२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन्।

‘अब लर्याङतर्याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनै पर्छ । स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले कतै अवरोध छ भने हटाउनु पर्छ । प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको करिब २४ अर्बभन्दा धेरै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता असुली सम्बन्धी विवादले नयाँ मोड लिएको छ । वर्षौंदेखि अल्झिएको र सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको यो विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको हो ।

अख्तियारले प्राधिकरणका पछिल्ला केही निर्णयहरू माथि प्रश्न उठाउँदै सम्पूर्ण सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

‘डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका ग्राहकहरूको बक्यौता रकम उठाउन माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाहरू विचाराधीन रहेको अवस्थामा छ । अनियमित तरिकाले महसुल छुट दिने दुराशय राखेर विनियमावलीमा नयाँ व्यवस्था गरी भ्रष्टाचारजन्य कार्य गरेको ब्यहोराको उजुरी परेको उल्लेख छ ।

यही उजुरी माथि छानबिन गर्न अख्तियारले प्राधिकरणको सञ्चालक समितिको मिति २०८२ वैशाख २१ को बैठकको उपस्थिति सहितको निर्णयको प्रति र प्रशासकीय पुनरावलोकन समितिले गरेका कामकारबाही तथा निर्णयहरूको प्रमाणित प्रतिलिपि माग गरेको छ’, अख्तियारले प्राधिकरणलाई पठाएको पत्रमा उल्लेख छ ।

अख्तियारले प्राधिकरणलाई असार २९ गते पत्र काटेपछि प्राधिकरणमा साउन ४ गते पत्र दर्ता भएको थियो । आयोगले तोकेको १५ दिनको समय सीमाभित्र प्राधिकरणले उपलब्ध गराउने कागजात र त्यसपछिको अनुसन्धानले नै यो प्रकरणको वास्तविकता उजागर गर्नेछ ।

लोडसेडिङको सामना गरिरहेको बेला प्राधिकरणले औद्योगिक तथा व्यापारिक ग्राहकहरूले उद्योगीलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् दिएको थियो । प्राधिकरणका अनुसार यस्तो बक्यौता र जरिवाना गरी करिब २४ अर्ब रुपैयाँभन्दा बढी रकम असुल गर्न बाँकी छ ।

प्राधिकरणले बक्यौता तिर्न पटक-पटक सूचना निकालेर उद्योगीले पैसा नतिरेपछि लाइक काट्दै जोड्दै गरेको थियो ।

सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै बेला महसुल छुट दिने मनसायले विनियमावली संशोधन गर्ने र प्रशासकीय पुनरावलोकन समितिमार्फत निर्णय गराउन खोजेको भन्दै अख्तियार प्राधिकरणमा पसेको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीका मुख्य आरोपित जीबी राई किन पक्राउ नपरेको भन्दै सरकारलाई प्रश्न गरेको छ ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् ।

‘जीबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? जीबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र ?’ सांसद चौधरीले गिरिबन्धु टी–स्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन् । ‘गिरिबन्धु टी–स्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र बहालवाल मेयर लगायतका विभिन्न व्यक्ति थुनामा रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै उनले भने, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भने जसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’

भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्ने प्रधानमन्त्री ओलीले बताए । ‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही नै हो ? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौं व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन–कुन मान्छेमाथि प्रतिशोध भएको हो ?,’

प्रधानमन्त्री ओलीले भने, ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्नेछ । यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ ।’
सहकारीमा भएको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै उनले कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप प्रधानमन्त्री ओलीले लगाए ।

‘सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा चलिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहेका दर्जनौं व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अदालतले थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर विदेशी नागरिकता लिएर, नेपालमा मन्त्रीसम्म भएका व्यक्तिले इमोसनल ब्ल्याकमेलिङमार्फत आफ्नो स्वार्थको रोटी सेक्ने काम गरेको आरोप लगाए ।

उनले भने, ‘भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुई–दुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन । यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।’

सार्वजनिक शौचालय भन्ने बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्ने बित्तिकै नाक थुन्नुपर्ने पनि हुनसक्छ ।

अर्काेतर्फ, यस्ता शौचालयमा फरक क्षमता (अपाङ्गता), स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पना बाहिर । तर आजदेखि कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक सञ्चालनमा ल्याइएको अत्याधुनिक (स्मार्ट) सार्वजनिक शौचालयमा ती सुविधा छन् ।

उपत्यका बाहिरिन र भित्रिन सधैँ काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र ढुङ्गेअड्डामा सधैँ भीडभाड हुने गर्दछ । यात्रु, सर्वसाधारण तथा बटुवाले सार्वजनिक शौचालयका अभावमा अत्यन्त सकस खेप्दै आएका थिए ।

चन्द्रागिरि नगरपालिकाको सहकार्य, चन्द्रागिरि–१५ को सहजीकरण तथा एरोसान सस्टेनेवल स्यानिटेशनको करिब रु एक करोडको लागतमा सो ‘स्मार्ट’ शौचालय करिब दुईआना जमिनमा बनेको हो । यसको सञ्चालन तथा व्यवस्थापन सोही संस्थाले गर्ने जनाइएको छ ।

शौचालयमा रोग सङ्क्रमण न्यूनीकरणका लागि स्वचालित उपकरणजस्तै स्वचालित फ्लस, बत्ती, साबुन, धारा छन् भने अलग स्नानकक्ष र महिलाको लागि स्तनपान कक्ष तथा ‘स्यानिटरी प्याड’ किन्ने व्यवस्था गरिएको छ । नगर क्षेत्रमा पहिलोपटक वातावरण तथा महिलामैत्री शौचालय सञ्चालमा आएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले एरोसान सस्टेनेवल स्यानिटशनेसँगका सहयोग र सहकार्यमा नगरका अन्य विभिन्न तीन स्थानमा यस्तै ‘स्मार्ट’ शौचालय बनाइने जानकारी दिए ।

चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले सर्वधारणाको चाप रहने स्थानमा शौचालयको सुविधा दिनुपर्ने स्थानीय सरकारको दायित्व र सर्वधारणाको हक समेत रहेको हुँदा एरोसान सस्टेनेवल स्यानिटेशनसँगका सहयोग र सहकार्यमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको बताए । उनले भने, ‘सर्वसाधारणले फोहर फाल्दै आएका स्थानलाई उपयोग गरेर शौचालय बनाइएको र यसले ओगटेको क्षेत्र बाहिर हरियाली उद्यान बनाइने छ ।’

शौचालयलाई वातावरणमैत्री बनाउन शौचालयबाट निस्केको ठोस तथा तरल पदार्थलाई स्रोतमै व्यवस्थापन गर्न बायोग्यास प्लाण्ट, आकाशेपानी सङ्कलन गरिने लक्ष्य रहेको एरोसान सस्टेनेवल स्यानिटेशनका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले जानकारी दिए ।

नेपालमा ‘स्मार्ट’ सार्वजनिक शौचालयको परिकल्पनाकार स्व प्रकाशचन्द्र अमात्य अवधारणाअनुसार सो ‘स्मार्ट’ शौचालय सञ्चालनमा ल्याइएको हो । उनी एसोसान नेपालका संस्थापक अध्यक्ष समेत थिए ।

एरोसान सस्टेनेवल स्यानिटेशनले काठमाडाँै र ललितपुर महानगरपालिकासँगका सहकार्यमा ती सहरका विभिन्न स्थानमा स्नानगृहसहितको नौवट ‘स्मार्ट’ शौचालय निर्माण तथा सञ्चालन गर्दै आएको छ ।

काठमाडौँ । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।

जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

प्रहरीका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।

सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए ।

घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

काठमाडौं- जिल्ला कारागार रुपन्देहीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमान् भेट्न घरबाट निस्कँदा पिछा गरेको भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले श्रीमान् भेट्न घरबाट निस्कँदा पिछा गरिन्छ, यो कस्तो न्याय प्रणाली हो ?भन्दै प्रश्न गरेकी छिन् ।

उनले आफ्नो श्रीमानको पक्राउदेखि अदालतको आदेशसम्मका प्रक्रियामाथि प्रश्न उठाएकी हुन् ।

सामाजिक सञ्जालमा उनले भनेकी छिन् 

गृहमन्त्री रमेश लेखकजी नमस्कार,

आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ?

अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ,

तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?

उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ? मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ? न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो ऑट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना ?

मैले केही सांसदहरूले भनेको सुनेको थिएँ न्यायाधीशहरूलाई प्रधानमन्त्रीको, कानुनमन्त्रीको, गृहमन्त्रीको सिधै फोन जान्छ तर, त्यति बेला मलाई त्यो कुरा विश्वास लागेको थिएन। आज मैले त्यो किन विश्वास नगर्ने?

सम्माननीय प्रधान न्यायाधीश ज्यू,

अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?

न्यायका दृष्टिकोणले,मानव अधिकारको दृष्टिकोणले जे भइरहेको छ के सही भइरहेको छ ?

आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौं। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ। कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्‍यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाईको सरकारसँग पंगा लिन आँट गर्ने को होला ? न्यायालयको यो हरिबिजोगले यो देश कसरी चलेको छ भन्ने कुराले म आश्चर्यचकित परेको छु। उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ। पेसी चढेकै दिन न्यायपरिषदमा उजुरी गएपछि अदालतमा स्वतन्त्र बहस गर्ने वातावरण कसरी बन्ला ? आम मान्छेले बुझेका छन् तर व्याख्या गर्न सक्दैनन् । व्याख्या गर्न सक्नेहरू रवि लामिछानेलाई राखेको काल कोठरीमा AC छ कि कुलर छ कि पंखा भनेर बहस गरिरहेका छन्।

हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ?

मेरो श्रीमान माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिका मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन् । उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।

सम्माननीय प्रधान न्यायाधीश ज्यू ,

तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आधिकारिक अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने भएकी छन् ।

पार्टीका संरक्षक रेशम चौधरीले केही समयअघि राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए । तर, चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि नाउपा अध्यक्ष रन्जिता नै रहने भएकी हुन् ।

मंगलबार निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको हो । यससँगै स्वतः रञ्जिता नै अध्यक्ष रहने स्थिति बनेको छ ।

स्रोतका अनुसार मंगबार राति आयोगले यस्तो निर्णय गरेको हो । तर, निर्वाचन आयोगको पत्र भने नाउपाले पाएको छैन । सम्भवतः आजै पत्र पाउन स्रोतले बताएको छ ।

यसअघि रेशम चौधरीले बहुमत सदस्यको केन्द्रीय समिति बैठक बोलाएर रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएका थिए । त्यसपछि लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाएर निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाइएको थियो ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिश्रम र मिहिनेत गरेअनुरूप भाग्यबृद्धि गर्ने दिन हो, धार्मिक वा आध्यात्मिक विषयको कुनै जानकारी प्राप्त गरेमा समेत ज्ञानबृद्धिमा सघाउ पुग्नेछ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । चिन्तारशङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो, नयाँ काम सुरु गर्ने हो भने पहिले योजना बनाउनुहोस्, अनिमात्र प्रयास गर्नुहोला । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्‌नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्, व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि बृद्धि हुनेछ, तर अहङ्कार र आडम्बरबाट जोगिनु बेस हुन्छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्‌नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध र सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।