
काठमाडौ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के छ ? भन्दै प्रश्न गरेका छन् ।
आज (शनिबार) काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् । नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लुम झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको भन्दै उनले पृथ्वी नै बोकेको जस्तो के छ ? भनेर प्रश्न गरेका हुन् ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए । उनले राजतन्त्रमा पुस्तान्तरण हुने तर राजनीतिमा पुस्तान्तरण नभएको बताए । उनले कांग्रेसमा पनि तुवाँलो लागेको बताए । ‘काँग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ उनले भने ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
आज (शनिबार) विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन् ।
‘बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ भेटवार्तापछि प्रधानमन्त्रीले भने । विपिनको परिवारले इजरायल भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र संसदका अध्यक्षसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता विपिनको रिहाइको पहललाई थप सशक्त बनाउने उद्देश्यले नेपाली दूतावासको समन्वयमा आयोजना गरिएको थियो ।
विपिनकी आमा र बहिनी उनको रिहाइका लागि आग्रह र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा त्यहाँ पुगेका थिए । उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र अन्य उच्च अधिकारीहरूसँग भेट गरी विपिनको अवस्थाबारे जानकारी गराउँदै रिहाइका लागि अपिल गरेका थिए ।
कञ्चनपुरका विपिन कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा अन्य १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । उनको परिवार र नेपाल सरकार उनको शीघ्र र सुरक्षित रिहाइका लागि निरन्तर प्रयासरत छन् ।
काठमाडौं- प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवम् पितृकार्यमा प्रयोग गरिन्छ ।
पितृसम्मान
यसै अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
बाबु नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।
मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् ।
‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
मोती जयन्ती मनाइँदै
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसी कै दिन ३० वर्षको उमेरमा दिवंगत भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए। यही छापाखानामार्फत् नेपालमा पत्रकारितको सुरुआत् भएको हो ।
दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।





