
उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो।
तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ।
तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम साहले भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूले राजीनामा दिने बित्तिकै छानिबन गर्न नपर्ने हो भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो । भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा भनेको भ्रष्टाचार को अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृष्य शक्तिको संरक्षण दिएको छ । के उहाँको लागि अर्कै कानुन छ । छानबिन गर्नु पर्दैन ।’
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले ७० दिनदेखि रास्वपा र राप्रपाले आफ्नो कुरा राखेर बैठक बहिष्कार गरेर हिँडेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै दुई पार्टीले उठाएको विषयमा सरकार र संसदको ध्यानाकर्षण भइसकेको बताएका छन् ।
उनले भने, ‘कति दिनसम्म यो चल्ने हो ? संसदमा उभिएर सधैँ गाली गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने सांसद यहाँ को छ ? के भन्न खोजेको ? ‘गोयबल्स शैली’ मा झूटो कुरा प्रचार गरेर आज जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने काम बन्द हुनुपर्छ ।’
उनले रास्वपा र राप्रपाको गतिविधिले संसद्को गरिमालाई कमजोर पारेको बताएका छन् । उनले दुई पार्टीको शैलीमा आपत्ति जनाउँदै गालीगलौजको प्रतिवादमा उत्रिने समेत चेतावनी दिएका छन् ।
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।
ईपीएसमार्फत कोरियामा नेपाली कामदार पठाउने प्रयोजनका लागि प्रथम चरणको भाषा परीक्षाका लागि आवेदन खुला गरिएको हो । एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको हो ।
उक्त क्षेत्रको भाषा परीक्षामा पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक क्षेत्र, एक हजार ८०० कृष तथा पशुपालन क्षेत्रको कोटा छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्तीर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्र्तिण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउने छन् ।
१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । त्यस्तै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैह्र कानूनी रूपमा बसोबासगरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने योग्यता रहेका छन् । आवदेन साउन २६ गतेदेखि ३१ गतेसम्म दिन सकिनेछ । परीक्षा भने काठमाडौंमा हुनेछ ।
व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।
राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो ।
त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दु:ख पाएका थिए ।
त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार अब एकपटकका लागि भने त्यो मौका मिलेको हो ।
‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।’
अब गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिनेछ ।
काठमाडौं । दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेबाट खुल्ने भएको छ । कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया)ले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो ।
एचआरडीका अनुसार साउन २६ देखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । कुन–कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषय भने नखुलाइएको एचआरडी कोरियाले जनाएको छ ।
दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ।
साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ । साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । त्यस बेलादेखि नै पशुपतिनाथमा भक्तजनको घुइँचो छ ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्ष्यित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।
यस वर्षको साउनको पहिलो सोमबारदेखि कोषको अग्रसरतामा चक्रपथमा चार वटा बस भक्तजन ल्याउन चलाइएको छ । निःशुल्क चलाइएको यी बसमार्फत् भक्तजनले सहज रुपमा पशुपतिनाथमा आएर दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन् ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलालेयोग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।
घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा चार वटा सोमबार परेकामा आज तेस्रो सोमबार विगतका दुई सोमबार भन्दाबढी भक्तजनको घुइँचो देखिन्छ । साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ । पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।





