काठमाडौं- नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताएकी छन् ।
बुधवार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताइन् ।
कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गरिन् । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताइन् ।
मन्त्री न्यौैपानेले भनिन्– ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्छ । प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन सक्दैन । संघीयता सुदृढ हुन सक्दैन । कर्मचारी व्यवस्थापनमा समस्या छ । तीन तहका कर्मचारी व्यवस्थापनमा जुन प्रकारको समस्या छ, त्यो तीन तहको कर्मचारी व्यवस्थापनलाई सबैभन्दा पहिला ध्यान दिनुपर्छ भन्ने उद्देश्य छ । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ ।’
मन्त्री न्यौपानेले जनतालाई आभाष हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गरिा् ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई आम माफी दिएको छ।
इस्लाम समुदायको ईद अल–अदाहका अवसरमा उनीहरुलको बाँकी कैद मिनाहा गरेको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । नेपालीहरुलाई आम माफी दिएकोमा दूतावासले यूएई सरकारप्रति आभार प्रकट गरेको छ ।
मजदुरीका अवसरमा त्यहाँ गएका नेपालीहरू विभिन्न कसुरमा जेल पर्ने गरेका छन् । गम्भीर अपराधमा संलग्न बाहेकलाई त्यहाँको सरकारले आम माफी दिएको हो । त्यहाँको सरकारले यसअघि पनि विशेष अवसर पारेर चालचलन सुध्रिएका र गम्भीर अपराध नगरेकाहरुको सजाय मिनाह गरेर आम माफी दिने गरेको थियो ।

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार (आज) बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रचार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार यसअघि बसेको पार्टीको कार्यकारिणी समितिको निर्देशनअनुसार नै संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको हो। यसअघि असार ८ र ९ गते बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकार पूर्णत: असफल भइसकेको निष्कर्ष निकाल्दै समर्थनबारे पुनर्विचारका लागि निर्देश गरेको थियो।
त्यसअनुसार नै आज संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बस्नेतले जानकारी दिए।
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जना लगाइएको छ।
तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार हर्जना लगाइएको हो। सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ। जुन करिब दैनिक २ लाखभन्दा बढी हुने सहरी विकास मन्त्रालयले जनाएको छ।
मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए।
प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालका प्रमुख चक्रवर्ति कण्ठले सआर ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए। ‘असार ३० गते नै निर्माण कम्पनीहरुलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौं। मंगलबारदेखि उहाँहरु दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ। अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने।
यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए। सो अवधिमाा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ।
तर, निर्माण कम्पनीले १ महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ। चार हजार कुर्सि फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ। प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।
काठमाडौं । महानगर यातायात प्रालिले आज (बुधबार) देखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए ।
उनले भने, ‘सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।’ कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए । सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवद्र्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगर प्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए लगत्तै नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगर प्रमुख साहलाई सोधपुछ गरिरहेको छ । कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनु पर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन्। निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको बताए । नयाँ मन्त्री पनि आइसकेको उनले उल्लेख गरे ।
उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही गरिने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनले स्पष्ट पारे । ‘सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नु भएको छ । अर्को मन्त्री आइसक्नु भएको छ । यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला’, उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनु पर्छ भन्ने कुरा रहँदैन ।’
मन्त्री गुरुङले गल्ती गर्ने जोकोही भए पनि कारबाही गरिने बताए । ‘हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसको लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ’, उनले भने, ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी, जो भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो ।’
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।
इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयँ कायम भएको छ ।
सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।
विराटनगर-४, कन्चनबारीस्थित नोबेल शिक्षण अस्पतालमा आज कोक्लियर इम्प्लान्ट (Cochlear Implant) सम्बन्धी एक पत्रकार सम्मेलनको आयोजना गरियो।
काठमाडौं बाहिर नेपाल मै पहिलो पटक जन्मजात कान सुन्न नसक्ने वालकहरूको सफलतापुर्वक कोक्लियर इम्प्लाण्ट शल्यक्रिया गरी सुन्न सक्ने बनाएको अवसरमा कार्यक्रमको आयोजना भएको हो ।
पत्रकार सम्मेलनमा नोबेलका संचालक समितिका सल्लाहाकार श्री सोइना शर्मा, अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, नाक कान घाँटी रोग विभागकी प्रमुख डा. मीनाक्षी बस्नेत र नाक कान घाँटी विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति रहेको पत्रकार सम्मेलनको सहजिकरण अस्पताल महाप्रबन्धक श्री दीपेश राईले गर्नु भएको थियो ।
कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको फाइदा र नेपालमा यसको उपलब्धताका बारेमा विस्तृत जानकारी दिइएको थियो । साथै सुन्ने समस्या भएका बालबालिकालाई समयमै उपचार गराउनु पर्नेमा जोड दिइएको थियो । डा. शंकरप्रसाद साह नेतृत्वको टोलीबाट हालसालै सफलतापुर्वक सम्पन्न कोक्लियर इम्प्लाण्ट शल्यक्रिया पछि ती बालकहरूले श्रवण शक्ति प्राप्त गरेकोमा सवैले खुशी व्यक्त गरेका थिए । सो क्रममा पत्रकार तथा अन्य उपस्थितहरूको जिज्ञासाहरूको डा. मीनाक्षी बस्नेत, डा. शंकरप्रसाद साह तथा अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालबाट प्रष्ट पारिएको थियो ।
कार्यक्रममा सफल कोक्लियर इम्प्लान्ट शल्यक्रियापश्चात् सामान्य जीवनमा फर्किएका बालबालिका र उनीहरूका परिवारजनले आफ्ना अनुभवहरू सुनाएका थिए। परिवारजनले आफ्ना सन्तानले सुन्न र बोल्न थालेपछि जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गरे।
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ।
वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। बाध्यताले अलमल्याउन सक्छ। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयाेग्य पहिरन, व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। आफन्तकाे स्नेह, सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगाे फाइदा हुने काम थालनी हुनेछ।
तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हातपार्न सफल भइनेछ। काम थाल्नुअघि याेजना सार्वजनिक नगर्नुहाेला।
धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।