
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले तीज पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै कार्यरत महिला चिकित्सक, नर्स तथा कर्मचारीहरूलाई दर खुवाएको छ ।
शुक्रबार कलेज परिसरमा आयोजित कार्यक्रम सांस्कृतिक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई शुभकामना आदान–प्रदानका साथ उत्सवको रुपमा मनाइएको थियो । केएमसीले हरेक वर्ष तीजका अवसरमा दर खुवाउने परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि भव्य रूपमा दर कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी महिला कर्मचारीहरूले तीजका विशेष परिकारहरूको स्वाद लिँदै आपसमा शुभकामना साटासाट गरे । उनीहरूले यस अवसरले आपसी आत्मीयता र सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
कलेजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै तीज पर्वको सांस्कृतिक र सामाजिक महत्त्वबारे चर्चा गरे ।
उनले यस्ता कार्यक्रमहरूले कार्यस्थलमा उत्सवमय वातावरण सिर्जना गर्नुका साथै महिला कर्मचारीप्रति सम्मान र प्रेरणा जगाउने बताए ।
कार्यक्रममा विभिन्न परिकारका दर, फलफूल तथा परम्परागत मिठाइहरूको व्यवस्थापन गरिएको थियो । सहभागी सबैलाई दर वितरण गरी सामूहिक भोजन गराइएको थियो ।
महिला चिकित्सक, नर्स र अन्य कर्मचारीहरूले कलेजप्रतिको कृतज्ञता प्रकट गर्दै यस्ता कार्यक्रमले आफ्नो व्यावसायिक जीवनमा छुट्टै उत्साह थप्ने प्रतिक्रिया दिएका छन् ।
कोलम्बो । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई पक्राउ गरिएको एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै जनाएको छ ।
पूर्व राष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए ।
त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए।
अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।
उनले अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । सुवेदीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे । उनले आफ्ना माग मुद्दाहरू समेटिने गरी संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारत र चीनबीचको लिपुलेक सम्झौताको कडा शब्दमा विरोध गरेका छन्। उनले दुई देशको यो सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण मात्र होइन नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता माथि नै गम्भीर थिचोमिचो हुन पुगेको बताएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै नेता खनालले भनेका छन्, ‘भारतका शासकहरूले हाम्रा धेरै भू–भागहरू कब्जा गर्नुको साथै महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक समेत कब्जा गर्न पुगेका हुन् । हामी अहिले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भू–भाग हुन् भनिरहेका छौं । तर कुख्यात सुगौली सन्धि खारेज भइसकेको छ । त्योभन्दा अघिका सबै भू–भागहरू पनि नेपालकै हुन भन्ने ऐतिहासिक तथ्य हो ।’
उनले भारत र चीनबीच हालै लिपुलेक दर्राबाट व्यापार गर्ने बारेमा दुई देश बीच सम्झौतालाई ठाडै अस्वीकार गर्नुपर्ने बताएका छन् । खनालले, ‘पहिले हाम्रा बीचमा भएका राष्ट्रिय सहमतिलाई समेत ध्यानमा राखेर सबै राजनीतिक पार्टीहरू, सम्पूर्ण देशभक्त संघसंस्थाहरू, आम जनता र सिंगो राष्ट्र एकताबद्ध बनौँ, नेपालको राष्ट्रिय स्वतन्त्रता,सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताका पक्षमा दृढतापूर्वक खडा बनौं, संसदबाट एउटै आवाजमा सबै दलको तर्फबाट राष्ट्रिय संकल्प प्रस्ताव पारित गरौं, नेपालका भू–भागहरू हडप गर्ने भारतीय विस्तारवादी तर्कहरूलाई खारेज गरौं ।’
सीमानाको यथार्थबारेमा नेपाली जनता, विश्व जनता र अन्तर्राष्ट्रिय जगतलाई प्रष्ट पार्ने ऐतिहासिक सन्धि, सम्झौता, नक्साहरू, भिडिओ र अन्य तथ्य प्रमाणहरू व्यवस्थित बनाउँदै वार्ता गर्नुपर्ने उनको भनाइ छ ।
‘अहिलेसम्म जनवादी गणतन्त्र चीनले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र भारतको भनेको छैन । भारतले भने लामो समयदेखि जबरजस्त कब्जा गदै आएको छ । यो तथ्यलाई समेत ध्यानमा राखेर दुवै छिमेकीहरूसँग कूटनीतिक स्तरमा जिम्मेवारीपूर्वक र दृढतापूर्वक वार्ता गरौं । त्यसका निम्ति अन्य ट्रयाक टु माध्यमहरूलाई पनि प्रयोग गरौँ’ खनालले भनेका छन् ।
काठमाडौं । भारत र चीनले नेपालको सहमति र परामर्श बिना लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गम्भीर आपत्ति जनाएको छ ।
पार्टीले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिमा यस कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति देखाइएको गम्भीर उपेक्षा र अपमानका रूपमा चित्रण गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्पष्ट आपत्तिका बाबजुद पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्याउनु दुःखद मात्र नभई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्ति हो ।’
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस विषयमा प्रधानमन्त्रीलाई राष्ट्रिय हितमा दरो सँग उभिएर कुरा गर्न सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । चीन-भारतबीच लिपुलेक हुँदै व्यापारिक सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै उनले नझुकीकन स्पष्टसँग दुवै छिमेकीसँग कुरा गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले दुवै छिमेकी देशका प्रतिनिधिसँग शुरुमा छुट्टाछुट्टै वार्ता गर्ने र पछि संयुक्त रुपमा वार्ता गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । उनले झुक्ने नभइ दरोसँगले यी तथ्य प्रमाणले लिपुलेक नेपालको हो भन्न सक्नुपर्ने बताए । नेपालको भूमिबाट व्यापारिक सम्झौता गर्दा तपाईहरूले किन सोध्नु भएन भन्ने कुरा स्पष्ट राख्न र राजनीतिक र कुटनीतिमार्फत समस्या समाधान गर्न जरुरी रहेको बताए ।
रोइ, कराइ गर्ने भन्दा पनि अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चालेर अवसरमा बदल्नुपर्ने बताए । राजनीतिक नेतृत्वको क्षमता भनेकै चुनौतिलाई अवसरमा परिणत गर्नु रहेको उल्लेख गरे । सोध्दै नसोधिकन नेपालको भू–भागबाट व्यापार मार्ग खोल्ने कुरा गम्भीर विषय भएकाले नेपालले आफ्नो अडान स्पष्ट ढंगले राख्नुपर्ने बताए ।
यसमा अरुले चासो दिने नभइ नेपालले आफ्नो चासो राख्नुपर्ने उनको भनाइ छ । कसैलाई चिढ्याउँदा पनि नचिढ्याउने र कसैसँग अनावश्यक ढंगले लम्पसार पनि नपर्ने नीति अपनाउन सके भारत र चीन दुवैसँग सम्बन्ध अघि बढाएर जान सकिने विश्वास व्यक्त गरे ।
सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सो नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारी बिना नै यो नाकाबाट कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरु गर्ने समझदारी गरेका थिए । हालै उनीहरूले गरेको व्यापार सम्झौता बाहिरिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भाएको दाबी समेत भारतले अस्वीकार गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कलात्मक कार्य ९अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ० जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोराछोरीको क्रियाकलाप र उन्नतिरप्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।