२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

काठमाडौँ । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । 

साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने जनाइएको छ । 

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन् ।

सरकारका मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीनमा रहेको भन्दै उनले सांसद र नेताहरू अनुहार छोपेर हिँड्न बाध्य भएको बताए ।

‘अनुहार छोपेर हिँड्न बाध्य छौँ, धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीन छन्, यो मैले पहिले नै देखाएको थिएँ’, उनले भने ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले शान्ति प्रक्रिया यता मुलुकको ऋणभार ९७ अर्ब पुगेको स्मरण गरे ।

उनले भने, ‘२०६२/२०६३ पछि प्रदेशहरू विकासको इन्जिन हुनुभन्दा बोझ हुन थालेको छ, मुलुकको सार्वजनिक ऋण कूल २।६११ ट्रिलियन पुगेको छ, उनले जुन जिडिपीको ४७.७७ प्रतिशत हो, यसमा ९७ अर्ब नयाँ ऋण थपियो ।’

श्रम पलायन तीव्र भएको बताउँदै उनले मुलुकको अवस्थाले युवा शक्ति विदेश जान बाध्य भइरहेको बताए ।

‘जब हामी गर्छौँ, सक्छौँ भन्दै अगाडि बढ्ने प्रयास गर्छौँ, धेरै यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देख्छौँ, बोल्नेको गला अवरुद्ध भएका छन्’, उनले भने ।

आजको राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिएको उनको भनाइ छ ।

नयाँ दलहरूप्रति उनले इजिप्टमा प्रचलित उक्ति स्मरण गर्दै कटाक्ष गरे । उनले भने, ‘इजिप्टमा एउटा भनाइ छ, जब कुनै नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यसमा सबभन्दा नयाँ हुनेको भनेको त्यसको लोगो मात्रै हो ।’

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले भने, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस् । अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस् ।’ भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ ।

उनले एउटा उखान उल्लेख गर्दै भने, ‘पहिले–पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू । खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?’, उनले भने । शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोपित गरेको भन्दै एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कहिले काहीँ नखाएको विष पनि लाग्ने र आफू अहिले त्यसैको शिकार भएको बताएका छन् ।

घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन्।

स्ट्याटसमा गुप्ताले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार बनेको दाबी गर्दै अरू कोही यसरी नपरोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, “कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु।”

आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् र सत्य तथ्य बाहिर आउन सकोस् भन्ने उद्देश्यले आफूले पद त्यागेको गुप्ताले बताएका छन्।

घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा बुझाएका हुन् ।

घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए ।यसअघि साेमबारमात्र प्रधानमन्त्री ओलीले घुस डिल प्रकरणमा मुछिएपछि मन्त्री गुप्तालाई बालुवाटार बोलाएर  सोधपुछ गरेका थिए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री गुप्ताले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएको पुष्टि गरे । ‘मन्त्री गुप्ताले प्रधानमन्त्री ओलीज्यूलाई भेटेर राजीनामा बुझाउनु भएको छ,’ बर्तौलाले भने ।

घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न सरकारको नेतृत्वकर्ता दल एमाले, कांग्रेस र विपक्षी दल माओवादी केन्द्रसहितका दलका सांसदहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई काखी च्यापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षयुुक्त आलोचना गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रतिपक्षी दलको पनि आलोचना गरेका छन् ।

‘मन्त्री क्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन् । आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ भ्रष्टाचार आरोप लागेका एमाले नेता समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’

घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सोमबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यसपछि उनी सोमबार साँझ आयोजित मन्त्रिपरिषद् बैठकमा समेत सहभागी भएका थिए । घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्नेमा काखी च्यापेको भन्दै अहिले प्रधानमन्त्री ओलीको आफ्नै दलका सांसद र नेताले समेत आलोचना गरिरहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।