२०८३ श्रावण २५ गते सोमबार
२०८३ श्रावण २५ गते सोमबार

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँ–बायाँ गर्न नसक्ने दावी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए। उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।

निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरू पनि हटाएर ल्याउन सक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उनले बताएका छन्।

महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्ने कुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए। मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको बताए।

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।

आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट पारे ।

पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई तत्काल सच्याउनु पर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नु पर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’

हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै प्रचण्डले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।

कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा प्रचण्डले जोड दिए। माओवादी केन्द्र र दलाल, नोकरशाही र बिचौलिया संगै रहन नसक्ने समेत उलने बताए ।

‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन,’ प्रचण्डले भने, ‘त्यस्ता प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो ।’ उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुनले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे ।

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।

समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।

विदेशी मुद्रा सञ्चिति साढे १९ अर्ब डलर पुग्यो
गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको छ । गत असारसम्म यस्तो सञ्चिति ३१.२ प्रतिशत बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । गत ०८२ असार मसान्तमा २७.७ प्रतिशत वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३०.६ प्रतिशत वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३६.६ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम छ । ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‍०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भूराजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता खनालले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरण भएको जिकिर गरे ।

एमसीसी सम्झौताले चीन र भारतसँग नेपालको भूराजनीतिक सन्तुलनमाथि गम्भीर असर पुर्‍याएको उनको बुझाइ छ । उनले एमसीसी सम्झौता संसद्बाट असामान्य ढंगबाट अनुमोदन भएको समेत बताए । संसद्मा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक नाटक भएको खनाल बताउँछन् ।

एमसीसी सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै उनले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा जिकिर गरे । एमसीसीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने बताए ।

पर्सा । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालहरूमा दुई दिनका पठनपाठन बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।

अहिलेसम्म हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । तर उनीहरूको मृत्यु हैजाकै कारण भए नभएको यकिन हुन बाँकी छ । मृत्यु हुनेमा पोखरिया नगरपालिका–९ की एक महिला र वीरगञ्ज महानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।

उनका अनुसार महानगरपालिकाको वडा नम्बर ३, ११, १२ र १३ मा अहिलेसम्म हैजा (कोलेरा) को बिरामी देखिएपछि अस्पतालमा भर्ना भएका हुन् । वीरगञ्जको नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुई जना हैजाका बिरामी उपचाररत रहेको ठाकुरले बताए । यस्तै महानगरको विभिन्न वडामा हैजाको महामारी समुदायस्तरमै फैलिएकाले बिरामीको संख्या बढ्दो छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा गरी झाडापखाला र हैजाका शंकास्पद गरी हाल तीन सयभन्दा बढी बिरामी उपचाररत रहेको उनले बताए । नारायणी अस्पतालमा झाडापखाला र हैजाका शंकास्पद बिरामी थपिन थालेपछि शैंयाको अभावमा बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए ।

लागु भएको नौ वर्षसम्म पूर्ण कार्यान्वयन हुन नसकेको प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य गरिँदै छ । लागु नहुँदै त्यसबारे अनेक चुनौतीका विषयमा विमर्श हुन थालेको छ।

सरकारी तयारी हेर्दा स्मार्ट लाइसेन्समा २०७२ सालदेखि सेवाग्राहीले भोग्दै आएका समस्या असोज १ गतेदेखि इम्बोस्ड नम्बर लिनेले पनि भोग्नुपर्ने देखिन्छ। परीक्षा पास गरेर तीन वर्षसम्म लाइसेन्स नपाएकाको सङ्ख्या अहिले पनि ३० लाखभन्दा माथि छ । इम्बोस्ड नम्बरको हालत पनि यस्तै नहोला भन्न सकिन्न ।

सात प्रदेशका सबै यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट माग भए पनि काठमाडौँमा रहेको यातायात व्यवस्था विभागले नम्बर प्लेट उपलब्ध गराउने हो । यो आफैँमा झञ्झटिलो, लामो रुट पार गर्नुपर्ने र पर्खनुपर्ने अवस्था हो । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा तयारीसमेत पूरा भएको छैन। हेटौँडा, सुर्खेत, बुटवल, नेपालगन्ज र पोखराका कार्यालय तयारी अवस्था रहेको विभागले जानकारी दिएको छ। काठमाडौँमा दुईपाङ्ग्रेका लागि गुर्जुधारा, चारपाङ्ग्रेका लागि एकान्तकुना र सवारी परीक्षण कार्यालय टेकुमा तोकिएको छ । यसले फेरि सेवाग्राहीलाई सास्ती दिने काम भएको यातायात व्यवसायीको आरोप छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला भन्छन्, ‘लाइसेन्स जस्तै यो पनि अर्को चलखेल हो। ठूला बिचौलियाको सक्रियता छ । अहिले पनि ३० लाख लाइसेन्सका सेवाग्राहीले सास्ती भोगेका छन् । त्यस्तै हुन्छ यो पनि । इम्बोस्ड नम्बरमा हाम्रो विरोध होइन तर सरकारको काम गर्ने तरिका नहुँदा जनताले धेरै दुःख पाएका छन् ।

सरकारले आवश्यक संचरनासहित गर्नुपर्ने तयारी पूरा नगरी कर उठाउनकै लागि अनिवार्य गरेकाले सफल हुन गाह्रो हुने व्यवसायीको दाबी छ । प्रदेशले केन्द्रलाई केन्द्रले प्रदेशलाई दोष दिएर सरकारले इम्बोस्ड नम्बर प्लेटलाई समस्याग्रस्त बनाउन सक्ने सम्भावना रहेको सिटौलाको दाबी छ। प्लेटमा अङ्ग्रेजी अक्षर हुने भएकाले यसको कार्यान्वयन गर्न नहुनेको मत पनि बढिरहेको छ तर यातायात व्यवस्था विभागले सूचना सार्वजनिक गरी प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्न आउनेलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको छ। गोरखापत्र  दैनिकमा समाचार छ

वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो ।

शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६ सम्म हैजाको संक्रमण फैलिएको पुष्टि भएको महानगरका स्वास्थ्य शाखा प्रमुख साजु साहले जानकारी दिए ।

साहका अनुसार शनिबार साँझसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन् ।

साहका अनुसार मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले उपचाररत बिरामीमा हैजाको संक्रमण आशंका गर्दै वीरगञ्ज महानगरको स्वास्थ्य शाखालाई खबर गरेको थियो ।

लगत्तै नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको साहले बताए । साहका अनुसार वीरगञ्जका नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताल लगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीको चाप बढिरहेको छ ।

‘शनिबारसम्म झाडापखालाकै कारण २ जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि भने हुन बाँकी छ,’ साहले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको हो । ‘भिब्रियो कोलेरा’ नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ ।

यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए संक्रमितको मृत्यु समेत हुन सक्छ ।

ठाकुरले भने, ‘हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । एक जना पोखरिया नगरपालिका-९ की महिला र वीरगञ्ज महानगरपालिका-१२ का पुरुष बिरामीको मृत्यु भएको छ । उनीहरूको परिवारले दिएको जानकारी अनुसार उनीहरूमा झाडापखालाको लक्षण थियो । तर हैजाकै कारण नै उनीहरूको मृत्यु भएको भनेर भन्न सकिँदैन ।’

१२९ जना बिरामी मध्ये शनिबार साँझसम्म ४२ जनामा हैजाको संक्रमण पुष्टि हुनु महामारीको रूप भएको ठाकुर बताउँछन् ।

ठाकुर भन्छन्, ‘२८ साउनमा मुर्ली क्षेत्रका स्थानीयमा फाट्फुट्ट झाडापखालाको लक्षण भएका बिरामी देखा परेका थिए । विस्तारै यो संख्या बढ्दै गयो । झाडापखाला देखिएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण पुष्टि भयो ।यो संख्या शनिबार साँझसम्म आइपुग्दा ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यो महामारीको रूप नै हो ।’

हैजाको संक्रमण देखिएका ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए । विशेषज्ञहरूले दूषित पानी पिउँदा र अस्वस्थकर खाना खाँदा हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन् ।

हाल वीरगञ्जको विभिन्न बस्तीमा वर्षात्‌को ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ । संक्रमण फैलने खतरालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ ।

यससँगै स्वास्थ्यकर्मीहरूले समुदायस्तरमै घर–घर सचेतना अभियान सञ्चालन गर्दै हात धुने बानी, सफा खानेपानी, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई आग्रह गरिरहेका छन् ।

वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ। टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।’

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो।

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ ।  आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्‌न सक्दैनन् । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णय लिन सक्नुपर्छ, नबन्ने काम पनि बन्नेछन्, व्यक्तित्व विकासमा मद्दत पुग्नेछ, आफन्त र सहकर्मीसँगको सम्बन्धसमेत मजबुत बन्नेछ । विवाद वा मतभेद छ भने पनि समाधानको बाटो पहिल्याउनु होला । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्‌नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्‌नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।