२०८३ असार १० गते बुधबार
२०८३ असार १० गते बुधबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएका छन् ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रूपमा सम्बन्ध विच्छेदको चरणमा पुगेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकमा देशको अवस्था र कमजोरीको आत्ममूल्यांकन गर्नुपर्ने सन्दर्भमा एक शायरी सुनाएका छन् । उनले केही समयअघि गृहमन्त्री रमेश लेखकले सुनाएको मिर्जा गालिबको शायरीलाई सम्झँदै देशका समस्याहरूको जड आफ्नै कमजोरीमा खोज्नु पर्ने बताए।

बुधबार राष्ट्रियसभामा नेपालको स्तरोन्नति सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले भने, ‘केही अगाडि माननीय गृहमन्त्री रमेश लेखकजीले प्रतिनिधिसभामा गालिबको शायद एउटा शायरी सुनाउनु भएको थियो ।’ उनले सो शायरी उद्धृत गर्दै भने ‘एक ही भूल मैं जीवन भर करता रहा, धूल लगी थी चेहरे पे, पर मैं आईने को पोछता रहा ।’

उनले अर्थ सुनाए, ‘एउटै गल्ती म जीन्दगीभर गरिरहेँ, धुलो अनुहारमा लागेको थियो तर म ऐना पुछिरहें ।’ शायरीमार्फत उनले देशका समस्या र चुनौतीहरूको समाधानका लागि अरूलाई दोष दिनुको सट्टा आफ्नै कमजोरी हटाउनु पर्नेमा जोड दिए ।

‘आफ्नो अनुहार पनि सफा राखौँ, ऐना पनि पुछपाछ गरौं । अनुहारमा धुलो लागेको छ, तर ऐनामा आफूलाई कालो देखेर ऐना पुछेर हुँदैन,’ उनले भने । ओलीले नेपालले राष्ट्रिय रूपमा आफ्ना कमजोरीहरू हटाउनुपर्ने र यस्तो चुनौतीपूर्ण विश्व व्यवस्थामा एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । नकारात्मक दृष्टिकोण र आत्मश्लाघाबाट माथि उठेर यथार्थपरक हुन पनि उनले सबैलाई आग्रह गरे ।

काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानियाँ २२ सांसदको मतसहित विजयी भएका हुन । लामाले १४ सांसदको मत पाएका छन् ।

एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले बहादुर सिंहसँग ३१ महिनाअघिको हारको बदला लिएका छन् । २०७९ पुस १३ गते बानियाँलाई लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । त्यतिबेला लामाले २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए ।

लामाविरुद्ध मंगलबार संसदीय दलमा अविश्वास प्रस्ताव पारित भएको थियो । कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलमा ३७ सदस्य रहेकामा अविश्वास प्रस्तावको पक्षमा २२ मत परेको थियो । संसदीय दलको नेतामा पराजित भएसँगै बहादुर सिंहको मुख्यमन्त्री पद धरापमा परेको छ । यद्यपि उनले अहिले नै राजीनामा दिनु नपर्ने बताउँदै आएका छन् ।

आफू दलको नेताको हैसियतमा भन्दा पनि गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएको भन्दै संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने लामाले बताए । ‘राजीनामा गर्नुपर्ने अवस्था नै छैन। यो गठबन्धन सरकार हो,’ मुख्यमन्त्री लामाले भने ।

मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने बहादुर सिंहले पद छाड्नु पर्ने बताए । ‘वर्ष दिनअघि वर्तमान मुख्यमन्त्री र इन्द्र बानियाँबीच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो,’ महर्जनले भने, ‘लिखित सहमति अनुसार राजिनामा नदिएकाले बाध्य भएर हामी बहुमत सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हौं । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने नेपाली कांग्रेसको विधानमा प्रष्ट छ ।’

बहादुर सिंह २०८१ साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बजेट विवादका कारण आफ्नै गुटका सांसदहरु विपक्षमा उभिएपछि उनीविरुद्ध बानियाँले साउन ९ गते कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । आफ्नै पार्टीमा विश्वासको मत गुमाएका बहादुर सिंहले बुधबार तीन जना मन्त्री नियुक्त गर्न खोजेकामा सत्ता सहयात्री नेकपा एमालेले त्यो बाटोमा नजान भनेपछि लामा ब्याक भएका थिए ।

काठमाडौँ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जना, २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जनाको शव नेपाल ल्याइएको छ ।

४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ जना रहेका छन् ।

त्यसैगरी ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना, ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको हो ।

तथ्यांक अनुसार देशको सबैभन्दा उत्पादनशील र सक्रिय युवा जनशक्तिले विदेशमा ज्यान गुमाइरहेको छ ।

यो अवधिमा वैदेशिक रोजगार विभागले ४८१ जनाको शव झिकाएको थियो भने एक हजार ८६ शव घरसम्म पुर्‍याएको थियो ।

विभागले एक वर्षको अवधिमा एक हजार ५१७ जना मृतक कामदारका परिवारलाई एक अर्ब २ करोड ३४ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिँदै आएको छ ।

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नु अकल्पनीय विषय भएको बताएका छन् । आज (बुधबार) जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषय प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसाबले विद्यादेवी भण्डारी उपयुक्त नहुने कुरा आफूले राखेको पनि महासचिव पोखरेलले बताएका छन् । विद्या भण्डारीको निवासमै गएर आफूले तपाईंले इच्छा नगर्दा राम्रो हुने सल्लाहसमेत दिएको उनको भनाइ छ । तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासचिव पोखरेलले बताए ।

‘असहमतिका बाबजुद पार्टीले निर्णय गर्‍यो र दुई कार्यकाल राष्ट्रपतिको कार्यकाल पूरा गर्नुभयो,’ उनले भने, ‘उहाँ राजनीतिमा फर्कनु होला भन्ने लागेकै थिएन ।’ पोखरेलले पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार उहाँ (विद्या भण्डारी) सम्मानित भएर बस्नुपर्ने बताए । ‘पार्टीको दृष्टिकोण त्यही हो उहाँले पार्टीको नीति र निर्णयलाई मनन गर्नु हुनेछ । पार्टी पद्धतिको पालना गर्नु हुनेछ,’ उनले भने ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष पदबाट हटाएको जानकारी पत्र निर्वाचन आयोगलाई पठाएको छ । अध्यक्षले नै विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण देखाइ उनलाई अध्यक्ष पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । त्यसको पार्टीभित्रैबाट विरोध भएको थियो । रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो । रञ्जिताले तोकिएको समयभित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले आयोगलाई दिएको हो ।

रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । अनुशासन समितिले गरेको कारबाहीलाई मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने जनाइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा छन् । पार्टीभित्र विवादित बनेकी श्रेष्ठबारे आवश्यक निर्णय लिन नाउपाको राष्ट्रिय भेला बुधबारका लागि बोलाएको छ । श्रेष्ठलाई कारबाहीका लागि अनुशासन समितिले गरेको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने भएको छ ।

काठमाडौं । भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासी बहाव बढेको हो ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको जानकारी दिएका छन् । ‘नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपानाउन सूचना जारी गरिसकेका छौँ,’ उनले भने ।

नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ । बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ डीएसपी शाहीले सुनाए, ‘बाढीले ७÷८ ठाउँमा सडक बगाएको छ ।’ बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए ।

‘स्याप्रुवेसीदेखि टिमुरे–रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध । झण्डै सात–आठ ठाउँमा सडक बगाएको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।’

‘गए राति रसुवा क्षेत्रमा ठूलो परेको छैन,’ उनले भने, ‘तिब्बततिर भएको वर्षाले यो बाढी आएको हो कि हिमताल फुटेर आएको हो, अहिले भन्न सकिने अवस्था छैन । तर, बाढी असार २४ कै जत्रो छ। तिब्बत क्षेत्रमा कतै हिमताल फुटेको पनि हुनसक्छ ।’

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

बाढीले नुवाकोट र रसुवाको सीमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो ।

यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो । असार २५ गते बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढी तहसनहस भएको थियो । चीनको तिब्बत हुँदै बग्ने केरुङ र ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिंदा विनाशकारी रूप लिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले असार २९ गते बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा दिएको जानकारी अनुसार भोटेकोशी नदीको बाढीमा परेर ११ शव तथा मानव अंग भेटिएका छन् । चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् ।

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज (बुधबार) मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ । नामावलीमा दाबी–विरोध गर्न बिहान ८ः३० देखि ९ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११ः३० बजे सार्वजनिक गरिनेछ । उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।

अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ ।

मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ । मंगलबार गठन गरिएको समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन् ।

मुख्यमन्त्री बन्ने दाउमा बानियाँ
यो पटक बागमती प्रदेश सभापति एवं प्रदेश सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने लाइनबाट पछि नहट्ने रणनीतिकमा छन् । बानियाँकै नेतृत्वमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मंगलबार संसदीय दलको नेताका लागि भएको मत विभाजनको नतिजाले समेत बानियाँ थप हौसिएका देखिन्छन् ।

बागमतीमा कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य छन् । लामाको पक्षमा १५ जनाले मत जाहेर गरेका थिए भने २२ जनाले विपक्षमा मत दिएका थिए ।

यसअघि १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए । त्यस बेला बानियाँले १६ मत पाउँदा लामाले २१ मत पाए। संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री बने । त्यसैले पनि बानियाँ पुनः मुख्यमन्त्री बन्ने दाउका साथ संसदीय नेताका लागि निर्वाचनमा दोस्रोपटक भिड्न लागेका छन् ।

बानियाँले मत विभााजको नतिजा सार्वजनिक भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वर्तमान मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले संसदीय दलको नेताको हैसियतले लामा मुख्यमन्त्री बनेकाले विश्वासको मत गुमाएपछि नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै उनले पहिलो चरणमा अविश्वासको प्रस्तावबारे निर्णय भएको र दोस्रो चरणमा संसदीय दलको नेता चयनको काम कांग्रेस प्रदेश कार्यसमितिले गर्ने बताए । त्यसपछि सरकारबारे निर्णय हुने बानियाँले भनाइ थियो ।

उता मुख्यमन्त्री लामाले भने आफूविरुद्ध प्रपञ्च रचिएको बताए। उनले दलमा विश्वासको मत नपाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताए । उनले संसदीय दलको नयाँ नेता चयनका लागि आफूले दलभित्र छलफल गर्ने बताए ।

बागमती प्रदेश सरकार गठबन्धनमा आधारित रहेकाले सरकार र संसदीय दल फरक–फरक विषय भएको धारणा उनले राखे । मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । जसमध्ये सत्ता गठबन्धनमा आबद्ध एमालेका ६ जना मन्त्री र कांग्रेसका ८ मन्त्री छन्। जसमध्ये ५ जना कांग्रेसका प्रदेश मन्त्रीहरू युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिइसकेका छन् ।

यस्तै मंगलबार खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।