चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्। गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् । सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो । उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन् ।
त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन । त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो ।
घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए । सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो ।
कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गरेका थिए । गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताएका थिए ।
सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशयसहितको निष्कर्ष कार्यदल निकालेको थियो । प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ ।
प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो । सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाई नगर्न प्रतिवेदनले सुझाव दिएको छ । वेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो ।
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ ।
चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।
एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले सन् २०२१ मार्च १५ तारिखमा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । एन्फाले आज विज्ञप्ति निकालेर संस्था सुधार र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा सकारात्मक मोडमा आइपुगेको जनाएको छ । फिफाले आर्थिक बन्देज हटाएसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कूलस्तरीय प्रतियोगिता, उमेर समूह प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिग लगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।
काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्दै एन्फाले आभार प्रकट गरेको छ । निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको कार्य अघि बढाउने भन्दै एन्फाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको विश्वास जित्दै जाने प्रतिवद्धता दोहोर्याएको छ ।

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् । चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।
‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैनन् भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ’, उनले भने । सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा छन् ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर हुनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्ला। बेसुरमा गरिएको काम दोहोर्याउनुपर्ने हुन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दु:ख पाइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहाेला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।