२०८३ असार १० गते बुधबार
२०८३ असार १० गते बुधबार

हेटौँंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो।

शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेस प्रदेशसभाका एक सदस्यले बताएका छन्। अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका २१ सांसदहरूले हस्ताक्षर गरेका छन्।

आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो। उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो। उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो।

कांग्रेस संसदीय दलको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री रहन्छन्। अविश्वासको प्रस्तावले सार्थकता पाए बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तन हुनेछ। बागमती प्रदेशमा कांग्रेसबाट ३७ जना निर्वाचित सदस्य छन्। कांग्रेस बागमती प्रदेशसभाको सबै भन्दा ठूलो दल हो।

बागमती प्रदेश सभापति इन्द्र बाँनियाले लामाप्रति असन्तुष्टि बढेको प्रतिक्रिया दिएका छन्। २१ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर भएको उनको दाबी छ।

यता लामा नेतृत्व बागमती प्रदेश सरकारका चारजना मन्त्रीले राजीनामा दिएका छन्। सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा पदबाट राजीनामा दिएका हुन्।

सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिबाना गर्ने काठमाडौँ महानगरपालिकाले बताएको छ ।

हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिबाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेकाअनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाइकल स्कूटरलाई एकहजार जरिबाना गरिनेछ । सबै किसिमका चारपायें सवारी साधन ९कार, जीप, डेलिभरी भ्यान० लाई २५०० जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनिबस, मिनी ट्रक लगायतलाई ३ हजार ५ सय जरिबाना गरिँदै छ ।

सबै किसिमका ठुला सवारी साधन । बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्नेछ ।

पाण्डेले भने ‘सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो । नगहालैको नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिबाना गर्ने निर्णय भएको छ । निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूम्रपान निषेध गरिएको छ ।’

पर्चा, पम्प्लेट, पोस्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ ।

सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्याएमा पाँच सयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।

काठमाडौं । इरानको जेलबाट छुटेका पाँच नेपालीलाई सरकारले नेपाल ल्याएको छ । परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) दिएको जानकारीअनुसार इरानको जेलमा थुनामा रहेका पाँच नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो ।

तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ । तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन । यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी नौं नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी मन्त्रालयले दिएको छ ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समिति बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् । एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन रञ्जितालाई चुनौती दिएका हुन् । उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नु हुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नु हुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ । नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’ उनले पार्टीलाई अगाडि बढाउन छलफल गर्न आवश्यक भएको भन्दै बैठकमा आउन आग्रह गरेका छन् । श्रेष्ठले अहिले बोलाइएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने चौधरीको भनाइ छ ।

उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईका कारण सिर्जना भएको हो । तपाईका कारण समस्या सिर्जना भए पनि हामीले तपाईसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाई केन्द्रीय समितिको बैठकमा आउनु पर्छ । स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनु भएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’ उनले पार्टीलाई बन्धक वा निरंकश बनाउन नपाइने भन्दै निकास दिन आग्रह गरेका छन् ।

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा कुनै लोभलालच नरहेको स्पष्ट पारेकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको सर्वोच्च पद राष्ट्रपतिको जिम्मेवारीमा पुगेको भन्दै पदको लोभ नभएको बताएकी हुन् ।

उनले राजनीतिको सेवा गर्ने र समृद्धिलाई अगाडि बढाउनु आफ्नो उद्देश्य भएको बताएकी छन् । उनले भनिन्, ‘जिम्मेवारी पूरा गरेकैले राष्ट्रपतिमा निर्वाचित भएको हुँ । बाँकी जीवन देश र जनताको सेवामा लाग्न समर्पित भएको हुँ । ममा कुनै लोभ छैन। किन कि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम लेखिसकेको छु । राजनीतिमा सेवा गर्ने, समृद्धिलाई अघि बढाउनु नै मेरो उद्देश्य हो ।’

‘म मेरो विचारमा विचलित छैन’
पूर्व राष्ट्रपति भण्डारीले आफू आफ्नो विचारमा विचलित नभएको स्पष्ट पारेकी छन् । पार्टी सदस्यता नवीकरण नभएको भन्दै नेकपा एमालेले विज्ञप्ति जारी गर्ने, नेताहरूले अभिव्यक्ति दिने र केन्द्रीय समितिको बैठकबाट निर्णय भएसँगै उनले यसबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन् ।

‘पार्टी हजारौँ सदस्यको रगत–पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन । जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,’ उनले थपिन्,‘’निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ ।’

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन् । ‘पार्टीलाई थप ‍सशक्त बनाउन सामाजिक ढंगले एकता र सुदृढ गर्नु दायित्व हाम्रै हो,’ उनले भनिन्, ‘यसका निम्ति हामी सबैको निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो । यसो हुँदा जनेता भण्डारीको विचारपालन र देशलाई समृद्ध बनाउन सकिन्छ ।’

बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन्। युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्।

बागमती प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा विवाद उत्पन्न भएपछि कांग्रेसकै मन्त्रीहरू असन्तुष्टि भएका थिए। उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले आफ्नो क्षेत्र निकट बजेट खन्याएको आरोप लगाएका थिए।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।  महर्जनले प्रदेश सरकारको एक वर्ष असफल भइसकेको बताएका छन्।

उनले अर्थमन्त्री काफ्लेले बजेट निर्माणको क्रममा लापरबाही गरेको आरोप लगाए। ‘बजेट विवादको विषय यहाँहरूलाई थाहा नै छ। यस्तो असफल सरकारमा बस्नुभन्दा राजीनामा दिएकै बेस भनेर चारैजना मिलेर राजीनामा दिएका हौँ’, उनले भने , ‘अब हामी मुख्यमन्त्री विरुद्धपनि अविश्वासको प्रस्ताव दर्ता गर्दैछौँ। ’

३७ जना कांग्रेस सांसद रहेको बागमती प्रदेशमा २४ जना सांसदहरूले संसदीय दलमा हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका तयारीमा रहेको उनले बताए।

काठमाडौं । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बहिष्कार गर्दै आएको रास्वपाप्रति नेपाली कांग्रेसका प्रमुख सचेतकले कटाक्ष गरेका छन् ।

आज (शुक्रबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसामा गएर विदेशमा घरजम गरेको व्यक्ति स्वदेशमा फर्केर गृहमन्त्री र मन्त्री बनिसकेको भन्दै चिन्ता नगर्न रास्वपासँग आग्रह गरेका हुन् ।

‘भिजिट भिसाको छानबिन माग गरिरहेका रास्वपाका साथीहरू धेरै चिन्ता नगर्नुस्, हामीले अभ्यास गरिसकेका छौं । भिजिटमा बाहिर जाने, त्यही नागरिकता लिने, त्यही घरजम गर्ने, केही समयपछि नेपाल फर्केर दुई-चार वटा काण्ड मच्चाएर पार्टी खोल्ने, गृहमन्त्री हुँदै उपप्रधानमन्त्री बन्ने,’ रास्वपा सभापति रवि लामिछाने र सुमना श्रेष्ठप्रति कटाक्ष गर्दै घिमिरेले भने ।

यसअघि संसद्को बैठकमा गृहमन्त्री रमेश लेखकले लामिछाने स्वयं भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएको सूचना रहेको बताएका थिए । कांग्रेस सचेतक घिमिरेले भिजिट भिसामा गएर उतैको पासपोर्ट लिनु गलत काम भएको बताए ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले शुक्रवारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेको थियो । बहिष्कार अघि रास्वपा सांसद विनिता कठायतले संसदीय छानबिन समितिको मागमा आफूहरू यथावत् रहेको बताएकी थिइन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन गर्दैछिन् । भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो । असार १४ गते ७४ औं मदन जयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा ‘ब्रेक’ लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

पत्रकार सम्मेलनमा उनले आफू निकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन् । एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन् । विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनी निकट नेताहरूले जानकारी दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले काउन्टरको तयारी गरेकी छिन् । भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ ।

एमालेले आफूलाई रोक लगाएकै दिन भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् । एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए ।

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्‍याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।