२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीको पुनर्संरचना अनिवार्य भएको बताएका छन् । सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी पुनर्गठनका लागि जसले जे त्याग गर्नुपर्ने हो गर्न तयार हुनुपर्ने बताए ।

पार्टीलाई आफ्नो बिर्ता जस्तो ठानेका कारण कम्युनिष्ट पार्टीभित्र समस्या देखिएको शर्माले बताएका छन् । उपमहासचिव शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताए । उनले शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए ।

‘कम्युनिष्ट पार्टीको पुनर्संरचना अनिवार्य छ । त्याग गर्नुपर्ने भए त्याग गर्नुपर्छ । आजको नयाँ पुस्ताले चाहेको के हो ? जेनजी पुस्ताको पनि बहस भइरहेको छ ? सबै आवश्यकतालाई सम्बोधन गर्ने गरी कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकरण र पुनर्गठन गर्नुपर्छ । वृहत्त राष्ट्रिय स्वार्थमा केन्द्रित भएर पुनर्गठन गर्नुपर्छ’, उनले भने ।

शर्माले २०७४ सालमा नेकपा गठन हुँदा नेता–कार्यकर्तामा निकै उत्साह देखिएको तर नेताहरूको स्वार्थका कारण चिसो पानी खन्याइएको आरोप लगाए । ‘नेकपा गठन गर्दा नेता–कार्यकर्तामा निकै उत्साह देखिएको थियो । तर सत्ता स्वार्थका कारण उत्साहमा चिसो पानी खन्याइयो । कसले गर्‍यो व्यक्तिगत आरोप लगाउन चाहन्न । झण्डै दुई तिहाइ मत पाएको पार्टी विघटन भयो । यस्तो किन भयो भन्दा पार्टीभित्र अलोकतान्त्रिक गतिबिधिका कारण, वैचारिक अभावका कारण समस्या आएको छ ।’

उनले भने, ‘अब पुराना पुस्तालाई गाली गरेर होइन । विगतबाट शिक्षा लिएर जनताको पार्टी बनाउनु पर्छ । यसका लागि सम्पूर्ण कम्युनिष्ट पार्टीलाई एकीकृत बनाएर लैजान निरन्तर अभियान चलाउनु पर्छ ।’

उनले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भने, ‘चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाएको पनि थियो । केही कामको थालनी पनि भएको थियो । तर आफ्नै बुद्धिले, के गर्छस् मंगले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेण्डाहरू सम्बोधन गर्ने सम्भावना छैन । अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नु परेको छ । त्यसको जिम्मेवार पनि हामी हौं ।’

काठमाडौँ । प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर तय गरिएको छ ।

सभामुख र प्रमुख सचेतकसँग छलफलका क्रममा संसद्को आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार बस्ने संसद् बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । भदौ १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि बर्तौलाले सुनाए ।

निजामती विधेयक राष्ट्रिय सभाबाट आएको खण्डमा भदौ १९ गते पारित गर्ने तयारी रहेको र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको बर्तौलाको भनाइ छ ।

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए ।

भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ ।

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका चार जना किशोरको डुबेर ज्यान गएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर पानीमा डुबेका उनीहरूमा धनगढी–५ का १७ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतीक चौधरी, धनगढी–४ का १५ वर्षीय जेब भण्डारी र १७ वर्षीय जाबेज भण्डारी रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, अन्य सुरक्षा निकायका अधिकारीहरू र स्थानीयवासीको सहयोगमा खोजतलास कार्य भएको थियो। दिउँसो करिब ३ बजे चारै जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट आफै घटनास्थलमा पुगी खोजतलासमा सक्रियता देखाएका थिए। प्रजिअ लम्सालले उद्धार तथा खोजविनमा संलग्न सबैलाई धन्यवाद दिँदै घटनाप्रति दु:ख व्यक्त गरेका थिए।

काठमाडौं । बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्री ‘बागेश्वर बाबा’ का प्रमुख प्रतिनिधि नितेन्द्र चौबे दुई दिने विशेष भ्रमणका लागि नेपाल आउने भएका छन् । चौबे आगामी भदौ २३ गते काठमाडौंमा र भदौ २४ गते जनकपुरमा विशेष पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

उक्त पत्रकार सम्मेलनमा भिडियो कलमार्फत बागेश्वर बाबाले स्वयं उपस्थित भक्तजन र श्रद्धालुहरूलाई दर्शन तथा आशीर्वाद दिनेछन् । सो अवसरमा आगामी कार्तिक २१ गते शुक्रबार देखि कार्तिक ३० गते आइतबार सम्म दिल्लीदेखि वृन्दावनसम्म हुने पैदल यात्रा सम्बन्धी जानकारी दिइनेछ । साथै नेपालमा पनि बागेश्वर बाबाले कथा वाचन गर्ने तयारी भइरहेको विषयमा जानकारी दिने कार्यक्रम छ ।

नेपालमा ‘आयरन लेडी’ भनेर चिनिने पुनम यादवले बागेश्वर बाबा प्रतिनिधि टोलीलाई नेपाल ल्याउँदै हुनुहुन्छ । यादव स्वयं बागेश्वर बाबाकी श्रद्धावान भक्त हुनुका साथै हिन्दू धर्म प्रचार–प्रसार र प्रवर्द्धनमा सक्रिय रहिआएकी व्यक्तित्व हुन् । यसअघि दुबईमा बागेश्वर बाबाको कथा वाचन गराएपछि उहाँको चर्चा व्यापक बनेको थियो ।

कार्यक्रम अनुसार भदौ २३ मा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा दिउँसो २ बजेदेखि ४ बजेसम्म, र भदौ २४ मा मिथिला विकास कोष, जनकपुरमा दिउँसो २ बजेदेखि ४ बजेसम्म भेटघाट तथा पत्रकार सम्मेलन आयोजना हुने भएको छ ।

यस कार्यक्रममा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा बागेश्वर बाबा प्रेमीहरूलाई उपस्थित रहन आयोजकले आग्रह गरेका छन् ।थप जानकारीका लागि आयोजक *पुनम यादव (सम्पर्क नं. ‪+977-9803538472‬ – Whatsapp)*सँग सम्पर्क गर्न सकिनेछ ।

काठमाडौं- नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेको इन्डिया टुडेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भारतमा घुसेको सूचनाले सुरक्षा निकायमा हलचल पैदा भएको समाचारमा उल्लेख छ ।

तर उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने समाचारमा उल्लेख छैन ।

भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिए अनुसार उनीहरुको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटहरुमा पठाइएको छ र सतर्क रहन भनिएको छ ।

यसैगरी ईटिभी भारतले बिहारका खासगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीहरुलाई अलर्टमा राखिएको जनाएको छ र संदिग्ध गतिविधिलाई निगरानी गर्न भनिएको छ ।

साथै स्थानीयलाई पनि कुनै गतिविधिमा शंका लागेमा नजिकको प्रहरीमा खबर गर्न आह्वान गरिएको छ ।

यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए ।

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको हो ।

राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिनेछ’, भनेर उल्लेख छ ।

२०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष जनसङ्ख्या ४२.५६ प्रतिशत थियो । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरिएको बताए ।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रिय सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रुपमा भने १६ देखि ४० वर्ष हुने बताए । ‘युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्दछ,’ उनले भने ।

प्रत्येक पाँच/पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० बर्षपछि नीति संशोधन गरिएको हो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै नबोलेका कुरा बाहिर ल्याइएको बताएको छ ।

अध्यक्ष ओलीले बुधबार साँझ बालुवाटारमा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओलीले ‘विद्या भण्डारीबाहेक एमालेमा मलाई कसैले चुनौती दिन सक्दैन’ भनेको बाहिर आएको थियो ।

‘विद्याजीबाहेक कसैको दम छैन,’ ओलीले भनेका कुरा भन्दै सहभागी एक नेताले भनेका थिए, ‘उहाँले छाडे सबै कुरा मिल्छ । विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौं । विद्या भण्डारी पार्टीको सम्पत्ति हो । उहाँको सम्मानका लागि पनि उहाँलाई नउचालौ ं। लालगेडी भएर पार्टी चल्दैन ।’

यी भनाइ स्वार्थरूपमा बाहिर ल्याइएको देखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।’

ओलीको सचिवालयले जारी गरेको विज्ञप्ति :

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलबारे प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ ।

उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौं उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौंका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो ।

भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो। काठमाडौंका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राख्नुुभएको थियो ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुुभएको थियो, ‘पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवत रूपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरूअरू पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो ।
यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो। उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न। नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ ।

उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ। तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुुपर्छ, उल्काउनु हुँदैन ।’

अतः उक्त भेटघाट कार्यक्रमका सम्बन्धमा सत्य तथ्य बुुझेर मात्रै सम्प्रेषण गर्न हुन सम्बन्धित सबैमा आग्रह गरिन्छ ।

– प्रधानमन्त्रीको स्वकीय सचिवालय

डडेल्धुरामा आज (बिहीबार) बिहान भीरबाट जीप खस्दा चार जनाको मृत्यु भएको छ । 

घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेर नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले उनीहरुको घटनास्थलमै मृत्यु भएको बताए । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

डीएसपी जोराका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

आज बिहान करिब सवा नौ बजेतिर जिप दुर्घटना भएको अनुमान छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

रौतहटमा केही दिनअघि सुटकेसमा भेटिएको रुबी साहको शवले देशभर चासो पाएको थियो । तर अब सो प्रकरण अन्तिमतर्फ उन्मुख भएको देखिन्छ, किनकि घटनाका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भइसकेको छ ।

बुधबार साँझ काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको रौतहट प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए । चार दिनदेखि फरार रहेका पासवानलाई बिहानै रौतहटको माधोपुर नजिकै आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा भेटिएको थियो । गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि काठमाडौं पठाएको थियो ।

रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार मुख्य अभियुक्तकै मृत्यु भएपछि मुद्दा क्रमशः बन्द हुने अवस्थामा पुगेको हो । तर अन्य व्यक्तिको संलग्नता भएरनभएको पत्ता लगाउन अनुसन्धान भने अझै जारी छ ।

यस प्रकरणमा सुटकेस बोकेर शव फाल्ने ई–रिक्सा चालक राजकुमार महरा पनि प्रहरी हिरासतमा छन् । प्रारम्भिक अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिएको भए पनि प्रहरी अनुसन्धान जारी रहेको छ ।

आफ्नो अन्तिम घडीमा पासवानले बनाएको भिडियोमा उनले रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । उनले विद्यालय समयदेखि नै रुबीसँग प्रेम सम्बन्ध रहेको र दुई पटक विवाहसम्म गरेको खुलासा गरेका थिए । तर आर्थिक अभाव र पारिवारिक अस्वीकृतिले घटनाले यस्तो मोड लिएको उनको भनाइ भिडियोमै रेकर्ड भएको छ ।

रुबी साह केही महिनादेखि गौरमा डेरा लिएर ४ वर्षीय छोरालाई पढाउँदै आएकी थिइन् । उनका माइती घर र लक्ष्मणको गाउँ एउटै रहेको बताइएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज÷पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाम्पत्य जीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन्, तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।