गर्न मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिए । ‘अब राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ । मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु । अब लज्जाको विषय भएको छ । अब निर्धारित मिति सार्न मिल्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह गरे । उनले यो पहिलो फेजअन्तर्गत बनेको र दोस्रो फेजमा अझ ठूलो रूपमा विस्तार हुने बताए । ‘कीर्तिपुर रंगशाला सानो भएर आत्तिनु भएन । यो निरन्तर विस्तार हुन्छ । धेरै जनाले हेर्ने बनाउँछौं । अहिलेको त फस्ट फेजको काममात्र हो । दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ । अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ । राति खेल्न मिल्ने हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं,’ प्रधानमन्त्री ओलीले भने ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले विकास निर्माणको कामहरू उपभोक्ता समितिमार्फत गराउन नहुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको टिप्पणी गरे । विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदार भन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिहरूमा बेथितिका चाङ रहेको उनले जिकिर गरे ।

‘विगतमा उपभोक्ता समितिबाट काम हुँदा ठेकेदारभन्दा राम्रो हुन्थ्यो । तर अहिले उपभोक्ता समितिमा बेथितिका चाङ छन् । उपभोक्ता समितिले राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भएका छन्,’ उनले भने, ‘यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुनेगरी गुटबन्दी भइरहेको छ ।’ उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए ।

एमालेका सचिव समेत रहेका भट्टराईले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई कम गर्न नदिने व्यवस्था गर्न प्रस्ताव गरे । ‘अहिले उपभोक्ता समितिहरूबाट राजनीतिक कार्यकर्ताहरूलाई बिगार्ने काम भएको छ । अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत काम गर्न नदिनको लागि आवश्यक ऐन बनाउनु पर्छ ।’ उनले खानेपानी, सिँचाइ तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न समेत माग गरे ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विष्फोटबाटै गत मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

 ‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ’, उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिकोे तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।’

पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाई छ । ‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ’, उनले भने । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

 काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको परिचय खुल्ने पोसाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले जारी गरेको सूचनाअनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्रीको प्रयोगमा रोक लगाइएको हो।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी र म्यानपावर कम्पनीहरूका लागि लागू हुनेछ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न पाइने छैन। यस्ता वस्तुले सुरक्षा जोखिम बढाउन र प्रक्रियामा ढिलाइ गर्न सक्ने कार्यालयको भनाइ छ।

त्यस्तै, कुनै समूह, सङ्गठन, ट्राभल एजेन्सी वा म्यानपावर कम्पनीको परिचय झल्काउने पहिरन, टोपी, ब्याच वा अन्य पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यस्ता सामग्रीले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चित गर्न यो नियम लागू गरिएको हो।

अध्यागमन कार्यालयले यी नियमहरूको पालना गरी प्रक्रियालाई सहज बनाउन सबैमा अनुरोध गरेको छ। नियम उल्लङ्घन गरे कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ । पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ । त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई कमाण्डरको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । रास्वपाले प्राप्त आवेदनहरूको मूल्यांकन गरी उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

दुई दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी बिहीबार बिहान सम्पर्कमा आएका छन्।

२४ गते बिहान कार्यालयमा मोबाइल नेटवर्क नआएको भन्दै गाडी चढेर रुकुम पूर्वतर्फ हिँडेका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी मंगलबार र बुधबार सम्पर्कविहीन भएका थिए। कर्मचारी सम्पर्कमा नआएपछि पछि गाउँपालिकाकाले बुधबार सूचना निकालेको थियो ।

उनीहरू आज बिहान टेलिफोन सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए। अध्यक्ष बुढाका अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले आज बिहान टेलिफोन गरी आफूहरू गुल्मीमा रहेको जानकारी दिएका छन्।

२४ गते बिहान भुक्तानी गर्नुपर्ने अवस्थामा मोबाइलमा नेटवर्क नआएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर सहित सहायक प्रशासन पाँचौ हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कंडेल, सब इन्जिनियर चन्द्रप्रकाश ओली र निशा आचार्य लगायतका ७ कर्मचारी कार्यालयबाट निस्किएका थिए।

सात कर्मचारी बेपत्ता भएपछि गाउँपालिकाले यस्तो सूचना निकालेको थियो-

आजदेखि सम्पूर्ण सरकारी खाताहरु रोक्का भएका छन्। 

चालु आर्थिक वर्ष सकिनु सात दिन पहिले भुक्तानी रोक्नुुपर्ने व्यवस्था अनुसार हिजो मध्यरातिदेखि सबै भुक्तानी प्रकृया रोकिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। अबको सात दिन अत्यावश्यक बाहेकको भुक्तानी हुने छैन। 

साउन एक गतेदेखि भने नयाँ बजेट कार्यान्वयनमा आउनेछ। यो वर्ष पनि सरकारले बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न सकेन। सुरुमा १८ खर्ब ६० अर्ब बजे ल्याएको सरकारले मध्यावधि समीक्षामार्फत १६ खर्ब ६२ अर्ब ३७ करोड कायम गरेको थियो। 

तर, सरकारले संशोधित लक्ष्य समेत भेट्न नसकेको हो। भुक्तानी रोकिने दिने हिजो एकैदिन ३८ अर्ब ६१ करोड १७ लाख रुपैयाँ भुक्तानी भएको छ। योसँगै सरकारको कुल खर्च १५ खर्ब पाँच अर्ब १९ करोड भएको छ। यो सुरुवाती बजेटको ८०.९१ प्रतिशत मात्र हो। 

त्यसमध्ये चालुतर्फ ८५.८२ प्रतिशत अर्थात ९ खर्ब ७८ अर्ब ९४ करोड र पुँजिगततर्फ दुई खर्ब आठ अर्ब ३४ कारोड रुपैयाँ खर्च भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ ८६.५६ प्रतिशत अर्थात तीन खर्ब १७ अर्ब रुपैयाँ खर्च भएको छ। 

सरकारले राजश्व पनि लक्ष्यअनुसार उठाउन सकेको छैन। कुल १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्य संकलनको लक्ष्य राखिए पनि ७७.३४ प्रतिशत अर्थात १० खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको छ। अनुदान प्राप्ति पनि निकै खस्किएको छ। सरकारले पाँच खर्ब २३ अर्ब अनुदान अपेक्षा गरे पनि ४१ प्रतिशत अर्थात, २ खर्ब १८ अर्ब मात्र अनुदान प्राप्त भएको छ।

 

 

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।

यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ-

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ।

गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका छन्

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्।
परोपकार पुण्याय, पापाय परपीडनम्।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएका छन्। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन्।
यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा मौसमी प्रभाव पर्ने दिन हो । बेकारको बहस र विवादमा सहभागी बन्ने समय छ, आफन्तले नै तनाव सिर्जना गर्न सक्छन् ।  कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख÷सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके÷ताकेका काम पनि सम्पन्न हुने समय हो । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । दैनिक र व्यवहारिक खर्चको मात्रा बढ्नेछ । कुनै गुप्त कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने समय छ, सचेत भएर काम गर्नुपर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । कुनै कुरा नजानेर अलमलमा पर्नुभएको छ भने साथीहरूसँग छलफल गरी जानकारी बटुल्ने दिन हो, नयाँ कुरो सिक्न पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ, तर दुर्वचन मूल्यहीन हुन्छ, तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्नसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । असम्भव आशामा वा जोखिममूलक काममा धन लगानी गर्नु हुँदैन । उता  घर÷परिवारको बारम्बार याद आउनाले मानसिक तनावसमेत बढ्नसक्छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ । राज्यपक्ष वा प्रशासनिक कामका साथै प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ । विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक्दैनन् । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज आकस्मिक लाभ पाउने दिन हो । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको सदुपयोग गर्नुहोला । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईलाई चिन्तित बनाउन सक्छ, त्यस्तै अप्ठ्यारो र झञ्झटिलो मार्गमा अघि बढ्ने समय हो, तर जोखिम र सङ्कट मोल लिएर गरेको कामको परिणाम लाभदायी हुनसक्छ । असहजता बीचमा कामको चाप बढ्ने दिन हो, स्वभावगत कमजोरी वा उदार मनोवृत्तिको प्रयोग गरी अरुले नाजायज फाइदा उठाउन सक्छन् । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।