२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तालिका तय भएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ता एमाले मुख्यालय च्यासलमा भएको हो ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, उनीहरूबिच करिब दुई घण्टा लामो छलफल भएको छ ।

छलफल समसामयिक विषयहरूमा केन्द्रित रहेको बुझिएको छ, तर विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन । भेटपछि पूर्वराष्ट्रपति भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन् । उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए । जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन् ।

‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,’ उनले भनिन् । उनकाअनुसार आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,’ उनले भनिन्।

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयले मध्यान्ह १२ बजे दिएकाे जानकारी अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् ।

यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किने भएका छन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन थालेका छन् । उपमहानगरका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा प्रवाह गरी आन्दोलनको सुरुवात गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटनाको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

हेटौंडाका वडाअध्यक्षहरुले दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेबल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् । ‘वडाध्यक्षमाथि आक्रमण भएको एक महिना भइसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुर प्रहरी प्रशासनको लाचारीपन हो,’ हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’

वडाध्यक्ष न्यौपानेमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी– प्रशासनको चौतर्फी विरोध भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा नबस्ने जनप्रतिनिधिले जनाएका छन् ।

करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए । प्रहरीले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्य समेत गर्न छोडेको आरोप जनप्रतिनिधिको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ।

२० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो।

उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन् भनेर गल्फ न्युजले लेखेको छ।

उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो।

कतिपय समय उनका शरीरमा हुने स-साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए। उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे।

त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ।

उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठीक हुने डाक्टरहरूलाई बताउने गर्थे।

शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राजकुमार वालिद ‘स्लिपिङ प्रिन्स’ नामले चिनिन्थे।

दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ उपनाम दिइएको थियो।

पर्वत । गए राति पर्वतमा पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता भएका छन् । घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।

‘पहिरोले राति घर पुरिँदा पति–पत्नी बेपत्ता भएका र बुहारी ३२ बर्षीया पवित्रा बिकले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ ।’ रातिको घटना भएपछि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कारोबारबाट राम्रै फाइदा हुने दिन छ, फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्‌नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सम्मान प्राप्त हुने समय छ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत आजको दिन राम्रो देखिन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । आत्मविश्वासमा बृद्धि हुनाले हाँकेताकेको काममा सफलता प्राप्त हुनेछ । प्रेमप्रसङ्ग र भावनात्मक क्रियाकलापमा समेत भुलिन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । घरायसी सुखसुविधा बढाउन वा चलअचल सम्पत्ति खरीद गर्ने योजना बनाउने दिन हो । कसैसँग सहयोगको अपेक्षा गरेमा निराश हुनुपर्दैन । खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्‌नो सही पहिचान कायम गर्न सकिने छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्‌नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । श्रेष्ठ र शुभ कर्ममा आकर्षण बढ्नेछ, कुनै यज्ञयागादि वा माङ्गलिक कार्य गर्ने योजना बनाउने वा पारिवारिक सल्लाह हुने समय छ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।